शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रहेनन् दुखाइको औषधि आइबुब्रोफेनका जन्मदाता

दशकभन्दा बढी समयावधि खर्चेर डा. एडम्स र उनका टीमले थुप्रै पदार्थहरुमाथि अध्ययनअनुसन्धान र प्रयोग गरेका थिए, जसमध्ये थुप्रै असफल साबित भए तर उनीहरुले हार मानेनन् ।
शनिबार, १९ माघ २०७५, ०२ : ४८
शनिबार, १९ माघ २०७५

सर्कियो, मर्कियो, ठोक्कियो वा अरु कुनै कारणले शरीरको कुनै पनि भागमा दुखाइ पैदा भयो । दुखाइ सहन सकिएन, औषधि खानैपर्नेभयो । औषधि पसल वा डाक्टरसँग सल्लाह लिनुभयो । तपाईंलाई औषधि दिइयो । औषधि खानुभयो । केहीबेरमा निक्कै आराम भयो ।

पख्नुस्, डाक्टरले वा औषधि पसलेले तपाईंलाई दिएको औषधि ध्यानपूर्वक हेर्नुहोस् त ! व्यापारी नाम जेसुकै हुनु सक्छ तर त्यसमा लेखिएका औषधिको नाम पढ्दै जानुभयो भने तपाईंले फेला पार्नुहुनेछः त्यसमा त आइबुब्रोफेन (Ibubrofen)  पो रहेछ ।

हो, दुखाइका औषधिहरुमध्ये सबैभन्दा अग्रणी औषधिको नाम हो– आइबुब्रोफेन । यो औषधि आजको विश्वमा दुखाइ निको पार्न सर्वाधिक विक्री हुने औषिधिमा गनिन्छ ।

हो यही औषधिको जन्मदाता, बेलायती वैज्ञानिक डाक्टर स्टेवार्ट एडम्सको गत ३० जनवरीमा निधन भएको छ । विज्ञान जगत्मा योगदान पुर्याएवापत बेलायत सरकारद्वारा अर्डर अफ द व्रिटिश एम्पायर (Order of the British Empire) पदवीबाट विभुषित यी वैज्ञानिकको ९५ वर्षको उमेरमा बेलायतको नटिङघमस्थित क्विन्स मेडिकल सेन्टरमा निधन भएको हो ।

सन् ६० को दशकमा उनी वैज्ञानिक प्रवचन दिने गर्थे । त्यहीताका उनी साथीभाइसँग अबरेसम्म बाहिर बस्दा उनको टाउको दुख्ने गथ्र्यो । सोही टाउको दुखाइको उपचार खोज्ने क्रममा उनले आइबुब्रोफिन पत्ता लगाएका थिए ।

फर्केर हेर्दा

बेलायतको नर्थह्याम्पटनसायरको बायफिल्डमा १९२३ मा जन्मेका एडम्सले १६–१७ वर्षको कलिलो उमेरमै स्कुल परित्याग गरेर क्याम्ब्रिजसायरका एक केमिस्टकोमा फार्मेसीको तालिम थालेका थिए । पछि उनी नटिङघम विश्वविद्यालयमा फार्मेसीको अध्ययन गरे । त्यहाँ उनले फार्मेसीमा स्नातोकोत्तर गरे भने लिड्स विश्वविद्यालयबाट विद्यावारिधि । त्यसपछि उनी बुट्स प्युर ड्रग कम्पनीको अनुसन्धान विभागमा सन् १९५२ देखि जागिर खान थाले ।

त्यसको एक वर्षपछि उनले बाथरोग (rheumatoid arthritis)मा प्रभावकारी हुन सक्ने दुखाइ निवारक औषधिका बारेमा अनुसन्धान गर्न थाले । उनले यससम्बन्धी धेरैजसो अनुसन्धान नटिङघमस्थित आफ्नै घरमा गरेका थिए ।

दशकभन्दा बढी समयावधि खर्चेर गरिएको सोही अनुसन्धानको सिलसिलामा डा. एडम्स र उनका टीमले थुप्रै पदार्थहरुमाथि अध्ययनअनुसन्धान र प्रयोग गरेका थिए, जसमध्ये थुप्रै असफल साबित भए । तर उनीहरुले हार मानेनन् । अन्ततः उनीहरुले -(4-isobutylphenyl) propionic acid पत्ता लगाएरै छाडे ।

उनीहरुले पत्ता लगाएको त्यही एसिड पछि गएर आइबुप्रोफिनका रुपमा विश्वविख्यात भयो ।

सन् १९६२ मा त्यस औषधिको प्याटेन्ट दर्ताका लागि रजिष्टर गरियो । त्यसपछि पनि उनीहरुले त्यसमाथि थुपै्र प्रयोगात्मक अनुसन्धान गरिरहे र अन्ततः सन् १९६९ मा त्यसलाई औषधिको रुपमा विरामीलाई दिन सकिने लाइसेन्स हासिल गरे ।

यो विशिष्टि खोजका लागि उनलाई नटिङघम विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको थियो भने रोयल सोसाइटी अफ केमिस्ट्रीले पनि उनलाई सम्मान गरेको थियो ।

आफ्नो क्यारियरको अवधिभरि नै बुट्स कम्पनीमा आबद्ध रहेर उनले फर्मास्यूटिकल साइन्सका प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

त्यसो त उनका गृहनगरका मानिसहरु डा. एडम्सलाई विख्यात वैज्ञानिकका रुपमा मात्रै हैन, एक अत्यन्तै भद्र, भलाद्मी र असल व्यक्तिका रुपमा समेत सम्झने गर्छन् ।

तथ्य स्रोत/फोटो: विविसी, न्यूज स्काइ डट कम

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप