बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा प्रवेश गरेका काँग्रेस नेतालाई ओली–प्रचण्डले कस्तो जिम्मेवारी देलान् ?

भुसाललाई अध्यक्षहरूको मौखिक आश्वासन, यसअघिका नवप्रवेशीलाई पनि कुनै जिम्मेवारी छैन
सोमबार, ०७ माघ २०७५, १५ : ३१
सोमबार, ०७ माघ २०७५

काठमाडौँ– गत शनिबार नेपाली काग्रेसका पूर्वसांसद तीर्थ भुसाल पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरे । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमको आयोजना गरेर नै भुसाललाई पार्टी प्रवेश गराए । 

यसअघि पनि अध्यद्वय ओली र प्रचण्डले नेपाली काँग्रेसका अन्य जिम्मेवार नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराइसकेका छन् । त्यसबाहेक मधेसवादी दलका नेता कार्यकर्ता पनि नेकपामा प्रवेश गरिसकेका छन् । एकीकृत पार्टी बनेपछि विशेष गरी काँग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने क्रम चलिरहेको छ ।

तर, नेकपाले पार्टी एकताको नौँ महिना पुगिसक्दा पनि (यस अघि दुवै पार्टीमा सङ्गठित) पार्टीको जिम्मेवारी दिन नसक्दा धेरै नेता कार्यकर्ता बेरोजगार बनेका छन् । नेकपाले अहिलेसम्म केन्द्रीय तहका कमिटी मात्रै एकीकरण गरेको छ । जनवर्गीय सङ्गठनदेखि प्रदेश हुँदै जिल्ला, गाउँ तहसम्मका नेता कार्यकर्ताले जिम्मेवारी पाएका छैनन् । उनीहरू अहिले पनि अन्यौलमै छन् । 

त्यही अन्यौलका बीच पनि अन्य पार्टीका जिम्मेवार नेता कार्यकर्ता नेकपामा प्रवेश गर्ने क्रम चलिरहेको छ । तर न त पार्टी प्रवेश गर्ने नेता कार्यकर्तामा उत्साह छ, न त नेकपाका अन्य नेता कार्यकर्तामा उत्साह छ । तर पनि पार्टी प्रवेश गर्ने र गराउने क्रम नेकपामा चलिरहेको छ । पार्टीभित्रै जिम्मेवारीलाई लिएर असन्तुष्टि बढिरहेको समय अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका नेताहरूलाई अध्यक्षद्वयले कुन तहको जिम्मेवारी दिन्छन् भनेर नेकपाभित्र र बाहिर चर्चाको विषय बनेको छ । 

शनिबार मात्रै नेपाली काँग्रेस चितवन जिल्लाका पूर्वसभापति समेत रहेका भूसाल नेकपामा प्रवेश गरे । तर उनी लगायत यसअघि प्रवेश गरेकालाई नेकपाले कस्तो जिम्मेवारी दिन्छ भन्नेमा अझै अन्यौलता रहेको सचिवालयका एक नेताले बताए । 

‘यसअघि पनि नेपाली काँग्रेसका जिम्मेवार साथीहरू नेकपामा प्रवेश गर्नुभएको छ । भर्खर मात्रै चितवनका एक अनुभवी र जिम्मेवार नेता नेकपामा प्रवेश गर्नुभयो । तर उहाँलाई के जिम्मेवारी दिने भन्नेबारे पार्टीमा कुनै छलफल भएको छैन, ति नेताले भने, ‘यसअघि प्रवेश गरेका कमरेडहरूलाई पनि के जिम्मेवारी दिने भन्नेबारे पनि छलफल भएको छैन । अहिले नेकपा आफैमा निष्कृयजस्तै बनेको छ । पार्टी सक्रिय हुँदा वित्तिकै उहाँहरूको अनुभव र प्रभावका आधारमा उपयुक्त जिम्मेवारी पार्टीले दिन्छ ।’ 

यसअघि पार्टी प्रवेश गराउँदै अध्यक्षहरूले नवप्रवेशीलाई उपयुक्त जिम्मेवारी दिने आश्वासन दिँदै आएका छन् । तर अहिलेसम्म नेताहरूको मौखिक आश्वासका भरमा काँग्रेसका अनुभवी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । शनिबार पनि भुसाललाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उपयुक्त जिम्मेवारी दिने बताए । 

‘आजबाट उहाँ (तीर्थ भुसाल) नेकपाको सदस्य हुनुभएको छ । पार्टीको एउटा नेता, कार्यकर्ता, एउटै परिवारको सदस्य हुनुभएको छ । उहाँलाई स्वागत गर्छु । एउटा चिन्ता हुनेगर्छ, पार्टीमा आएपछि के हुने कसो हुने भनेर प्रधानमन्त्री ओलीले भनेका थिए, ‘राम्ररी मनपराएरै विवाह गरेकालाई पनि घरमा के हुनेहोला, कसो हुनेहोला भन्ने हुन्छ । हामी दुई (प्रचण्डलाई देखाउँदै) बीच पनि के हुनेहोला, कसो हुने होला भन्ने थियो ।’
प्रधानमन्त्री ओलीले थप भनेका छन्, ‘हामी उपयुक्त जिम्मेवारी दिन्छौँ र काम गराउँछाँै । हामीले पार्टी र देश बनाउने हो । देश बनाउनका लागि कुनै कन्जुस्याई गर्दैनौँ, उनले भनेका छन्, त्यसका लागि उपयुक्त साथीभाइलाई उपयुक्त जिम्मेवारी दिने र अगाडि बढ्ने कुरामा हामी लागेका छाँै । भरसक घच्चमच्च नगरी मिलिजुली हिँड्ने हाम्रो पार्टीको नीति छ ।’

भुसाललाई अध्यक्षहरूको मौखिक आश्वासन

केही दिनअघि मात्रै नेकपामा प्रवेश गरेका पूर्वसांसद भुसालले नेपाली काँग्रेसले मुलुकको समृद्धि गर्न नसकेको भन्दै देशको समृद्धि अब नेकपाले गर्नसक्ने भन्दै आफू नेकपामा आएको बताए । 

‘मैले पार्टी प्रवेश कार्यक्रममा पनि भनेको थिएँ, म कुनै पदका लागि बार्गेनिङ गरेर नेकपमा आएको हैन । मैले यो पद वा त्यो पद चाहिन्छ भनेर भनेको छैन । हिजो जुन पार्टीमा रहेर राजनीति गरे त्यहाँ पनि मैले कहिल्यै पदका लागि बार्गेनिङ गरिनँ, पूर्वसांसद भुसालले भने, ‘नेताहरूले मलाई विश्वास गरेर जुन ठाउँमा काम गर्ने जिम्मेवारी दिनुहुन्छ, त्यो ठाउँमा इमानदारिताका साथ काम गर्नेछु ।’

नेकपाका प्रवक्ता नारायकाजी श्रेष्ठ र अध्यक्ष प्रचण्डसँगको सल्लाहमा आफू पार्टी प्रवेश गरेको बताए । ‘नारायणकाजी श्रेष्ठले धेरै पहिलादेखि नै तपाईं कम्युनिस्ट हुनुपर्यो भनिरहनुभएको थियो । म जहाँ बसेर काम गर्दा जनताको हित हुन्छ, त्यहाँ काम गर्नुपर्छ भन्ने मान्यता मेरो पनि हो, भूसालले भने, ‘लामो समय म नेपाली काँग्रेसमा रहेर काम गरे । देशलाई समृद्धितर्फ लैजानुपर्छ भन्ने चाहना मेरो पनि छ । त्यो अब नेपाली काँग्रेसले गर्न सक्दैन । देशलाई समृद्धितर्फ लैजाने भनेको नेकपा नै हो । त्यसकारण अध्यक्ष प्रचण्डलगाएत अन्य नेताहरूको सल्लाहमा नेकपा प्रवेश गरेको हुँ ।’

भुसालले थप भने, ‘अध्यक्षद्वयले उपयुक्त जिम्मेवारी दिन्छाँै भनेर अस्तिको कार्यक्रममै भन्नुभएको छ । उहाँहरूले जे जिम्मेवारी दिए पनि म इमानदारिताका साथ पूरा गर्छु ।’

भुसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति भएका थिए । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी अयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए । भुसाल चितवन माडी क्षेत्रका प्रभावशाली नेता पनि मानिन्छन् ।

यो पनि पढ्नुहोस्

श्रीमान् नेकपा प्रवेश गर्दा श्रीमती लगायतको यस्तो विज्ञप्ती

यसअघिका नवप्रवेशीलाई पनि कुनै जिम्मेवारी छैन

भदौ १ गते काँग्रेस ओखलढुङ्गाका ६६ जना नेता–कार्यकर्ता एकै पटक नेकपामा प्रवेश गरेका थिए ।  नेकपामा प्रवेश गर्नेमा काँग्रेस ओखलढुङ्गाका पूर्वसचिव तथा पूर्वजिविस सदस्य रामबहादुर खत्री, वर्तमान जिल्ला कमिटी सदस्य सुरेश सुनुवार, खिजीकाती गाउँ कमिटी सभापति तथा पूर्वगाविस अध्यक्षहरू रेवतकुमार सुनुवार र लालप्रसाद नेपाल प्रवेश गरेका थिए ।

यस्तै, गाउँ पार्टी सभापति गजेन्द्रबहादुर बस्नेत, पूर्वगाउँ सभापति चकेन्द्र दास सुनुवार, उपाध्यक्षहरू होमबहादुर सुनुवार, अमरबहादुर खत्री, सचिवहरू केशरकुमार सुनुवार, चूडाप्रसाद पौडेल, कोषाध्यक्ष मञ्जुकुमारी विक, काँग्रेस श्रमिक सङ्घ जिल्ला अध्यक्ष ताराधन सुनुवारलगायत नेकपामा प्रवेश गरेका थिए । 

उनीहरूलाई पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी प्रवेश गराएका थिए । उनीहरूलाई पनि अधक्षद्वयले उपयुक्त जिम्मेवारी दिने आश्वासन दिएका थिए । 

त्यस्तै, असोज ९ गते नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल नेपाली काँग्रेस छाडेर नेकपामा प्रवेश गरेका थिए । उनलाई पनि पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेर नै अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराएका थिए । 

अध्यक्ष प्रचण्डले मुलुकको विकास र समृद्धिका लागि नेकपाको नेतृत्वमा आउन समयको माग भएको जनाउँदै उनले पार्टी एकतासँगै देशभर आधारभूत तहसम्मको एकता प्रक्रियामा जुट्न कार्यकर्तालाई आग्रह गर्दै नवप्रवेशी दाहाललाई उचित जिम्मेवारी दिने आश्वासन प्रचण्डले दिएका थिए । दाहाल नेपाली काँग्रेसको युवा सङ्गठन नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घलगायतको भातृ सङ्गठनमा केन्द्रीय नेतृत्वमा रहेर लामो समयसम्म काम गरेका थिए ।

त्यस्तै असोज १५ गते राष्ट्रिय जनता दल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केही नेता नेकपामा प्रवेश गरेका थिए । राष्ट्रिय जनता दलका अध्यक्ष भरत साह, राजपा नेपालका सर्लाही जिल्ला अध्यक्ष नागेश्वर साहलगायतका नेता कार्यकर्तालाई पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर नै महासचिव पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी प्रवेश गराएका थिए । उनीहरूलाई पनि उचित जिम्मेवारी दिने आश्वासन नेताहरूले दिएका थिए । तर, नवप्रवेशी नेताहरूका अनुसार अहिलेसम्म नेकपाले उनीहरूलाई कुनै जिम्मेवारी दिएको छैन । 

सचिवालयका एक नेता भन्छन्, ‘नेकपामा प्रवेश गर्ने जोकोहीलाई पनि जिम्मेवारी दिन्छाँै । उहाँहरूलाई निराश बनाउँदैनाँै बरु उत्साह थप्ने काम गर्छौं, ती नेताले भने, ‘पार्टीमा प्रवेश गरेका कमरेडहरूलाई उहाँहरूको अनुभव र प्रभावका आधारमा जिम्मेवारी दिन्छाँै । अहिले पार्टी एकीकरणको प्रक्रियामै छ । त्यसकारण गाउँ, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहको जिम्मेवारी कसलाई कहाँ के दिँदा उपयुक्त हुन्छ, त्यो दिन्छाँै । सबै मिलेर नै पार्टी बनाउने हो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप