शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशका ठूला अस्पतालमा थोत्रा एम्बुलेन्स : किन एम्बुलेन्स चलाउँदैनन् सरकारी अस्पताल ?

बिहीबार, १७ माघ २०७५, ०९ : ४४
बिहीबार, १७ माघ २०७५

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालभित्र प्रवेश गरेपछि दुई बाटा छुटिन्छन् । 

एकतिर बिरामीको उपचार गर्ने र अर्कोतिर अस्पतालको प्रशासन, लेखा, स्टोर र चिकित्सक, कर्मचारीहरूको क्वाटर रहेका छन् ।

अस्पतालको प्रशासन भवनतिर प्रवेश गर्दा तीनवटा एम्बुलेन्स पार्किङ गरेर राखिएको भेटिन्छ । 

लुम्बिनी  प्रादेशिक अस्पतालका नाममा रहेका बा १ झ ८७९६, लू १ झ २४४ र लु १ झ ३०४ नम्बरको एम्बुलेन्स त्यहाँ लस्करै छन् । 

यो दृश्य देख्दा बिरामी र बिरामीका आफन्त अस्पतालमा एम्बुलेन्स पाउने आशले ढुक्क हुन्छन् । 

यस्तै आशमा रहेका मध्येका एक पाल्पा रामपुरका बाबुराम अधिकारीले सोमबार बिहान अस्पतालको एम्बुलेन्स प्रयोग गर्न पाएनन् । उनी अस्पतालको इमर्जेसी गेटतिर लागे र प्राइभेट एम्बुलेन्स प्रयोग गरी आफ्नी बिरामी आमालाई उपचारका लागि भरतपुर अस्पताल पुर्याए । 

उनले रातेपाटीसगँ भने, ‘आमालाई यहाँबाट भरतपुर रिफर गरियो  तर अस्पतालको एम्बुलेन्स चल्दैन । अनि प्राइभेट एम्बुलेन्स खोज्न बाध्य भएँ ।’

उनले अस्पतालको एम्बुलेन्स नचल्ने जवाफ पाएपछि निजी एम्बुलेन्स खोज्नुपरेको गुनासो गरे ।

बुटवलको लुम्बिनी अञ्चल अस्पताललाई (हाल) प्रादेशिक अस्पतालमा दाताले दिएको बा १ झ ८७९६ नम्बर एम्बुलेन्स बिग्रेको तीन वर्ष भयो । 

अर्को लु १ झ ३०४ नम्बरको एम्बुलेन्स पनि बिग्रेर थन्किएको छ । लु १ झ २४४ नम्बर एम्बुलेन्स बिरामी बोक्नका लागि नभई अस्पतालका केही चिकित्सकहरू र कर्मचारी ओसार्न र कार्यलयका अरू कामका लागि मात्र प्रयोग हुने गरेको छ, जसको सिटसमेत परिर्वतन गरी जिपको जस्तो बनाइएको छ । 

अस्पतालका प्रमुख डा. कृष्ण खनालले त्यो एम्बुलेन्स बिग्रिएको बताए । उनले बनाउन मिल्ने भए पनि तेल धेरै खपत हुने भएकाले चलाउन  चासो नदिएको बताए 

यो अस्पतालमा दैनिक १४ सयसम्म बिरामीको उपचार हुने गर्छ । एम्बुलेन्स सेवा प्रयोग गर्ने बिरामी सङ्ख्या दैनिक १ सय जति हुने एम्बुलेन्स चालक ईन्द्रमणि पौड्यल बताउँछन् । 

निजी एम्बुलेसलाई प्रोत्साहन 

अस्पतालको इमरजेन्सी गेटबाट भित्र प्रवेश झण्डै एक दर्जन निजी एम्बुलेन्स पार्किङ गरेका भेटिन्छन् । ती एम्बुलेन्समा चालक र उनीहरूका फोननम्बर पनि भित्तामा टाँसिएका हुन्छन् । 

तर सरकारी यो अस्पतालको प्रशासन अगाडि राखिएका ३  वटा एम्बुलेन्सले वर्षौंदेखि बिरामी बोकेका छैनन् । ती एम्बुलेन्स देखाउनकै लागि मात्र राखिएजस्ता छन् ।

अस्पतालभित्र त्यो पनि इमरजेन्सी विभागसँगै एक दर्जन एम्बुलेन्स सहजै पार्किङ गर्न दिने अस्पताल प्रशासनले आफ्ना एम्बुलेन्स चलाउन चासो नदिएर प्राइभेटलाई प्रोत्साहन गरेको प्रष्टै बुझिन्छ । 

आमाको उपचारका लागि आएका बाबुरामले भने, ‘अस्पतालमा एम्बुलेन्स राखेर सर्वसाधरणलाई सहज र कम मूल्यमा सेवा प्रदान गर्नुपर्ने हो । तर यहाँ प्राइभेट एम्बुलेन्सलाई प्रोत्साहन गरेको पाइयो ।’ यही अवस्था ५ नम्बर प्रदेशका अन्य ठूला सरकारी अस्पतालमा पनि छ । 

दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’विहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएका छन् ।

एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । 

अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका सूचना अधिकारी कमल सुवेदीले बताए ।

निजी एम्बुलेन्सले महँगो शुल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको उनीहरूको गुनासो छ । 

सो अस्पतालमा एम्बुलेन्स चलाउन एकजना चालकको दरबन्दी रहे पनि अहिले रिक्त छ ।

त्यस्तै घोराहीको हाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (साविकको राप्ती उपक्षेत्रीय अस्पताल) मा १० वर्षदेखि बिग्रिएको एम्बुलेन्स मर्मत हुन सकेको छैन् । पटक पटक बिग्रिने र मर्मत गर्दा धेरै खर्च हुने भएकाले मर्मत नगरी त्यतिकै थन्क्याइने गरिएको अस्पताल बताउँछ । 

एम्बुलेन्सविहीन अस्पताल प्रदेश सरकारको पर्खाइमा छ । 

प्रदेश सरकारले प्रत्येक अञ्चल अस्पतालमा दुई दुई एम्बुलेन्स उपलब्ध गराउने भनिएकाले त्यसकै पर्खाइमा रहेको अञ्चल अस्पतालका सूचना अधिकारी सुवेदी बताउँछन् ।

दाङका सातवटा एम्बुलेन्स प्रयोगविहीन रहेका छन् । जिल्लाका ६२ वटा एम्बुलेन्समध्ये अहिले ५५ वटा एम्बुलेन्स मात्रै सञ्चालनमा छन् । राप्ती अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइन्स क्लब आफ तुलसीपुर, घोराही उद्योग वाणिज्य सङ्घ र होटल व्यवसाय समिति घोराहीलगायतका सातवटा एम्बुलेन्स बिग्रिएर प्रयोगविहीन छन् ।  ती एम्बुलेन्स मर्मत गर्न कुनै पनि निकायले ध्यान दिएका छैनन् । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गरिरहेका छन् ।

नेपाल एम्बुलेन्स चालक सङ्घ केन्द्रीय महासचिव मुक्ति काफ्लेकाअनुसार पाँच नम्बर प्रदेशमा ३२० एम्बुलेन्स सञ्चालन छन् । रुपन्देही, दाङ र नेपालगञ्जमा धेरै एम्बुलेन्स छन् । तर सरकारी अस्पतालहरूमा भने एम्बुलेन्स नगन्य मात्रै सञ्चालनमा छन् । लुम्बिनी अस्पताल प्रमुख डा. कृष्ण खानालले एम्बुलेन्स चलाउन खर्च धेरै लाग्ने भएकाले चलाउन नसकिएको बताए ।

कुन जिल्लामा कति एम्बुलेन्स 

  • रुपन्देही ७०  
  • बाँके ५०
  • बर्दिया ३०
  • दाङ ६० 
  • कपिलवस्तुमा २५
  • पाल्पामा १८
  • अर्घाखाँची १०  
  • पूर्वी रुकुम ७ 
  • प्युठान र रोल्पा ३०
  • परासी १७
  • गुल्मी २३ 

स्वास्थ्य मन्त्रालय के भन्छ ?

स्वास्थ्य मन्त्रालयका उपसचिव भवनाथ खतिवडाका अनुसार नियमन तथा नियन्त्रण अभावमा  एम्बुलेन्सको आयातदेखि सञ्चालनसम्म मनपरी भएको छ । उनले यसलाई व्यवस्थित गर्न ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ ल्याए पनि कार्यान्वयन नभएको  बताए । 

कुन वर्गको एम्बुलेन्स हो भन्ने स्पष्ट निर्देशिकामा व्यवस्था छ । एम्बुलेन्स एक हजार सीसीभन्दा बढी क्षमताको हुनुपर्ने र चालकको पछाडि कुनै सिट राख्न नपाइने तथा मापदण्ड विपरीत निर्देशिकमा उल्लङ्घन गरी चलाइएको पाइएमा जफत गरिने निर्देशिकामा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप