शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालिनले नेपाली फुटबलको ‘प्राण’ भर्लान् त ?

शनिबार, ०५ माघ २०७५, १३ : ४७
शनिबार, ०५ माघ २०७५

काठमाडौं –अन्तर्राष्ट्रिय सफलता र नतिजाका हिसावले नेपाली फुटबल शून्य जस्तै छ । दक्षिण एसिया भन्दा माथि जान नसकेको नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि पनि जित्न सकेको छैन ।

विश्व फुटबल महासंघ (फिफा) बरियतामा समेत नेपालको स्थान खासै सुधार भएको छैन । नेपालका लागि विश्वकप र एसियाकप सपना भन्दा बाहिरको विषय बनिरहेको छ । आन्तरिक कलहबीच घरेलु सानातिना प्रतियोगितामा रमिरहेको नेपाली फुटबललाई माथि उठाउने प्रयास खासै भएको छैन । 

पाँचमहिना अघि मात्र बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह चरणबाटै बाहिरियो । नेपाली फुटबल टोलीका जापानी प्रशिक्षक ग्योतुकी कोजी ‘ओभर स्टे भिसा’ का कारण स्वदेश फर्किए । कोजीलाई नेपालको अध्यागमन विभागले जापान फर्काएको थियो । 

त्यसपछि कोजीको स्थानमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालकै बालगोपाल मर्हजनलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पियो । एन्फाले मर्हजनलाई दिएको जिम्मेवारी अग्नीपरिक्षा जस्तै थियो । कोजीको प्रशिक्षणमा उल्लेख्य उपलब्धि हात पार्न नसकेको नेपाली फुटबलले मर्हजनको प्रशिक्षणमा पनि खासै प्रगती गर्न सकेन । 

कोजी फर्किए लगत्यै विदेशी प्रशिक्षकको खोजीमा रहेको एन्फाले अहिले राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी स्विडेनका योहान कालिनलाई सुम्पने निर्णय गरेको छ । एन्फा कार्यसमिति हालै सम्पन्न बैठकले कालिनलाई प्रशिक्षक बनाउने निर्णय गरेको हो । एन्फा बैठकले प्रशिक्षकमा कालिनको नाम अनुमेदन गरेपनि उनको पारिश्रमिक र सुविधा बारे तय गरिसकेको छैन । 

प्रशिक्षकको पारिश्रमिक नेपाल सरकारले ब्यहोर्ने गरी एन्फा कार्यसमितिले निर्णय सहित प्रस्ताव गरेको छ । एन्फाले कालिन प्रशिक्षक बन्न इच्छुक देखिएको पनि जनाएको छ । कालिन नेपाली फुटबलसँग परिचत ब्यक्ति हुन् ।

२०७० सालको ‘ए’ डिभिजन लिगमा उनी मच्छिन्द्र क्लबको प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा मच्छिन्द्र लिग उपविजेता बनेको थियो । कमजोर संरचनाबीच मच्छिन्द्रले लिगमा सनसनीपूर्ण प्रदर्शन गरेकोले कालिन नेपालमा आफ्नो प्रभाव छाड्न सफल भएका थिए । 

स्विडेनको तेस्रो डिभिजन क्लबबाट व्यवसायीक प्रशिक्षण सुरु गरेका कालिनले युईएफएबाट प्रशिक्षक सम्बन्धी बी कोर्स गरेका छन् । सबै प्रक्रिया मिलेमा कालिनले आगामी मार्चदेखि नेपाली फुटबल टोलीको प्रशिक्षण सम्हाल्ने एन्फाले जनाएको छ । कालिनको प्रशिक्षणमा नेपाली फुटबल कहाँ पुग्छ, त्यो भने समयले बताउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप