बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघको आपत्ति, कठोर कदम चाल्ने चेतावनी

शनिबार, ०५ माघ २०७५, २१ : ०४
शनिबार, ०५ माघ २०७५

काठमाडौँ । प्रा. डा. गोविन्द के.सी. १६ औं  पटक अनसनमा बसेको ११ औं दिन भई सक्दा समेत नेपाल सरकारले कुनै चाँसो नदेखाएकोमा नेपाल चिकित्सक संघले गम्भिर ध्यानाकर्षण भएको  जनाएको छ ।

सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएकोमा पनि संघले आपत्ति जनाएको हो ।
 
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति प्रति पनि संघले आपत्ति प्रकट गरेको छ ।

संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अग्रसरतामै गरिएको सम्झौताका सम्बन्धमा  प्रधानमन्त्रीज्यूबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेपाल राष्ट्रको इज्जत र प्रतिष्ठामाथी नै आँच पुग्न गएको नेपाल चिकित्सक संघको ठहर छ ।’ 

नेपाली जनतालाई सर्व सुलभ स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि चिकित्सा शिक्षाका अभियन्तासँग सरकारले बारम्बार सम्झौता गर्ने, अनि सम्झौताको मसी सुक्न नपाउँदै सरकारकै तर्फबाट उल्लंघन गर्ने परिपाटीले नेपाल सरकारको गरिमा र छवीमाथी गम्भिर शंका उत्पन्न गरेको संघले जनाएको छ ।

संघको संयमता र धैर्यतालाई समेत सधै कायम राख्न नसकिने चेतावनी समेत दिएको छ ।   
 
अबिलम्ब डा. गोविन्द के.सी.सँग गरेको सम्झौताको अक्षरस कार्यान्वयन गर्दै उनको जीवन रक्षा गर्न संघले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ । 

‘नेपाली जनताको स्वास्थ्य सेवाका लागि आफ्नो ज्यानको बाजी लगाएर सत्याग्रहमा लाग्नु भएका डा. के.सी.को जीवन रक्षाका निम्ती नेपाल चिकित्सक संघ कुनै पनि बेला अप्रिय कदम उठाउन बाध्य हुने र त्यसबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप