शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा एक युवतीको शव फेला : माइतीबाट ३ लाख ल्याएपछि विवाद, हत्याको आशंका

शुक्रबार, १८ माघ २०७५, १८ : ४७
शुक्रबार, १८ माघ २०७५

बुटवल । शुक्रबार गुल्मीमा एक विवाहित युवतीको शव रहस्यमय अवस्थामा फेला परेको छ । गुल्मीको रुरु गाउँपालिका – ४ बलेटक्सार रानीवासस्थित विक्रम सुनारकी १८  वर्षीया श्रीमती रक्षा सुनारको उनकै घरमा रहेको आकाशे पानी संकलन गर्ने ट्याङकीमा रहस्यमय अवस्थामा शव फेला परेको हो ।

अर्घाखाँचीको पाडेनी गाउँपालिका – ५ मैदानस्थित उनका  माइतीजनले रक्षाको परिवारकै सदस्यबाट हत्या भएको आशंका गरेका छन् ।  बिहीबार साँझ मात्रै छोरी रक्षाले फोन गरेर बाबा मलाई लिन आउनुस् म यहाँ बस्न सक्ने अवस्था भएन भनेर भनेको उनका पिता  पर्शुराम सुनार  (गोपी) ले रातोपाटीसँग बताए ।  

रक्षाले सन्धीखर्कमा रहेकी दिदी रोखा सुनारलाई समेत रुँदै फोन गरेर आफूलाई घरमा गालीगलौज गरेर बस्न नसक्ने भएँ भन्दै फोन गरेको परिवारजनले बतायो । उनले हिजै साँझ आफ्नी आमालाई पनि फोन गरेर आफ्नो अवस्था बताउँदै  बाबालाई लिन पठाइदिनुस् भनेको सुनार परिवारले जानकारी दिए  । 

‘एक्कासी आज विहान करिब १० बजेतिर मलाई फोन गरेर तपाईकी छोरी बिरामी परेर सिरियस् छिन भनियो, पछि अर्का आफन्तमार्फत ट्याङकीमा डुबेर ज्यान गएको भनियो,’ रक्षाका बाबुले भने, ‘त्यति अग्लो र गोलो ट्याङकीमा उक्लिने ठाउँ नै छैन, कहाँबाट माथि पुगिन छोरी ? यदि पानी झिक्न उक्लेकै भएपनि पानी झिक्ने बाल्टी वा कुनै भाँडा त्यसभित्र डुब्नुपर्ने कुनै भाँडा छैन ।’

बाबु गोपीकाअनुसार गत बर्ष मंसिर २९ गते रक्षाको विक्रमसँग मन्दिरमा विवाह भएको थियो ।  दुवै परिवारबीच विधिवत् विवाह गरिएपनि ढोग–भेटा भने गरिएको छैन ।

ससुरालीबाट ३ लाख लिएपछि थप तनाव
विक्रमको घरमा बाबुआमाले नसहेपछि उनीहरुले दिगाम भन्ने ठाउँमा सुनचाँदी पसल खोलेका थिए । ‘ज्वाईंले उनलाई दिगाम भन्ने ठाउँमा सुन चाँदी पसल खोलेर आफूसँगै राख्नुभएको थियो । त्यही क्रममा पुस २१ गते दिउँसो छोरीज्वाईं सँगै माइती आए,’ रक्षाका बाबु थपे, ‘पसल गर्छौं ३ लाख रुपैयाँ दिनुप¥यो भनेर ज्वाईंले भनेपछि अर्को दिन २२ गते मैले ३ लाख रुपैयाँ जुटाएर दिएँ ।’

रक्षाका बाबुको भनाई जस्ताको त्यस्तैः–
‘ज्वाईंले रक्षालाई माइतीमै छाडेर पैसा लिएर गए । अस्ती (आइतबार) मात्र छोरीलाई घर पठाएको थिएँ ।  छोरी घर गएदेखि कचकच सुरु भएछ । छोरीले कि पसल गर्नुस् कि त बाबाको त्यो पैसा फिर्ता गर्नुस भन्न थालिछन् ।  त्यही बिषयमा छोरीलाई तनाव सिर्जना गर्न सुरु गरिएछ ।’

‘हिजो साँझ मात्र होइन, बिहान पनि छोरीले मलाई लिन आउनुस् भनेर फोन गरेकी थिइन् । हिजो साँझ ज्वाईंसँग कुरा गर्दा उहाँ म सँग पनि झर्केर बोल्नुभयो ।  यसबाट छोरी आफैँ डुबेर होइन, कसैबाट हत्या नै भएको हो । अहिले पनि रक्षाको शव श्रृंङ्गा उपस्वास्थ्य चौकीमा राखिएको छ ।’

उनको शव माइतीजन नआउँदै चौकी पुर्याइयो ।  घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई घटनास्थलमा पठाएको र उनको शव जिल्ला अस्पताल ल्याउन थालिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।   

रक्षाको घरमा उनका अलवा ३ जना मात्रै रहेको तर आफूहरु तीनैजना घर नभएको र आफैँ डुबेर मरेको परिवारजनको दावी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप