शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माघ ४ प्रदेश ५ हेडलाइन: कहाँ के-के भयो ?

शुक्रबार, ०४ माघ २०७५, १९ : ५८
शुक्रबार, ०४ माघ २०७५

सांसदले ‘विवादित’ गाडी फिर्ता गरे, रिक्सा चढेर घर फर्किए

बुटवल– प्रदेश ५ मा प्रदेशसभा विभिन्न सभापातिहरु, दलका नेताहरुका लागि गरिएको गाडी खरिद प्रकरणमा भएको अनियमतिताबारे समाचार राटोपाटी अनलाइनमा समाचार प्रकाशित भएपछि अहिले प्रदेशसभाले छानविन उपसमिति गठन गरेर काम शुरु गरेको छ  । 

उता, सांसदहरले एकपछि अर्को गाडी फिर्ता गरिरहेका छन् ।

गत पुस २७ गते सार्वजिक लेखा समितिका सभापति डिल्ली चौधरीले गाडी फिर्ता गरेका थिए भने आज नेपाली काँग्रेस ससदीय दलका नेता वलदेव शर्मा पोखरेलले गाडी फिर्ता गरेका छन् । उनले प्रदेशसभाले उपव्ध गराएको लू १ झ ४४७ नम्बरको गाडी फिर्ता गरेका हुन् ।

प्रदेशसभाका लागि खरिद भएका १३ वटा मध्ये ११ वटा गाडीवटा अनियमितता भएको आशंका रहेको छ । 

संसदीय दलका नेता शर्माले गाडीको चाबी र बिलबुक प्रदेशसभा सचिव दुर्लभ कुमार पुनलाई  सञ्चारकर्मीहरुको उपस्थितिमा बुझाएका थिए । 

‘विवादित गाडी चाहिँदैन बरु साइकल चढेर प्रदेश सभा आउँछु’
नेपाली काग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले गाडी खरिदमा भएको अनियमितताबारे लेखा समितिले छानविन गरेको भन्दै प्रदेशसभाले प्रदान गरेको विवादित गाडी आफूले नचढ्ने बताए । उनले भने, ‘म यस्तो विवादित गाडी चढ्दिनँ, बरु साइकल चढेर प्रदेश सभा आउँछु ।’ 

प्रदेश सभा गाडी बुझाएपछि  ना १ ह ६८१६ नम्बरको अटो रिक्सा चढेर घरतिर लागेका थिए । उनको घर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्दछ । 

छानविन समितिका सदस्य भन्छन्, ‘पक्कै केही त्रुटी छ  छानविन समितिले मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषदको कार्यालयदेखि प्रदेशका सबै मन्त्रालय र प्रदेश सभा सचिवालयले पठाएका सवारी साधनसम्बन्धि फाइल अध्ययन गरिरहेको छ ।’ 

नेकपाका सांसद कुलप्रसाद पोखरेलको संयोजकत्वमा बनाइएको उपसमितिमा काँग्रेसका वैजनाथ कलवार र राजपाकी कल्पना पाण्डे सदस्य रहेका छन् ।  उपसमितिका सदस्य कलवारले आफूहरुले फाइल

अध्ययन गरिरहेको र प्रतिवेदन बनाउने अन्तिम तयारीमा रहको बताए । उनले गाडी खरिदको विषयमा केही त्रुटी पाइएको पनि बताए । 

उनले भने, ‘अहिले नै सबै कुरा भन्न मिल्दैन तर केही त्रुटी चाहीँ भेटिएका छन् । अब एक दुई दिनमा प्रतिवदेन बुझाउँछौँ ।’ 

प्रदेश ५ को संसद तथा सरकारले यस आर्थिक वर्षमा करिव २३ करोडका सवारी साधन खरिद गरेको छ । जसमा प्रदेश सभाको लागि १३ वटा गाडी करिव ८ करोडमा खरिद गरिएको थियो । बजार मूल्यभन्दा बढीमा खरिद भएको र एक महिनामा नै बिग्रन थालेपछि ठूलो घोटला भएको आशंका गरिएको छ ।

बलात्कारमा संलग्न चौधरी पक्राउ

बुटवल– सर्वोच्च अदालतले सजाय सुनाएको झन्डै दुई वर्षपछि दाङ प्रहरीले सामूहिक बलात्कार काण्डका दोषी विष्णु चौधरीलाई पक्राउ गरेको छ ।

चौधरीलाई २०७३ साल फागुन ३० गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले बलात्कार गरी लुटपाट गरेको आरोपमा उनलाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । 

२०६५ साल चैत महिनामा बिजौरीमा भएको सामूहिक बलात्कार घटनामा उनी संलग्न रहेको  अदालतको  फैसलाको आधारमा दाङ प्रहरीले पक्राउ गरेको हो ।  अदालतको फैसला पश्चात चौधरी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले चौधरीलाई तुलसीपुर—१८ मा रहेको घरबाटै शुक्रबार पक्राउ गरेको जनाएको छ ।  चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको  प्रहरीले जनाएको छ । 

नयाँशक्ति पार्टीले ५ नम्बर प्रदेशमा जागरण अभियान थाल्ने

बुटवल– नयाँशक्ति पार्टीको ५ नम्बर प्रदेश कमिटीले पार्टी शुद्धीकरण अभियान थालेको छ । सो अभियानलाई विशेष महत्व दिँदै संगठनले शुक्रबार माघ महिनाभर गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको हो । 
प्रत्येक महिना पार्टी कामलाई योजनाबद्ध रुपमा लैजाने निणर्य गरेको नयाँ शक्ति ५ नम्बर प्रदेशले माघ महिनाभर मध्यपहाडी लोकमार्गमा जागरण अभियान,वडा सम्मेलन, गाउँपालिका अधिवेशन लगायतका कार्यक्रमहरु तय गरेको छ ।

पार्टीका प्रदेश संयोजक कमल खनालले बाँकी रहेका वडा र गाउँपालिकाको सम्मेलन तथा अधिवशेन गर्नका लागि विभिन्न नेताहरु जिम्मेवारी दिएको बताए ।  उनले रोकिएका गाउँपालिकाहरुको सम्मेलन माघ महिनाभित्र सक्ने बताए । ५ नम्बर प्रदेशका केही साना दलहरुसँग यसअघि नयाँशक्ति पार्टीसँग एकता भएको थियो । 

कतिपय जिल्लामा नेकपा मालेका नेताहरु नयाँ शक्तिमा आएका छन् । सोही एकता प्रक्रियालाई मध्येनजर गर्दै गाउँअधिवेशन सम्पन्न गर्ने र उपयुक्त जिम्मेवारी बाँडफाँड गरिने जनाइएको छ । माघ महिनाको अन्तिममा प्रदेशका युवा उद्योगी र स्वतन्त्र नागरिक समाजका प्रतिनिधिहरुसँग नयाँ शक्ति पार्टीका संयोजक डा।बाबुराम भट्टराईले छलफल गर्ने कार्यक्रम रहेको छ । 

घोराहीमा दुई लुटेराहरु पक्राउ

बुटवल– दाङको घोराहीमा लुटपातमा संलङघन दुईजना लुटेराहरुलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ३२ बस्ने २१ वर्षीय मुकेश यादव र १६ वर्षीय प्रदिप यादवलाई उक्त सिक्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
घोराही–१३ बाह्रकुने दहमा ५१ वर्षीया पञ्चमाया बुढाले घाँटीमा लगाएको ३.५ तोलाको सुनको सिक्री लुटेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४६ बमोजिम वमलीमारी कसुरमा अदालतमा मुद्धा दायर गरी कार्बाही चलाइएको छ ।

प्युठानमा ६ महिनामा २१ बलात्कार घटना

बुटवल– पछिल्लो ६ महिनामा प्युठान जिल्लामा २१ वटा बलात्कार सम्बन्धि उजुरी परेका छन् । त्यसमध्ये ५ वटा बलात्कार उद्योग र १६ वटा बलात्कार मुद्धा परेको प्युठानका जिल्ला प्रहरी प्रमुख (डिएसपी) निर्मल बुढाथोकीले बताए ।  उनले भने– ‘अधिकाँश आफन्त पुरुषबाट महिलाहरु बलात्कृत भएका छन् ।  एउटी देवरबाट बलात्कृत भईन् । अर्की आफ्नै काकाबाट, छिमेकीद्वारा ४ वर्षीया बालिका यौन हिंसाको शिकार भइन्  । १३ देखि १६ बर्ष मुनिका ५ जना बालिकाहरु बलात्कारको शिकार भएका छन् । ४ बर्ष उमेरकी बालिकादेखि ५७ बर्ष उमेर सम्मका महिलाहरु बलात्कृत हुनेमा परेका छन ।’
त्यस्तै गुल्मीमा पछिल्लो ६  महिनामा एक उद्योगसहित ७ वटा बलात्कारका घटना भएका छन् । गुल्मीभन्दा थोरै जनसंख्या भएको जिल्ला हो प्युठान । २ लाख ९८ हजार जनसंख्या भएको प्युठानमा दुई नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् ।
हाल झण्डै ३ लाख भन्दा बढी  जनसंख्या रहेको गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका रहेका छन् ।  कम जनसंख्या भएको प्युठानामा कसरी बलात्कार घटना बढे त ? भन्ने प्रश्नममा डिएसपी बुढाथोकीले भने– ‘पहिला पहिला महिलाहरु वा समाजका मानिसहरुले गाउँमै दवाउने गरेको पाइयो, अहिले धमाधमउजुृरी बढ्न थालेका छन् ।’

घटनाको संयुक्त अनुगमन

बुटवल– सिद्धार्थनगर नगरपालिका वडा नं. ६ का केदार सहनीको मृत्यु गैरन्यायिक हत्या भएको आशंकामा मानव अधिकार तथा शान्ति समाज, जवाफदेहिता निगरानी समिति र एडभोकेसी फोरमले संयुक्त रुपमा घटनाको अनुगमन गरेका छन् ।

सहनीको गत शनिबार राती जवाफी कारवाहीमा मृत्यु भएको प्रहरीले बताएको थियो । यद्यपि, सहनीका परिवारले जवाफी कारवाही नभएको बताएका छन् । सहनीकी आमा मुराती चाईले पक्राउ गरेर प्रहरीले गोली हानेर मारेको दाबी गरेकी छिन्  ।

मानवअधिकारवादी संस्थाहरुले पीडितको घरमै पुगेर परिवारसँग घटनाका बारेमा बुझेको हो । आमा चाईले सहनी यसअघिको मुद्धामा कैद सजाय भुक्तान गरि भारतको केरलामा बस्दै आएको र सबै कुरा आफूहरुलाई थाहा नभएको बताइन् ।

यता प्रहरीले भने सिद्धार्थनगर नगरपालिका वडा नं. १० शंकरपुरमा प्रहरीको गस्तीलाई एक्कासी फाइरिङ् गरेपछि जवाफी कारवाहीमा उनको मृत्यु भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले सहनीले प्रहरीलाई एक्कासी फाइरिङ् गरेपछि जवाफी कारवाहीमा मृत्यु भएको बताए । प्रहरीले त्यसरी मृत्यु भएको व्यक्तिको पहिचान गर्न समेत समय लागेको बताउँदै पछि मात्रै पहिचान खुलेको दावी उनले गरे ।

मावन अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले सहनीको गैरन्यायिक हत्या भएको आशंकामा यथार्थ बुझ्नका लागि अनुगनम गरिएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप