शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी निरीक्षक दम्पतीको सम्झनामा राधाकृष्ण मन्दिर

सोमबार, ०७ माघ २०७५, १९ : ०४
सोमबार, ०७ माघ २०७५

रुकुम । नवीन श्रेष्ठ र अनिता प्रधान श्रीमान् श्रीमती थिए । उनीहरु दुवै प्रहरी निरीक्षक हुन् । सडक दुर्घटनामा परी दुवैको मृत्यु भएको एक वर्षभन्दा बढी पुगेको छ । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा भएको जीप दुर्घटनामा परी २०७४ मङ्सिर ८ गते दुवैको निधन भएको थियो । 

विसं २०७० चैत ९ गते प्रहरी निरीक्षकमा नियुक्ति भई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत नवीन २०७४ मङ्सिर २ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख भई सुर्खेतमा आएका थिए । 

विसं २०६९ साउन ४ गते सहायक प्रहरी निरीक्षक पदमा नियुक्ति भएकी अनिता इलाका प्रहरी कार्यालय रानी मोरङमा काम गरेकी थिइन् । 

विसं २०७२ असोज १ मा प्रहरी निरीक्षकमा नियुक्त भई सङ्घीय प्रहरी एकाइ कार्यालय चन्द्रगढी झापामा कार्यरत अनिता केही समयका लागि काजमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा थिइन् । 

प्रहरी तालीम केन्द्र काठमाडौँमा २०७४ साउनमा भएको प्रहरी निरीक्षकको तालीममा दुवै जनाको भेट भएको थियो । यो भेटघाट सहकर्मी, मिल्ने साथी हुँदै जीवनसाथीमा परिणत हुन पुग्यो । 

उनीहरुको २०७४ मङ्सिर ५ गते सुनसरीको इटहरीमा विवाह सम्पन्न भयो । त्यसको भालिपल्ट बिहान इटहरीबाट हिँडेको त्यो जोडी ७ गते साँझ रुकुम (पूर्व) घरमा पुग्यो । 

नवीन र अनिताको त्यो जोडी घरमा पुग्दा घरपरिवार र छरछिमेकको खुशीको सीमा थिएन । सबै जनाले गीत गाइरहेका थिए । नाचिरहेका थिए । कोही स्वागत सत्कारमा लागिरहेका थिए ।

त्यहाँ उपस्थित भएका सबै जनाले नवीन र अनिताको जोडीलाई राधा कृष्णको जस्तो मिलेको जोडी भनेर पनि तारिफ गरेको सुनिन्थ्यो । त्यस रात सबैको नाचगान रमाइलोमै बित्यो । 

उताबाट प्रदेश र सङ्घको चुनावले समय मिच्दैमिच्दै ल्याएको थियो । उनीहरु जतिसक्दो छिटो आफ्नो कार्यक्षेत्रमा फर्कनुपर्ने थियो । २०७४ मङ्सिर ८ गते बिहानैबाट सबैसँग भेटघाटमा व्यस्त भएका नवीन र अनिताले त्यसै दिन अपराह्न ४ बजे आआफ्नो कार्यक्षेत्रका लागि यात्रा तय गरे । 

साँझकोे ७ बजेको थियो । घरबाट खुशीका साथ बिदाइ भएर कर्मथलोतिर लागेको त्यो जोडी जीप दुर्घटनामा परी अब संसारमै नरहेको भन्ने खबर आयो । 

रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा जीप दुर्घटनामा परी उनीहरुको मृत्यु भयो । उक्त दुर्घटनामा उनीहरुलगायत सात जनाको ज्यान गएको थियो । जसमा पाँच जना श्रेष्ठ परिवारका नै थिए । 

एक्कासी सबै खुशी शोकमा परिणत भए । सबैले रुकुम (पूर्व) मा अन्धकारको बादल मडारिरहेको आवास गरे । यस घटनाले रुकुम (पूर्व) मात्र होइन, पूरै देश नै शोकमा डुब्यो । 

बिहे गरेको चार दिनमै एकसाथ एकै ठाउँमा दम्पती मात्र नभई दुई÷दुई जना राष्ट्रसेवक कर्मचारी गुमाएको थियो, देशले । भर्खरै विवाह गरेका नव जोडीका र घरपरिवारका सारा सपना र खुशी एकै पलमा खोसिए । 

सुन्दाखेरी सपना जस्तै अपत्यारिलो लाग्ने त्यो घटना सबैले स्वीकार्नुपर्ने भयो । किनकी त्यही नै सत्य थियो । यस घटनाले महिनौंसम्म सबैको मनमुटु हल्लाइरह्यो । त्यस्तो अवस्थामा यस घटनाले परिवारमा के बितिरहेको छ भनेर त हामी सजिलै कल्पना गर्न सक्छौँ । 

अहिले उनीहरुको मृत्यु भएको एक वर्ष बितेको छ । उनीहरुकै सम्झनामा परिवारले सिस्ने गाउँपालिका– ६ रुकुमकोट आलामा राधा कृष्णको मन्दिर निर्माण गरेको छ । परिवारद्वारा निर्मित उक्त मन्दिरमा आज र भोलि धार्मिक अनुष्ठानका कार्यक्रम हुने बताइएको छ । 

नवीन श्रेष्ठका बुबा टेकबहादुर श्रेष्ठका अनुसार राधाकृष्ण मन्दिरमा मूल घरबाट मन्दिरसम्मको बाजागाजा भजन कीर्तन, स्वस्तीशान्तिसहित राधाकृष्णको रथयात्रा गरिनेछ । 

धार्मिक प्रवचनसहित भजनकृतन र लाखबत्ति प्रज्वलनलगायत भक्तजनबाट राधाकृष्णको दर्शन र पूजाको काम हुनेछ । उनले भने, ‘मन्दिर मात्र होइन, छोरा बुहारीको सम्झनामा उनीहरुको सालिक पनि बनाएका छौँ, रु नौ लाख ५० हजारको लागतमा मन्दिर र सालिक निर्माण गरेका हौं ।’  

यस मन्दिरमा दैनिक पूजापाठका लागि मासिक तलबको व्यवस्था गरी एक जना पुरोहित पनि राख्ने उनले बताए । ‘भक्तजनका लागि यो मन्दिर सधैँ खुला रहने छ’, उनले भने । 

एक शिक्षकका भरमा विद्यालय 

सिस्ने गाउँपालिका–४ काँडास्थित प्रगति आधारभूत विद्यालयमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको छ । कक्षा पाँचसम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा दुई राहत शिक्षक कार्यरत रहेकामा एक शिक्षकले राजिनामा दिएको नौ महीना पुगिसक्दा पनि पदपूर्ति हुन सकेको छैन । 

शिक्षक दरबन्दी रिक्त भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले गत असार पहिलो साता शिक्षा विकास तथा समन्वय एकाइबाट अनुमति लिने र विज्ञापन गरी शिक्षक भर्ना गर्ने निर्णय गरे पनि एकाइबाट अहिलेसम्म अनुमति पाउन नसक्दा समस्या भएको छ । 

रिक्त रहेको पदमा सिस्ने गाउँपालिका– १ ठूलो सिस्नेमा कार्यरत शिक्षिका सुनिता भण्डारी हमाललाई सरुवा गरेर ल्याउन विद्यालयलाई विज्ञापन गर्ने अनुमति नदिएको विद्यालय व्यवस्थापन समितिको आरोप छ ।

राहतमा कार्यरत शिक्षकको सरुवा गर्न नपाइने भए पनि गाउँपालिकाले त्यसविपरीत गर्न खोज्दा बिव्यसले अस्वीकार गरेको बताइएको छ । 

गाउँपालिकाको आन्तररिक दरबन्दी मिलान गर्ने विषयमा छलफल चलिरहेकाले अहिले विज्ञापन गर्ने अनुमति नदिइएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तीलक गौतमले बताए । 

उता गाउँपालिकाले पनि १५÷१६ वर्ष दुर्गममा काम गरेकालाई राहतकै दरबन्दीमा ल्याउन मिल्ने दाबी गरेको छ । विद्यालयमा अहिले ११४ विद्यार्थी अध्यनरत रहेकामा शिक्षक अभावले उनीहरुको पढाइ प्रभावित भएको प्रधानाध्यापक हिमाल खड्काले बताए । पछिल्लो समयमा गाउँपालिकाले एक करार शिक्षक दिएपछि भने केही राहत मिलेको छ । 

गाउँपालिकाले विद्यार्थी अनुपातका आधारमा शिक्षक कम भएका विद्यालयमा करारमा राख्ने अनुमति दिएपछि यस विद्यालयमा पनि मङ्सिर १ गतेदेखि एक नयाँ शिक्षक राखिएको उनको भनाइ छ । शिक्षक अभावले विद्यालयका सहयोगी कर्मचारीलेसमेत पठनपाठन गराउने गरेको विद्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप