मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

व्हाट्सएप, इन्सटाग्राम र म्यासेन्जरलाई एक गर्दै फेसबुक

मङ्गलबार, १५ माघ २०७५, १२ : २४
मङ्गलबार, १५ माघ २०७५

बिबिसी । फेसबुकले इन्सटाग्राम, व्हाट्सएप र म्यासेन्जरमा म्यासेज सेवालाई एक गर्ने तयारी गरिरहेको छ ।

यी तीन सामाजिक सञ्जालका प्ल्याटफर्म अलग–अगल मोबाइल एपका रुपमा काम गर्नेछन् तर तीनलाई यसरी जोडिनेछ जसबाट एक प्ल्याटफर्मबाट दोस्रो प्ल्याटफर्ममा सजिलै सन्देश पठाउन सकिनेछ ।

फेसबुकले बिबिसीसँग कुरा गर्दै यो ‘लामो प्रक्रिया’ को शुरुवात भएको बताएको छ ।

फेसबुकले यस योजनाबारे सबैभन्दा पहिले न्यूयोर्क टाइम्सलाई जानकारी दिएको थियो । यस योजनामा कम्पनीका संस्थापक मार्क जुकरबर्गले चासो देखाइरहेका छन् ।

यदी यो सफल भयो भने फेसबुकमा रहेका कुनै व्यक्तिले ह्वाट्सएपमा सन्देश पठाउन सक्नेछन् । 

तीनै एप फरक–फरक काम गर्ने हुँदा यो सेवा अहिले सम्भव छैन ।
न्यूयोर्क टाइम्सको खबर अनुसार तीन एपलाई जोड्ने काम शुरु भइसकेको छ । यो वर्षको अन्त्यसम्म यसलाई पूरा गरिने तयारी गरिएको छ । नभए सन् २०२० सम्ममा यो लागू गरिनेछ ।

प्रयोगकर्ताहरुको उपयोगिता बढोस् र एपमा मानिसहरुले लामो समय बिताओस् भन्ने आशामा जुकरवर्गले यो योजना अघि बढाएका हुन् ।

टेक वेबसाइट द वर्जकी मेकना केलीका अनुसार अलग–अलग प्ल्याटफर्ममा रहेका सबै प्रयोगकर्तालाई साथमा ल्याउँदा कम्पनीको प्रयोगकर्ताको आंकडा बढ्नेछ भने गूगल र एप्पलको म्यासेज सेवासँग लड्न उसलाई मद्दत मिल्नेछ ।

एक बयानमा फेसबुकले भनेको छ, ‘हामी म्यासेज सेवामा प्रयोगकर्तालाई अझ राम्रो अनुभव दिन चाहन्छौँ ताकि मानिसहरुले एक अर्कासँग चाँडो, सजिलो र गोपनियता कायम गर्दै कुरा गर्न सकून् ।’

‘हामी हाम्रो म्यासेज सेवामा एन्ड–टु–एन्ड इन्क्रिप्सन पनि ल्याइरहेका छौँ र अलग–अलग प्ल्याटफर्ममा आफ्नो साथी र परिवारजनसँग सम्पर्क गर्न सकून् भनेर प्रयास गरिरहेका छौँ,’ कम्पनीले भनेको छ ।

यो व्यवस्था कसरी काम गर्नेछ भनेर अहिले चर्चा र बहस भइरहेको पनि कम्पनीले जनाइरहेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार जुकरबर्गको यो निर्णयले कम्पनीभित्र ‘तनावको वातावरण’ तयार भएको छ । 

पछिल्लो वर्ष इन्सटाग्राम र व्हाट्सएपका संस्थापकले कम्पनी छाड्नुको कारण यही भएको बताइएको छ ।

यो योजना यस्तो बेला बाहिर आएको हो जब फेसबुकमाथि उसको प्रयोगकर्ताको तथ्याङ्क सुरक्षित राख्न नसकेकोमा आलोचना र जाँच भइरहेको छ ।

त्यही भएर तीनवटा एप जोड्दा प्रयोगकर्ताको गोपनियतालाई कम्पनीले कसरी जोगाउँछ भन्ने ठूलो प्रश्न खडा भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप