बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चुकन्दरको रस दैनिक खाँदा शरिरमा देखिन्छन् यी ७ प्रभाव

आइतबार, ०६ माघ २०७५, ११ : १२
आइतबार, ०६ माघ २०७५


स्वास्थ्य क्षेत्रका जानकारले चुकन्दरलाई ‘सुपरफुड’को संज्ञा दिँदै प्रत्येक व्यक्तिले यो खानै पर्ने सल्लाह दिन्छन् । यो सल्लाह यत्तिकै दिइएको होइन । चुकन्दर एक प्रकारको जमिन मुनी फल्ने तरकारीको रुपमा खान सकिने वनस्पती हो । यसले आफ्नो पौष्टिक तत्व प्राकृतिक रुपमा जमिनबाटै पाएको हुन्छ ।

तपाईंले यो तरकारीलाई आफ्नो दैनिकको आहारमा समावेश गर्दा के हुन्छ ? के तपाईंले अलौकिक शक्ति प्राप्त गर्नुहुन्छ ? यस्तो हुन पनि सक्छ र नहुन पनि । तर यसले शरिरमा पुर्याउने सकारात्मक फाइदाबारे भने बिर्सन सकिँदैन । चुकन्दरको नियमित सेवनले तपाईंको स्वास्थ्यलाई पुर्याउने फाइदा के कस्ता छन् यसबारे यहाँ चर्चा गरिएको छ ।

१. तपाईंको एथलेटिक प्रदर्शनमा सुधारः

एक अनुसन्धानमा बताए अनुसार दैनिक रुपमा चुकन्दरको सेवन गर्नेहरुको एथलेटिक क्षमतामा सुधार आउँछ ।

यो शोध ‘न्यूट्रियन्ट्स–ओपन एक्सेस जर्नल अफ ह्युमन न्यूट्रिसन’ मा प्रकाशित भएको हो । यसमा एथलेटहरुको क्षमतामा चुकन्दरको जुसले कस्तो प्रभाव पार्छ भन्नेबारे अनुसन्धान गरिएको थियो । चुकन्दरको रसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।

चुकन्दरको रस सेवन गरेको दुई तीन घण्टापछि यसले उत्कृष्ट काम गर्ने भएकाले एथलेटिक क्रियाकपाल गर्नु ९० मिनेट अघि यसको सेवन गर्नुपर्छ ।

२. तपाईंलाई ऊर्जावान् राख्छः

चुकन्दरको रसले तपाईंलाई ऊर्जावान्समेत बनाउँछ । द टेलिग्राफमा प्रकाशित अनुसन्धानका अनुसार जो व्यक्तिले चुकन्दरको रसको सेवन गर्छन् उनीहरुको रगतमा नाइट्रेटको स्तर दोब्बर पाइयो । रगतमा नाइट्रेटको स्तर वृद्धि हुनाले शरिरलाई ऊर्जाशील राख्न मद्दत गर्छ । चुकन्दरको जुसले मांसपेशीलाई पनि उत्कृष्ट तरिकाले काम गर्न प्रेरित गर्छ । यी नतिजा कडा र हल्का व्यायामका क्रममा पत्ता लागेको हो ।

३. तौल नियन्त्रणमा रहन्छः

तपाईं ऊर्जावान् रहनु र एथलेटिक क्रियाकलापमा सक्षम हुनुको अर्थ तपाईंको तौल नियन्त्रणमा रहनु हो । यदि तपाईंले चुकन्दरको सिधा सेवन वा त्यसलाई जुस बनाउन पिउने निर्णय लिनुभएको छ भने  सायद तपाईंले खाने अन्य खानेकुरा पनि स्वस्थ नै होलान्  ।

तपाईं दैनिक रुपमा चुकन्दरको सेवन गरेको खण्डमा मात्र यसले शरिरमा सकारात्मक परिवर्तन देखाउन सुरु गर्छ ।

४. रक्तचाप कम हुन्छः

यदि तपाईं नियमित व्यायाम गर्नुहुन्छ र तौल पनि कम छ भने तपाईंको रक्तचाप सामान्यतयाः कम नै हुन्छ । तर यहाँ प्रश्न उठ्छ कि के चुकन्दर एक्लैले रक्तचापलाई कम गर्न सक्छ ? यसबारे गरिएको अनुसन्धानले यसले रक्तचापलाई कम गर्ने दाबी गरेको छ ।

रक्तचाप कम गर्ने क्षमता रहेको चुकन्दरको जुसमा हाइपरटेन्सन उपचार गर्ने क्षमतासमेत भएको अनुसन्धानले बताएको छ । यसमा पाइने इन्ओर्गानिक नाइट्रेट (एनओथ्री) ले सिस्टोलिक ब्लड प्रेसर (एसबीपी) र डायस्टोलिक ब्लड प्रेसर (डिबीपी) माथि सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

५. यसले रक्तप्रवाह वृद्धि गर्छः

चुकन्दरको रसले रक्तकोसिका खुलाउने भएकाले रक्तप्रवाहमा वृद्धि गर्न सहयोग गर्छ । यसै कारण यसको सेवन गर्ने एथलेटहरुले उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । यसले यौन क्षमतामा पनि वृद्धि गर्ने धेरै अनुसन्धानले दाबी गरेका छन् ।

६. पाचन क्रियामा सहयोगः

अन्य हरिया सागसब्जीमा पाइने झैं चुकन्दरमा पनि फाइबरको मात्रा अत्यधिक हुन्छ । एक कप चुकन्दरको रसमा ३.८ ग्राम फाइबर पाइन्छ । यो शरिरलाई दैनिक आवश्यक पर्ने मात्राको १५ प्रतिशत हो । फाइबरले पाचन क्रियामा निकै सहयोग गर्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ ।

७. मिठो निद्राका लागि सहयोग पुर्याउन सक्छः

चुकन्दरमा कोलिनको मात्रा अत्यधिक हुन्छ । कोलिनले हाम्रो कोसिकाका झिल्लीहरुको संरचनालाई कायम राख्न सहयोग गर्छ जसले मिठो निन्द्राका लागि प्रेरित गर्छ । यसले सिक्ने क्षमता र स्मरणशक्तिमा वृद्धि गर्छ । साथै, शरिर सुन्निएका बेला यसको सेवनले निकै राहत प्रदान गर्छ ।

तर याद राख्नुहोस्ः

तर चुकन्दर किन्न हतारिनु भएको छ भने कुनै पनि कुराको अत्यधिक सेवनले नकारात्मक असर पार्छ भन्नेकुरा तपाईंले थाहा पाउनुपर्छ । चुकन्दर एक शक्तिशाली पेय पदार्थ भएकाले यसको अत्यधिक सेवनले पाचनक्रिया गडबड बनाउन सक्छ । अनुसन्धानका अनुसार चुकन्दर जुसको अत्यधिक सेवनले कलेजोमा आइरन, कपर, म्याग्नेसियम र फस्फरसलगायतका धातु संकलन हुने गर्छ ।

त्यसकारण चुकन्दरको रसबाट लाभान्वित हुन चाहनुहुन्छ भने जिम्मेवार ढङ्गले सही मात्रामा पिउनुहोस् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप