बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वाइडबडीमा घोटाला प्रचण्ड, देउवा र ओलीको सहमतिमा भएको छ : डा. लोहनी

शनिबार, ०५ माघ २०७५, १६ : ४७
शनिबार, ०५ माघ २०७५

काठमाडौं–एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वाइडबडी विमान खरिद प्रकरण पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा, र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनीहरुबीचकै सहमतिमा भएको आरोप लगाएका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले  भने,‘यो काण्ड दुई भुतुपूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा र सहमतिमा भएको देखा परेको छ । यसमा को के पदमा छ भन्ने प्रश्नलाई गौण राखी दोषीलाई जोसुकै भएपनि छानबिन गरी निश्कर्षमा पुग्नपर्छ भन्ने हाम्रो पार्टीको माग छ।’

वाईडबडी जहाज खरिद काण्डमा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदलाई ढाँटेको आरोप पनि उनले लगाए । उनले भने,‘यो प्रकरणमा संसदलाई मन्त्रीले ठाडै ढाँटे । संसदलाई ढाँट्नु भनेको ‘अब्स्ट्रक्शन अफ जष्टिस’ हो । अरु देशमा भएको भए कारबाही हुन्थ्यो ।’

वाईडबडी प्रकरणमा छानबिन गर्न र सत्य, तथ्य बाहिर ल्याउनको लागि पर्यटनमन्त्री अधिकारीले तत्काल राजिनामा दिनुपर्ने पनि माग गरे । 

उनले अनशनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता पालना गर्नुपर्ने बताएका छन् । डाक्टर केसीसँग सरकारले पटक–पटक सम्झौता गरेको तर त्यसलाई कार्यान्वयन नगरी उपेक्षा गरेको पनि उनले आरोप लगाए । 

मुलुकमा पछिल्लो समय भ्रष्टाचार व्याप्त हुँदै गएको उनले आरोप लगाए । 

त्यस्तै उनले निर्मला हत्याकाण्ड अहिलेसम्म सबै नेपालीहरुको लागि पीडाको रुपमा रहेको बताए । उनले भने,‘हत्या प्रकरणमा प्रमाण नष्ट गर्नेलाई ६ महिनासम्म सरकारले कारबाही गरेन । सरकारले यो प्रकरणमा विभिन्न टोली गठन गर्ने सिवाय केही काम गरेको छैन् ।’ 

निर्मला प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नालायकीपन देखाएको पनि उनले आरोप लगाए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप