शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जन्ती बसमा करेन्ट : जहाँ जन्ती गएकाहरू मलामी बनेर फर्किए !

आइतबार, १३ माघ २०७५, १३ : १२
आइतबार, १३ माघ २०७५

जनकपुर– धनुषाको सबैला नगरपालिकास्थित बल्टिया गाउँ अहिले शोकमग्न छ । 

नचिताएको घटना भएपछि सङ्घीय मन्त्रीदेखि प्रदेश सांसदसम्म निर्धारित कार्यक्रम छाडेर शनिबार घटनास्थल र अस्पताल पुगे । 

घटनास्थल र अस्पतालमा पुग्दा अनायासमै निम्तिएको घटनाबाट पीडित परिवार र स्थानीयहरू चिन्तित देखिन्थे । विवाहजस्तो खुशीको बेला एकाएक जन्ती बसमा करेन्ट प्रवाह भएर दुर्घटना भएको खबरपछि स्थानीयवासी र पीडित परिवारजन बेहोस बन्नु स्वाभाविक थियो । घटनापछि जन्ती गएकाहरू मलामी भएर फर्कनु परेको थियो । 

करेन्टबाट मृत्युको घटना
शुक्रबार सिन्धुलीको दुधौलीबाट धनुषाको सबैला नगरपालिकास्थित बलटिया गाउँमा रहेको रामभरोष अधिकारीका घरमा जन्ती आएको बस बेहुली लिएर फर्कने क्रममा दुर्घटना भएको हो ।  विवाहमा सरिक हुन २ बससहित एक जिपमा करिब एक सय जन्ती आएका थिए । दनुवार जातिको संस्कार र परम्पराअनुसार एक दिनमै विवाह गर्ने चलन छ । सोहीअनुसार सिन्धुलीको दुधौलीबाट एकाबिहानै जन्तीसहित बेहुला बल्टिया गाउँ पुगे । दिनभर विभिन्न विधि र भोजभतेर गरेर उल्लासमयपूर्वक विवाह सम्पन्न पनि भयो ।

विवाह सम्पन्नपछि हिन्दु परम्पराअनुसार बेहुलीको बिदाइसँगै दिइने दाइजोमा विभिन्न सामग्रीहरू समेत बेहुलाको घर पठाउने चलन छ । 

बेहुली लिएर फर्कने क्रममा बेहुली पक्षले दिएका सामग्रीहरू बसको छतमाथि राखियो । गाउँबाट करिब ५ सय मिटरको दूरीमा रहेको विद्यालय अगाडिको बाटो हँुदै बस सिन्धुलीतर्फ गुड्यो । बसमा जन्तीहरू रमाइलो गर्दै थिए । तर दुर्भाग्य त्यो रमाइलो केहीबेरमा दुःखमा परिणत भयो । 

गुडिरहेको बसभित्रका मानिसहरूलाई एक्कासि झड्का लाग्न थाल्यो र केही व्यक्ति बसमै जलेर धुवाँ निस्कन थाल्यो । उनीहरू अत्तालिनु स्वाभाविक थियो । केही व्यक्तिहरू बसको झ्यालबाट भाग्न सफल भए ।  केहीबेरपछि एक व्यक्तिले सुकेको बाँसले बसमा छोएको तार हटाए । ११ हजार भोल्टेजको तार ती व्यक्तिले हटाएपछि ठूलो दुर्घटना हुनबाट जोगियो यद्यपि ६ जनाले ज्यान बचाउन सकेनन् । 

 

त्यति बेलासम्म बसमा रहेका करिब एक दर्जन व्यक्ति पूर्ण अचेत भइसकेका थिए । घटना भएको करिब आधा घण्टामा स्थानीय प्रहरी घटनास्थल पुगेका थिए ।

विकास निर्माणले निम्त्याएको दुर्घटना
विकास निर्माणका नाममा हरेक वर्ष बाटोघाटो निर्माण गरिन्छ । विद्युत विस्तार गरिन्छ ।

यही क्रममा सो गाउँमा विद्युत विस्तार गरिएको थियो । तर सडकबाट कति मिटर अग्लो पोलमा विद्युत तार राख्ने भन्नेमा ध्यान नदिँदा यो दुर्घटना भएको हो । विगतमा गाडिएको विद्युतका पोलहरू समय र अवस्थाअनुसार स्तरोन्नति नगर्दा दुर्घटना भएको स्थानीयको रोशन यादवको भनाइ छ । 

यादवका अनुसार विद्युत प्राधिकरणलाई पटक पटक पोलको स्तरोन्नति गर्न आग्रह गर्दा पनि बेवास्ता भएको छ । 

घटनाबाट बाँचेका के भन्छन् ?
मेरो नाम फूलकुमारी अधिकारी हो । म पनि दुर्घटनामा परेको बसभित्र थिएँ । बसमा एकाएक करेन्ट लाग्यो । त्यतिकैमा मैले झ्याल खोलेर बाहिर फाल हानेँ । मलाई करेन्ट लागेन तर मेरा खुट्टा खाल्डोमा परे । फाल हान्दा खुट्टा मर्केको छ । धेरै दुखिरहेको छ । मेरो जिउमाथि मेरी छोरी पनि कुदिन् । त्यसपछि मैले देखेँ एक जना भाइले बाँस ल्यायो र तारमा हिर्काएपछि करेन्ट छुट्यो ।

घटनापछि म बसभित्रका मानिस हेर्न गएँ । त्यतिकैमा करेन्ट लाग्यो र झ्याल छेउमा बसेका एक बालकलाई झ्यालबाट निकाले र आफू पनि कुदेर बाँचे ।

जसले ठूलो क्षति हुनबाट बचाए
मेरो नाम बद्री कुमार हो । म बसको ढोकातर्फको अन्तिम सिटमा थिएँ । बसमा एक्कासि आवाज आएको जस्तो लाग्यो र करेन्ट प्रवाह हुन थाल्यो । त्यसलगत्तै म बसबाट बाहिर हामफालेँ । बसमाथि तार झुण्डेको देखेँ । बसमा बसेका सबै मानिसहरू आत्तिरहेका थिए । होसमा रहेकाहरू कोही झ्यालबाट त कोही ढोकाबाट हाम फाल्दै थिए ।

बसभित्रका मानिस कति जल्दै थिए । यो देखेर मलाई रिँगाटा लागेजस्तो भयो । तैपनि बसभित्रका मानिसलाई बचाउनुपर्छ भन्ने मलाई लाग्यो । नजिकै एउटा सुकेको बाँस पाएँ र मैले त्यो बाँसले ११ हजार भोल्टेजको तारलाई पन्छाएँ, जसले गर्दा थप मानवीय क्षति हुन पाएन ।

मन्त्रीदेखि सांसदले गरे राहतको घोषणा
घटनापछि केन्द्र सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव निर्धारित कार्यक्रम छाडेर घटनास्थल र पीडित परिवारका घरमा पुगे । घटनामा सबैला बलटिया बस्ने केसमदेवी कुमरको पनि मृत्यु भएको थियो ।

मन्त्री यादवले मृतक परिवारलाई तत्कालै २५ हजार नगद दिए । उनीसँगै रहेका प्रदेश नम्बर २ का सांसद किशोरी साह कमलले समेत २५ हजार नगद पीडित परिवारलाई दाहसंस्कारका लागि हस्तान्तरण गरे । पीडितहरूलाई आश्वसन दिँदै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले विद्युत प्राधिकरणका कर्मचारीहरूसँग कुराकानी गरेर घटनाबारे छानविन समिति गठन गर्न पहल गर्ने बताए । 
६ जनाको मृत्यु, १० गम्भीर घाइते
जन्ती बसमा करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको छ भने बसमा सवार ४० मध्ये १० जना गम्भीर घाइते र अन्य सामान्य घाइते छन् । सिन्धुली जिल्लाको दुधौलीबाट सबैला नगरपालिका वडा नं ४ बल्टियाबाट बेहुली लिएर फर्कंदा ना ५ ख १७५२ नम्बरको बसमा हाई भोल्टेजको विद्युत तारले छुँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेहरूमा सिन्धुली दुधौली नगरपालिका वडा नं. ९ जितपुरका ४५ वर्षीय रामबाबु अधिकारी, ९ वर्षीय आक्रोस कुमर, २० वर्षीया पूजा अधिकारी, १७ वर्षीया लिला अधिकारी, ९ वर्षीय सुरज अधिकारी र धनुषा सबैला नगरपालिका वडा नं. ४ बलटिया बस्ने ५० वर्षीय केसम देवी कुमर छन् ।

घाइते हुनेमा सिन्धुली दुधौली नगरपालिका वडा नं. ९ जितपुरका ३० वर्षीय बर्दी कुमर, ३ वर्षीय हर्वन कुमरा, ६ वर्षीया कुञ्जन कुमर, ३० वर्षीया फूलकुमारी कुवर रहेको छ । यसैगरी थप घाइते हुनेहरूमा ३२ वर्षीय रामनारायण अधिकारी, २२ वर्षीय राजकिन अधिकारी, १८ वर्षीया सरस्वती अधिकारी, १३ वर्षीया लिलप्रसाद अधिकारी,  ४५ वर्षीय महेन्द्र अधिकारी र जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं. १ बस्ने २२ वर्षीय पवन परियार सहचालक, घाइते भएका हुन् ।

घाइते अस्पतालमा 
घाइतेहरूलाई शुक्रबार राति नै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरूको शरीरका विभिन्न भाग जले पनि उपचार भइरहेकाले खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । घाइते १० जनामा ३ बालबालिका, ५ जना पुरुष र २ महिला छिन् । 

यसअघि २ जनाको मृत्यु
यसअघि ५ माघ, २०७५ मा जनकपुर उपमहानगरपालिका वडा नं. १२ कुवारामपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए । विद्युत प्राधिकरणलाई पटक–पटक टुटेको तार जोड्न आग्रह गर्दा बेवास्ता गरेपछि नाङ्गो तारमा दुवैजना टाँसिन पुगेपछि दुर्घटना भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप