बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश सूचना केन्द्र : यसरी समाधान गरिन्छ जनताका गुनासा

बिहीबार, १० माघ २०७५, १३ : ०७
बिहीबार, १० माघ २०७५

बुटबल । 
घटना नम्बर १ 
माघ ७ गते काठमाडौंको नयाँ बानेश्वरका डिल्लीराम श्रेष्ठले सबै प्रक्रिया पूरा गरी बुटवल देवीनगरमा रहेको आफ्नो जग्गा धितो राखेर बैंकबाट ऋण लिन खोजे । 

 छोरालाई  अध्ययनका लागि विदेश पठाउने प्रयोजनका लागि उनले ऋण लिन खोजेका थिए । त्यसका लागि बैंकबाट सबै प्रक्रिया पूरा गरी उनी बुटवलस्थित मालपोत कार्यालय पुग्दा अनेक बहानामा फाइल अड्काउने काम भयो ।  

दुई दिनको मालपोतको आनाकानीपछि श्रेष्ठले प्रदेश नम्बर ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश सूचना मामिला सूचना केन्द्रमा फोन गरेर उजुरी दिए ।  उजुरीको तत्काल ‘रेस्पोन्स’ गर्दै केन्द्रले मालपोत कार्यालय बुटवलका प्रमुखलाई सबै प्रक्रिया पूरा भएकाले तत्काल काम गरिदिन निर्देशन दियो । केन्द्रको निर्देशनसँगै उनको काम अहिले सम्पन्न भइसकेको छ । 

घटना  नम्बर २
  कात्तिक १९ गते गैडहवा रुपन्देही घर भई बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत भोला यादव वेपत्ता भएपछि परिवारले प्रदेश सूचना केन्द्रमा उजुरी गरे । 

 उजुरी गरेकै दिन बर्दिया राष्ट्रिय निकुञ्जमा सम्पर्क गरेपछि वेपत्ता यादवको अवस्था पत्ता लाग्यो। 

घटना नम्बर ३  
बुटवलको ज्योतिनगरीकी माया गुरुङले चलाएको लु १३ प ८४४१ नम्बरको स्कुटीलाई पाल्पाको पिपलडाँडा भन्ने स्थानमा पश्चिम नेपाल बस व्यवसायी संघको लु १ ख ६८६५ नम्बर बसले ठक्कर दियो । 

 गुरुङको खुट्टा भाँच्चियो । शरीरका अन्य ठाउँमा पनि चोट लाग्यो  । घाइते गुरुङको अहिले काठमाडौंको बी एण्ड बी अस्पालमा उपचार भइरहेको छ । 

घाइतेलाई क्षतिपूर्ति दिन लागि पश्चिम नेपाल बस व्यवासायी समितिले मानेन । अनेक बहान निकाल्यो । अनि प्रदेश मामिला केन्द्रमा घाइतेका श्रीमान प्रकाश गुरुङले निवेदन दिए ।  

निवेदनपछि प्रदेशको आन्तरिक मामिला मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र बस व्यवसायी समितिललाई पत्र काट्यो । तत्काल घाइतेको उपचार खर्च र क्षतिपूर्तिको व्यवस्था गर्न निर्देशन दिएपछि अहिले समितिकै खर्चमा उपचार भइरहेको प्रकाशले जानकारी दिए । 

 घटना नम्बर ४ 
बुटवल उपमहानगरपालिका ५ की मानकुमारी नेपालीले ४ धुर भनेर जग्गा किनिन् । तर लालपूर्जा पौन चार धुर मात्रै भनेर बन्यो । लालपूर्जामा एकाएक जग्गा गायव भएपछि  उनले पटक पटक जग्गा बेच्नेधनीसँग गुनासो गरिन् भने मालापोत कार्यालयमा पनि धाइन् ।  तर समस्या समाधान नभएपछि मंसिर ८ गते प्रदेश मामिला सूचना केन्द्रमा उजुरी दिएकी छन्। 

अहिले मानकुमारीको समस्याबारे मालापोत कार्यालयलाई खबर गरेरसमाधानको चरणमा रहेको प्रदेश मामिला सूचना केन्द्रका प्रमुख बुद्ध प्रकाश पौडेलले जानकारी दिए । 

 सूचना केन्द्र– सरकार र नागरिकबीचको पुल
आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसीको पहलमा गत कात्तिक ९ गतेदेखि आन्तरिक मामिला मातहत रहने गरी सूचना केन्द्र सञ्चालनमा ल्याइएको थियो । 
उनले सरकारी सेवामा हुने ढिलासुस्ती, अनियमितता र आपतकालीन समस्याबारे सूचना केन्द्रमा उजुरी गर्ने व्यवस्था गरिएको जानकारी दिए । 

 यस्तै सुशासन, विकास निर्माणमा हुने ढिलासुस्ती र कर्मचारीका कामबारबाहीबारे पनि गुनासो गर्न सकिनेछ ।

अहिले सूचना केन्द्रमा उजुरी गर्नेहरुको संख्या बढ्दै गएको बताइएको छ । 

जनतासँग प्रदेश सरकार सँगसँगै छ भन्ने सन्देश दिने उद्देश्यले सूचना केन्द्रमा नागरिकको उजुरी लिन थालिएको उनको भनाई छ।  

स्थानीय, प्रदेश र कुनै पनि सरकारी निकायले काममा गरेको ढिलासुस्ती, विकास निर्माणमा हुने अनियमितता,सरकारी सेवा तथा कुनै पनि क्षेत्रको समस्याबारे पनि नागरिकले सूचना केन्द्रमा उजुरी गर्न सक्नेछन्। 

उजुरीको व्यवस्था भएपछि अहिले केन्द्रमा उजुरी र गुनासो आउनेक्रम क्रमश बढ्दै गएको केन्द्रका प्रमुख पौडेलले जानकारी दिए । 

केन्द्रका प्रमुख पौडेलका अनुसार  फोन, लिखित र इमेलर्फत उजुरी लिने गरिएको छ ।    उजुरीमा धेरैजसो लेनदेनका विषय आएका छन् । तर यस्ता उजुरीहरु लिखित रुमा नआएको पौडेलले जानकारी दिए । 

मालपोतमा हुने अनियमितताका विषयमा पनि केन्द्रमा उजुरी पर्ने गरेको छ। उजुरी आउना साथ सरकारका सम्बन्धित मन्त्रालय वा अन्य निकायसमक्ष उजुरीको सुनुवाई गर्ने गरिएको पौडेलले बताए। 

विशेष गरी प्रदेश ५ लाई सुशासनमा नमूना प्रदेश बनाउने उद्देश्यका साथ यो अवधारणा अघि सारिएको हो । 

 सर्वसाधारणको गुनासो सुन्न केन्द्रले पैसा नलाग्ने टेलिफोन नम्बर १६६०७१५२०२० को व्यवस्था गरेको छ । 

जसमा बिहान ९ः३० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क फोन गरेर नागरिकले गुनासो टिपाउन सक्नेछन् ।  यसका साथै इमेल तथा लिखित रुपमा पनि केन्द्रमा दिन सक्ने व्यवस्था छँदैछ । 

यसरी हुन्छ काम
केन्द्रले प्रदेश नम्बर ५ का १२ वटै जिल्लाबाट सूचना संकलन गर्ने गरेको छ । 

प्रदेशका जिल्ला प्रशासन कार्यालयमा रहेका जिल्ला आपतकालीन कार्यालयलाई प्रदेश सूचना केन्द्र मातहतको कार्यालय बनाइएको छ ।  जिल्ला प्रशासन कार्यालयभित्र रहने यो सूचना केन्द्र नवलपरासी, कपिलवस्तु, बाँके, दाङ, बर्दिया,पाल्पामा रहेका छन् । 

तर प्रदेश ५ का रुपन्देही, प्यूठान, रोल्पा, रुकुम र गुल्मीमा जिल्लामा आपतकालीन कार्यसञ्चालन केन्द्र छैन । 

यी जिल्लाहरुमा छिट्टै आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिने जनाइएको छ । 

 यसका साथै अब जिल्ला समन्वय समितिलाई जिम्मेवार बनाउने गरी सूचना केन्द्रलाई थप प्रभावकारी बनाउन खोजिएको छ । 

यस्तो छ टीम
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको भवनमा प्रदेश मामिला सूचना केन्द्र राखिएको छ । 

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत कात्तिक ९ गते प्रादेशिक सूचना केन्द्रको उद्घाटन गरेका थिए। 

सरकारले बाढी, पहिरो, भूकम्प, आगलागी, महामारी जस्ता प्राकृतिक प्रकोपका बेलामा समेत सूचना केन्द्रलाई परिचालन योजना बनाएको छ। त्यसका लागि प्रदेश सरकारले केही उद्दारका सामग्री समेत तयारी अवस्थामा राखेको छ। 

बुटवल धागो कारखानामा आपतकालीन उद्दारका सामानहरु स्टोर गरेर राखिएको छ ।  

प्रदेशभरीका सूचना संकलन गर्ने र संघीय सरकारलाई समन्वय गर्ने काम पनि भइरहेको छ।

 सूचना केन्द्रमा एक जना प्रमुख सहित अनुसन्धान प्रहरी, प्रहरी र कप्यूटर अपरेटर गरि ५ जना जनशक्ति खटिएका छन्। 

हालै मन्त्रिपरिषदबाट  उपसचिव सहित, आईटी इन्जिनियरसहित ९ जना कर्मचारीको टिम बनाउने निर्णय पनि भएको छ । 

टीम थपिएपछि अहिले भइरहको भन्दा थप प्रभावकारी रुपमा काम हुने प्रदेश सरकारले विस्वास लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप