बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अझै रोकिएन मिर्गौला तस्करी, पुरानै दलाल झन् झन् सक्रिय (लेनदेनको भिडियोसहित)

बिहीबार, १० माघ २०७५, ११ : ०४
बिहीबार, १० माघ २०७५

मदन ढुङ्गाना/टोम केल्ली

कुनै समय मिर्गौला गाउँका रूपमा चर्चित थियो होक्से । कारण यहाँका अधिकांश मानिसहरूले आफ्नो एउटा मिर्गौला बेचेका थिए ।

काभ्रेपलाञ्चोक जिल्लाको एउटा गाउँ होक्से पछिल्लो समय धेरैको नजरमा पर्यो । विभिन्न एनजीओ, आईएनजीओ, सरकारी संयन्त्र र प्रहरी प्रशासनले होक्से गाउँको मानव अङ्ग तस्करीको जालो तोड्न र तस्करी रोक्न धेरै प्रयत्न गरे । जनचेतनाको धेरै काम भयो । 

होक्सेमा मिर्गौला तस्करीको बाँकी संस्करण त २०७१ सालबाट रोकियो । यद्यपि काभ्रेपलाञ्चोक र छिमेकी जिल्ला सिन्धुपाल्चोक तथा रामेछापमा मिर्गौला तस्करी रोकिएन । 

धनाढ्य व्यक्ति मात्रै होइन, नेपाल सरकारका वरिष्ठ कर्मचारी, प्रहरी र सेनाका अफिसरहरूका लागि चाहिने मिर्गौलाको ‘स्टोर’ बन्यो यी जिल्लाहरू ।

गाउँघरका गरिब व्यक्तिहरूलाई मनोवैज्ञानिक काउन्सिलिङ र अनपढहरूलाई झुक्याएर समेत भारतका विभिन्न अस्पतालमा पुर्याएर मिर्गौलाको तस्करी भयो । 

नेपाली नागरिकलाई मात्रै होइन, भारतीय, अफ्रिकी तथा युरोपियन नागरिकलाई समेत मिर्गौलाको बिक्री वितरण हुन थाल्यो । मिर्गौला तस्करीको समाचार बाहिर आएपछि प्रहरीले २०७० सालमा १० जना अभियुक्तलाई पक्राउ गर्यो । त्यसमा संलग्न प्रेम बजगाईंसहित अन्य २ जनालाई मानव अङ्ग तस्करीको अभियोग प्रमाणित गर्दै ३ वर्षको जेल सजाय तोकियो । 

अदालतले समेत मुख्य अभियुक्त भनी प्रमाणित गरेका प्रेमबहादुर बजगाईं २०६९ चैत २९ गते पक्राउ परेका थिए । सोही मितिबाट प्रहरी हिरासत र जेलजीवन बिताएका प्रेम २०७२ चैत २९ गते जेल जीवन सकाएर मुक्त भए । 

होक्से र पूरै काभ्रेपलाञ्चोक जिल्लाभर मिर्गौला तस्करीको व्यवस्थापन गर्ने र ‘डोनर’ खोज्ने काम प्रेम बजगाईं र उनको टिमले गरेको भन्दै प्रेम जेल परेपछि तस्करी रोकिनेमा सबै ढुक्क थिए । 

प्रेम जेल गएपछि होक्सेमा त तस्करी करिबकरिब रोकियो । यद्यपि यसको जालो अन्य जिल्लामा फैलिन थाल्यो । 

प्रेम जेलबाट निस्किएपछि सुध्रिने धेरैको अपेक्षा थियो तर व्यवहारमा भने परिवर्तन आएन । 

जेलबाट निस्किएपछि प्रेम त झन् मजबुत बने र काठमाडौँमै बसेर मिर्गौला तस्करीको जालोलाई झनै सक्रिए बनाए ।

पछिल्लो समय दिल्लीमा रहेका दलाल श्रीधर सेठ्ठीसँग मिलेर प्रेम बजगाईं तथा उनको समूहले मिर्गौला तस्करीलाई झनै सक्रिए बनाए । 

बेलायतमा रहेका एक पञ्जाबी मुलका नागरिकका लागि प्रेमले नेपालबाट डोनर खोजेर लगिदिए । परिवारका सदस्य देखिनेगरी कागजात बनाइदिए । प्रेम र उनको टिमले करिब ८ लाख रूपैयाँ लिएर मिर्गौलाको बेचबिखन मिलाइदिए । जसले मिर्गौला ‘दान’ दिए, उनको हातमा भने जम्मा १ लाख ८० हजार मात्रै पर्यो ।

यो पनि

‘जब बिहेका लागि गहना र जन्ती मागे, मैले मिर्गौला बेचिदिएँ’

यसरी पत्ता लाग्यो दलालको नयाँ धन्दा

बेलायती नागरिकका लागि मिर्गौला मिलाइदिएको थाहा पाएपछि बेलायतस्थित डेल्ली मेलले रातोपाटीसँग मिलेर मिर्गौला तस्करीको जालो र यसमा संलग्नहरूको खोजी सुरु गर्यो ।

बेलायतबाट नै भारतीय मूलका केही पत्रकार ल्याएर यसको जालो खोज्ने काम सुरु भयो । भारतीय मूलका बेलायती नागरिकले भारत पुगेर नेपालको एक दलाललाई सम्पर्क गरे । नेपालका ती एजेन्ट आफैमा मिर्गौला रोगी हुन् । उनी लामो समयदेखि डाइलोसिस गर्दै आएका बिरामी हुन् ।

भारतबाटै उनलाई सम्पर्क गरी टोली नेपाल आयो र सुरु भयो मिर्गौला तस्करीको निरन्तरताबारे संयुक्त स्टिङ अपरेसन । 

सुरुमा मयूर तामाङ नाम गरेका दलाललाई हामीले ठमेलस्थित एक होटलमा भेट्यौँ । 

आफूलाई दिल्लीबाट श्रीधर सेठ्ठीले पठाएको भनेपछि मयूर पनि हौसिए । मयूरले श्रीधर सेठ्ठीलाई चिनेको र पहिले पनि काम गरेको भन्दै कामको बारेमा सोधे ।

हामीले भारतीय मूलका बेलायती नागरिकका लागि मिर्गौला चाहिएको कुरा बतायौँ । बेलायती नागरिक धनी व्यक्ति भएको र पैसाको कुनै चिन्ता नभएको हामीले बतायौँ । मयूरले त्यस कामको कुनै चिन्ता नभएको भन्दै सबै व्यवस्था हुने कुरा बताए । 

हामीले व्यवस्थापन खर्चबापत केही रकम दियौँ । 

दोस्रो दिन मयूरले करिब ५ फिट २ इन्च उचाइ भएका एक दुब्लो व्यक्ति लिएर होटलमा आए । उनले बाँकी सबै काम यिनै दुब्लो व्यक्तिले गरिदिने बताए । यद्यपि सबै डिल आफैसँग गर्नुपर्ने प्रस्ताव तामाङ राखे । हामीले शर्त मञ्जुर गर्यौँ । त्यस दिन पनि करिब २० हजार रूपैयाँ लिएर उनीहरू गए । 

तेस्रो दिनको बिहानै ती दुब्लो व्यक्ति होटलमा आइपुगे । 

यो पनि

जसले गीत गाउनका लागि आफ्नै मिर्गौला बेचे, तर...

५ फिट २ इन्च उचाइका तिनै व्यक्तिले आफूलाई प्रेम बजगाईं भएको चिनाए । 

आफू मिर्गौला तस्करीको ‘किङ’ भएको बताउँदै बाँकी सबै डिल आफैसँग गर्न भने । 

जब २ हजार मिर्गौला बेचेको स्वीकारे...

मुख्य व्यक्ति नै सामुन्ने आएपछि हामीलाई अर्को व्यक्तिसँग कुराकानी गरिरहनुपर्ने आवश्यकता भएन । त्यसपछि सुरु भयो प्रेमका विगतका कथा । 

प्रेमले आफूलाई मिर्गौला तस्करीको राजा भएको बताउँदै भने मैले अहिलेसम्म करिब २ हजार मिर्गौला बेचिसकेँ । उनले विभिन्न जिल्लाबाट करिब २ हजार जनाको मिर्गौला भारतका विभिन्न अस्पतालमा लगेर बेचेको कुरा सगौरव सुनाए । 

उनले नेपाल र भारत सबैतिर कनेक्सन भएको र अहिले पनि कसैलाई मिर्गौला चाहिएमा प्रेम बजगाईंमार्फत् नै आइनुपर्ने कुरा बताए ।  हालसालै मात्रै ५ वटा मिर्गौलाको बेचाएको दाबी गरे ।

मिर्गौला तस्करीका लागि मुख्य सहर भारतको मद्रास रहेको पनि उनले दाबी गरे । नेपाली, भारतीय र अफ्रिकी तथा युरोपियन नागरिकका लागि पनि मिर्गौला मिलाइरहेको उनले दाबी गरे ।

प्रेमसम्म पुग्न यतिसम्म...

प्रेम बजगाईं आफैमा मुख्य दलाल हो भन्ने हामीलाई थाहा थियो । यद्यपि यदि हामीले सोझै उनीसँग कुरा गर्न खोजेमा उनी बिच्किने खतरा थियो । नेपाली नागरिक देखेमा शङ्का हुने भएकाले हामीले भारतीय मुलका बेलायती नागरिकलाई नै ‘मिड लम्यान’ अर्थात् एजेन्टका रूपमा प्रस्तुत गरेका थियौँ । त्यसकारण हामी तेस्रो व्यक्तिमार्फत् प्रेम बजगाईंसमक्ष पुगेका थियौँ ।

प्रेमले आफू नै मुख्य व्यक्ति भएको कुरा गरे त्यसपछि बाँकी डिल हामीले प्रेमसँग गर्न थाल्यौँ । उनले डोनर खोजेर ल्याउने भन्दै पहिलो दिन हामीसँग ३० हजार लिएर गए । 

त्यसको दुई दिनपछि प्रेमले ३ जना व्यक्तिहरू लिएर आए ।

तीमध्ये एकजना मिना नाम गरेकी महिला थिइन्, जसले बेलायती नागरिकका लागि मिर्गौला बेचेकी थिइन् र त्यो सबै काम प्रेमले नै मिलाइदिएका थिए ।

उनीसँगै अरू दुई जना युवाहरू पनि थिए । उनीहरू चाहिँ ‘डोनर’ थिए, जो आफ्नो मिर्गौला बेच्न चाहन्थे । करिब २६, २७ वर्षका ती युवालाई लिएर प्रेम आएका थिए । 

हामीले बेलायतबाट नै केही नक्कली कागजात बनाएर ल्याएका थियौँ । त्यो कागजातमा बिरामीको नाम, उमेर, ब्लड ग्रुप तथा मिर्गौला फेल भएको र डाइलोसिस गरिरहेको उल्लेख थियो । 

हामीले ग्राहक ल्याउने काममा दलाललाई सहज होस् भनेर ए पोजिटिभ र ओ पोजिटिभ ब्लड ग्रुप भएको कागजात ल्याएका थियौँ । यी दुईमध्ये कुनै एक जनाको ब्लड ग्रुप भए पनि हामीलाई थप कामका लागि सहजता हुन्थ्यो ।

प्रेमले ग्राहक ल्याएपछि हामीले ती ‘ग्राहक’सँग पनि कुरा गर्यौँ । उनीहरूले मिर्गाैला बेच्न तयार भएको कुरा गरे । त्यसपछि हामीले ब्लड ग्रुपिङ तथा स्वास्थ्य परीक्षणका लागि भनेर प्रेमलाई अर्को २५ हजार रूपैयाँ दियौँ । उनीहरूसँगै स्वास्थ्य परीक्षणका लागि भनेर बानेश्वरमा रहेको एक क्लिनिकमा पुग्यौँ । 

तर त्यस दिन त्यहाँका डाक्टर बाहिर भएकाले सबै काम हुन सकेन । हामी त्यस दिन फर्कियौँ । अर्को दिन प्रेमले नै स्वास्थ्य परीक्षण गराएर फर्किए । 

अब कागजात मिलाउने कुरा भयो । 

कागजात मिलाउनका लागि प्रेमले अर्को ५० हजार रूपैयाँ मागे । हामीले तत्काल १० हजार दिने र कागजात मिलाउने तथा बाँकी पैसा भारतमै मिर्गौला प्रत्यारोपण गर्ने बेलामा दिने कुरा बतायौँ । 

मिर्गौलाको व्यवस्थापन तथा बेचेबापत जम्माजम्मी थप ८ लाख रूपैयाँ दिने सहमति भयो । मङ्सिरको मध्यमा यति काम सकिएपछि पुसको पहिलो हप्तामा फेरि काठमाडौँमै भेटिनेगरी हामी छुट्टियौँ । 

होटलको कोठामा भएको सबै कुराकानी र दृश्य हामीले गोप्य क्यामेराबाट कैद गर्यौँ । 

जेल बस्दा पनि सुध्रिएनन् बजगाईं

मानव अङ्ग तस्करीको आरोपमा ३ वर्ष जेल बस्दा पनि प्रेम बजगाईंमा कुनै सुधार भने आएको रहेनछ । बरु उनी झन् झन् ‘जब्बर’ बन्दै गएका रहेछन् । 

फरक यत्ति छ कि कुनैसमय प्रेम आफै ग्राहक खोज्दै गाउँघर पुग्थे भने अहिले अन्य एजेन्टबाट ग्राहक खोजेर ल्याउँछन् र काठमाडौँबाटै यी धन्दा चलाइरहेका छन् । फरक यत्ति छ कि कुनै समय एउटा मिर्गौला बेचेबापत दाताले करिब २ लाख र दलालले करिब ३ लाख पाउँथे भने यो मूल्यमा अहिले केही परिवर्तन आएको छ । अहिले एउटा मिर्गौला मिलाइदिएबापत् प्रेमले ८ लाख रूपैयाँ लिन्छन् र दातालगायतको सबै व्यवस्थापन आफै गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप