केन्द्रीय संस्करण
यात्रा संस्मरण

‘ड्याडी ! मलाई माया गर्नुहुन्छ भने चुरोट नखानुस्, ड्रिंक्स नगर्नुस्’

person explore access_timeमाघ ११, २०७५ chat_bubble_outline0
अशोक सिलवाल

रातोपाटी

(हिमालयका दूत अर्थात लाङटाङ सद्भावनादूत अशोक सिलवाल केही समयअघि       श्रीलङ्का गएका थिए। सगरमाथा उभिएको देशबाट महासागरले घेरिएको देश गएका तिनै यात्रुको यात्रा संस्मरणको अन्तिम शृङ्खला हो यो।)

सिगिरियाको टपबाट परपरसम्म हरियो श्रीलंका देखिन्थ्यो। बुद्धका मुर्ति देखिन्थे। स्तुपाहरु देखिन्थे। त्यस्तो खुला सिगिरियाबाट हामी दम्बुलाको बुद्धिस्ट गुफा हिंड्यौं। मन्दिरबारे दम्बुलाकी स्थानीय इन्टरप्रेटरले भनी, ‘यो यस्तो ठाउँ हो, जहाँ पहिलो पटक बुद्धिस्ट ग्रन्थ त्रिपिटकको स्क्रिप्ट लेखियो।’

हामीसँग गएका कति साथीले त्यसमा प्रश्न उठाए। बिना उत्तर त्यो प्रश्न त्यत्तिकै सेलायो।

बुद्धको गुफा मन्दिरमा बुद्धिस्ट मन्त्रसहित त्यहाँका पुजारीले हामीलाई ‘पवित्र’ पारे। तर, त्यसको केही समयपछि मातलेका स्थानीय पत्रकारहरुले दिएको भोजमा हामी कति त ड्रिंक्सले ‘अपवित्र’ भइहाल्यौं। दिउँसै ‘अपवित्र’ भएकाले हो कि, एक छिनमा मलाई त्यसले टाउकोमा हान्न थाल्यो।

हामी क्यान्डी जाँदै थियौं। क्यान्डीको नाम सुनेदेखि नै मैले क्यान्डी क्रस सम्झें। एक बर्षअगाडि म पनि क्यान्डी क्रसको एडिक्ट जस्तै थिएँ। एकाधपटक त मध्यरातसम्म क्यान्डीमा स्कोर ‘गेन’ गरेर आफूलाई ‘राष्ट्रिय खेलाडी’ नै ठानेको थिएँ। त्यो मेरो मात्र होइन, स्मार्टफोन चलाउने अधिकाँशको रोग हो भन्ने मेरो ठम्याई छ अहिले। क्यान्डी क्रसको सम्झनासहित क्यान्डी जाँदै गर्दा लास्ट सीटमा बसेको म एकै छिनमा निदाएछु। ब्युँझदा साँझ निकै रंगीन भइसकेछ।

याे पनि....

रावणको दरबार, जहाँ पुष्पक विमान ल्याण्ड हुन्थ्यो रे !

बसको झ्यालबाट जता हेरे पनि निकै मोहक देखिएको त्यो ‘स्टाइलिस्ट स्पट’ त क्यान्डी नै रहेछ। नेपालकै कुनै पहाडी जिल्ला पुगेजस्तो लाग्यो। कोलम्बोको न्यानो थिएन त्यहाँ, इलामको चीसो र पोखराका लेक साइड पो थियो। डिनरसँगै स्थानीय होटल गायकहरुले त्यहाँ हिन्दी गीत पनि गाए, ‘कहीँ दुर जब दिन ढल जाए...’  

त्यो साँझ, श्रीलंकामा एउटा नेपाली आफूलाई मनपर्ने हिन्दी गीत सुन्दै थियो। त्यसपछि न्यानोमा बदलिइसकेको थियो चीसो पनि।

वाह ! वाह ! वाह ! रात अबेरसम्म क्यान्डी हाम्रा लागि संगीत ‘मेहफिल’ भएको थियो। 

बिहान उठ्दा टाउकोमा कुनै समस्या थिएन । क्यान्डीलाई बसकै झ्यालबाट नियाल्दै हामी बुद्ध टुथ रिलिक टेम्पल जाँदै गर्दा आँखाले देखिएको श्रीलंका ठ्याक्कै नेपालजस्तै थियो। पहाडी थुम्काहरु। बेस्सरी हरियाली। दौडिरहेका अस्थिर कुहिराहरु। पोखराजस्तै सफा। इलामजस्तै पहाडी बनावट। 

बुद्ध टुथ रिलिक टेम्पल पुग्दा नेपालमा फहराउने बुद्धिस्ट झन्डाहरु थिएनन्। तर, बुद्धप्रति उनीहरुको आस्था, विश्वास र भक्ति भने उस्तै थियो। दर्शनार्थीहरु निकै भद्र देखिन्थे। कुनै पौराणिक स्थल पुगेजस्तो भयो, जहाँ चहलपहल र शान्ति एकसाथ थियो।

नुवारालिया हाम्रो अर्को गन्तव्य थियो। अशोक वाटिका बाटैमा पर्थ्यो, जहाँ अयोध्याका राजकुमार रामसँगै वनवास गएकी नेपाली चेली सीतालाई लंकाधिपति रावणले अपहरण गरेर राखेका थिए। 

रामायणमा अशोक वाटिकाबारे अनेक ‘ऐश्वर्ययी’ वर्णन पढ्न पाइन्छ । मैले ढाँट्न हुँदैन, मलाई त्यहाँ त्यस्तो विशेष केही लागेन। सानो खोल्चाछेउमा सडकसँगै रहेको वाटिकाले वाटिका कम र मन्दिर स्वरुप बढी पाएको रहेछ। मन्दिर झट्ट हेर्दा नयाँजस्तो। तर, कथा हजारौँ बर्ष पुरानो। तालमेल मिलाउनै गाह्रो। 

राम–सीता, हनुमान आदिका अनेक मुर्ति र तस्विर थिए। भक्तिगाथा गाउँदै दर्शनार्थी लामबद्ध थिए। सहयात्री भारतीय पत्रकारहरु आफूलाई निकै भाग्यमानी अनुभव गर्दै थिए। त्यहाँ उनीहरुले प्रशस्त फोटो खिचे। अनेक फुटेज रेकर्ड गरे। केही बाइट्स लिए। र, आफैले पनि केही बोलेको रेकर्ड गरे, ‘ये अशोक वाटिका है, जहाँ लंकेश रावण ने सीता माँको अपहरण करके लाये थे ...।’

हामीलाई मन्दिर प्रशासनले प्रसादस्वरुप चिया र हलुवा खुवाए। हलुवा हातैमा लिएर राजसी स्टाइलले मन्दिर परिसर घुम्दै गर्दा एउटा पर्यटक समुहबाट एउटाले सोध्यो, ‘के यो साँच्चै अशोक वाटिका नै हो?’
स्थानीय गाइड भन्दै थियो, ‘शतप्रतिशत हो भनेर भन्न सकिदैन । त्यसका लागि यथेस्ट प्रमाण छैन । तर, हो भनेर विश्वास गरिएको छ।’

हामी नुवारालिया जाँदै थियौं। क्यान्डीदेखि नै हाम्रो बस चिया बगानैबगान दौडिरहेका थियो। इलामको केन्याम र फिक्कल नै चियाको संसार लागेको मलाई श्रीलंका चियाको महासंसार थियो । एक दिन होइन, केही दिनसम्म चियाको बगानबीच हामी हाइवे नापिरहेका थियौं। चिया बगानबीच कतै छुकछुके रेलहरु पनि कुदिरहेका थिए। चियाको साँच्चैको संसार रहेछ श्रीलंका, महासागरले घेरिएको देश मात्र होइन रहेछ । अनेक मनमोहक ताल र फाट्टफुट्ट झरनाहरुको देश पनि रहेछ। 

यात्राभर बसको झ्यालबाट मैले चियाको कहिल्यै नसिद्धिने पहाडी गलैंचाहरुमा आँखा ओछ्याइरहें ।  

साँझ नुवारालियाको हामी बस्ने होटल पुग्दा बरन्डाबाट मात्र होइन, कोठाको झ्यालबाट पनि पर एकातिर दुई सुन्दर ताल देखें र अर्कोतिर झरना। सायद नेपाल, नेपालका ताल, नेपालका झरना बिर्सने हो भने त्यो भन्दा सुन्दर ठाउँ कहिँ थिएन। मलाई नेपाल याद आइरह्यो। मैले नेपाल बिर्सने प्रयत्न गरें। एक छिनलाई सायद बिर्सें। नेपाल सम्झेको सम्झ्यै गर्ने हो भने विश्वका कति ठाउँ होलान्, जहाँ हामी ननस्टप अहा भनिरहन सक्छौ! 

याे पनि....

कोलोम्बोमा ‘हट केक’ बन्यो नेपाली टोपी

साँझ फेरि केही साथीहरु ‘इमोसनल’ भए। बिहान सबेरै म ब्रेकफास्ट टेबल जाँदा एउटा वेटर आयो र सोध्यो, ‘तिमी इन्डियन हौ?’

म नेपाली हुँ’, मैले भनें। 

उसले मलाई हात दिदै भन्यो, ‘बुद्धको देशबाट आएको रहेछौ। मलाई नेपाल बुद्धको देश भएर मात्र होइन, नेपालीको देश भएर पनि विशेष लाग्छ। म पाँच बर्ष कोरियामा कामदार थिएँ। त्यहाँ मेरो रुममेट नेपाली थियो। आफ्नै आमाको पेटबाट जन्मिएको भाइ–भाई भन्दा बढी भएर हामीले कोरियामा दुखसुख बाँच्यौं। ऊ मेरो जीवनको सबैभन्दा असल मित्र बन्यो। बुद्धपछि ऊ नै कारण हो, मलाई नेपाल विशेष र नेपाली असल लाग्नुको कारण।’

‘ए, तिमी कोरियामा कामदार बन्न गएका थियौ?’ मैले जिज्ञासा मिसाएर भनें । 

‘हो,हाम्रो देशले दशकौं द्वन्द बेहो-यो। त्यसैकारण म काम गर्न कोरिया गएँ’, उसले भन्यो, ‘तर, द्वन्द सकिएलगत्तै म मेरो देश आएँ। कमाइको कुरा गर्ने हो भने मैले यहाँभन्दा कोरियामा झन्डै तब्बेर बढी कमाउँथे ।’  

‘है? देशमा द्वन्दले दुख निम्त्यायो। तर, पनि तिमीहरु शान्त देखें। र, देखिन प्रतिशोधको भावना। बुद्धिज्मलाई तिमीहरुले धर्मभन्दा पनि जीवन व्यवहार बनाएकोले यो क्षमाशील मनोविज्ञान सम्भव भएको मैले अनुभति गरें’, मैले भने। 

याे पनि....

तिनको बनावटी मुस्कान र मेरो तयारी

‘सायद’, उसले थप्यो, ‘आमालाई लिएर सम्भवत म अर्को बर्ष म नेपाल आउनेछु। लुम्बिनी पुग्ने आमाको सबैभन्दा ठुलो इच्छा छ।’

श्रीलंकामा जति पनि बुद्धिस्ट भेटिए, ती आर्यनजस्ता देखिन्थे। तर, सामान्यतया नेपालमा बुद्धिस्ट भन्ने बित्तिकै मंगोल फेस बुझ्ने गरिन्छ ।     

म नेपालबाट आएको हुँ भन्ने थाहा पाएपछि श्रीलंकनहरुले सरदर उही प्रतिप्रश्न गरे, ‘लुम्बिनीबाट? बुद्धको देशबाट?’

उनीहरु सबैजसो एउटै इच्छा सुनाउँथे, ‘एक पटक त नेपाल आउँछु, आउँछु।’ 

म पनि नेपाल फर्कन हतारिइसकेको थिएँ। घरको भात, साथीभाइको बात र हिमाली हावा मैले बाक्लै गरी मीस गर्न थालिसकेको थिएँ।   

डिसेम्बर ४ को बिहानै चढेको एयर इन्डियाको प्लेनले कोलम्बो मात्र हैन, श्रीलंकाको सरहद नै छोडिसकेको थियो। तर, मनमा फेरि पनि अनेक तरिकाले श्रीलंका आइरह्यो, ‘पचहत्तर प्रतिशत बुद्धिस्ट जनसंख्या भएको सिंगो श्रीलंका नै एउटा विशाल र बहुआयमिक पार्क जस्तो। शान्तिको पार्क। हरियालीको पार्क। मौसमको पार्क। न गर्मी न जाडो। बुढाबुढीलाई त पर्फेक्ट देश। नवदम्पतिका लागि पनि उस्तै अनुकुल। हनिमुन देशभन्दा फरक नपर्ने । 

याे पनि....

श्रीलंका सिरिजस्:  हुलियाले कहिले हँसायो, कहिले रुवायो

उडिरहेको प्लेनको गतिमा त होइन तर म आफ्नै गतिमा सम्झदैं थिएँ, कोलम्बो सडकका ती अनेक दृश्य जहाँ बाइकको पछाडि सीटमा बस्नेले पनि हेल्मेट लगाउँथे। म ती श्रीलंकनलाई सम्झँदै थिएँ, जोसँग केही दिनका केही भेटमै हामीले एकअर्कामा जीवनका धेरै रहस्यहरु खोलिसकेका थियौं। म सम्झँदै थिएँ, कुरुलु र गीतिकाको केही बर्षअघि अशोक वाटिकामा पलाएर विवाहसम्म पुगेको उनीहरुको रोचक प्रेमकहानी। उनीहरुले पालैपालो आफ्ना प्रेमका पत्रहरु खोलेर मेरो श्रीलंका यात्रालाई अझ स्मरणीय बनाइदिएका थिए। 

म सम्झँदै थिएँ, एक भारत देशका अनेक प्रदेशबाट आएका प्रत्येक पत्रकारका आ–आफ्ना सिग्नेचर स्टाइलहरु। हामी सुरुमा सहयात्री भएर घुम्यौं र छुट्टिने बेला साथी भइसकेका थियौं। छिनहरु अनेक स्वादका बने तर सम्झनामा ती सबै सौन्दर्य बनिसकेका छन्। यात्राको त्यही त सबभन्दा ठूलो विशेषता हो। सबभन्दा ठूलो कुरा नेपाल, भारत र श्रीलंकाको त्यो त्रिवेणी यात्रा थियो ।

मलाई भुईं र भुईंका कुरा सम्झेर आकाश रमाइलो लागेन। 

दिल्ली त आइसकेछ। एक घन्टाको ट्रान्जिटपछि फेरि काठमाडौँको लागि एयर इन्डियाकै अर्को प्लेन चढ्नु थियो । चढें । 

प्लेन सायद नेपाली आकाशमा आइसकेको थियो, तर म दुई खिल्ली चुरोट वा एक बातेल बियरको उत्ति नै मुल्य पर्ने कोलम्बोका भित्ताहरुमा ठुल्ठुला अक्षरले अंग्रेजीमा लेखिएका लाइनहरु सम्झँदै आफैलाई धिक्कार्दै थिएँ। यत्रतत्र लेखिएका थिए, ‘ड्याडी! तपाई मलाई माया गर्नु हुन्छ भने चुरोट नखानुस्, ड्रिंक्स नगर्नुस्।’

याे पनि.....

श्रीलङ्का सिरिज : हुलियाले मान्छेलाई खै केके बनाउँछ

मान्छेपिच्छेको रोजाई, मान्छेपिच्छेका कथा

‘डु यु वान्ट नाइस गर्ल ?’

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.