मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को प्रहरी आक्रामकः एक सातामै तीन जनामाथि गोली प्रहार

आइतबार, ०६ माघ २०७५, १३ : ००
आइतबार, ०६ माघ २०७५

बुटवल । अपराधिक समुहविरुद्ध प्रदेश ५ को प्रहरी आक्रामक ढंगले कारवाहीमा उत्रिएको छ । एक हप्ताको अवधिमा प्रहरीले ३ जनालाई गोली प्रहार गरेको छ । जसमध्ये एक जनाको ज्यान गएको छ । दुई जना घाइतेलाई नियन्त्रणमा लिएको छ ।

गत शनिवार राती रुपन्देहीमा केदार साहनीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने बाँकेमा यसै साता दुई जनालाई खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ । प्रदेश ५ को प्रहरी अपराधमा संलग्नसँग आक्रमक ढंगले उत्रिएको प्रहरी संगठन प्रदेश ५ का प्रमुख डिआइजी पिताम्बर अधिकारीले बताए । 

डिआइजी अधिकारी भन्छन्, ‘हामी अमानवीय रुपमा प्रस्तुत हुँदैनौँ । तर, प्रहरीसँग क्रुर रुपमा प्रस्तुत हुने आपराधिक समूहसँग यहाँको प्रहरी आक्रमक बनेकै हो ।’ उनले रुपन्देहीको शिद्धार्थनगर नगरपालिका– ४ मा  शनिवार राती प्रहरीतर्फ फायर खोल्दै भाग्न लागेको अवस्थामा प्रहरीको जवाफी कारवाहीमा केदार साहनी मारिएको बताए ।

डिआइजी अधिकारीले बाँकेमा विभिन्न अपराधमा संलग्न दुई जनालाई पक्राउ गर्न खोज्दा भाग्न थालेपछि खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको बताउँदै भने – ‘यहाँको प्रहरी अब अपराधी समूहविरुद्ध कडा ढंगले लाग्दै छ । त्यस्ता गिरोहलाई नियन्त्रणमा लिन खोज्दा भाग्न थाले गोली हान्न बाध्य हुनेछ । ’

नियोजित इन्काउण्टरको आशंका

रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले उक्त दिन राती प्रहरीको जवाफी कारवाहीका क्रममा केदार साहनी मारिएको बताए पनि परिवारजन र उनका छिमेकीले प्रहरीले नियोजित इन्काउण्टरमा मारिएको हुन सक्ने आशंका गरेका छन् । यस घटनाका सम्बन्धमा अनुगमन गर्न मानव अधिकार तथा शान्ति समाज, जवाफदेहीता निगरानी समित र एडभोकेसी फोरम मृतक साहनीको घरमा पुगेर फर्किएको छ ।

शिद्धार्थनगर नगरपालिका–६ का साहनीको मृत्यु घटना विषयमा परिवार र सर्वसाधरणले आशंका व्यक्त गरेका छन् । विगतमा विभिन्न गुण्डा नाइकेहरुलाई जस्तै  नियोजित इन्काउटरका नाममा गैरन्यायिक हत्या भएको हो कि भन्ने आशंका साहनीकी आमा मुराती चाई लगायतका छिमेकीहरुले गरेका छन्   ।

घाइते भनिएका प्रहरी जवान कृष्ण श्रेष्ठको अवस्था, घटनास्थलको प्रकृति, साहनीको पछिल्लो मुद्दा, उनको कारोवार बारे नजिकबाट बुझ्ने र गम्भीर अनुसन्धन हुनुपर्ने अधिकारकर्मी र परिवारजनको माग छ । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष डिपी खनालले अहिले आफूहरु कुनै निचोडमा नपुगेको, अनुगमन मात्रै गरिरहेको बताए ।

‘उनका दुई सन्तान र श्रीमतिसहित बेङ्गलोर बस्दै आएका रहेछन् । उनको घरमा पुगेर आइयो, उनकी श्रीमति बेङ्गलोरबाट आइपुगेकी छैनन्,’ खनालले भने, ‘घाइते भए भनिएका प्रहरी जवान श्रेष्ठलाई पनि भेट्न खोजेका छौँ, प्रहरीसम्म पुगेका छौँ । तर, अहिलेनै यसै भन्ने अवस्था छैन । अनुगमन गर्दै छौँ । ’
 
को हुन् साहनी ?

कुनै समय वाइसिएलका कार्यकर्ता थिए साहनी । लुटपाटका लागि वाइसिएलको नाम प्रयोग गरेको भेटिएपछि उनलाई सोही संगठनले कारवाहीस्वरुप पाता कसेर नियन्त्रणमा लिएको थियो । तर, उनी त्यहाँबाट उम्किएर भागेका थिए । पछि उनी जनतान्त्रिक मुक्ति मोर्चा आजाद समुहमा आबद्ध भए । २०७१ साल भदौ २८ गते साहनीको समूहले आकाश गुरुङको अपहरणपछि एक करोड रुपैयाँ फिरौती माग्यो । पछि त्यही समुहले गुरुङको हत्या गर्यो । 

विशेषतः तराईका जिल्लामा पेशेवर रुपमा लुटपाट र अपराधमा संलग्न उनी २०६६ सालमा कपिलवस्तु जिल्ला कारागारबाट सुरुङ्ग खनेर भागेका थिए । 
उनी प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा थिए । 

पछिल्लो समय उनी श्रीमति र दुई सन्तानसहित भारतको बेङ्गलोरमा बस्दै आएका थिए । त्यहीँ बसेर तस्करी र अपराधमा संलग्न हुँदै आएको प्रहरीको बुझाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप