बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्वमन्त्री बद्री न्यौपानेको जीवन : मैले त्यसो नगरेको भए देश टुक्रन सक्थ्यो

शनिबार, १२ माघ २०७५, ०८ : २१
शनिबार, १२ माघ २०७५

बद्री न्यौपाने पूर्वमन्त्री पनि हुन् । २०६९ सालमा उनले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले मन्त्री रहँदा सो मन्त्रालयअन्तर्गत रहेका विभिन्न सङ्घसंस्थामा उल्लेखनीय सुधारका कार्यहरू समेत गरेका थिए । जसको चर्चा अहिले पनि हुने गरेको छ । उनी सानैदेखि राजनीति रुचाउँथे । अहिलेसम्मको जीवनयात्रामा केही वर्ष शिक्षक पेसामा समेत रमाएका उनी सक्रिय राजनीतिमा भने २०४७ पछि होमिए हुन् ।नेपाल सरकारको स्वामित्व रहेको ग्रामीण विकास बैङ्कमा केही समय खरदारको जागिरेसमेत गरेका उनी राजनीतिमा त्यतिबेला चर्चामा आए जतिबेला ‘चुरे भावर राष्ट्रिय पार्टी’को अध्यक्षमा बनेका थिए । 
देशको भष्टाचार, विकृति, विसङ्गतिविरुद्धमा उनले लामो समयदेखि आवाज बुलन्द गर्दै आएका थिए । एक समय तराईमा राजनीतिक आगो दन्किएको थियो । देश टुक्रने अवस्थातिर अग्रसर थियो ।
सोही समय चुरे भावर राष्ट्रिय पार्टीका माध्यमबाट तराईमा दन्केको आगो मन्थर पारेर देश टुक्रनबाट बचाउन सफल उनी भए । उनी अहिले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा रहेर राजनीति अगाडि बढाइरहेका छन् । पूर्वमन्त्री बन्द्रीसँग रातोपाटीको मेरो जीवनका लागि कुवेर गिरीले गरेको कुराकानी ।

मेरो फिटनेस 
अहिलेसम्म जिम क्लब जाने गरेको छैन । राजनीति सुरु गर्दाको समय मर्निङ वाक गर्थे । काठमाडौँको धुलो, धुवाँले गर्दा अहिले बिहान ४ बजे उठेर मर्निङ वाक गर्न ठीक लाग्दैन । तर फिटनेसका लागि सजक भने छु, जे पायो त्यही खाँदिनँ ।

मेरो खाना
टिपिकल नेपाली मेरो मनपर्ने खाना हो । यसमा पनि धेरै मनपर्ने भनेको गुन्द्रुक, तामा, रायोको सागलगायत नेपालमा उत्पादन भएका सबै पर्छन् । 

मन नपर्ने भनेको विदेशी खाने कुरा हो । म धेरै देशमा घुमेको छु । त्यसरी घुम्ने क्रममा विदेशी खाना पनि खानुपथ्र्याे । तर फिटिक्कै मन पर्दैनथ्यो । त्यस्तो क्रममा म माछा मात्र खान्थेँ ।

पकाउन पनि सौखिन छु । सबैथरीका परिकार बनाउन आउँछ । विद्यार्थी जीवनमा आफै पकाएर खान्थे । अहिले साथीभाइको जमघट हुँदा म आफै खाना बनाएर खुहाउँछु ।

धेरैले थकाली खान रेस्टुरेन्टमा निकै राम्रो हुन्छ भन्छन् । तर मलाई त्यस्तो लाग्दैन । म जहाँ भए पनि टिपिकल्ली नेपाली खाना दालभात तरकारी अचार मात्र मनपर्छ । 
   
मेरो पोसाक
नेपाली राष्ट्रिय पोसाक मेरो सबैभन्दा मनपर्ने पहिरन हो । म मन्त्री हुँदा दौरा, सुरुवाल, कोट र ढाकाको टोपी कहिल्यै छुटाउदिनँ थिए ।

अहिले पनि लगाउन मनपर्छ । कहिलेकाहीँ छिटो घरबाट निस्किनुपर्ने भएकोले दौरा, सुरुवाल झन्झटिलो लाग्छ । त्यो समय लगाउँदिनँ । तर नेपाली टोपी भने मैले कहिल्यै छोडेको छैन । मेरो मान्यता

राष्ट्रिय पहिचान बोकेको पोसाक लगाउनु पर्छ भन्ने हो । भएसम्म सबै नभए टोपी भए पनि ।

टोपीको अलवा कोट, पाइन्टमा सजिएर हिँड्न मलाई मनपर्छ । पोसाकमा ब्रान्डेडभन्दा पनि सुहाउने रोज्छु । पहिरनमा मेरो वार्षिक धेरै खर्च हँुदैन । म महँगो हँुदैमा राम्रो हुन्छ भन्नेमा विश्वास गर्दिनँ ।

त्यस्तै वर्षिक ३०, ३५ हजार पोसाकमा खर्च हुन्छ ।

मेरो अध्ययन
अध्ययन गर्न मनपर्छ । अहिले नेपालका राजनीति समेटिएका केही पुस्तकहरू अध्ययन गरिरहेको छु । विदेशी पुस्तक मैले धेरै अध्ययन गरेको छैन । नेपालका कवि, साहित्यकारका अधिकांश किताब अध्ययन गरेको छु ।

कहिलेकाहीँ समयले नभ्याएर छुटेका पनि पछि खोजेर पढ्ने गरेको छु । पत्रपत्रिका, अनलाई निकै पढ्छु । नाम नभनौँ नेपालका सम्मानित पदमा रहेका एक दुई जना व्यक्तिले लेखेको पुस्तक अहिले पढ्दैछु । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । म आफ्नै पृष्ठभूमिबाट आएको मानिस । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य हुँ । 

पार्टीले लगाएको कामका विषयमा विभिन्न जिल्ला घुमिरहनुपर्छ । आफ्नो शोखका कारण विदेशी भूमिका रमाउनेमा म पर्दिनँ । 

त्यसो भन्दैमा विदेश नपुगेको भन्ने होइन । मन्त्री हुँदा धेरै देश घुमेको छु । नेपाल सरकारको कार्यक्रममा अमेरिका, क्यानडा, साउथ अफ्रिका जापान, कोरियादेखि विभिन्न विदेश पुगेको थिएँ ।

घुम्न मन लाग्यो । समय पास गर्नुपर्यो भने म  विदेश जाँदिनँ । स्वदेशै रमाउँछु । स्वदेशका धेरै ठाउँ घुमेको छु । प्रायः सबै जिल्ला टेकेको छु । सबै नेपालीले देशको सबै जिल्ला टेक्नुपर्छ भन्ने मेरो धारण हो । किनभने विदेशभन्दा प्रकृतिक दृष्टिले धेरै सुन्दर ठाउँ नेपालमै छन् । 

मेरो खेलकुद
खेलकुदतिर धेरै इन्ट्रेस्ट छ । मेरो मनपर्ने खेल भनेको फुटबल हो । यो खेल सबैले बुझ्छन् जस्तो मलाई लाग्छ । विश्वकप फुटबल राति, बिहान जहिले पनि हेरेको छु । 

विद्यार्थी जीवन कालमा म पनि फुटबल, भलिबल खेल्थेँ । नेपालको चर्चित खेल डन्डिबियो पनि खेल्थेँ । 

विद्यार्थी जीवनमा तत्कालीन राजाको जन्मोत्सवमा आयोजना हुने विभिन्न खेल प्रतियोगितामा भाग लिएर मेडल पुरस्कार समेत हात पार्थे । 

मेरो फुर्सद
फुर्सद त्यति धेरै हुँदैन । भएको समयमा राजनीतिक विषयमा आफूभन्दा सिनियर, जुनियरसँग अन्तक्र्रिया गरेर बस्ने गर्छु ।

पत्रकार, राजनीतिक विश्लेषकसँग पनि छलफल गर्ने गर्छु । विद्वान वर्गसँग पनि राष्ट्रिय मुद्दाका विषयमा छलफल गर्छु । 

मेरो मोबाइल
अहिले सामसुङ ब्रान्डको सिम्पल मोबाइल बोक्छु । यो बोक्न थालेको पनि धेरै भयो । यस अगाडि नोकियालगायत १, २ वटा अन्य ब्रान्डको समेत बोकेको थिए । 

मोबाइल धेरै फेर्ने व्यक्तिमा पर्दिनँ म । मोबाइलमा फेसबुक, भाइबर, म्यासेन्जरलगायत नियमित चलाउँछु । अहिलेको समयमा यी चलाउन सबैले जान्नुपर्छ । मानिसको विदेशबाट पनि फोन आइरहेको हुन्छ । म्यासेज आउन सक्छ । 

मेरो टिभी
टेलिभिजनमा धेरै समाचार हेर्छु । यसको अलवा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हेर्ने गरेको छु । नेपालमा चलचित्र कसले बनाएका छन् ।

चलचित्रको अवस्था कस्तो छ ? को–को कलाकार नयाँ भित्रिए ? कोको हराए ? सबैको जानकारी टिभीबाट लिने गरेको छु ।

विदेशी च्यानल हेर्छु । मेरो घरमा सिम्पल २०, २२ हजार पर्ने पानासोनिक ब्रान्डको टिभी छ । 
   

मेरो चलचित्र
पछिल्लो समय नियमित चलचित्र हेर्ने गरेको छैन । बिद्यार्थी जीवनमा त धेरै हेर्थे । अहिले त धेरै फुर्सद हुँदैन । प्रचारप्रसारका लागि कहिले काही फिल्म युनिटले नै बोलाउँछन् ।

नेपाली चलचित्रको हरेक पक्षसँग म अपडेट छु । नेपाली चलचित्रको विकास हुनुपर्छ । विदेशीभन्दा नेपाली चलचित्रले प्रथामिकता पाउनुपर्छ, भन्ने मेरो मान्यता हो ।

पछिल्लो समय दर्पण छाया, लुट, भैरवलगायत केही चलचित्र हेरेको थिए । धेरै कलाकार समेत चिन्छु । मेरो जिल्ला सर्लाही हो । सर्लाहीका पनि धेरै कलाकार छन् । धेरैसँग मेरो चिनजान छ । 
   
मेरो रोग
भगवानको कृपाले ठूलो रोग अहिलेसम्म केही छैन, प्रेसर भने छ । ३ वर्ष भयो यो रोग देखिएको । थोरै एमजीको औषधि नियमित लिने गरेको छु । 

मेरो सङ्गीत
राष्ट्रियताले ओतप्रोत भएका गीत सङ्गीत नियमित सुन्ने गर्छु । सेन्टिमेन्टल पनि सुन्ने गरेको छु । सङ्गीत मानिसदेखि जीवजन्तु सबैलाई मनपर्छ ।

सङ्गीत मन नपर्ने व्यक्ति कोही छ भने त्यो निरस व्यक्ति हो । मनमा छुने गीतसङ्गीत धेरै सुन्छु । नारायण गोपालदेखि अहिलेका नयाँ पुस्ताका गायक गायिकाको गीतसम्म मैले सुन्ने गरेको छु ।

मेरो भाषणशैली
ठूला तथा धेरै कुरा भाषणमा गर्ने तर काम नगर्ने शैली मनपर्दैन । वस्तुगत यथार्थमा रहेर नेपालको परिस्थिति बुझेर, वास्तिविकता रहेर भाषण कसैले गर्छ भने त्यो मनपर्छ । 

म पनि त्यस्तै गर्न रुचाउँछु । काम गर्नेभन्दा पनि बढी हाइलेबलका भाषण गरेको कहिल्यै मनपर्दैन ।
 
मेरो मापसे
ठूलाठूला सेमिनार, गोष्ठी, आफन्तले दिएका पार्टी लगायतमा कहिलेकाहीँ थोरै लिने गरेको छु । त्यो पनि सधैँ लिन्न ।

घरमा कसैले पनि खाँदैनन् । त्यसैले खाने वातावरण मिल्दैन । आफूले नखाए पनि घरमा सजाएर राख्ने धेरै साथीहरू देखेको छु । मेरो त्यस्तोमा रुचि छैन । 

मेरो भूल
जीवनमा जानी नजानी धेरै भूल भयो होला । मानिस भएपछि भूल भइहाल्छ नि । भूल नगरी सिक्दा पनि सिकिँदैन भन्ने मेरो मान्यता हो ।

राजनीतिक क्षेत्रमा गरिएको भूलको कुरा गर्ने हो भने म कुनैकुनै बेला ठीक ठाउँमा डिसिजन गर्न सक्दिनँ ।

जीवन जिउने क्रममा जुन बेला जे गर्नुपथ्र्यो,  त्यो गर्नबाट चुकेको पनि छु । त्यो पनि भुलै हो । म अध्ययनमा निकै ट्यालेन्ट विद्यार्थी थिएँ । सायद त्यही भएर होला शिक्षकले सानातिना गल्ती क्षमा दिन्थे । 

मेरो सौन्दर्य
सौन्दर्यतिर खासै ध्यान जाँदैन । तर राम्रो भएर हिँड्न भने मनपर्छ । त्यसका लागि नियमित दाह्री काट्छु । टाउकोमा टोपी कहिल्यै छुट्दैन । पहिरन सुकिलो लगाउँछु । फोहोर पहिरन लगाउन मन पर्दैन ।

समयअनुसार हिँड्न सिकेको छु । राम्रो अरूलाई देखाउने होइन, आफुलाई कस्तो फोहोरी रहेछ भनेर अरूले नभनुन् भनेर बन्ने हो ।

मेरो प्रेम
प्रेम त विद्यार्थी जीवनमा धेरै भयो । तर मैले धोका दिएको छैन । यसको मतलव जोसँग प्रेम गर्थें त्यहीसँग विवाह भयो भन्न खोजेको पनि होइन । 

मैले जोसँग प्रेम गर्थें । उसलाई प्रष्टभन्थेँ । कि जीवनसाथी बन्नु पर्यो, कि छोड्नु पर्यो । गलत नियतले प्रेम कहिल्यै गरिनँ ।

प्रेममा अहिलेसम्म बद्री न्यौपानेले धोका दियो भन्ने पनि भेटिँदैन । मैले विवाह भने बुबा र दाइले खोजेको केटीसँग गरेँ । 

मेरो राजनीति 
राजनीतिमा मेरो धेरै स्ट्रगल छ । म सानै हुँदा मेरो दाइ राजनीतिमा हुनुहुन्थ्यो । मेरो दाइ २०४८, ४९ सालको चुनावमा गाविस अध्यक्ष बन्नुभएको थियो । 

राजनीतिमा लागेर परिवर्तनका नारा घन्काउँदा दाइले राजद्रोहीको मुद्दामा जेलसमेत बस्नुपर्यो । मैले आरआर क्याम्पस पढेको हो । अध्यायन गर्दादेखि नै म राजनीतिमा आबद्ध थिएँ ।

म राजनीतिमा जागरुक मानिस पनि हुँ । शिक्षक पेसा हुँदै राजनीतिमा लागेको हो । राजनीतिमा मैले धेरै स्ट्रगल गरेको छु । 

देशको राष्ट्रियताको मुद्दामा, सार्वभौमसत्ताको मुद्दामा, तराई टुक्रने अवस्था मेरो महत्त्वण राजनीतिक योगदान रहेको छ ।

सो समय तराईमा आगो बलेर देश टुक्रने अवस्थामा थियो । चुरे भावर पार्टीको नेतृत्व गरेर मैले नै देश टुक्रनबाट बचाएको थिए । 

२०७२ सालको नाकाबन्दीमा पनि देश बचाउन मेरो भूमिका महत्त्वपूर्ण रहेको थियो । अझै राज्यसत्ताको महत्त्वपूर्ण अङ्गमा बसेर देश र जनताको सेवा गर्नुछ । 


 
मेरो सपना 
विश्वका धेरै देश घुमेको छु । हामीसँग भएको प्रकृतिक सौन्दर्य विश्वमा चिनाउने सपना छ । जिउँदो छँदैमा विश्वका अन्य देशले नेपालको नाम गर्वका साथ लिएको हेर्ने सपना छ । 

मेरो राशि
मेरो राशि कुम्भ हो । ग्रहदशामा विश्वास लाग्छ । । तर कसैलाई हेराउने गरेको छैन । मेरो बुबा, हजुरबुबा श्रीमत्भागवत वाचन गर्दै हिँड्ने व्यक्ति हुनुहुन्थ्यो ।

म नेपाल कम्युनिस्ट पार्टीमा भएकाले नास्तिक होला भनेर धेरैले सोच्नुहुन्छ । तर म आस्तिक हुँ । सातदल, आठ दल मिलेर देशमा धर्म निरिपेक्षको निणर्य गरे । त्यो नेपाली जनताको कुरै नबुझी लादिएको निणर्य हो । यो निणर्य जनमत अनुसार गर्नुपथ्र्यो । देशमा ८० प्रतिशतभन्दा माथि मानिस हिन्दु धर्म मान्नेछन् । 

मेरो मृत्यु
जन्मिएपछि सबैले मर्नुपर्छ । कर्ममा जे लेखेको छ । मृत्य त्यस्तै हुन्छ । मृत्यु सहज रूपमा स्वीकार्नु पर्छ । दर्दनाक मृत्यु नहोस् । सुखान्त मृत्यु होस्  ।

बद्री न्यौपाने एउटा असल मानिस थियो । राष्ट्रका लागि केही गथ्र्याे र अझै गर्न सक्थ्र्यो । राम्रो मानिसको अत्य भयो भनेर सबैले चर्चा गर्ने, राष्ट्रले सम्झने मृत्यु होस् । यही इच्छा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप