बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लिम्बू जातिमा नयाँ (वंश) थर निर्माण र परिवर्तन

शनिबार, १२ माघ २०७५, ०५ : २८
शनिबार, १२ माघ २०७५

नेपालको सुदूर पूर्वी पहाडका अरुण र तमोर उपत्यका क्षेत्रमा बसोबास गर्ने आदिबासी जनजातिहरु मध्ये सघन रुपमा आवाद भएको प्रमुख जाति लिम्बू हो, यसमा कुनै दुई मत छैन । धर्म, संस्कृति तथा परम्परा हेर्दा यो जाति प्रकृतिपूजक, मातृसत्तात्मक र गणवादी देखिन्छ । यतिसम्म कि आफ्नो मौलिक परम्परा तथा संस्कृतिका कारण लिम्बूहरु अन्य किरातबंशी भन्दा केही बेग्लै महसुस गर्न सकिन्छ ।

प्रकृतिमा रहेका विविध वस्तु, पदार्थ, जीव तथा निर्जीव वस्तु समेत किरात लिम्बू समुदायबाट आस्था तथा विश्वासका प्रतिकका रुपमा पूजित र सम्मानित छन् तर ती सबै प्रकृतिमा नै उपलब्ध छन्, कुनै अलौकिक वस्तु वा निराकार छैनन् । धर्मलाई कर्तव्य र व्यवहारका रुपमा ग्रहण गर्ने सामाजिक परम्पराले गर्दा लिम्बूहरु आफ्नो समुदाय भित्र अघोरै गणवादीको रुपमा चिनिन्छन् । लिम्बू जातिको मुन्धुममा वर्णित शास्त्रीय विधिविधानमा कुनै पन्थ वा सम्प्रदायको उल्लेख वा व्याख्या गरेको पाईदैन । यद्यपि लिम्बू जातिमा अन्य जातिले थोपरी दिएका “काशीवंशी कि ल्हासावंशी ?” भन्ने अमूर्त गोत्रिय विवाद भने पाउन सकिन्छ ।

वास्तवमा यसका आफ्नै कारणहरु हुन सक्छन्– जस्तो कि किरात लिम्बूहरुको एक समूह जो पछि यसैमा विलय भयो, ती काशीवंशी हुन सक्छन् । त्यस्तै ल्हासा वा पूर्वी तिब्बतबाट यस क्षेत्रमा प्रवेश गरेका किरात लिम्बूहरुलाई ल्हासावंशी भनिएको हुन सक्छ । हालसालै आएर मुन्धुम र इतिहासमा खोजी र रुचि राख्ने किरात लिम्बूहरु बहसका रुपमा सत्यहाङ्मा पन्थ, यूमासाम्यो वा अन्य त्यस्तै विविधि पन्थ वा सम्प्रदायका नामहरु अगाडि सार्न थालेका छन् ।

सामान्यतया धर्मलाई सामाजिक दर्शनका रुपमा अंगिकार गरिन्छ, यसैले पनि समय सापेक्ष परिवर्तन, व्याख्या/विश्लेषण र व्यवहारमा नयाँ पन्थ वा सम्प्रदाय स्थापित हुने गर्दछन् । हिन्दू धर्मावलम्बीहरु शैव, वैष्णव, शाक्त त्यस्तै बौद्ध धर्मका हिनयान, महायान पन्थ र सम्प्रदायमा विभाजित छन् भने मुस्लिमहरु शिया र सुन्नी भित्र पनि कैयन् उपभेदमा विभाजित छन् । किरात धर्म भित्र पनि यस्ता पन्थ र सम्प्रदायहरु देखिनु कुनै आश्चर्यको विषय होईन । यद्यपि यो इतिहास र दर्शनको गम्भीर छलफलको विषय हो, अहिलेको उठान विषय नपरेकाले यसलाई विषयान्तर गरिन्छ ।

लिम्बू जातिले गर्ने हरेक क्रियाकलापमा समूह वा गणको निर्णय नै अन्तिम हुन्छ, जसलाई “सत्र थुम, दस लिम्बूवानको थिति” भन्ने गरिन्छ । यस अर्थमा व्यक्तिको भूमिका गौण हुन जान्छ, समूह/समुदाय प्रधान हुन्छ । एक लिम्बू परिवारले सञ्चालन गर्ने हरेक सामाजिक तथा धार्मिक क्रियाकलापहरु सम्बन्धित परिवार वा निज व्यक्तिको ईच्छामा नभई “सत्र थुम, दस लिम्बूवानको थिति” बमोजिम नै सम्पन्न हुन्छन् ।

भनाइको तात्पर्य यो हो कि समूहले वा सामूहिक रुपमा गरिने निर्णयहरु पञ्चवाक्य, जो यो समुदायको विकल्पहीन घोषणा हो; बाट अन्तिम निर्णय सुनाइन्छ, यो नै लिम्बू समुदायको प्रमुख विशिष्टता हो । यही विशिष्टताका कारण लिम्बू समुदायमा धेरै विशेषताहरुले ठाउँ पाएका छन् वा भनौ विशिष्ट सभ्यता, संस्कार, सामाजिक परम्पराहरु सिर्जित भएका छन् । धर्म र जीवनको मिश्रणबाट सभ्यता, संस्कार, परम्परा बने पछि त्यो व्यवहारमा लागु हुनासाथ त्यसले मानिसको हरेक क्रियाकलापलाई निर्देशित गर्दछ, त्यो निर्देशन सामाजिक मान्यतामा आधारित हुनै पर्दछ भन्ने हरेक लिम्बूहरु विश्वास गर्छन् । यस्ता धेरै विशेष परम्पराहरु मध्ये आज एक रोचक परम्परा बारे चर्चा गर्न लागिएको छ– लिम्बू जातिमा नयाँ थर निर्माण र परिवर्तन ।

मानव समुदायका अन्य जातिहरुमा झैं लिम्बू जातिमा पनि नयाँ थर निर्माण वा परिवर्तन विभिन्न कारणहरुबाट भएका छन् । ती विभिन्न कारणहरुबाट थर वा मिङ्स्रा परिवर्तनका कारण मूल वंशबाट छुट्टिएर नयाँ वंश बन्ने गर्दछन् । कतिपय अवस्थामा एउटा बंश लोप भई अर्को बंशमा विलिन हुने वा नयाँ बंश/थर कायम हुने गर्दछ । यस्ता परम्पराहरु लिम्बू जातिको सामाजिक परम्परा तथा जीवन पद्धतिसंग पनि सम्बन्धित छन् । लिम्बू जातिमा नयाँ वंश/थर निर्माणका प्रशस्त उदाहरणहरु छन्, यद्यपि यो संक्षिप्त लेखमा ती विविध विधिहरुलाई वर्गीकरण गरी अध्ययन गर्ने प्रयास गरिएको छ । विभिन्न लिम्बू विद्वानहरुले भिन्न भिन्न तरिका बताए पनि सामान्यतयाः लिम्बुहरुमा थर वा मिङ्स्रा निम्न लिखित ६ प्रकारबाट परिवर्तन हुने गरेको देखिन्छ ।

 पहिलो रीति– चोक्फूङ् थिम

कुनै नयाँ बंश वा जाति ( मगर, तामाङ, राई वा अन्य) ले कुनै लिम्बुको बंशमा भैयाद हुन पाउँ भनी रीतपूर्वक (राँगा, रक्सी आदि सहित) को निवेदन दिएमा सो लिम्बू बंशका सम्पूर्ण अंशियार/वंशियारहरुले निज नयाँ वंश समूहलाई दूबो, ढुंगो छुवाएर रुखको टोड्काको पानी वा सुनपानीले छर्किएर चोख्याए पछि निजहरुबाटै प्रदत्त बंशीयारी भोज (रातो अचानो चिसो छपनी) ग्रहण गरी मन्जुरी दिएमा अन्य जातिका मानिसहरु पनि लिम्बू हुन सक्थे । मुन्धुमविद अर्जुन माबुहाङ्का अनुसार– शुरुमा घर जग्गा लेनदेन कारोबारको नीति “सादाप्ला याङ्दाप्ला” रीति विस्तारै भैयाद बनाउने चोक्फुङ थिम तर्फ विकसित भयो । त्यसो त लिम्बू समुदायमा धर्मपुत्र राख्ने चलन पनि थियो– यसलाई “ससिङ् लाप्मा” भनिन्थ्यो । यस्ता रीतिहरुलाई लिम्बू समुदायमा भएको वंशबृद्धि गर्ने यी रीतिथितिहरुलाई अद्भूत तथा विशिष्ट परम्परा मान्न सकिन्छ । यस्ता रीतिहरु लिम्बू समुदायमा विदमान हुनाका प्रमुख कारण किरात लिम्बूहरुमा जातिय विभाजन नहुनु पनि एउटा महत्वपूर्ण कारक तत्व हो, अर्थात लिम्बू जाति भित्र जातिय विभेद र उँचनिचको कुनै स्थान छैन ।

दोस्रो रीति– सघेक काक्मा

एकै रक्त सम्बन्ध भित्र अवैध नाता सम्बन्ध हाडनाता विग्रह/हाडफोरुवा भएमा निज र निजका सन्तानलाई पतित/पातकी ठह¥याई सो व्यक्ति अर्थात खतुकीलाई छुट्टै थर (मिङ्स्रा) कायम गराई कुलवंशबाट पर जङ्गल, परदेश वा अन्य स्थान तर्फ बसोबास गराउँने चलनलाई भनिन्थ्यो । यस्ता पातकीहरुलाई कतिपय अवस्थामा निर्मम अपमानजनक शैलीमा भेटघाट नहुने गरी डाँडा नघाउँने समेत गरिन्थ्यो । यस्तो अवस्थामा स्वाभाविक रुपमा तिनीहरुको थर नयाँ कायम हुन जान्थ्यो । यस परम्परालाई “सघेक काक्मा” भनिन्थ्यो । कतिपय अवस्थामा “काईफूमा” भएर पनि नयाँ वंश स्थापना हुन जान्थ्यो ।

तेस्रो रीति– पगरी ग्रहण

सेनवंशी राज्यकालमा राय पदवी लिने प्रचलनले धेरै लिम्बू कुलवंशलाई आकर्षित ग¥यो । अघि शाह र राणाकालमा आफ्नो औकात अनुसार राज्यलाई माटो मुरी वा नगद चढाएर सुभाङ्गी/राई पगरी लिने होडबाजीले गर्दा अन्ततः एउटै दाजुभाई भित्रै छुट्टाछुट्टै बंशको निर्माण हुन्थ्यो, जसको प्रत्यक्ष प्रमाण संखुवासभाको सभापोखरी, पावाखोला, बाह्रबिसे आदि ठाउँमा बस्ने वनेम फागुहरुको हालको जाति र थर परिवर्तनले पुष्टि गर्दछ । ठिक यही प्रकारले खपनका लिङ्थेपहरु पनि विभिन्न कुलबंशमा विभाजित भएका छन् । वि.सं. २०४८ सालमा लिम्बुवान क्षेत्रको अन्तिम नापी संखुवासभामा हुँदासम्म यहाँका जिम्मावालहरुले आफ्नो नाम लेख्दा सुब्बा फलानो वा राइ फलानो भनेर पदवीलाई अगाडि लेख्ने गर्दथे । हाल लिम्बूहरुले आफ्नो नाम पछि लिम्बू, सुब्बा, याक्थुङ्बा लगायत आफ्नो थर/मिङ्स्रा लेख्ने गर्दछन् ।

चौथो रीति– मिङ्स्रा ग्रहण

एकै बाबुका सन्तानले कालान्तरमा आफ्ना हाँगाका पुर्खालाई आदि पुरुष मानी नयाँ वंशका रुपमा स्थापित हुन्थे अर्थात आफ्ना हाँगाका मूल पुरुषलाई मिङ्स्रा (गोत्र) का रुपमा मानेर छुट्टै कुलवंश निर्माण गर्थे । मिवाखोलाका सेरेङ्वंशी कुन्दङ्जापाहाङ्का जेठा छोरा मुन्धुङ्गेका सन्तानहरु करिब ४० पुस्ताको अवधिमा १३ कुलवंश, माईला छोरा सामधुङ्गेका सन्तानहरु १६ कुलवंश, साहिंला कनेहाङ्का सन्तान २१ कुलवंशमा विभाजित भई सकेका छन् । कान्छा कचुहाङ समेतको वंश गणना गर्ने हो भने एक्ला कुन्दुङजापाहाङका सन्तानहरु हालसम्म झण्डै ६० वटा नयाँ वंशमा विभाजित भइसकेको पाईन्छ । यस्ता नयाँ मिङ्स्रा ग्रहण गर्ने रीतिथितिले लिम्बुवानमा भैयाद बृद्धिको साटो कुटुम्ब घरानाको संख्यालाई अधिक बनाएको पाइन्छ । जनसंख्याका हिसाबले मेवाखोलाका सेरेङ्हाङ् कुन्दुङ्जापाहाङ्का ४ भाइ छोराहरुका सन्तान नै कालान्तरमा पूर्वी पहाडको सबैभन्दा ठूलो लिम्बू समुदाय बनेको छ ।

पाँचौं रीति– भूमि ग्रहण

जुन स्थानमा बसोबास भयो त्यही स्थानलाई आफ्नो नयाँ मिङ्स्राको रुपमा ग्रहण गर्नु वा आफ्नो अधिकारजन्य नयाँ नाम/बंश स्थापित गर्नुलाई भूमि ग्रहण मान्न सकिन्छ । यस विधि अनुसार आफ्नो मिङ्स्रा लिनेहरु जस्तै– सेरेङ्, फागो, नाल्बो, सावाँ, ओख्राबु, फाबेन आदि थरका लिम्बुहरुलाई उदाहरणका रुपमा लिन सकिन्छ ।

छैटौं रीति– विलयन

प्रख्यात मुन्धुमविद स्व. श्री भरत तुङघङका अनुसार– बाबुले आफ्ना स्वास्नी र छोराछोरीहरु आफ्नो ससुरालीबाट “मे?लुङ फुसिङ्मा” रीत अर्थात लिम्बूवानमा चलेको सोतरीत नबुझाएको अवस्थामा निजका स्वास्नी र छोराछोरीहरु मावलीकै हुन्थे । यसको सोझो अर्थ हो लिम्बूका भान्जाभान्जीहरु पनि वंशमा सामेल हुन्थे । यस खाले वंशबृद्धिलाई विलयनको रुपमा लिन सकिन्छ । त्यस्तै साविकको आफ्नो कुलवंश/मिङ्स्रा त्याग गरी कुनै थर वा जातिमा समाहित हुनु पनि विलय हुनु नै हो, जसको पछिल्लो प्रमाण संखुवासभाकै हटियागोला क्षेत्रमा करीब ३१ घरधुरीका लिम्बूहरु भोटे भई बस्नुलाई मान्न सकिन्छ । निजहरु स्थानिय भोटेनी बिहे गरी ससुराली अर्थात नारी प्रधान समाजको प्रक्रिया अनुसार सोही जातिमा विलय हुनुलाई विलयनको रीत मान्न सकिन्छ । त्यस्तै कतिपय अवस्थामा युद्ध वा अन्य कारण पनि नयाँ बंश निर्माण हुने स्थिति आएको देखिन्छ । यसको उदाहरणको लागि वि.सं.१८३० ताकाका गोर्खा–लिम्बू युद्धहरुमा पराजित लिङ्थेपहरु आफ्नो कुलबंशको पहिचान लुकाई अन्य कुलका भैयाद, रैती तथा थरी भई बसेको पाईन्छ, यसलाई पनि विलयनकै रुप मान्न सकिन्छ । लिम्बू जातिको नयाँ बंश बन्ने यो पनि एउटा उदाहरण हो । यसरी विविध रीत वा तरिकाहरुबाट नयाँ बंश निर्माण, परिवर्तन र विलयन हुने क्रिया प्रक्रिया भिन्न ठाउँमा भिन्न भिन्न तरिकाले सम्पन्न भएको पाईन्छ । संक्षेपमा भन्नु पर्दा लिम्बूहरुको नयाँ थर, गोत्र र वंश निर्माणका प्रक्रियाहरु निकै विस्मयकारी, रोचक र प्राकृत स्वरुपका छन् ।

लिम्बु जातिकाे च्याब्रुङ नाच

अब केही अन्य जाति र स्थानमा प्रचलित रीतिथिति बारे अलिकति चर्चा गरौं–

१. संखुवासभाको सभापोखरी, पावाखोला, बाह्रबिसे आदि ठाउँमा बस्ने करीब ९० घरधुरीका झण्डै ४०० राईहरुले आफुलाई वनेम फागो लिम्बू जातिमा परिवर्तन गरेका छन् । पहिले वनेमहरु राई पगरी ग्रहणका कारण राई जातिमा विलय भएका थिए । त्यस्तै संखुवासभाकै हटियागोलामा करीब ३१ घरधुरी लिम्बूहरु भोटे भई बसेका छन्, कुनै दिन ती भोटेहरु पुनः लिम्बूकै पहिचानमा फर्किए भने कुनै आश्चर्य मान्नु हुँदैन । युद्ध, संकुचन वा अन्य कुनै कारणहरुबाट अल्पसंख्यक वंश ठूलो र शक्तिशाली वंशमा समाहित हुन्थे, यस्ता परम्परालाई विलयनको स्वरुप मान्न सकिन्छ ।

२. तपाईंहरुलाई आश्चर्य लाग्ला कि भारतीय राज्य असमका असमीहरु मंगोल नश्लका बर्मीहरु हुन् । उनीहरु आफूलाई हिन्दु वर्णाश्रम भित्रको क्षत्रिय हौं भनी आफ्नो परिचय दिन्छन् । यथार्थमा उनीहरु जातिय रुपमा बर्मीज/मङ्गोल हुन् भनेर इतिहासमा आफै लेख्छन्, पढ्छन् तर वर्तमानलाई नै आत्मसात गर्ने गर्दछन् अर्थात फेरि पनि हिन्दू क्षत्रिय नै हौं भन्न छाड्दैनन् । जाति र धर्म दुवै कुरा परिवर्तन गरेर पनि सभ्य तथा विशिष्ट जातिमा दरिएका असमीहरुको यो यथार्थता एक कटु सत्य हो, जसलाई हामीले जान्दाजान्दै पनि हामी उनीहरुको जातिय तथा धार्मिक अधिकार र स्वतन्त्रताको निर्णयलाई सम्मान गर्नु हाम्रो प्रथम दायित्व हुन आउँछ ।

३. नेवार जाति यस्तो जाति हो जुन जातिमा यति धेरै बंश तथा जातिहरुको रक्त मिश्रण भएको छ कि नृवंशशास्त्रीहरु यस जातिको नालीबेली केल्याउन लगभग असंभव नै छ भन्छन् । नेवारहरुको मूल पुर्खा किरात हुन् भन्ने कुरा धेरै नेवार बुद्धिजिवी र इतिहासकारहरुले स्वीकार गरिसकेका छन् । हिन्दु तथा बौद्ध धर्मका अनुयायी श्रेष्ठ तथा शाक्यहरु राजा जयस्थिति मल्लको ४ वर्ण ३६ जातिको अवधारणाभित्र ६४ भन्दा धेरै जातिमा विभाजित भएका छन् । हिन्दु धर्म तथा वर्णाश्रम अनुसार नेवार जाति भित्रै जोशी, गुरुवाचार्य, बज्राचार्य जस्ता ब्राह्मण समतुल्य जाति छन् भने क्षत्रिय, वैश्य तथा शूद्र जाति समेत यस जाति भित्र रहेका छन् । नेपाल उपत्यकामा पसेका धेरै जाति नेवार जातिमा समाहित भए भन्ने कुरा हाम्रो ईतिहासले स्पष्ट पारेको छदैंछ । अर्को एउटा रोचक कुरो के छ भने शाक्यहरुले श्रेष्ठ थरका महिला विवाह गरी सन्तान भएमा “उदास” थर कायम गर्ने चलन छ जुन चलन बाहुन जातिमा जैसी, खत्री आदि बनाउने चलनसंग मेल खान्छ ।

४. Bharatkosh.org भन्ने एउटा भारतीय वेभसाइट तथा भारतीय इतिहासका अनुसार भारतमा पसेका आक्रमणकारी हूण, मंगोल, तातार, शक तथा अन्य जातिहरु स्थानीय भारतीय जातिय समुदायमा यसरी विलिन भए कि उनीहरुको कोकोसंग रक्त सम्बन्ध छ भन्ने समेत केलाउन गाहारो भएको छ । सो वेभसाइटका अनुसार भारतीय राजपूतहरु आफुलाई क्षत्रिय भन्दछन् तर वास्तवमा उनीहरु मुगल बंशका रक्त मिश्रित सन्तानहरु हुन्, यस अर्थमा नेपालमा आफुलाई राजपूतका सन्तान भन्ने शाह, ठकुरी, मल्ल, राणा आदि कस्का सन्तान ठहर्छन्, स्पष्ट नै छ । ईतिहासकार प्रा. डोरबहादुर बिष्टले माथि उल्लेखित थर तथा जातिहरु मगर समुदायसंग मिश्रित सन्तान हुन् भनेर आफ्नो पुस्तकमा नै लेखिसक्नु भएको छ यद्यपि ती जाति भने आफु सबैभन्दा उच्च क्षत्रिय हौं भन्ने गर्छन्, जुन कुरा यथार्थ भन्दा कोसौं टाढा रहेको स्पष्ट नै छ ।

५. लिम्बूहरुमा पनि सिङ्जाली थापामगर र वनेम फागुहरु भैयाद भएका थिए, जुन भैयाद सम्बन्ध पछिल्लो वि.सं १८३० ताका दुवै तर्फले नुन बार्न छोडेर समाप्त भएको थियो । शाहबंशीहरुलाई युद्धमा सहयोग गरे बापत फागुहरुलाई दिईएका अंश वा जागिरका खेतबारी जो कास्की र लम्जुङ् आदि क्षेत्रमा थिए पछिल्लो मनमुटावले त्याग्न बाध्य गरायो । यो भैयाद सम्बन्धले नयाँ वंश भने स्थापना गरेन, यद्यपि यस सम्बन्धले चोक्फुङ् विधिको पछिल्लो नमुना मान्न सकिन्छ ।

६. तेह्रथुमका छौरेहरु एउटै बाबु ताप्पेसो पेरुहाङ्का सन्तानहरु हुन् । अचेल भिन्न भिन्न मिङ्स्रा लिई भिन्न भिन्न बंश भई बसेका छन् । उनिहरु फुदोङ्मा बस्नेहरु फुदोङ् भएका छन् भने उम्लिङ्मा बस्ने अङ्लिङ्, सिङ्जाङ्गु फूलको बोट छेउछाउमा बस्नेहरु सिङजाङ्गु, डाँडाँमा बसेकाले थेगुबा, सुसुवाखोला छेउमा बसेकाले सुक्वाबा, ठूलो जिउडाल भएकाले थक्लेङ् भएका छन् । त्यस्तै तेह्रथुमका तुम्बाहाङ्फे लगायत सबै सात्रेनुहाङ्हरुको पनि सोही हालत छ । सात्रेनुहाङ्हरु आफुहरु एकै हाडबंशी दाजुभाई भनेर भन्छन् तर व्यवहारमा उनीहरु पनि एक आपसमा भातृभावको व्यवहार नभएको देखिन्छ । मेवाखोलाका तुम्बाहाङ्फेहरुको दाबीलाई मान्ने हो भने तेह्रथुमका तुम्बाहाङ्फेहरु सेरेङ्हरु हुन्, उनीहरु तेह्रथुमका स्थानिय बासिन्दा होईनन् बेजिल्ले लिम्बू ठहरिन्छन् । यहाँ बेजिल्ले शब्दको अर्थ आफ्नो किपट भन्दा बाहिरका लिम्बुहरुलाई स्थानिय किपटिया लिम्बुहरुले भन्ने गरेको सम्बोधन शब्द हो भन्ने बुझ्नु पर्छ । अर्को शब्दमा स्पष्ट भन्ने हो भने डोकेभाइ मात्र हुन् । यद्यपि यो दावीको कुनै पुष्टि र खण्डन भएको चाँही पाईएको छैन । अझ छौरेहरुको दावीलाई मान्ने हो भने मिक्वाखोलाका सेरेङ् तुम्बाहाङ्फेसंग विवाह भएकी आफ्नी विधवा चेलीलाई थलायकमा बसोबास गराए, निजका सन्तानहरु नै हालका तेह्रथुमे तुम्बाहाङ्फेहरु हुन् । वास्तवमा तुम्बाहङफे मिङ्स्रा त ५ वटा वंशसमूहमा पाईन्छन्, जस्तै– सेरेङ तुम्बाहाङ्फे, सात्रेनुहाङ तुम्बाहाङ्फे, माबोहाङ तुम्बाहाङ्फे, हबेरुहाङ तुम्बाहाङ्फे, लेक्वाहाङ तुम्बाहाङ्फे आदि । त्यस्तै मादेन, चोङ्बाङ, फागो, साँबा पनि विभिन्न कुलवंशमा पाईन्छन् ।

७. बसोबास क्षेत्रको स्थलगत अध्ययन गर्दा तेह्रथुम मुसाङ्खेलका मुसाहाङहरु मुसाङ्खेलमा छैनन् बरु (माङ्भू) माबुहाङ्हरु आबाद भएका छन्, केबुकका केबुकहाङ्हरु पनि केबुकमा छैनन् छथर दाँगपामा आवाद भएका छन् । मुुसाहाङ्हरु चाँही दश मझिया क्षेत्रको मदामसिङ् तथा पाँचथरको दुर्दिम्बा तिर बसोबास गरेका छन् । कतिपय लिम्बू विद्वानहरुका अनुसार माथि उल्लेखित लिम्बूहरु सबै आपेङ्हाङ्हरु हुन्, अर्को शब्दमा भन्ने हो भने यी तीनवटै थरहरु एकै दाजुभाईहरु हुन् तर कतिपयको मतमा यिनीहरुको रक्त सम्बन्ध छैन । उनिहरुको उत्पति कथा(माङ्गेन्ना मुन्धुम)लाई हेर्ने हो भने लिम्बू समुदायको सामाजिक बनोट कसरी बनेको रहेछ भन्ने स्पष्ट बुझ्न सकिन्छ । ईतिहासका विभिन्न कालखण्डमा अल्पसंख्यक समूह/समुदाय शक्तिशाली बंश समूहमा कतिपय अवस्थामा स्वाँगेभाइ/डोकेभाइ भएर पनि विलयन हुन्थे । छथरका तिल्लिङ्हरुका एक शाखा जितपुरको आन्द्रुङ्मा जात र थर परिवर्तन गरी पाम्फू याख्खा भई बसेका छन्, हालै प्रकाशित तिल्लीङ वंशावलीका सम्पादक हितराम तिल्लीङका अनुसार वंशावलीमा पाम्फुलाई पुनः तिल्लीङ् लिम्बूमा नै समाविष्ट गरिएको छ । छथरका वल्ला गाउँ र पल्ला गाउँमा तुम्बाहरु लिम्बू र याख्खा दुई जातिमा विभाजित भएका छन् । जितपुरमा नै बसोबास गर्ने ताम्लीहरु आफुलाई लिम्बू भन्छन् तर लिम्बूवंश सम्बन्धी अध्ययनकर्ताहरुको विचारमा उनीहरु याख्खा हुन् । वास्तवमा माथिका उदाहरणहरुले लिम्बू र याख्खा जातिको अन्तर्सम्बन्ध कति कसिलो छ भन्ने यही सामाजिक कडीहरुबाट पनि अध्ययन गर्न सकिन्छ ।

उपर्युक्त विश्लेषणले के देखाउँछ भने लिम्बु जातिमा स्थानिय संस्कार, भूगोल, ऐतिहासिक परिघटना, युद्ध र संझौताका कारणहरुबाट पनि नयाँ जाति तथा कुल/बंशहरु देखा पर्ने वा बन्ने गरेका पाईन्छन् । इतिहासको अध्ययनले के देखाउँछ भने अल्पसंख्यक, कमजोर र आप्रवासीहरु आफुभन्दा शक्तिशाली, बहुसंख्यक र राज्यशक्ति भएका स्थानिय जाति वा बंश समूहमा विलिन हुने गरेको पाईन्छ । कमजोर व्यक्ति वा समूहले वंशरथलाई निरन्तरता दिन महाभारतकालिन आर्यहरुको ‘नियोग प्रथा’ ले परपुरुषबाट गर्भाधान गराएर पनि वंशबृद्धि गराउने अनुमति दिएको पाईन्छ । कर्ण सहित पाँच पाण्डवका दुईवटी आमा अनि पाँचजना बाबु थिए, तर पनि ती सबै पाण्डुकै धर्मपत्नी र पुत्ररत्न मानिएका थिए । तर यस्ता प्रथाहरु भने लिम्बू जातिमा पाईएको छैन ।

निष्कर्षमा के भन्न सकिन्छ भने– लिम्बू जातिमा नयाँ वंश वा थर बन्ने क्रिया र प्रक्रियाहरु जटिल, अद्भूत, विशिष्ट र रोचकताले भरिपूर्ण छन् । अन्त्यमा लिम्बू जातिको मुन्धुम, इतिहास, धर्म तथा सामाजिक परम्परा बारे अध्ययन गर्नलाई जातीय समिकरणका प्रवृतिहरुको यस्ता जानकारीहरुले महत्वपूर्ण सहयोग पुग्ने कुरा निर्विवाद छ ।

(लेखक लिङ्थेप कल्याणकारी समितिको इतिहास तथा वंशावली उपसमितिका संयोजक/अध्यक्ष हुन्।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उत्तमकुमार लिङ्थेप
उत्तमकुमार लिङ्थेप
लेखकबाट थप