शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हाइड्रो एक्स्पोमा कुलमान घिसिङ सम्मानित

शुक्रबार, ०४ माघ २०७५, १२ : ४७
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रही राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्याएको योगदानको उच्चकदर गर्दै घिसिङलाई सम्मान गरेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गरेका हुन् । 

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’मा विद्युत खरिदको नीति लिएको बताए । यस्तो व्यवस्थाले निजी प्रवद्र्धकलाई यस क्षेत्रमा लगानीका लागि वातावरण बनाएको उनले बताए । 

२०७३को भदौमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनीक सुधार तथा पुनर्सरचनामार्फत खुद नाफामा लैजान घिसिङ सफल भएका छन् । 

घिसिङले विद्युत चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गरेका छन् । प्राधिकरणले विद्युत चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेसनको स्तरोन्नती तथा सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

उनकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत उत्पादन, प्रसारण लाइन र वितरण आयोजनाका कामले पनि तिब्रता पाएको छ । 

भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा  सुरु भएको एक्स्पोमा  ८५ भन्दाबढी स्टल रहेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागार्ईंले बताए ।

एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको हो । एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उपकरण आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा वीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप