शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका २६ धनाढ्यसँग चार अर्ब मानिस बराबर सम्पत्ति

धनीहरुको सम्पत्ति दैनिक २.५ अर्ब अमेरिकी डलरले बढ्यो
सोमबार, ०७ माघ २०७५, १६ : १०
सोमबार, ०७ माघ २०७५

विश्वका शीर्ष २६ धनी मानिससँग विश्वको आधा जनसंख्याको हिस्सा बराबर सम्पत्ति रहेको बताउँदा धेरैलाई पत्याएर नलाग्न सक्छ । 

तर, सोमबार ब्रिटिस च्यारिटी संस्था अक्सफामले जारी गरेको एक रिपोर्टमा उक्त कुरा उल्लेख गरिएको छ । 

अक्सफामले यो विकराल असमानताको अवस्था अन्त्य गर्न सरकारहरुले तत्काल कदम नउठाए गम्भीर अवस्था भोग्नुपर्ने चेतावनी समेत दिएको छ । समाधानका लागि ‘अति’ धनीहरुमाथि  हालको कर दर बढाउनुपर्ने र सार्वजनिक सेवामाथिको लगानी बढाउनुपर्ने संस्थाको सुझाव छ । 

स्वीट्जरल्याण्डको दाभोसमा आयोजना हुन लागेको ‘वल्र्ड इकोनोमिक फोरम’ अघि प्रकाशित उक्त रिपोर्टमा सन् २०१८ मा प्रत्येक दिन अर्बपतिकोहरु सम्पत्ति दैनिक २.५ अर्ब अमेरिकी डलरले बढेको पाइएको उल्लेख छ ।

विश्वको सबैभन्दा धनी व्यक्ति अमेजनका सिइओ जेफ बेजोजको एक्लैको सम्पत्ति अघिल्लो वर्ष ११२ अर्ब अमेरिकी डलर बढेको थियो । 

अक्सफामले उनको सम्पत्तिको एक प्रतिशत १०.५ करोड जनसंख्या भएको इथियोपियाको सम्पूर्ण स्वास्थ बजेट बराबर रहेको तर्फ औल्याएको छ । 

यही अवधिमा पिँधका ३.८ अर्ब मानिसहरुको सम्पत्तिमा ११ प्रतिशतले ¥हास आयो । 

धनी र गरिबबीचको बढ्दो खाडलले गरिबीविरुद्धको लडाईंलाई असर गरिरहेको, अर्थतन्त्रलाई क्षति पु¥याइरहेको र सर्वसाधरणमा संस्थापनप्रति आक्रोश बढाएको अक्सफर्मको निश्कर्ष बताएको छ । 

“विश्वभरी मानिसहरु क्रोधित र निराश छन्,” अक्सफामका कार्यकारी निर्देशक विनि वीयान्यीमाले एक वक्तव्यमा भनेका छन् । 

धनीहरुमाथि लगाइने करको दर झनै घटाइँदै

अक्सफामले विश्वभरका सरकारहरुले स्वास्थ सेवा र शिक्षाजस्ता सार्वजनिक सेवामा लगानी र धनीमाथिका करको दर घटाएर असमानतालाई बढाउन योगदान गरिरहेको आरोप लगाएको छ । 

असमानताका कारण विश्वका कैयन देशमा धनीहरुमाथि कर बढाउनुपर्ने माग पनि उठिरहेको छ । 

अमेरिकी संसदमा पहिलो पटक निर्वाचित स्वघोषित लोकतान्त्रिक समाजवादी नेता एलेक्जेण्ड्रिया ओकासियो–कोर्टेजले केही अघि अति–धनीहरुमाथि ७० प्रतिशतसम्म कर लगाउनुपर्ने बताएर चर्चामा आएकी थिइन् । 

एलेक्जेण्ड्रियाको उक्त प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पले धनीहरुमाथि लागिरहेको ३९.६ प्रतिशतको कर घटाएर ३७ प्रतिशत बनाउने निर्णयपछि आएको थियो । 

फ्रान्समा पेट्रोलियम पदार्थमा कर बढाएपछि नोभेम्बरबाट सुरु भएको ‘एल्लो भेस्ट’ आन्दोलनमा पनि पछिल्लो समय म्याक्रोको सरकारले धेरै कमाउनेहरु माथिको सम्पत्ति करमा गरेको कटौतीको विरोध भइरहेको छ । 

“अति–धनी र करपोरेटहरुले दशकौँ अघि तिरिरहेको भन्दा कम दरमा कर तिरिरहेका छन् ,” अक्सफामले रिपोर्टमा बताएको छ । 

यो स्तरको असमनताले बालबालिकाले शिक्षक नपाउने, क्लिनिकहरुमा औषधी नपाइने जस्ता विकराल मानवीय मूल्य चुकाउनुपर्ने अक्सफामले औँल्याएको छ । 

“नीजि सेवाहरु गरिब मानिसहरुलाई सजाय र धनीहरुको लागि सुविधा हुन्छ,” अक्सफामले रिपोर्टमा भनेको छ । उसले दैनिक १०,००० मानिसहरु पहुँचयोग्य स्वास्थसेवाबाट विमुख भएर मर्ने गरेको कुरामा जोड दिएको छ । 

स्वीट्जरल्याण्डको दाभोसमा वार्षिक रुपमा आयोजना हुने विश्वका धनी, चर्चित र प्रभावशाली व्यक्तिहरुको तडकभडकपूर्ण भेला अघि अक्सफार्मले आफ्नो असमानता रिपोर्ट सार्वजनिक गर्ने गर्छ । 

अक्सफामको रिपोर्टमा “अति–धनीहरुको सम्पत्तिमा अहिले कायम कर दरमा ०.५ प्रतिशत मात्रै बढाएमा हाल स्कूल नगएका सबै २६.२ करोड बालबालिका पढाउन सकिने र ३३ लाख मानिसहरुको ज्यान बचाउन सकिने” उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप