शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको तारुकामा गोरु जुधाएर सकियो, मान्छे जुध्न छाडेनन्

बिहीबार, ०३ माघ २०७५, १४ : १३
बिहीबार, ०३ माघ २०७५

काठमाडौँ– गोरुजुधाइ मेलाले प्रसिद्धि कमाएको नुवाकोटको तारकेश्वर गाउँपालिका–३ (साविकको तारुका–५) स्थित चन्दनीमा विगतका वर्षहरू झैँ वर्ष पनि गोरु जुधाइ माघेसङ्क्रान्तिको अवसरमा गोरु जुधाइ प्रतियोगिता आयोजना गरियो । 

यस वर्ष २३ हल गोरु जुधाउनका लागि दर्ता भएकोमा माघेसङ्क्रान्तिको दिन खेलकुदमन्त्री जगत विश्वकर्माको उपस्थितिमा २२ हल गोरु जुधाइएको माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले जनाएको छ । 

यो परम्परालाई लिएर कतिपय पशु अधिकारकर्मीले विरोध गर्दै आए पनि धेरैको चासो र चर्चाको विषय बन्छ तारुकाको गोरुजात्रा । तर तारुकाको मौलिक पहिचान नै बनिसकेको गोरु जुधाइ प्रतियोगिता हेर्न हजारौँ दर्शक तारुका पुगेका थिए । 

प्रतियोगिताका क्रममा किसानले पालेका बलिया र आकर्षक गोरुहरू बढीमा एक घण्टासम्म जुधे  अर्थात् निश्चित समय जुधेर गोरु छुट्टिए । तर त्यही गोरु जुधाइले प्रसिद्धि कमाएको भूगोलका किसानदेखि स्थानीय नेतासम्मको ‘जुधाइ’ भने अझै सकिएको छैन । 

याे पनि.....

गोरु जुधाइपछि दिइने पुरस्कारमा आयोजकले राजनीतिक रूप दिएको भन्दै स्थानीय केही किसानले पुरस्कार बहिष्कार र प्रमाणपत्रसमेत च्यातिदिएको एक स्थानीयले जानकारी दिए । 

स्थानीय मदन श्रेष्ठले पुरस्कार वितरणमा आयोजकले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै त्यसको विरोधमा आफूहरूले बुधबार तारकेश्वर गाउँपालिकास्थित वडा नम्बर २ को कार्यालय घेराउ गरेको बताए । 

उनले गोरु जुधाइको नाममा मनग्य अनुदान आउने गरेको भए पनि समितिले विजयी गोरुधनीलाई ६ हजार मात्रै पुरस्कार दिएको र त्यसमा पनि उत्कृष्ट गोरुको चयनका क्रममा राजनीतिक रङ दिने काम भएको दाबी गरे । 

‘पुरस्कार माघ १ गते नै दिइएन र कति दिने भन्ने पनि कुनै घोषणा गरिएन’, श्रेष्ठले रातोपाटीसँग भने, ‘पुरस्कार दिन भनेर खबर आउँदा हामी गयौँ तर समितिले भेदभावपूर्ण व्यवहार गरेको महशुस भएपछि हामी वडा कार्यालय घेराउमा जुट्यौं ।’ 

उनका अनुसार धर्नासँगै दिनभर वडाध्यक्ष समरबहादुर आले, माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीलगायत र किसानहरूबीच छलफल भएपछि केहीले पुरस्कार लिएको भए पनि केहीले अझै लिन अस्वीकार गरेको रातोपाटीलाई बताए । सो अघि नै आक्रोशित पूर्वमाओवादी र काँग्रेसनिकटका केही किसानहरूले प्रमाणपत्र नै च्यातेको बताइएको छ । 

समितिका अध्यक्ष शिवबहादुर अधिकारीले केही किसानहरूले असन्तुष्टि जनाएको भए पनि त्यसलाई ठूलो विषयका रूपमा लिन नहुने रातोपाटीलाई प्रतिक्रिया दिए ।  ‘उहाँहरूको माग विजेता र उपविजेतालाई २० हजार  र १५ हजार  दिनुपर्छ भन्ने थियो तर हाम्रो सीमित आर्थिक स्रोतका कारण विजयीसहित उत्कृष्ट गोरु चयन भएका गोरुधनीलाई ७ हजार र उपविजेतालाई ५ हजार दिएका छौँ’, उनले भने । 

तर अर्का एक किसानले भने मेला समितिमा पूर्वएमाले निकटका अध्यक्ष रहेकाले राजनीतिक पूर्वाग्रह साँधेर पूर्वमाओवादी र नेपाली काँग्रेस निकटकालाई विभेद गरिएको आरोप लगाए । 

ती किसानका अनुसार केही गोरु उत्कृष्ट नहुँदा नहुँदै उत्कृष्ट घोषणा गरी आकर्षक मोबाइल वितरणसमेत गरिएको बताए । 

किसान मदन श्रेष्ठले गोरु जुधाइको नाममा लाखौं उठाइए पनि किसानका लागि न्यून पुरस्कार दिइएको र त्यसमा पनि राजनीतिक आस्थाका आधारमा विभेद गरिँदा दुःख लागेको बताए । 

‘एउटा जुध्ने गोरु तयार गर्नका लागि वर्षभरी नै निकै स्याहार गर्नुपर्ने हुन्छ’, उनले भने, ‘संस्कृति जोगाउन गरिएको किसानको मिहिनेतलाई नै निरुत्साहित गर्नेगरी राजनीतिक रङ दिइनु गलत हो ।’

स्थानीयले गोरु जुधाइको नाममा लाखौँ उठ्न गरेको छ । तर समितिले त्यसको हिसाब स्पष्ट समेत नराखेको आरोप लगाएका छन् । 

तर समितिका अध्यक्ष अधिकारीले समितिले आर्थिक हिसाब किताब प्रष्ट राखेको भन्दै त्यो केही दिनमा सार्वजनिक गरिने जानकारी दिए । 

उनका अनुसार पुरस्कार, साउन्ड सिस्टम, अतिथि सत्कार, मञ्च व्यवस्थापन लगायतमा गरी ५ लाखको हाराहारीमा खर्च भएको अनुमान गरिएको । त्यसका लागि गाउँपालिकाबाट २ लाख प्राप्त भएको र पर्यटन बोर्डबाट रु २ लाख दिने प्रतिबद्धता आएको बताए । 

यस्तै विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट ठूलो रकम उठाइएको सुनिएको भए पनि त्यसको कहाँ र कसरी खर्च भयो त्यसबारे आफूहरूलाई थाहा नभएको किसान श्रेष्ठले जानकारी दिए । 

नेकपा तारकेश्वर गाउँपालिकाका नेता राजेन्द्र न्यौपानेले सभ्य र भव्य ढङ्गले गोरु जुधाई मेला सम्पन्न भएको भन्दै केही अब विवाद गरिरहनु जरुरी नरहेको बताए । उनले केही व्यक्तिहरूले गोरुधनीलाई दिने पुरस्कार र समितिबारे अफबाह फैलाएको समेत दाबी गरे । 

यस्तै तारकेश्वर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष समरबहादुर आलेले विजयी गोरुधनीलाई बुधबार पुरस्कार र प्रमाणपत्र वितरण गरिसकिएको भन्दै यसमा कुनै विवाद नभएको दाबी गरे ।

यता पुरस्कारमा विवाद भएपछि नुवाकोट–रसुवा पर्यटन समाजका महासचिव शिव अधिकारीले पर्यटन बोर्डबाट आउन रकम अव सीधै किसानलाई दिइने जानकारी दिए । त्यसका लागि समयले पहल गरिरहेको पनि उनले बताए । 

यस वर्ष गोरुजुधाइका लागि नुवाकोटको तारुकासहित बेत्रावती, पञ्चकन्या र धादिङको लागि नेपाल पर्यटन बोर्डले रु २–२ लाख गरी ८ लाख बजेट निकासा गरेको सञ्चालक समितिका सदस्य दीपक महतले जानकारी दिए । 

सो रकम नुवाकोट–रसुवा पर्यटन समाजमार्फत दिएको जानकारी दिँदै आयोजकले कार्यक्रमबारेको प्रतिवेदन बोर्डमा पेश गरेपछि भुक्तानी दिइने उनको भनाइ छ । स्मरण रहोस् तारुकामा विगतका वर्षहरुमा पनि राजनीतिक दलहरुबीच विवाद हुँदा छुट्टाछुट्टै गोरु जुधाइने गरिन्थ्यो । 

याे पनि.....

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप