शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयको एक्सन : सेवा अवरुद्ध पार्ने चिकित्सकको नाम सङ्कलन गर्दै, कारवाहीको तयारी

शुक्रबार, १८ माघ २०७५, ११ : ४५
शुक्रबार, १८ माघ २०७५

अस्पतालमा सबैभन्दा बढी सेवा लिने विभाग हो, ओपीडी । तर, नेपाल चिकित्सक संघले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै आज (शुक्रबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णयगरेपछि यो सेवा लिनबाट धेरै सेवाग्राही बञ्चित बनेका छन् । कतिपय अस्पतालमा ओपीडी सेवा बन्द भएपछि आकस्मिक कक्षबाटै उपचार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

विरामीहरु शुक्रबार बिहानै काठमाडौको बीर, टिचिङलगायतका अस्पताल पुगेपनि उनीहरु सेवा नपाएर फर्कन बाध्य भएका थिए ।

तर, अस्पताल प्रशासन भने केहीबेर सेवा अवरोध भएपनि पुनः सुचारु गरेको दावी गर्छन् । 

अस्पताल प्रशासनले ओपीडी सेवा केहीबेर बन्द भएपनि १० बजेपछि ती सेवाहरु सूचारु गरेको जनाएका छन् । 

अन्य दिनको तुलनामा शुक्रबार सेवा लिने बिरामीको सङ्ख्या समेत अस्पतालमा निकै कम देखिएको छ ।

‘उपचार गर्ने डाक्टरहरुकै आन्दोलन रहेछ, उपचार हुँदैन भनेपछि फर्कनुको विकल्प नै भएन,’ उपचारका लागि शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर फर्किएका सोलुखुम्बुका धिमे शेर्पाले भने ।  

तर, त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख सुर्यप्रसाद अधिकारीले आन्दोलनरत चिकित्सकहरुले बिहान एकछिन सेवा अवरोध गर्ने प्रयास गरेपनि असफल भएको बताए । 

‘आन्दोलनरत पक्षले सेवा प्रवाहमा अवरोध गर्ने प्रयास गरेको थाहा पाएपछि प्रशासनले सेवा सञ्चालन गरेको छ’ अधिकारीले रातोपाटीसँग भने, ‘सेवा प्रवाहमा अवरोध गर्ने चिकित्सकहरुको नाम सङ्कल भइरहेको छ । नाम सङ्कलनपछि सार्वजनिक गर्छौ ।’ 

डा. केसीको पक्षमा गत सोमबारदेखि नेपाल चिकित्सक संघले थालेको रिले अनशनलगायत विरोधका कार्यक्रमलाई बेवास्ता गरेको भन्दै सरकारलाई दवाव दिन संघले शुक्रबार देशैभरका सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था आकस्मिक बाहेकका सेवा ठप्प पार्नुपरेको जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका बिशेषज्ञ डा. सुशील प्याकुरेलले स्वास्थ्य जस्तो क्षेत्रमा बिभिन्न बहानामा पटकपटक आन्दोलन हुनु राम्रो नभएको बताए । 

‘यसले अराजकता अरु बढ्न सक्छ । भोलि नर्सले आन्दोलन गर्लान्, ल्यावतर्फकाले आन्दोलन गर्लान् । यसैबीचमा विरामीको मृत्यु होला । अनि त्यसको जिम्मा कसले लिने ?’ उनले प्रश्न गरे । 

डा. प्याकुरलेलले आन्दोलनरत पक्ष र सरकार दुवै उत्तरदायी बन्न नसक्दा यस्तो अवस्था आएको दावी गरे । भने, ‘हड्ताल नगरी माग पुरा नगर्ने प्रवृति पनि राम्रो होइन । वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा हड्ताल रोज्न थालिएको छ । यसलाई कुनै हालतमा जायज मान्न सकिँदैन’ डा. प्याकुरेलको भनाई छ । 

मन्त्रालयको निर्देशनको वेवास्ता 

यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले चिकित्सकहरुलाई अनसन र हड्ताल नगर्न निर्देशन दिएको थियो । मन्त्रालयले हड्ताल र आन्दोलनका कारण विरामीहरु सेवाबाट बञ्चित हुने भन्दै अनशन हड्ताललगायतका अवाञ्छनीय गतिविधि नगर्न अपिल गरेको थियो । 

चिकित्सकहरुको विरोध कार्यक्रमले विरामीले पाउनुपर्ने अनिवार्य र आधारभुत सेवामा असर पर्ने भन्दै सचेत गराएपछि त्यसको बेवास्ता गर्दै चिकित्सकहरुले सोमबार र मङ्गलबार अस्पतालमा रिले अनसन बसेका थिए भने शुक्रबार देशभरका अस्पतालमा सेवा अवरुद्ध गरेका छन् । 

कारवाही हुन्छ –स्वास्थ्य सचिव चौधरी 

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले मन्त्रालयले सोमबार नै बन्द हड्ताल जस्ता सेवा प्रवाहमा अवरोध हुने कृयाकलाप नगर्न अपिल गरिएकोमा त्यसको बेवास्ता गरेको भन्दै आज पुनः अर्को अपिल गर्ने बताइन् । 
सचिव चौधरीले रातोपाटीसँग भनिन् ‘हामीले सोमबार पनि त्यस्तो अपिल गरेका छौ । आज दोस्रो पटक पुन अर्को अपिल जारी गर्दैछौ । त्यति गर्दा पनि अटेर गरे प्रशासनिक कारवाहीमा जान्छौँ ।’ 

सचिव चौधरीले सेवामा नखटिने सरकारी चिकित्सकहरुको लागत सङ्कल गर्ने भइरहेको भन्दै सङकलनपछि कारवाहीको प्रकृयामा जाने जानकारी समेत दिइन् । 

केही अस्पतालमा शुक्रबार ओपीडी सेवा सञ्चालन नभएपनि ओपीडीमा आउने विरामीलाई आकस्मिक कक्षबाट सेवा दिइरहेको आफुले जानकारी पाएको सचिव चौधरीको भनाई छ । उनले सकेसम्म अस्पतालको सेवा अवरुद्ध हुन नदिने प्रयास गरिरहेको पनि दावी पनि गरिन् ।    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप