बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा २५ रूपैयाँमा भाँडा धुनेदेखि नेपालमा करोडौँको मालिकसम्म !

शुक्रबार, ०४ माघ २०७५, १० : २३
शुक्रबार, ०४ माघ २०७५

बुटवल– बुटवलको सुपर क्वालिटी मिट उद्योगका मालिका कृष्णप्रसाद पाैडेल स्टान्डर्ड गाडी चढ्छन् । 

बुटवलमा निकै महँगो ठाउँ सुख्खानगरमा उनको ठूलो घर छ । 

उनी रूपन्देही मासु व्यवसायी सङ्घको तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका छन् । उनको व्यापार काठमाडौँ, पोखरा, विराटनगर, दाङलगायत नेपालका अधिकांश सहरमा हुने गर्छ । 

एकपछि अर्को सहरमा व्यापार वृद्धि र विस्तार गर्ने क्रम जारी नै छ । जीवनशैली पनि उस्तै उच्च स्तरीय छ । 

झट्ट देख्दा उनी उच्च व्यापारिक घरानाका व्यक्तिभन्दा कम छैनन् । धेरैले उनलाई पुख्र्यौली सम्पत्ति प्रशस्त भएको र उच्च शिक्षा हासिल गरेको भनेर बुझेका पनि छन् । तर वास्तविकता भने फरक छ ।

मासिक २५ रूपैयाँमा भाँडा धोए 

कुनै बेला पाैडेलले भारतको दिल्लीमा मासिक २५ रूपैयाँमा भाँडा माझ्ने काम गरे । त्यो सुन्दा धेरैलाई अहिले पत्यार नलाग्न सक्छ । जब उनी एसएलसीमा फेल भए तब आय आर्जनका लागि दिल्ली पुगेका थिए । उनको जन्मघर गुल्मीको पुर्कोटदहतिर त्यो बेला चलन नै दिल्लीतिर जाने थियो । कमाउनका लागि युवाहरू दिल्ली जान्थे । उनी पनि दाइहरूसँगै दिल्ली गए ।

सुरुमा काम पाउने भनेको भाडा माझ्ने नै हो । हिन्दी भाषा पनि कमजोर । अनि  ६ महिनासम्म क्यान्टिनमा भाँडा माझेपछि कोठी अर्थात मालिकको घरमा काम पाए । २०४८ सालमा प्रतिमहिना २५ रूपैयाँमा उनले काम सुरु गरे । त्यसपछि साहुको घरमा अलि धेरै पैसा पाउने भए । साहुले धेरै मासु खाने भएकाले दैनिक मासु खरिद गर्न जानु पाैडेलको बाध्यता बन्यो । त्यही क्रममा मासु पसलेसँग उनी नजिक भए । त्यसपछि मासु पसलमै काम गर्न थाले ।  जहाँ दस वर्षसम्म उनले काम गरे । 

कामसँगै क्षमता वृद्धि

५८ सालसम्म त्यही मासु पसलमा पाैडेलले काम गरे । त्यो समयमा मासुसम्बन्धी तालिम र ज्ञान थुप्रै लिए । जहाँ दुई वर्ष नर्मल वर्करको रूपमा काम गरे । मालिकको विश्वास पात्र बने । त्यो बेलाको कामको अनुभवले नै आज उनी बुटवलमा करोडौँ रूपैयाँको मालिक बनेका छन्, त्यो पनि मासु उद्योगको ।

बुटवलको क्वालिटी मिट उद्योगका मालिक कृष्णप्रसाद पाैडेल ठुलै व्यापारी घरानामा जन्मेका जस्ता देखिन्छन् । बुटवलदेखि नेपालका विभिन्न जिल्ला पनि उनलाई सफल व्यापारीको रूपमा चिन्ने गर्छन् । रूपन्देही मासु व्यवसायी सङ्घका अध्यक्ष पाैडेल बुटवल उद्योग वाणिज्य सङ्घ पनि रूपन्देही उद्योग सङ्घ विभिन्न उपसमितिमा बसेर काम गरेका छन् । अहिले उनी स्थापित उद्योगीको रूपमा चिनिन्छन् । 

लगातार १८ घण्टा काम

भारतमा सुरुमा काम गर्दा उनले दैनिक १८ घण्टासम्म काम गरे । ‘बिहान ४ बजे उठेर मन्डीमा कुखुरा खरिद गर्न जान्थे । ८ बजेसम्म कुखुरा पसलमा ल्याएर आउँथे । त्यसपछि अरू अरू स्टाफहरूलाई कामको बाँडफाँड आफैले गर्नुपथ्र्यो’, उनले विगत सुनाए । 

उनी  भन्छन् ‘पार्टीलाई पैसा दिने, कर्मचारीलाई तलबदेखि सबै बजार आफैले हेर्नुपर्ने थियो । सायद त्यही खटाइले नै अहिले यहाँ मलाई  सफल बनाएको छ ।’ बुटवलमा सुरु गरेको सुपर क्यालिटी मिट हाउसलाई उनले उपभोक्ताको मासुको स्वादमै परिवर्तन गराइदिए । चिकन ललिपप, चिकन ससेस, चिकन फिजर, चिल्ली ससेस, चिकन समोसा, चिनक वर्गर, चिकन बोन लेसलगायत १० भन्दा बढी आइटम उपभोक्तालाई दिएका छन् ।

अहिले पनि उनको खटाई दिल्लीमा जस्तै भएको बताए । रोतोपटीसँगको कुराकानीमा  भने, ‘बिहान ५ बजे आएको हँु । अहिले ४ बजेको छ । अब फेरि प्याकिङ, बजार पठाउने बेला हुन्छ । खाना खान घर जान पाइनँ । मेरो शरीरको व्यायम पनि दिनभरको यही खटाइ हो । कम मिहिनेतमा उद्योग चल्दैन । खेटर र सचेत भएर काम गर्नुपर्छ ।’ 

अन्डर एसएलसी : आईटी र व्यापारमा पोख्त 

२०४८ सालमा उनले पृथ्वी माविबाट एसएलसी दिएका थिए । तर सफल हुन सकेनन् । त्यसपछि भारतको दिल्लीमा काम गर्न पुगेका पाैडेलले औपचारिक शिक्षालाई सधैँको लागि बन्द गरे । तर पनि उनी प्रविधि प्रयोगमा पोख्त छन् । उनले सबै कारोवार अहिले सफ्टवेयरका माध्यमबाट गर्छन् । उनले विभिन्न शाखाहरूकोे  कामको मनिटरिङ बुटवलबाटै गरेका छन् । सँगै उनले ममदेखि सबै काम मेसिनबाट गराएका छन् । ममको किमा बनाउनेदेखि पिठो मोल्नेसम्म सबै काम मेसिनबाट गराउने गरेका छन् । ‘प्रविधिको प्रयोग गर्नुपर्छ । काम गर्न सहज र लगानी पनि कममा गर्न सकिन्छ’, उनले अनुभव सुनाए ।  

दैनिक हजार किलो मम

उनले दैनिक १ हजार किलो मम उत्पादन गर्छन् । यहाँ उत्पादित मम पोखरालगायत विभिन्न ठूला होटलहरूमा जान्छ । मानिसभन्दा मेसिन प्रयोग गरेर काम गर्दा उत्पादन खर्च पनि कम हुने हुँदा बजारमा प्रतिस्पर्धा गर्न सकिने उनको ठम्याइ छ । अझ मासु आइटममा जोखिम बढी हुन्छ । यसर्थ गुणस्तरमा निकै ध्यान दिनुपर्नेमा उनी सचेत छन् । ममसहित मासुका २ हजार किलो आइटम उत्पादन गर्ने गरेको उनको भनाइ छ । ८० प्रतिशत चिकन, अन्य मटन र हप्ताको एक दिन बफ आइटम चल्छ । बफ आइटमका लागि मेसिन छुट्टै छ । बुटवलमा बफ आइटन चल्दैन तर पोखरा, काठमाडौँ क्षेत्रका उपभोक्ताहरूको मागलाई ध्यानमा राखेर एक दिन बनाउने गरेका छन् । जर्मन चिकन मम प्लान्ट बनाएका छन् । यो ७० लाख रूपैयाँको आधुनिक मेसिन हो, जसले एक घण्टामा ३ सय किलो मम बनाउँछ । एक दिन १ हजार किलो मम देशभर बिक्री गर्नुपर्छ भन्ने उनको टार्गेट छ । यहाँ उत्पादन भएको प्याकिङ मम विभिन्न होटल र बजारमा जाने गर्छ । ‘हाम्रो टार्गेट भनेको होटल र सुपर मार्केट हो’, उनले भने । 

२ लाखबाट सुरु गरेर २५ करोड

सुरुमा २ लाखबाट सुरु गरेको मासु व्यवसाय २५ करोडभन्दा माथि पुगेको छ । सुरुमा २ वटा खसी र १० वटा कुखुरा ल्याएर सुरु गरेको व्यापार एकपछि अर्को गर्दै विस्तार भएको छ । 

पशु चिकित्सकले गुणस्तर हेर्ने गरेका छन् । ल्याब टेस्टको तयारी छ । आईएसओ  सर्टिफिकेट आएका छन् । बेला बेला विभिन्न क्षेत्रबाट प्रशोधन उद्योगका रूपमा सम्मान पाउनु ठूलो कुरा हो । पशु विभाग र रूपन्देही उद्योग सङ्घले पनि सम्मान गरेको थियो । उनको  कम्पनीका ३ सयभन्दा धेरै रोजगारी पाएका छन् । उनले भने ‘मेरा दुईवटा बजारमा व्यावस्थापलाई गाडी किनिदिएको छ, अन्यलाई मोटरसाइलक छन् । बुटवलमा, काठमाडौँ, पोखरा, दाङलागयतका स्थानमा उनका कर्मचारी छन् । 

दिल्लीदेखि बुटवलसम्मको यात्रा 

एक दशकको काम गराइले पाैडेललाई दिल्लीमै पनि राम्रो प्रगति भएको थियो । साहुको विश्वास पात्र बनेका थिए । सोही अवधिमा उनको परिवार पनि विस्तार भएको थियो । साहुले बस्ने, व्यवस्थादेखि तलब पनि राम्रो दिएको थियो । देशमा भने राजनीतिक माहौल अर्को भइसकेको थियो । 

त्यसबेला उनी अखिल नेपाली एकता समाज भारतमा काम गरेका थिए । यस क्रममा तत्कालीन समयमा नेकपा माओवादीका नेताहरू डा. बाबुराम पाैडेल र बामदेव क्षेत्रीसँग भेटघाट भइरहन्थ्यो । अनि पार्टीले उनलाई नेपालको कुनै पश्चिम क्षेत्रमा कमाण्ड सम्हाल्न आग्रह गर्यो । उनले राजनीति नगर्ने मुड बनाए । घरबाट पनि राजनीति गरेर बाहिर नजान आग्रह भयो । अनि उनी बुटवलम आएर डेरामा बसे ।

२०५८ सालको अन्ततिरबाट बुटवलमा दैनिक २ वटा खसी र १०, १२ वटा कुखुरा ल्याएर कृष्ण र उनकी श्रीमतीले काटेर बिक्री गर्न थालेका थिए । सुरुका दिन सम्झन्छन्, ‘यदि द्वन्द्व नभएको भए अहिले दिल्लीकै लाहुरे हुने थिएँ । यहाँ यति ठूलो उद्योगी बन्ने सपना पनि देखेको थिइनँ ।’  

फुड ट्रक कन्सेप्ट पनि उनकै हो । उनले बुटवलमा २०६२ बाट त्यसको सुरुवात गरेका हुन् । बुटवलको ट्राफिक चोकबाट यसको सुरुवात भएको थियो । अहिले विस्तार हुँदै बुटवलमा विभिन्न ठाउँमा छन् । उनले फुड ट्रक चलाउन सिकाउने गरेका पनि छन् । दिल्ली यात्रा चलिरहँदा कुनै दिन उनले बुटवलमा आएर कम्पनीको मालिक बन्ने, २ सयभन्दा बढी कर्मचारीलाई रोजगारी दिने कल्पना पनि गरेका थिएनन् । 

निरन्तर मिहिनेतबाट नै सफलता   

सफलताको कडी धैर्य निरन्तरको मिहिनेत नै हो । निरन्तरको लगाव र योजनाबाट उनी उद्योगमा सफल भएसँगै सङ्घसंस्थाको नेतृत्व पनि राम्रोसँग गरेका छन् । मासु व्यवसायी सङ्घमा लगातार तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । उनले बुटवल उद्योग वाणिज्य सङ्घका विभिन्न उपसमितिमा बसेर पनि काम गरेका छन् । 

‘जबसम्म व्यवस्थित वधशाला सञ्चालनमा आउँदैन, तबसम्म गुणस्तरीय मासु उपभोक्ताले खान पाउँदैनन्’, उनी भन्छन्, ‘कामलाई सानो ठूलो भन्नु हुँदैन । आफूले लिएको लक्ष्यलाई सही ढङ्गले अगाडि बढाए सफलतामा पुग्न सकिन्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप