शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यालय सहयोगीले पढाउनुपर्ने बाध्यता

शनिबार, १४ साउन २०७४, १० : १५
शनिबार, १४ साउन २०७४

सल्लेरी,सोलुखुम्बु - जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिका–४ मा रहेको एक विद्यालयमा कक्षासँगै विद्यार्थी संख्याको अनुपातमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । 

कक्षा ८ सम्म सञ्चालित वासुकी आधारभूत विद्यालयमा ३६२ विद्यार्थीलाई पाँच शिक्षकले पढाउनु परेको छ । हिमाली जिल्ला सोलुखुम्बुमा एक शिक्षक बराबर ३० विद्यार्थी संख्या पर्ने भए पनि यहाँ एक शिक्षकको भागमा ७२ विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ । 

विद्यालयमा इसिडी पूर्वबाल विकाससहित छ जनाको दरबन्दी छ । स्थायी चार तथा राहत इसिडी र कार्यालय सहयोगी एक एक गरी सात जना हुनुपर्नेमा शिक्षक चक्रबहादुर राई सात वर्षदेखि काजमा छन् । गाउँपालिकाको सुविधासम्पन्न विद्यालयका रुपमा चिनिने वीरेन्द्रज्योति मावि, सोताङमा काज सरुवा भए पनि फिर्ता नहुँदा पठनपाठनमा थप समस्या भएको विद्यालयका प्रअ खड्गबहादुर राईले बताए । 

रिड नेपालले शैक्षिक गुणस्तर वृद्धिका लागि कार्यक्रम सञ्चालन गरेसँगै जिल्लामा निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीमा क्षमता मापन गरिन्छ । प्रअ राई भन्छन्, “शिक्षक अभावका कारण नियमित मूल्यांकन र शिक्षण सामग्री तयार पार्न समेत चुनौती छ ।” 

विद्यालयमा शिक्षक दरबन्दी थप गर्न जिल्ला शिक्षा कार्यालयमा बारम्बार आग्रह गरिए पनि शिक्षा कार्यालयले चासो नदिएको प्रअ राईले गुनासो गरे। भौगोलिक विकटताका कारण नजिकमा विद्यालय नहुँदा विद्यालय क्षेत्रका विद्यार्थीको संख्या अत्यधिक भए पनि बाध्यताले बालबच्चालाई त्यही विद्यालयमा अध्यापन गराइएको अभिभावक तारा कुलुङले बताए। शिक्षक अभावका कारण कार्यालय सहयोगीले समेत पढाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप