बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१६ वर्षको कलिलो उमेरमा यसरी भएको थियो रमेश महतोको शहादत

शनिबार, ०५ माघ २०७५, ११ : ४९
शनिबार, ०५ माघ २०७५

जनकपुरधाम–प्रथम मधेश आन्दोलनको उद्गमस्थल लहान थियो, जहाँ १६ वर्षे कलिला युवा रमेश महतोले ०६३ साल माघ ५ गतेका दिन शहादत प्राप्त गरेका थिए ।

 १० वर्षे जनयुद्ध तथा ५ दलहरुसँग मिलेर गरिएको जनआन्दोलन पश्चात तत्कालीन नेकपा माओवादीले संघीयता छाड्दै अंगीकार गरेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति असन्तुष्टि जनाउदैँ तत्कालिन मधेशी जनअधिकार फोरमको नेतृत्वमा प्रथम आन्दोलनको शुरुवात भएको थियो । त्यो आन्दोलनको उद्गम स्थल सिरहको लहान बनेको थियो । सोही सिलसिलामा महतोले शहादत प्राप्त गरेका थिए ।

मधेश केन्द्रित दलले ऐतिहासिक मधेश आन्दोलनको पहिलो शहीद रमेश महतोलाई मान्दै आएका छन् । हाल सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले विगत १२ वर्षदेखि१६ वर्षीय रमेश महतोको मृत्यु भएको दिन माघ ५ लाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।

यसरी भएको थियो महतोको शहादत
माओवादी आन्दोलन र जनआन्दोलनले संघीय एजेण्डालाई माओवादील छाडेको भन्दै माओवादी पृष्ठभमि बोकेका वर्तमान संघीय सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री समेत रहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अगुवाई २०६३ मा प्रथम मधेश आन्दोलन भएको थियो ।

आन्दोलन चर्कंदै जाँदा महतो पनि त्यसमा भाग लिन पुगेका थिए । त्यसैबीच, लहान हुदैँ पश्चिम तर्फ गईरहेको तत्कालिन माओवादीका नेता राम कार्की र मातृकाप्रसाद यादवसहितका गाडीहरुलाई आन्दोलनकारीहरुले छेके । मधेश बन्दको क्रममा अवज्ञा गरी गाडी गुडाएको भन्दै मधेशी आन्दोलनकारीहरुकोे समुहले गाडी चल्न नदिएपछि विवाद सृजना भएको थियो । आक्रोशित आन्दोलनकारीहरुका समूहमा महतो अग्र भागमा पुगे, जहाँ माओवादी नेता तथा आन्दोलनकारीहरु बीच विवाद हँुदै थियो । अचानक भीडलाई तितरबितर पारेर बाटो खुलाउन प्रहरीले गोली फायर गरे । त्यो गोली सोझैरमेश महतोको छातीमा गोली लाग्यो । उनको तत्कालै घटनास्थलमै मृत्यु भयो । 

महतोको मृत्युपछि अवस्था तनावग्रस्त बन्यो । मधेशी आन्दोलनकारीले महतोको शव घटनास्थलबाट उठाउन दिएनन् । बेलुकीपख मातृका प्रसाद यादवले शवलाई उठाएर परिवारजनलाई हस्तान्तरण गर्न खोजेको आरोप लगाउँदै आन्दोलनकारीहरु उग्र भए। तर पछि मधेशी आन्दोलनकारी, मातृकाप्रसाद यादव र मृतकका परिवारजनबीचको सहमतिमा उनको शव परिवारजनले बुझेका थिए र हिन्दु धर्म अनुसार महतोको शवको दाह संस्कार गरिएको थियो ।

महतोको शहादतले आन्दोलनको आगोमा घिउ थप्यो । फलतः मधेशको २२ वटै जिल्लामा आन्दोलन चर्कियो । अन्ततः मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । 
त्यसैले मधेश केन्द्रित दलहरुले महतोले शहादत प्राप्त गरेको माघ ५ को दिनलाई निकै महत्त्वका साथ लिने गरेको देखिन्छ ।

रमेश महतोको जीवन
सिरहा नवराजपुर गाँउपालिका वडा नम्बर ३ स्थित मझौरा निवासी हुन्, १६ वर्षीय स्व. रमेश महतो । गाउमै रहेको आधारभुत जनता माध्यमिक विद्यालय, जगतपुरबाट कक्षा ८ सम्म अध्ययन गरीथपअध्ययन गर्न लहान पुगे । त्यहाँको मनोकामना ईंग्लिस बोर्डिंग स्कुलमा अध्ययनरत महतोले ९ कक्षा उत्तीर्ण गरि १० कक्षामा नामाकांन गराएर एसएलसीको तयारीमा थिए । तर माथि उल्लिखत घटनामा प्रहरीले चलाएको गोली लागेर रमेश महतोले शहादत प्राप्त गरे ।

इन्जिनियर बनाउने दाजुको सपना चकनाचुर
रमेशको दाजु बालकृष्ण सिंहले भाइ रमेशलाई इन्जिनियर बनाउने सपना साँचेका थिए । १२ औँ रमेश महतो स्मृति दिवसलाई सम्झिदैँ उनी भावुक हुदैँ भने–हामी त खासै पढाई प्रति रुचि राख्न सकेनौं । तर पढ्नु पर्छ भनेर बुझ्न लागेका हामीले भाइलाई इन्जिनिर बनाउने सपना साँचेर अध्ययनका लागि लहान पठाएका थियौं ।  तर दैवको लिला मैले 
तर उनी दैवको शिकार भयो ।
रमेशले शहादत प्राप्त गरेको क्षण उनका दाजु चाहिँ भारतको हरियाणामा काम गर्दै थिए । उक्त घटनापछि उनी गाउँमै छन् ।

फोरम र नेताको आश्वासन आश्वासन
रमेश बितेपछि घरमा अमेरिकालगायत टाढाटाढाका  पत्रकार, मानवअधिकारकर्मी, नेता मन्त्रीहरु आएर थुपै्र आश्वासन दिएको शहीद रमेशको ७४ वर्षिय बुबा रवि महतो बताउँछन् । उनी भन्छन्–नेताहरुले काम दिनेदेखि अरु थुप्रै आश्वासन दिए । तर रोजगारी दिने नाममा विभिन्न ठाममा जागिर पनि दिए । तर ती जागिरहरु उनको सीपअनुसारका थिएनन् । उनले निरन्तरता दिन सकेनन् ।फलतः मधेश आन्दोलनका प्रथम शहीद रमेशको परिवारको जीवन समस्याग्रस्त बनेको छ । त्यसमाथि थपरमेशको यादले आफूलाई निक्कै सताउने गरेको कुरा रवि महतो बताउछन् ।

उनी भन्छन्– “मधेश आन्दोलन किन भयो, त्यो देखि मलाई मतलब छैन । मेरो छोरा रहेन । विभिन्न नेताले दिएको आश्वासनले पनि काम लागेनन् । गाउँमा पनि खासै विकास र परिवर्तनले गति लिएको देखिएन । बरु समस्याहरु थप बल्ँिझदै गयो । हाम्रा लागि जीवनयापन जटिल हुदैँ गयो । मेरा छोराको नाम भजाएरअरुले लाखौँ र करोडौँ रुपैया अहिलेसम्म लुटिरहेको देख्दा मन खिन्न र उदास हुन्छ ।”

त्यसो त रमेश बुबालाई एकजना भलाद्मीले जागिरको साटो रमेशको नाममा प्रतिष्ठान दर्ता गराउन सल्लाह दिएका थिए । त्यसअनुसार उनी प्रतिष्ठान दर्ता गराउन कागजातहरु तयार पारीजिल्ला प्रशासन कार्यालय सिरहा जादाँ प्रमुख जिल्ला अधिकारीले दर्ता गर्नै मानेनन् । त्यसो गर्नुको खास कारण चाहिँ रमेशको परिवारलाई जानकारी नै नदिइकन, उनीहरुको सहमतिबिना नै अरु कसैले रमेश महतोको नाममा पहिला नै प्रतिष्ठान दर्ता गरिसकेको थियो । त्यो कुरा सिडियोले बताउँदाको क्षण सम्झेर खिन्नता पोख्दै उनी भन्छन्, “मलाई मनमा चस्स बिझ्यो।”

रमेश महतो स्मृति प्रतिष्ठान भनी संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजलाल यादवले दर्ता गराइसकेका थिए । त्यही कारण शहीद महतोको पिताको संस्था दर्ता गर्न सिडियोले मानेका थिएन ।
यता रमेशका दाजु बालकृष्ण सिंहलाई गत वर्ष राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा पूर्व सूचना तथा संचार मन्त्री राजकिशोर यादवले बलिदानी दिवसकै अवसरमा रोजगार दिने भनी घोषणा गर्यो । तर त्यो घोषणामै सीमित भयो, कार्यान्वयन भएन । त्यस घटनाले उल्टै दाजु सिंहलाई हैरानी थपिएको छ । उनी भन्छन्, “त्यो घोषणा भएको केही दिनपछि गाउँघर, लहानसम्मका मान्छेले तिमीलाई नेताजीले केमा जागिर लगाईदियो भनी सोधेर हैरान पार्न थालेका छन् ।”तर यथार्थ कुरा चाहिँ के छ भने, उनलाई मञ्चमा भाषण गरेर ‘जागिर लगाइदिने’ नेता राजकिशोर यादवले अहिलेसम्म पनि फोन गरेका छैनन् । उनी अहिले पनि निकै दुख प्रकट गर्दै भन्छन्,“नचाहिँदो आश्वासन दिएर पीडितलाई नै पिडा दिने तरिका चाहिँ नेताले नै जान्दो रहेछ... ।”

बालकृष्ण सिंहको जागिरको कथा
तत्कालिन सद्भावना पार्टीबाट राजेन्द्र महतो आपूर्ति मन्त्री छँदा जागिरका लागि बालकृष्ण काठमाण्डौँमा नेता कहाँ धाईरहन्थे । त्यतिबेला मन्त्री राजेन्द्र महतोले उनलाई विराटनगर स्थित नेपाल आयल निगममा करारमा जागिर लगाई पनि दिए । तर करारको म्याद सकिएपछि उनी त्यहाँबाट निकिालिए । 
पछि राजेन्द्र महतोले नै काठमाण्डौँ र ईटहरी स्थित नेपाल बायोग्यास तथा उर्जा प्रवद्र्धन नामक संस्थामा उनलाई जागिर लगाइदिए । तर सो जागिर पनि ३ महिनाको छोटो म्यादवाला थियो, फलतः त्यहाँबाट पनि उनी हटाइए । 


०६५ सालतिर सिरहाको जगतपुर स्थित रहेको रमेश महतो स्मृति जनता माध्यमिक विद्यालयफुलबरीया नवराजपुरमा लेखा पदमा ५ हजार रुपैया तलब पाउने गरीमधेशवादी दलकै नेताले जागिर लगाइदिए । त्यहाँ ३ वर्ष सम्म काम गर्दा उनले कहिल्यै समयमा तलब पाएनन् । जागिरको पनि ग्यारेण्टी नहुँदा उनी तलब नखाइकनै जागिरबाट मुक्त भए । अहिलेसम्म पनि उनले त्यहाँबाट तलब पाउनसकेका छैनन् । 

अहिले उनी बुवासंगै खेतीपातीमा काम गर्दै आइरहेका छन् । जागिरको लागि अहिले पनि भौतारिन्छन् । तर नेताको बोलीमा उनी अचेल विश्वास गर्न छाडिसकेका छन् । 
उनी आश्चर्यमिश्रित दुःखको स्वरमा भन्छन्– “नेताले लोकसेवाको तयारी गर भनेर भन्छन् । तर ३५ वर्ष उमेर कटिसकेका मानिसलाई लोकसेवा तयार गर भनेर नेताजीहरुले कसरी भन्न सकेका होलान् ?”

शहीद परिवारजनको आर्थिक अवस्था
शहीद रमेश महतो घरमा सबभन्दा कान्छो । उनीभन्दा जेठो बालकृष्ण सिंह र माहिलो रामशोभित महतो छन् । यी दुवै भाइको विवाह भइसकेको छ । उनको घरमा आमा रानो देवी, बुवा रवि महतो र दुई भाइका श्रीमती र छोरा छोरी गरी जम्मा ९ जनाको परिवार छ ।जग्गाको नाममा करिब १५ कठ्ठा जग्गा छ । रमेशको बुवा र आमा र दाजु सिंह खेतीपातीमै व्यस्त रहन्छन् । माहिलो रामशोभित महतो भने पुनः अध्ययन गर्न थालेका छन् ।

घरमा रहेका बालबच्चा नजिकैकोे विद्यालयमा पढ्ने गरेका छन् । शहीद परिवारको नाममा त्यतिबेला विद्यालय र नेताले निःशुल्करुपमा पढाइ दिने भनेपनि अहिले आएर शहीद भएको प्रमाणपत्र माग्न थालेपछि समस्या भयो र सःशुल्क रुपमा अध्ययन गराई रहेको बालकृष्ण सिंह बताउछन् । उनी अचेलशहीदको प्रमाण पत्र कहाँ बन्छ भन्दै सबैसंग हारगुहार गर्न थालेका छन् ।
उनको घरमा एक भैसी र दुई वटा गोरु छन् ।

रमेशको आमा रानो देवीको अवस्था
छोरा रमेशको यादले आमा रानो देवी पीडित छन् । घरिघरि उनी छोराको शोकमामुर्छित हुन्छिन् । हरेक वर्षको माघ ५ गतेको दिन उनलाई पीडा र कष्टको दिन बनेर आउँछ, छोराको तस्विरलाई नियाल्दै रोएर बिताउछिन् । छोरा अनाहकमा मारिन पुग्दा उनी पीडित बनेकी छिन् ।उनी भन्छिन्– म मरेपछि मात्रै माघ ५ गते मर्छन् होला जस्तो छ ।

उनलाई अचेल विभिन्न रोगले च्यापेको छ । 

रमेशको बुवाआफैं पनि ब्लडप्रेसरबाट ग्रस्त छन् ।

शहीद परिवारजनको खुसीका क्षण
जेपी गुप्ता सूचना तथा संचारमन्त्री भएको बेलारमेश महतो र गजेन्द्र नारायण सिंहको नाममा हुलाकी टिकट निक्लेको क्षण परिवारजनका लागि निकै खुसीयालीको दिन थियो । हुलाकी टिकटमा भाई रमेशलाई देख्दा देशले शहीदप्रतिको सम्मान साच्चिकैँ गर्दो रहेछ भन्ने अनुभूति बालकृष्ण सिंहलाई भयो । उनी भन्छन्, “भाइको शहादतपछि पहलिो पटक त्यतिबेला आमा र बुवा पनि औधि खुसी हुनुभएको थियो ।”

शहीद परिवारलाई जानकारी छैन
प्रत्येक वर्षको माघ ५ गते मधेशवादी दलहरुले सिरहाको लहानमा भव्य कार्यक्रम गर्दै आएका छन् । अघिल्ला वर्षमा तनेताहरु गाडी लिएर घर आएर स–सम्मानका साथ मञ्चमा लग्थे । तर यसपालि अहिलेसम्म जानकारी गराएको छैन । बरु यसपाली  प्रदेश २ सरकारले सरकारीस्तरमै लहान स्थित विद्यालयमा  कार्यक्रम गर्दै छ । 

त्यस्तै दुई वर्षपूर्व देखि शहीद रमेश महतो स्मृति माध्यमिक विद्यालयको प्रांगणमा रहेको स्मारकमै माघ ४ गते भव्य कार्यक्रम गथ्र्यो । तर हाल भने त्यो कार्यक्रम गर्न छाडेको छ । त्यसले आहत महातोका परिवारजनले नेताको नियतमाथि नै आशंका गरेका छन् ।

शहीद रमेश महतोको नाममा
शहीद रमेशको नाममा अहिले गाउमा नवराजपुर गाउपालिकामा एउटा विद्यालय छ भने झुलुंगे पुल निर्माण गरिएको छ । शहीदको स्मृतिमा एक प्रतिष्ठान रहेपनि शहीद परिवार भने त्यसप्रति खुसी छैनन् । कारण कुनै एक नेताले नाम भजाएर खाने गरेको शहीद परिवारको आरोप छ ।

सिरहाको लहानमा रहेको शहीद रमेश महतोको पार्कमा नेताको आर्थिक सहयोग बिना नै शहीद परिवारजनले आफै पार्क बनाएका छन् । 

शहीद रमेश महतो प्रथम मधेश आन्दोलनको शहीद भएपनि उनका घरपरिवारजन भने राजनीतिकबाट निकै टाढा छन् । गाउँ घरमा हुने गरेको विकासको कामहरुले उनीहरुमा खासै खुसी जगाउन सकेको छैन ।  नेताहरुको पूरा हुन नसकेका आश्वासनहरुका कारण उनीहरुप्रतिक शहीद परिवारजनको गुनासो छ, तर पनि नेताहरुमाथिको उनीहरुको आशा र भरोसा टुटिसकेको भने छैन । 

२०६३ सालमा सुरु भएको प्रथम मधेस आन्दोलनका क्रममा सिरहाका रमेश महतो, प्रमोद सदाय, बेचन यादव, विजय कुमार सहनी, मोहम्मद अनिस लगायत देशभरका ५४ जनाले मधेस मुक्तिका लागि भन्दै बलिदानी दिएका थिए । प्रथम मधेस आन्दोलनबाट उठान भएको मुद्दा पूर्णरुपेणप्राप्त नभएपछि २०७२ मा भएको दोस्रो मधेस आन्दोलनमा ५६ जनाले ज्यान गुमाए भने तेस्रो २०७३÷२०७४ मा ७ जना सहित अहिलेसम्म १ सय १७ जनाले मधेसमा बलिदानी दिइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप