केन्द्रीय संस्करण

व्यङ्ग्य : मल्ल युद्धमा, शासक–प्रशासक ?

person explore access_timeमाघ १२, २०७५ chat_bubble_outline0

शासक राज्यकोष हजम गर्ने  राकस  र प्रशासक नजरानाका बाकस भएछि जस्तोसुकै तन्त्रमा पनि सकस आउँछ । भोलिवादका कट्टर अनुयायी कर्मचारीतन्त्र र हावादारीवादका गफाडीका सर्दारतन्त्र चलेपछि त्यस्ता देशमा लोकतन्त्रको हजुर्बाउ  पनि असमयमै खुट्टा तान्छ, जनगणतन्त्रको साँढे पनि असमयमै आँखा चिम्लन्छ । प्रणालीमा जब इमानको ‘इ’–मा बेइमानको ‘बे’–ले राज गरेपछि  जस्तोसुकै खोल हाले पनि मूल्य, मान्यताविहीन राजनीति र प्रशासनले होल पक्षमा पक्षाघात मच्चाएर सधैँ देशलाई झगडाकै दलदलमा फसाउँछ । मुखमा रामराम बगलीमा छुरा, राजाको काम कहिले जाला घाम, बनेका शासक र प्रशासकबाट देश र जनताले आशा गर्नु ढुङ्गा टुसाउला र उन्यु फुल्ला भन्नु नै रहेछ ।

‘शासक’ राज्यको प्रबन्ध तथा सञ्चालन गर्ने व्यक्ति, सरकार, शासनकर्ता वा अधीनमा रहेका व्यक्तिहरूलाई अनुशासित र नियन्त्रित गर्ने एक प्रकारको सम्प्रभु हो । ‘प्रशासक’को आसय– राज्य, सङ्घ, संस्था, कार्यालय आदिका उच्च तहका प्रबन्धक तथा शासनकर्ता हो भनेर शब्द सागरले जाँगरसाथ दायित्वको घाँगर लगाइदिएको छ ।  यी दुई पदवर्ग सतहमा हेर्दा हात्ती र हात्तीछापे चप्पल, आमाको भाइ वा सानिमाको दाइजस्तै महसुस भए पनि गम्भीर नजरमा नियाल्दा  बेग्लै अर्थका आस्वाद दिने खाले हुन् । शासक नीति निर्माता वा स्रष्टा हो भने प्रशासक निर्मित वस्तुलाई प्राण दिने र परिष्कारसाथ कार्यान्वयनमा उतार्ने तागत हो ।

समष्टिमा यी एउटै सिक्काका दुई पाटा हुन् भनेर बुइ चढाउँछन् टाठा बाठाले । ‘शासक र प्रशासक  राकस  वा राक्षस, राच्छेस अर्थात् तुच्छ वा क्षुद्र भावनाका अहङ्कारी भएपछि ल्याइते र ब्याइते सौतासौतीझैँ  परस्परमा रडाको मच्चिने रहेछ । एउटा जनताले छानेको  मान्छे  पो हूँ त भनेर बमबम भई पड्किन्छ भने अर्को म त टुप्पी बाँधेर मुठ्ठी कसी पढेको मनुवा पो हुँ त भनी अहङ्कार छाद्छ । अनि सेवा आयोग लडेर पाएको यो पद कसैको उपहार वा बक्सिस हैन भनी छाती तन्काउँछ  । स्थायी सरकारको स्तम्भ पो हुँ  त भनेर फाँ—फाँ र फुँ—फुँ गरिदिन्छ र सिँगौरीसमेत खेल्छ  । अनि त त्यहीँ थालनी हुन्छ खुल्ला मल्लयुद्ध ।

अविकसितदेखि सङ्क्रमणकालीन र  विकासोन्मुख राजनीतिक संस्कृतिले गाँजेको देशमा शासक  तथा प्रशासक भन्ने जन्तु कहिले नङमासु, दूधपानी, देहछाया र रामसीताजस्ता अभिन्न देखिन्छन्, भने कहिले हड्डीका लागि ङ्यार ङ्यार् र ङुर्ङुर् गर्ने मृगदंशकजस्ता ।  यी दुईकै मिलीभगत्मा राज्यकोश बेहोस भएर दोहनको मारमा पर्छ । करको करकरमा धरमर भएर जनता जनार्दन दुनिँदै हेपिँदै पाताल रसातलतिर पुग्छन् ।

आधुनिक भाषामा  भन्दा यी भागबण्डावादका प्रवर्तक खञ्चुरामका हुलहरू स्यालका मित, गिद्दका सहोदर भाइ र ब्वाँसाका संस्करण हुन् भनेर कतिपय आवेगमा बर्बराउँछन् पनि । ल हेर्नोस् आज अधिकांश शासक र प्रशासक कसको महल ठडिएको छैन ? काठमाडौँलगायत सुविधासम्पन्न सहरहरूमा । यिनैका किसिम– किसिमका गाडी, बैङ्क ब्यालेन्स, धार्नी, मन र टनमा बहुमूल्य धातु टनाटन छन् । सहकारी, कर्पोरेट, अस्पताल, बोर्डिङ स्कुलमा यिनै अंशियार, मतियार, गतियार वा सञ्चालक बनेर कालो धनलाई सेतोमा रिफ्रेस गरिरहेका छन् । यही वर्गको मिलोमतोले कतिपय राष्ट्रिय गौरवका आयोजनाहरू कुम्भीपाक र रौरवमा परिणत भएका छन् । मेलम्चीजस्ता आयोजना पेलम्चीमा पुगेर आकाशको फल आँखा तरी मर् बनाएको तीतै अनुभव छ । लाउडा, चेज एयर, गाई, गलैँचा, बाइडबडी, किलौँ किला सुन तस्करी, मानव बेचविखनका कहालीलाग्दा काण्ड र दुर्घटना गनेर साध्यै छैन । 

     भागबण्डाको अण्डा कोरल्दा यी लोभी र पापी नामका दुई भाइ कहिलेकाहीँ कुकुर बिरालो बनेर आफू नाङ्गेझार हुन कत्ति पनि लाज मान्दैनन् पनि । पदीय गरिमालाई लघिमा बनाएर कार्यालय परिसरमै जुडो, कराँते र गदायुद्ध गर्न तम्सने शासक प्रशासकको रमिताले देशले मुहार फेर्ने हैन गुहार ! गुहार ! गर्नुपर्ने अवस्था छ ।  अपवादमा केही असल शासक प्रशासक बत्ती बालेर खोज्दा भेट्टाउन सकिएला तर दुर्भाग्य तिनीहरू कि पछिल्लो समय पार्टीको टिकट पाउनबाट वञ्चित छन् त प्रशाक छ भने सरुवा, घटुवा वा खोसुवामा दण्डित भइरहेका हुन्छन् । अधिकांश ताता बिचौलिया र लुटतन्त्रका राता सरदारजस्तै पो देखिन्छन् त बा ! यिनीहरूका सुशासन, समृद्धि, पारदर्शिता, चुस्त  प्रशासन, भ्रष्टाचारमा शून्य सहनशीलता, मुस्कानपूर्ण सेवा मात्र बकवास बनिरहेका छन् । समुन्नत र विकसित देश बनाउने ताजा ओठे बाजा यति कर्णकटु छन् जनता सुन्दा सुन्दा वाक्क ट्यार्र भइसके । 

राष्ट्रियताको ढोलक पिटेर नयाँ प्रणालीका उत्तोलक आपूmहरू बनेको पाँडे गफ दोचार्ने हाँडेहरूको गाँडेपन देख्दा कुन स्वाभिमानी देशभक्त यो सुकुलगुण्डे विकृतिमाथि आगो बन्दैन र ? शासकको शान देखाउन कहिले कार्यालयको कार्यकक्षमै प्रशासकमाथि डुँडो भाँचिने गरी गालामा झप्पु हानेर लप्पु खुवाउँछन् भने कहिले ट्वाइलेटमा थुनेर त कहिले कार्यालय परिशरबाट अर्धचन्द्राकार दिने क्रम चल्छ ।

स्थायी सरकार र अस्थायी सरकारबीचको यो टकराब आआफ्ना निजी स्वार्थमा बहार नआएको झोँकमा मञ्चन हुने गर्छ  । कमिसन, घुस, नजरना, बक्सिस, उपहारमा जबसम्म शासक प्रशासकका मनमगज घुमिरहन्छन् तबसम्म देश विकास हैन विनाशतिर रफ्तारमै हान्निन्छ, समृद्धि हैन टाट र महादरिद्रताले आकाश चुम्छ । शासक प्रशासकमा देखिने घिनलाग्दा स्वार्थबीचको असभ्य वादविवाद देश र जनताका लागि अभिशाप कलङ्क, विसाद, क्षोभ र पश्चगमनको दर्बिलो खुराक हो । मल्लयुद्धमा अलमल्ल, असरल्ल र ट्वाल्ल परेका  दुवैथरीलाई जनहितकारी बनाउन जनता र नागरिक समाजको अग्रगमन, ऊध्र्वगमन, परमार्थ भावको गुणात्मक मल्लयुद्धको आवश्यकता छ । होसियार ! नागरिक समाज र जनता जनार्दन ! खबर्दार ! गलत मल्लयुद्धमा अभ्यस्त शासक प्रशासकहरू ! 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.