शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामबहादुरको पुलबाट धकेलेर हत्या गरिएको पुष्टि, मुख्य अभियुक्त सार्वजनिक

बुधबार, ०२ माघ २०७५, २१ : ००
बुधबार, ०२ माघ २०७५

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले हत्यामा संलग्न रहेको आरोपमा दुईलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा साबिक मनपाङ गाविस–७ स्थायी घर भई हाल ब्यास नगरपालिका–४ बाघभञ्ज्याङ बस्ने ३९ वर्षीय मङ्गलबहादुर दमै र ब्यास नगरपालिका–४ बस्ने ४२ वर्षीया भारती परियार छन् । 

ब्यास–४ बाघभञ्ज्याङ बस्ने रामबहादुर परियारको हत्यामा संलग्न भएको आरोपमा उनीहरुलाई गत पुस २९ गते पक्राउ गरिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए । 

हत्यामा संलग्न रहेका सोही ठाउँका सुकबहादुर परियार भने फरार छन् । पक्राउ परेका भारती मृतकका बुहारी र दमै भाञ्जा हुन् । 

विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गल र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकीको दुलेगौँडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । 

प्रतीक्षालयमा लागुऔषध 

ब्यास–३ ट्राफिकचोकस्थित सार्वजनिक यात्रु प्रतीक्षालयबाट प्रहरीले ५४० थान लागुऔषध फेला पारेको छ ।

झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा डाइजेपाम १८०, फेनरागन १८० र नुफिन १८० थान लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । 

उक्त लागुऔषध कसले लिई आएको भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

पक्राउ 

ब्यास नगरपालिका–३ स्थित मासु बजारमा रहेको पूर्णसिंह सार्कीको ढाकाटोपी मासु पसल र सोही स्थानमा रहेको झलकबहादुर आलेको मासु पसलमा चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा तनहुँको रिसिङ गाउँपालिका–४ स्थायी घर भएका ३२ वर्षीय रामबहादुर विक रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप