शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कमलको फूल आकारमा बन्दैछ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अरु के–के हुन्छन् सुविधा ?

बुधबार, १६ माघ २०७५, १९ : २६
बुधबार, १६ माघ २०७५

काठमाडौं– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको लागि सहमति पत्रमा हस्ताक्षर भएको छ । बुधबार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा रंगशाला घोषणा कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा फाउन्डेशनका तर्फबाट सीताराम कट्टेल ‘धुर्मुस’ र भरतपुर हानगरपालिकाका मेयर रेणु दाहालले हस्ताक्षर गरेका हुन् । २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । करिब ३ अर्ब लागतमा चितवनमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न लागेको हो । 

प्रधानमन्त्रीदेखि धुर्मुससम्मको उद्घोष
गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख धुर्मुसले बताएका छन् ।  उनले भने, ‘अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । शिलान्यासकै दिन निर्माण अवधि तोकिने छ । हामी २ वर्षभित्र  रंगशाला निर्माण गरिसक्ने लक्ष्यमा छाँै । सम्पूर्ण नेपालीहरुको सहयोगमा यो कार्यसम्भव हुने विश्वास पनि लिएको छु ।’ 

उनले रंगशाला विश्वकै नमुना बन्ने दाबी पनि गरे । ‘विभिन्न देशहरुमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनेका छन् । ती आफ्नो दशको मौतिकतासँग मेल खाँदैनन् । हामीले निर्माण गर्न लागेको रंगशाला एकदमै मौलिक खालको हुने छ । हामी आफ्नो देशको मौलिकतासहितको रंगशाल निर्माण गरेर विश्वलाई उदाहरण दिन चाहन्छौँ’, धुर्मुसले भने । 

उनले देशमा विकास निमार्णका कार्यमा ढिलासुस्ती हुने गरेको भन्दै आफुहरु रंगशाला शिलान्यासकै दिन समय तोकेर निर्माण कार्यमा लाग्ने पनि बताए । उनले आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको बताए ।

यता कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशालाको उद्घााटन खेल भारत र पाकिस्तानबीच हुने गरी तयारी भइरहेको बताइन् ।  मेयर दाहालले भनिन, ‘भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध छैन । त्यसैले उनीहरु एक अर्को देशमा गएर क्रिकेट खेल्दैनन् । कहिले यूएई कहिले दुबईमा गएर खेल्नुपर्ने अवस्था छ । त्यसका लागि लामो दूरी पार गर्नुपर्छ । यदि छिमेकी देश नेपालमा हामीले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरेको खण्डमा हामी दुई ढुंगाबीचको तरुल बन्न सक्छौं ।’

त्यसका लागि आवश्यक पहलसमेत थालेको उनको भनाई छ । उनले रंगशाला निर्माणका लागि महानगर दत्त चित्त चएर लाग्ने उद्घोष गरिन् ।  कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले रंगशाला निर्माणका लागि आफू र आफ्नो पार्टीजस्तो सुकै सहयोग गर्नुपछि नहट्ने प्रतिबद्धता व्यक्त  गरे । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि रंगशाला निर्माणका लागि आफ्नो ठाउँबाट पूर्णरुपमा सहयोग गर्नु प्रतिबद्धता व्यक्त गरे ।

साथै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस पवित्र र राम्रो कामको लागि आफू सँधै तत्पर रहेको बताए ।  उनले यो राष्ट्रिय गौरवको आयोजनाको भएको भन्दै यसका लागि आफ्नो तर्फबाट सबै खाले सहयोग हुन जिकिर गरे । 

प्रधानमन्त्री  ओलीले ‘जमिन, काम र स्थान तय भइसक्यो, र कस्तो बनाउने भन्ने नक्साङ्कन पुरा भइसक्यो । त्यसका लागि लगभग ४ करोड यही उठ्यो । अझै २९६ करोड बाँकी छ ।  यसकारण मेरो सुझाव छ । लेख्ने कुरामा अझ बढी जाँगर चलाउँ । लेखेको रकम भुक्तानी गर्न बिलम्ब नगरौं । बिलम्ब नहोस् ।’ 

रंगशालाको डिजाइन र सुविधा 

पूरै रंगशाला स्तुपा आकारको हुने छ भने क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ । रंगशालामा ४ वटा द्वार हुनेछन् । जसमा २५ हजार दर्शकहरु अट्ने क्षमताहरु हुनेछ ।  बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् । रंगशालामा नेपालका धार्मिक सम्पदाहरुको अवलोकन गर्दै प्रवेश गर्न मिल्ने गरी गेटहरु बनाइने छन् ।

यो रंगशालामा फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डण्डिवियोसम्म खेलिने सहमतिपत्रमा उल्लेख छ । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ । समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गर्ने बताइएको छ । रंगशाला निर्माणका लागि आर्थिक व्यवस्थापनका लागि लेखा समिति संयोजक तोकिएको छ भने ३ जना ईन्जिनियर रहनेछन् । 

यो पनि.....

मदनकृष्णको भाषणले जब प्रधानमन्त्री ओली र प्रचण्डको ध्यान तान्यो...

कार्यक्रमै ४ कारोड रकम संकलन
अन्तर्राष्ट्रिय रंगशालाको घोषणा कार्यक्रममै करिब ४ करोड भन्दाबढी रकम संकलन भइसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि कार्यक्रममा सो रकम जुटेको हो ।  जसमा एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ । साथमा अन्य संघसंस्था र व्यक्तिले समेत लाखौं रकमको सहयोगको प्रतिबद्धता गरेका छन् ।

जसमा अल्का अस्पतालले २५ लाख, चितवन उद्योग वाणिज्य संघ ५१ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज बुटवलले ७ लाख, आर एम ग्रुपले ५ लाख, मुक्तिनाथ विकास बैंकले ५ लाख, मह सञ्चार र भद्रगोल टिमले १–१ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

व्यक्तिगत रुपमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष बद्री पंगेनी १ लाख १ हजार १ सय ११, प्याब्सनकी दिपिका थापाले १ लाख १० हजार, चक्रबहादुर चन्द, गोपाल निरौला र सरोज ओलीले १, १ लाख सहयोग गर्ने घोषणा गरेका छन् । साथै विभिन्न उद्योमी व्यवसायी, कलाकारलगायतले पनि रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप