केन्द्रीय संस्करण
यात्रा संस्मरण

कोलोम्बोमा ‘हट केक’ बन्यो नेपाली टोपी

person explore access_timeमाघ ८, २०७५ chat_bubble_outline0
अशोक सिलवाल

रातोपाटी

(हिमालयका दूत अर्थात् लाङ्टाङ सद्भावनादूत अशोक सिलवाल केही समयअघि श्रीलङ्का गएका थिए । सगरमाथा उभिएको देशबाट महासागरले घेरिएको देश गएका तिनै यात्रुको यात्रा संस्मरणको छैटौं शृङ्खला हो यो ।)

ब्रेकफास्टपछि  इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आईएफडब्लुजे)का भारतीय पत्रकारसहित हामी ठूलो टुरिस्ट बसमा केही किलोमिटर दूरीमा रहेको श्रीलङ्का फाउन्डेसनको सभाहलमा जाँदै थियौँ ।

म झ्यालभित्र भन्दा पनि बाहिर बढी आकर्षित थिएँ । नियाल्दै थिएँ श्रीलङ्काली सडक र आँखाले भ्याएसम्म जे देखिन्छ, ती सबै । तर भित्र हामी दुई देशीय पत्रकार नबोली बस्न किन सक्थ्यौँ र ! 

‘आप नेपाल से हे ?’, अघिल्लो साँझ आइपुगेर राति त्यही होटलमा बसेका मजस्तै आमन्त्रित एकजना भारतीय पत्रकारले सोध्यो ।

‘आप काठमान्डु से हे ?’, अर्काेले सोध्यो ।

‘वर्षौं पहेले हम काठमान्डु गया था’, अर्काेले बतायो ।

‘जब हम नेपाल गये थे, राष्ट्रपति रामवरण यादव से भी मुलाकात किया था’, अर्काेले थप्यो ।  

‘हम्ने राष्ट्रपति विद्यादेवी भण्डारीका इन्टरभ्यु किया था’, अर्काेले सुनायो । 

याे पनि....

तिनको बनावटी मुस्कान र मेरो तयारी

मैले पनि विख्यात अभिनेत्री मनीषा कोइराला र विख्यात गायक उदितनारायण झा नेपाली रहेको सम्झाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा पटकपटक आएको, पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथ दर्शन गरेको अनि नाकाबन्दी पनि लगाएको प्रसङ्गसमेत उप्काउन भ्याएँ । 

उनीहरू अठार भाइ थिए । नेपालबाट म एक्लो । म एक्लै भएकाले उनीहरूलाई के सजिलो भयो भने सबैले मलाई सुरुमै चिने । जब मैले मेरो नाम भने, उनीहरूमध्ये कसैले ‘अशोका द ग्रेट’ भने । कसैले ‘अशोक महाराज’ भने । कसैले ‘अशोकजी’ त कसैलै ‘अशोक’ भाइ भने । ‘अशोक’ मात्र भन्ने पनि केही थिए ।

सबैले पशुपतिनाथप्रति निकै गहिरो भक्तिभाव दर्शाए । म त गद्गद् । 

त्यसरी श्रीलङ्काको सडकमा नेपाल–भारतबीच अनौपचारिक चिनापर्ची, वार्तालाप र हँसीठट्टा भयो ।

उनीहरू सब सुटबुटमा ठाँटिएका थिए । म पनि खाँटी नेपाली पहिरनमा ठाँटिएकै थिएँ । केही वर्षअगाडि एकजना आफन्तको बिहेमा दौरा सुरुवाल नै लगाएर जन्ती जाने भनिएकाले किलागलमा किनेको दौरा सुरुवालमा अलि पुरानो कालो सुटको कालो कोट थपेर छालाको कालै जुत्ता लगाएको थिएँ । टाउको अझ विशेष थियो । पाल्पाली ढाकाको नेपाली टोपी जो थियो ।

म बेलाबेला टोपी मिलाइरहेको थिएँ । बेलाबेला दौराको फेर पनि तान्दै मिलाउँदै थिएँ । साँच्चै भन्दा, आफ्नो देशको पहिरनमा आफैलाई आफू विशेष लागिरहेको थियो ।

श्रीलङ्का प्रेस एसोसिएशन (एसएलपीए)को ६३औं वार्षिकोत्सव अवसरमा आयोजित विशेष कार्यक्रम सुरु हुन केही मिनेट मात्र बाँकी थियो । श्रीलङ्का फाउन्डेसन परिसर पुग्दा हाम्रो स्वागतार्थ एउटा ठुलै भीड जम्मा भइसकेको रहेछ । बसबाट ओर्लनेबित्तिकै स्थानीय पहिरन र शृङ्गारमा चिरिच्याँट्ट युवतीहरूले हामी प्रत्येकलाई पालैपालो बास्नादार सेतो फूलको माला लगाइदिए । मलाई माला लगाइदिने युवती निकै तीखो आँखाले मुस्काई । 

मुस्कानमय स्वागतमा विशेष पहिरन र हाउभासहित स्थानीय बाजासहितको नृत्य थपियो । युवाहरू नृत्य गर्दै पछाडि पछाडि सर्दै गए, नृत्य गतिमा उनीहरूलाई पछ्याउँदै कार्यक्रम हल पुग्यौँ । हामी उन्नाइस जनालाई पहिलो लहरमा भीभीआईपी लेखिएको चियरहरूमा बसालियो । त्यहाँका सयौँ चुनेगुनेका पत्रकारहरू पछाडि लहरमा थिए ।

श्रीलङ्काली राष्ट्रगानबाट कार्यक्रम सुरु भयो । ‘श्रीलङ्का माथा (माता), अपो श्रीलङ्का, नमो नमो नमो नमो माथा ।’

याे पनि....

श्रीलंका सिरिजस्:  हुलियाले कहिले हँसायो, कहिले रुवायो

झन्डै झन्डै संस्कृतजस्तै, अझ खासमा नेपालीजस्तै ध्वनि, सङ्गीत, शब्द र शैली । भक्तिसङ्गीतजस्तो मनै छुने अति शालीन र मीठो । श्रीलङ्का पुगेपछिको त्यो सबैभन्दा आन्तरिक आनन्दको समय थियो । 

अरू सबैजस्तै म पनि उभिएँ । आँखा बन्द गरेँ । छातीमा हात राखेर सम्मानसहित मौन रहेर श्रीलङ्का र श्रीलङ्काली राष्ट्रियता र देशभक्तिलाई सम्मान गरेँ । तर मेरो बन्द आँखाभित्र चन्द्र–सूर्य अङ्कित एउटा महान झण्डा फहराइरहेको थियो ।

नेपाली झण्डा फहराइरहेको थियो । मेरो देशको झण्डा फहराइरहेको थियो । मनमा हिमाल, लालीगुँरास, सानै छँदा देखेको २०४६ सालको जनआन्दोलनका धमिला सम्झना, ०६२–०६३ को १९ दिने जनआन्दोलनका प्रष्ट दृश्यहरू र सानोमा पढेका नेपाली वीरताका गाथाहरू सघन भइरहेका थिए । 

श्रीलङ्कामा त्यहाँको राष्ट्रगान सुन्दै गर्दा मेरो नेपाली छाती बडेमानको भएको थियो । 

याे पनि.....

श्रीलङ्का सिरिज : हुलियाले मान्छेलाई खै केके बनाउँछ

युगल जोडीजस्तो देखिने स्मार्ट उद्घोषकहरूमध्ये युवतीले सिंहालीमा र युवकले अङ्ग्रेजीमा कार्यक्रम सुरु गरे । युवकले बोलेको अङ्ग्रेजीले कार्यक्रमको गतिलाई सञ्चार गरिरहेको थियो भने युवतीको सिंहालीले त्यहाँ स्थानीयतालाई । नबुझे पनि युवतीको सिंहाली उद्घोषण गीतजस्तै श्रवणप्रिय थियो । 

भारतका तर्फबाट प्रतिनिधिमण्डल प्रमुख, नेपालका तर्फबाट म र अरू सीमित स्थानीय अतिथिहरूबाट पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन भयो । एसएलपीएको स्थापना, संस्थापकहरूको योगदान, देशको प्रेसको विकास चरण, संस्था स्थापनापछिका वर्षहरूका उसका गतिविधि आदि समेटिएको छोटो भिडियो प्रसारण गरियो ।

अनेक भाषणभुषण भए । प्रायःले भाषण गर्दा श्रीलङ्काको पछिल्लो राजनीतिक अवस्था अलिकति ‘तलमाथि’ भएको भन्दै राजनीतिक विषयमा प्रवेश गर्न चाहेनन् । तर, केहीले भने राजनीतिमा सीधै प्रवेश नगरे पनि घुमाउरो पाराले समस्याको सही समाधानका लागि पत्रकारहरूले नडराई कलम चलाउनुपर्ने बताए । 

एसएलपीए अध्यक्ष मुदिता कारियाकार्वानाको सभापतित्वमा भएको कार्यक्रममा श्रीलङ्काका दश दिग्गज पत्रकारलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित ‘डीएफ कारियाकार्वाना अवार्ड’बाट सम्मान गरिएको थियो । ‘सूचनाको अधिकार, वाक र स्वस्थ आलोचनाको स्वतन्त्रता, आधारभूत मानवअधिकारको सुनिश्चतता । तर, समय त्यसका लागि उपयुक्त थिएन । त्यस्तो बेला पनि पत्रकारितामार्फत स्वतन्त्रताका लागि समर्पित त्यस्ता दश पत्रकारलाई सम्मान गरिँदैछ’, सम्मानपूर्व श्रीलङ्काका मूलधारका प्रतिष्ठित सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा उद्घोषकले भनेका थिए ।

डा. इड्विन आरियादासा, सिथा रानजानी, एस थालिन्थन्, फुर्कान बी इफ्तिकार, बुद्ध्किा कुरुकुलारत्ने, सुमना निलापात्यी, के रुपासिंगे, सारथा मालासेकेरा, एमजेएम जारुक र डेनागामा श्रीवार्दनेलाई पत्रकारिताप्रतिको उनीहरूको सतत् योगदानको लागि सम्मान गरिएको थियो । जीर्ण शरीर लिएर स्टेज पुगेका ती वृद्ध पत्रकारहरू सम्मानले युवकजस्ता भएका थिए । उनीहरूको अनुहार उज्यालिएको थियो र पोख्दै थिए, पत्रकारितामा लागेर जीवनमा केही राम्रै गरिएछ भन्ने भाव । 

याे पनि.....

मान्छेपिच्छेको रोजाई, मान्छेपिच्छेका कथा

जीवन नै पत्रकारितामा ओछ्याएर डाँडामाथिको जुन बनेका ती अग्रजको सम्मान भइरहँदा मैले नेपालका थुप्रै अग्रज पत्रकारहरूलाई सम्झेँ । मेरो पत्रकारिता जीवनमा उनीहरूले मलाई गरेको सतत् प्रेम र दिएको प्रेरणा सम्झेँ ।

कार्यक्रममा श्रीलङ्काको पुरानो क्यान्डी नृत्यहरू पनि प्रस्तुत भयो । स्थानीय संस्कृतिमा ग्ल्यामर र एडभेन्चर मिसिएका युगल प्रस्तुतिहरू झनै बेजोड बनेका थिए । संस्कृति त जहीँको पनि उस्तै विशेष ।

औपचारिक कार्यक्रम सकिएपछि चियाचमेनाको पालो आयो । त्यसका लागि आम उपस्थितलाई सभाहलछेउको खुलास्थान र उन्नाइस ‘भीभीआईपी’ भाइलाई भीआईपी कोठाको व्यवस्था गरिएको रहेछ ।

हामीलाई सीधै भीआईपी कोठा लगियो । तर, मलाई त्यहाँबाट उम्किएर श्रीलङ्काली पत्रकारहरूसँग घुलमिल हुनु थियो । उनीहरूका अनौपचारिक कुराकानी सुन्नु थियो । जसै म उनीहरू छेउ पुगेँ, मतिर झ्याम्मिएर भटाभट् फोटा खिच्ने थाले । 

मेरा लागि माहौल विशेष बनिहाल्यो । म त ‘सेलीब्रेटी’ भइहालेँ । एक छिनमा झल्याँस्स भएँ र, आफ्नो धरातलमा आएँ । खासमा म होइन, मैले लगाएको नेपाली पोसाक पो ‘हट केक’ भइरहेको थियो । मनमनै आफ्नै दौरा, सुरुवाल र टोपीलाई धन्यवाद दिँदै थिएँ, एउटी आई र भनी, ‘के म तिम्रो टोपी लगाएर फोटो खिच्न सक्छु ?’ 

केही नभनी आफ्नो टाउकोको टोपी खुरुक्क खोलेर उसलाई दिएँ । उसले मेरो टोपी लगाएर सेल्फी खिची । टोपी फर्काउँदै भनी, ‘थ्याङ्क्यु !’

अरू केहीले पनि मेरो ‘कैलाशको शिरजस्तो’ टोपी लगाएर पालैपालो खिचे । मलाई निकै ‘अच्छा’ लाग्यो । नेपाली टोपीमा श्रीलङ्कनहरू पनि ‘अच्छा’ देखिएका थिए । 

यो पनि‍‍‍‍....

‘डु यु वान्ट नाइस गर्ल ?’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.