शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीनजुरे मिल्के जलजले क्षेत्रमा रोकिएन गुराँस फँडानी

सोमबार, ०७ माघ २०७५, १३ : ५९
सोमबार, ०७ माघ २०७५

–प्रकाश धौलाकोटी 
तेह्रथुम– संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् । 

विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन्धनको जोहो गर्न धमाधम रुख काटिरहेका छन् । खाना पकाउन र आगो ताप्न सरकारले स्थानीय बासिन्दालाई दाउराको विकल्प नदिएसम्म फँडानी नरोकिने गुफा बजारका होटल व्यवसायी हरि खनाल बताउँछन्। यहाँ बसोबास गर्ने सर्वसाधारणको इन्धनको स्रोत गुराँसको दाउरा नै हो । 

टिएमजे क्षेत्रभित्र गुराँसबाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन् । ‘गुराँस’को राजधानी भनेर चिनिने यो क्षेत्रको संरक्षणका लागि आएका गैरसरकारी संस्थाहरूले समेत प्रभावकारी काम गर्न नसक्दा गुराँसै नासिने अवस्थामा पुगेको छ । धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण यो क्षेत्र प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास भइरहेको छ । 

तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र बनेको छ । यो क्षेत्रलाई तीन जिल्लाको सङ्गमस्थलको रुपमा समेत चिनिन्छ । यसकारण पनि यो क्षेत्रको संरक्षण गर्ने दायित्व तीन वटै जिल्लाका वन कार्यालयहरु, सरोकारवाला र स्थानीयवासीको हो । तर, गुराँसे वन फँडानी भएर गुराँस नै मासिने खतरा भइरहँदा समेत तीन वटै डिभिजन वन कार्यालयहरुले प्रभावकारी कदम चाल्न सकेका छैनन् । सामुदायिक वन उपभोक्ता महासङ्घ तेह्रथुमका अध्यक्ष गणेश सेनले गुराँस वन क्षेत्रको संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताए ।

टिएमजे क्षेत्रका विभिन्न ठाउँसम्म सडकको पहुँच पुगेपछि अहिले जनसङ्ख्याको चाप समेत बढ्दो छ । यी क्षेत्रमा फैलिएका विभिन्न बजारहरुमा साना–ठूला गरी १०० भन्दा बढी होटल तथा पसलहरु खुलेका छन् । टिएमजे क्षेत्रको रेखदेख गर्ने जिम्मा सरकारीस्तरबाट यी तीनवटै जिल्लाका वन कार्यालयले पाएका भए पनि संरक्षणको प्रयास प्रभावकारी हुन सकेको छैन । टिएमजे क्षेत्रको गुराँसे वन, विविध प्रजातिको कुहिरे वन, जैविक विविधता, जडीबुटी, सिमसार र तालपोखरी, दुर्लभ प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तु लगायतको संरक्षण गर्न स्थानीयस्तरमा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति गठन भएको थियो तर, समिति पनि अहिले निष्क्रिय छ । 

‘सरकारले तत्काल संरक्षण क्षेत्र घोषणा गरेर संरक्षणमुखी कार्यक्रम ल्याउनुपथ्र्यो,’ समितिका संयोजक तथा प्रदेश सांसद लक्ष्मण तिवारी भने– ‘ऊर्जा र इन्धनको वैकल्पिक व्यवस्था गरेर स्वयं स्थानीय बासिन्दालाई संरक्षणमा लगाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ ।’

पदयात्राका लागि रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमानित तथ्याङ्क छ । तिनका लागि पकाइने खानाका लागि इन्धनको प्रमुख स्रोत दाउरा नै हो । बाह्रै महिना चिसो र ठण्डा हुने भएकाले आगो ताप्न समेत दाउरा नै प्रयोगमा ल्याइन्छ । माथिल्लो क्षेत्रमा छुर्पीको व्यवसाय अत्यधिक हुने गरेको र गुराँसको काँचो दाउराले छुर्पी सुकाउँदा राम्रो रङ बस्ने भएकाले पनि गुराँसे वन फँडानी बढेको छ । 

नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ तर, अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करीब १५ प्रतिशत मात्रै गुराँस रहेको तथ्याङ्क छ । 

गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ । यो क्षेत्र तीन जिल्लाका १३ वटा स्थानीय तह अर्थात् साविकका २५ वटा गाविसमा फैलिएको छ । 

यहाँका उच्च भागहरुमा चौकी, गुफा, मंगलबारे, चाँगे, सम्दु, साँघु जस्ता साना–ठूला वस्तीहरु रहेका छन् । संरक्षित क्षेत्रको रुपमा तेह्रथुमका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, इसिवु, सम्दु, खाम्लालुङ, वसन्तपुर, सुङनाम, सोल्मा, जिरिखिम्ती र आम्बुङ गाउँ तोकिएका छन् । सो क्षेत्रभित्र ताप्लेजुङका हाम्पाङ, चाँगे, ढुङ्गेसाँघु, साँघु, फाकुम्बा र थिङ्लाबु तथा संखुवासभाका तामाफोक, मादीमूलखर्क, नूनढाकी, सिद्धपोखरी, जलजला र सभापोखरी गाउँहरु पर्दछन् । 

यो क्षेत्रमा १८ हजार ७८३ घरधुरीमा १ लाख ३ हजार ४६५ जना मानिस बस्ने गरेका डिभिजन वन कार्यालय तेह्रथुमको तथ्याङ्क छ । संरक्षित क्षेत्रको क्षेत्रफल ५८ हजार २३२ हेक्टर रहेको छ । विश्वमा ७०० भन्दा बढी गुराँसका प्रजाति यहाँ पाइन्छन् । ती मध्येको लालीगुराँस फूललाई २०१२ सालदेखि सरकारले राष्ट्रिय फूलको रुपमा मान्यता दिएको हो । 

टिएमजे क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिख्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुर लगायत जडीबुटीहरु पाइने गरेका छन् । तर ती जडीबुटीको संरक्षण र संबद्र्धन हुन पाएको छैन । वनमा उत्पादन हुने यी जडीबुटी कसले टिप्छ ? कसले, कहिले, कता लैजान्छ ? थाहा नै नपाइने गरेको गुफाबजारका व्यवसायी खनालले बताए । ‘वन कार्यालयहरुले यसतर्फ ध्यान दिएका छैनन्, मूल्यवान् जडीबुटीहरु चाहीँ कसले टिप्छ थाहै हुन्नँ,’ उनले भने । 

अहिले यो क्षेत्रमा चिराइतोको भने व्यावसायिक खेती समेत भइरहेको छ । बाँकी जडीबुटीहरुको खेतीको सम्भावना भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । टिएमजे क्षेत्रमा ३३ वटा भन्दा बढी पोखरी रहेका छन् । तीमध्ये सभापोखरी, गुफापोखरी, लामपोखरी, पाँच पोखरी लगायतका पोखरीहरु चर्चित छन् । 

टिएमजेका सिमसार र पहाडलाई मुहान बनाएर यी जिल्लाका लम्बु, पिंगुवा, खोरुंगा, ताङमाया, कोया, सोबुवा, नेरुवा, मैवा, सभा, हेवा, पिलुवालगायतका खोलाहरु बगिरहेका छन् । यो क्षेत्रको संरक्षण गर्न ६९ वटा सामुदायिक वन समूहहरु क्रियाशील छन् । 
तीमध्ये ५८ वटा तेह्रथुममा, ८ वटा संखुवासभामा र ३ वटा ताप्लेजुङ जिल्लामा रहेका छन् । संरक्षणको कामलाई अझ प्रभावकारी बनाउन गत वर्ष सामुदायिक वन समूह सञ्जाल गठनको प्रयास भए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप