शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाणिज्य बैंकमा २.३३ प्रतिशत ब्याजमै ऋण, कर्जा लिन के गर्नुपर्छ ?

बुधबार, १६ माघ २०७५, १० : ०६
बुधबार, १६ माघ २०७५

मलेसियाबाट फर्केका सिन्धुपाल्चोकका एक युवा सस्तो ब्याजदरमा ऋण पाउने थाहा पाएपछि विभिन्न बैंकहरु धाउन थाले । उनले झण्डै ७ वटा नीजि बाणिज्य बैंकमा यस्तो ऋणबारे बुझ्न खोजे तर उनीहरुले आफूहरुले सहुलियतपूर्ण कर्जाको शुरुवात नगरेको बताए । त्यसपछि उनी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजामा रहेको कार्यालयमा पुगे र  वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जाको बारेमा आफूलाई बुझाइदिनुपर्यो भन्दै कृषि कर्जा शाखा ढक्ढकाए ।

अधिकतम १० लाख रुपैयाँसम्म पाइने यस्तो शीर्षकको कर्जा पाए अब विदेश नफर्कने सुरमा उनी छन् । बैंकले कर्जा दिएको अवस्थामा ट्राभल एजेन्सी सञ्चालन गरेर बस्ने विचारमा छन् । कृषि कर्जा शाखाका नारायण लामिछाने आवश्यक कागजात पुर्याए तीन दिन देखि अधिकतम २१ दिनभित्र ऋण पाइने बताउँछन् । 

यता, न्युरोडमा कपडा पसल गरेर बस्दै आएकी ज्वाला बम पनि सस्तो ब्याजदरमा महिला उद्यमशीलता कर्जा पाउने थाहा पाएर वाणिज्य बैंकमा कर्जा माग्न पुगिन् तर आफ्नै नाममा दर्ता भएको कम्पनी हुनुपर्छ भनेपछि उनी आफै दर्ता गरेर ऋण लिने भन्दै बैंकबाट बाहिरिन् । यी त प्रतिनिधि पात्र मात्र हु्न । सस्तो ब्याजदरमा ऋण पाउने भएपछि राष्ट्रिय वाणिज्य बैंकको कृषि कर्जा शाखामा कर्जा माग्न आउनेहरुको लाइन देखिएको छ । 

हालसम्म बैंकले विभिन्न सातवटा शीर्षकमा १ करोड ६० लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरिसकेको छ । बैंकको आधारदरमा २ प्रतिशत थप्दा जति हुन्छ त्यसमा महिला उद्यमशीलताका लागि  ६ प्रतिशत ब्याज सरकारले नै बेहोर्छ । यो भनेको ६.३३ प्रतिशत आधारदर रहेको राष्ट्रिय वाणिज्य बैंकमा महिला उद्यमशीलताका लागि ८.३ प्रतिशत ब्याज पर्न आउँछ ।

यसमा ६ प्रतिशत ब्याज सरकारले बेहोर्ने भएपछि ऋणीले २.३३ प्रतिशत तिरे पुग्छ । यस्तो कर्जा विभिन्न चरण गरेर अधिकतम १५ लाख रुपैयाँसम्म पाइन्छ । अहिले सबैभन्दा सस्तो आधारदर (बेस रेट) राष्ट्रिय बाणिज्य बैंकको रहेको छ । अन्य ६ शीर्षकमा भने ३.३३ प्रतिशत ब्याज तिरे पुग्छ । यी शीर्षकमा पाँच प्रतिशत ब्याज सरकारले बेहोर्छ । 

सरकारले सातवटा विभिन्न शीर्षकमा दिन थालेको सहुलियतपूर्ण कर्जामा सबैभन्दा बढी महिला उद्यमशील कर्जा स्वीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी आवेदन पनि यसैमा परेको छ । २४ वटा फाइल स्वीकृत भएकोमा ११ वटा  फाइल महिला उद्यमशिलता कर्जाकै रहेको कर्जा शाखाका नारायण लामिछाने बताउँछन् ।

कसले कतिमा पाउँछ ऋण ?

व्यावसायीक कृषि तथा पशुपंक्षी कर्जामा अधिकतम पाँच लाख रुपैयाँसम्म ऋण पाइन्छ । यसमा यसमा ११ वटा फाइल प्रक्रियामा छन् । शिक्षित यूवा स्वरोजगारका लागि अधिकतम सात लाख रुपैयाँसम्म पाइन्छ । हाल यसका लागि ३ वटा फाइलका लागि २१ लाख रुपैयाँ स्वीकृत भइसकेको छ भने ६ वटा फाइल प्रक्रियामा छन् । 

यता, वैदेशिक रोजगारबाट फर्केका  युवा परियोजना कर्जा अधिकतम १० लाख रुपैयाँसम्म पाइन्छ । एउटा फाइल जसमा १० लाख रुपैयाँको कर्जा स्वीकृत भएको छ भने सात वटा फाइल प्रक्रियामा छन् ।  दलित समुदाय व्यवसाय कर्जा अन्र्तगत १० लाख रुपैयाँसम्म पाइन्छ ।  हालसम्म यस शीर्षकको कर्जामा १० लाख रुपैयाँको एउटा फाइल स्वीकृत भएको छ भने  ७ वटा फाइल प्रक्रियामा छन् ।

यस्तै उच्च प्राविधिक तथा व्यावसायीक शिक्षाका लागि पाँच लाख रुपैयाँसम्म ऋण पाइन्छ । यसमा पाँच लाख रुपैयाँको ऋण स्वीकृत भएको छ भने सातवटा फाइल प्रक्रियामा छन् । भूकम्पपीडित निजी आवासका लागि ३ लाख रुपैयाँसम्म ऋण पाइन्छ । यस्तो ऋण राष्ट्रिय वाणिज्य बैंकबाट १७ लाख रुपैयाँ बराबरको स्वीकृत भइसकेको छ । 

यी सबै शीर्षकका ऋणमा ऋणीले ३.३३ प्रतिशत ब्याज तिरे पुग्छ । वाणिज्य बैंकको आधारदर ६.३३ प्रतिशतमा २ प्रतिशत थप्दा ८.३३ प्रतिशत हुन्छ यसमा सरकारको पाँच प्रतिशत अनुदान हुँदा ऋणीले ३.३३ प्रतिशत ब्याज तिरे पुग्छ ।  यी सबै ऋण पाँच वर्षभित्र चुक्ता गरिसक्नुपर्नेछ । 

सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकले गत मंसिरमा आफ्ना सबै  शाखालाई सहुलियत पूर्ण कर्जाको व्यवस्था गर्न  परिपत्र गरेको थियो । पुस २२ गतेदेखि यसले कर्जा दिन शुरु गरेको हो । विभिन्न सात शीर्षकमा हालसम्म १ करोड ६० लाख रुपैयाँ कर्जा स्वीकृत भइसकेको छ । ७८ वटा फाइल अहिले स्वीकृत हुने प्रक्रियामा छन् । 

महिला उद्यमशीलता कर्जामा क्रेज,  लिन के गर्नुपर्छ ?

सरकारले सातवटा विभिन्न शीर्षकमा दिन थालेको सहुलियतपूर्ण कर्जामा सबैभन्दा बढी महिला उद्यमशील कर्जा स्वीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी आवेदन पनि यसैमा परेको छ । २४ वटा फाइल स्वीकृत भएकोमा ११ वटा  फाइल महिला उद्यमशिलता कर्जाकै रहेको कर्जा शाखाका नारायण लामिछाने बताउँछन् ।

कर्जा लिन चाहने महिलालाई बैकले कर्जा मागको निवेदन उपलब्ध गराउँछ । निवेदकले भर्नुपर्ने विवरण फारम, परियोजना प्रस्तावको ढाँचा बैंकले नै उपलब्ध गराउनेछ । बैंकले उपलब्ध गराएको फारममा भनेजति विषय राखेर भर्नुपर्नेछ । यसका लागि फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको स्थायी दर्ता नम्बर (प्यान नं.) को प्रतिलिपी पेश गर्नुपर्नेछ । ऋणीले सम्बन्धित बैंकमा अनिवार्य रुपमा खाता खोलेको हुनुपर्नेछ ।  ऋणी र जमानत दाताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, एक सगोल परिवारको सदस्यको नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप