शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ड्याभोस फोरम : प्रधानमन्त्री ओली पश्चिमाहरुको चीन घेर्ने रणनीतिमा फसे

आइतबार, १३ माघ २०७५, १९ : ११
आइतबार, १३ माघ २०७५

यहाँ म दुई जल्दाबल्दा घटनाको बारेमा विश्लेषण गर्नेछु । त्यसको सम्बन्ध कुनै न कुनै रुपमा नेपालको भू–राजनीतिक अवस्थितिसँग छ । पहिलो हो स्विट्जरल्याण्डको ड्याभोसमा भएको सम्मेलन । ड्याभोस हरेक वर्ष हुने आर्थिक फोरम हो । यो पटकको ड्याभोस सम्मेलन नेपालको लागि विशेष रह्यो । किनभयो भने त्यो विश्वका वित्तिय क्षेत्रको एलिटहरुको सम्मेलन हो । तर यो पटक नेपालजस्तो दाताहरुको अनुदानमा आश्रित मुलुक नेपाललाई पनि आमन्त्रित गरियो ।

अनपेक्षित रुपमा नेपालले त्यहाँ मिडिया ‘हाइप’ पनि पाएको छ । त्यो किन पायो होला भनेर एउटा मलाई जिज्ञासा थियो । त्यो कुरा सोही सम्मेलनमा एउटा व्यक्तिको प्रस्तुतिले पूर्ति गरिदिएको छ । 
नेपालका प्रधानमन्त्रीले त्यहाँ सम्बोधन गर्नुभयो र युरोपेली मिडियाहरुले त्यसलाई राम्रो स्थान पनि दिए । अब यसले भविष्यमा विदेशी लगानीकर्तालाई कति आकर्षित गर्ला वा नगर्ला त्यो त भविष्यले देखाउला । तर यहाँ भने म अर्कै कुरातर्फ केन्द्रीत हुनेछु ।

ड्याभोस सम्मेलनमा जब अर्बपति व्यवसायी जर्ज सोरसको सम्बोधन आयो तब नेपाललाई किन डाकिएको रहेछ, साथ साथै नेपालका विदेशमन्त्री किन अमेरिका गएदेखि लिएर इण्डो–प्यासिफिक कमाण्डका प्रमुख नेपाल आउनुको कारण जस्ता धेरै विषयवस्तुहरुको तार कहाँ जोडिएको छ । थप आगामी दिनमा उजागर हुनेनैछ । 

तीन वर्षअघि देखिनै मैले जर्ज सोरस र फादर मुनबारेमा बोल्ने गरेको छु । फादर मुन बितेर गएको भए पनि उनको फाउण्डेसनले भर्खरै नेपाल के गर्यो त्यो त हामीहरुले देखिहाल्यौं ।  अब चर्चा जर्ज सोरसको गर्यौं । उनले यो पालि ड्याभोसमा भाषण गर्दै संसारकै खुल्ला समाज (ओपन सोइटी) को लागि सबैभन्दा ठूलो शत्रु चीनका राष्ट्रपति सी जिनपिङ् हुन् भनेर घोषणा गरिदिए । त्यही फोरममा जहाँ प्रधानमन्त्री ओलीको पनि सहभागी भएको थियो । 

उनकी छोरी एण्ड्रिया सोरस कोलोम्बेलको सहभागिता रहेको धेरैवटा गैर–सरकारी संस्थाहरु मुख्यत तिब्बती सम्प्रदायहरुसँग सम्बन्धित भएर नेपालमा कार्यरत छन् ।  यसमा नेपालको पत्रकारिता क्षेत्रबाट विशेष खोजको आवश्यकता छ । तर त्यो कत्ति होला मलाई शंका छ । किनकि जर्ज सोरसको नेपालमा पनि लगानी छ भनेर नेपालको एक चर्चित अनलाईन मिडियाले आफैंले स्वीकारिसकेको छ । फेरि नेपालमा सबैभन्दा ठूलो ‘कू’ मिडियामा हुनेगर्छ । मिडिया ‘कू’ भएर को कति खेर रसातालमा पुग्छ, पत्तै हुँदैन । 

अर्काको रणनीतिक चासो र परलगानीमा भएका ‘माइण्ड कन्ट्रोल खेल’ले नेपाली जनताको मस्तिष्क नियन्त्रण गर्नका लागि मिडियाहरुले दुरुपयोग गरिरहेका छन् । यो दूर्भाग्यपूर्ण कुरा हो ।  जर्ज सोरसको चीनविरुद्ध जस्तो प्रकारको सम्बोधन आयो, त्यसबाट स्पष्ट हुन्छ कि अब चीनलाई घेर्ने नीति अनुरुप नेपाललाई उपयोग गर्न उनीहरु निक्कै अगाडि बढिसकेका छन् । 

नेपालको प्रधानमन्त्रीको भ्रमणलाई पनि एउटा शंकाको दायरा र अनुसन्धानको दायराभित्र राखेर चीनले हेर्ने सम्भावना अब बढेर गएको छ । यो हामीहरुको लागि शुभ संकेत होइन ।  यो नेपालको भू–राजनीतिक अवस्थितिमा हालसालै विकास भएको संवेदनशील घटना हो । 

२.
दोस्रो घटना भारतसँग जोडिएको छ । ड्याभोस सम्मेलनभन्दा केही अघि भारतका प्रधानसेनापति विपिन रावतले प्रेस सम्बोधनमा चीनसँग एउटा प्रश्न गरे ।  उनले विगत दुई तीन वर्षदेखि हिन्द महासागरीय क्षेत्रमा चीनले परिचालन गरेको सयवटा जति फ्लिट र पनडुब्बी भारतविरुद्ध होइन भन्ने कुराको प्रत्याभूति चीनले कसरी दिन्छ भन्ने प्रश्न गरे ।

चीनले यो गरिरहेको छ । अब टेरिटोरियल सीमा त पाउँदैन तर अन्तर्राष्ट्रिय जलाधार क्षेत्रमा त्यो काम भइरहेको छ । योसँग जोड्न सकिने अर्को तथ्य समेटेर बेलायतको एक्प्रेस डट को डट यूके नामको अनलाईनले एकदम महत्वपूर्ण अनुसन्धानात्मक आलेख अगाडि ल्याएको छ । 

उसले दुई तीन वर्षदेखि चीनको फ्लिट र मिलिटरीको हिन्द महासागरमा जुन खालको संरचना निर्माण भइरहेको छ, त्यसलाई काउन्टर दिन भारतले पनि अन्दमान र निकोबारमा भंयकर ठूलो संरचना बनाएको छ । 
उसले यस्तो सैन्य प्रतिस्पर्धाले कदाचित तेस्रो विश्वयुद्धको फ्लास पोइन्ट मलाका स्ट्रेट र अन्दमान एण्ड निकोबार हुने त होइन भनेर प्रश्न गरेको छ ।  यसको अर्थ भारत र चीनको तनाव कुनै न कुनै रुपमा बढ्न गयो भने नेपाललाई गा¥हो हुन्छ । 

एकातिर अन्दमान सागर र हिन्द महासागरमा भारत र चीनको सैन्य मुठभेडको सम्भावना बढाउदैं जाने, अर्कोतिर नेपाल इण्डो–प्यासिफिक फ्लिटको एक कारिन्दा भएर हिँड्ने र जर्ज सोरसजस्ता विश्वका वित्तिय एलिटहरुको लगभग पूर्ण पक्कड भएको ड्याभोस फोरमको एउटा पात्रको रुपमा अचानक खडा हुने । यसले अन्तिम परिणति नेपाल पनि त्यही समूहमा स्थापित भएर पश्चिमाहरुको चीन घेर्ने नीति अन्तर्गत उपयोग हुने त होइन भन्ने प्रश्न उठ्छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
लेखकबाट थप