केन्द्रीय संस्करण
मेराे जीवन

कलाकार मदनदाश श्रेष्ठको जीवन : कलाकार र पत्रकारलाई हत्तपत्त छोरी दिँदैनन्

person explore access_timeमाघ १९, २०७५ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ पछिल्लो समय कलाकारितामा त्यति देखिँदैनन् । यसो भन्दैमा उनी फुर्सदिला भने होइन । उनलाई भ्याइ नभ्याइ छ । उनको यो व्यस्तता समाजिक कार्यले गर्दा बढेको हो ।
उनी अहिले ज्येष्ठनागरिक सङ्घका अध्यक्ष हुन् । यो सङ्घमा रहेर उनी ज्येष्ठ नागरिकको हकहित र सुविधाका लागि दिनरात खटिरहेका छन् । थुप्रै रेडियो नाटक, टेलिचलचित्र अभिनय गरेका श्रेष्ठको फिल्म अभिनयमा पनि महत्त्वपूर्ण योगदान रहेको छ । यी नै कलाकार श्रेष्ठसग रातोपाटीको ‘मेरो जीवन’ स्तम्भका लागि कुवेर गिरीले गरेको कुराकानी ।

मेरो पोसाक
मलाई जहिले पनि सेट मिल्ने पोसाक लगाउन मनपर्छ । उदाहरणका रूपमा निलो कलरको सर्ट लगाएको छु भने पाइन्ट पनि त्यसलाई म्याच गर्ने र कोट सुहाउँदो चाहिन्छ । सिधै भन्नुपर्दा टिपटप भएर हिँड्न रुचाउँछु ।


आफ्ना लागि मैले अहिलेसम्म पोसाक किनेको छैन । सधैँ श्रीमतीले किन्ने गरेकी छन् । मलाई के सुहाउँछ, के मनपर्छ, त्यो सबैको जानकारी  उनलाई छ । 

मेरो खाना
धेरै मनपर्ने खाना कालो मासको दाल, भात र रायोको साग हो । मन नपर्ने खासै केही छैन । पकाउन पनि सौखिन छु । मलाई मासु पकाउन भनेपछि जाँगर धेरै चल्छ । 

मेरो फिट्नेस
म अहिले ७१ वर्षको भएँ । यो उमेरमा पनि फिट छु । यसको मुख्य कारण खुसी हो । मानिस जहिले पनि हाँसीखुसी रहनुपर्छ भन्ने मेरो मान्यता हो ।

मानिसको जीवनमा विभिन्न पिर, समस्या त भइरहन्छ नि । यसका बाबजुद पनि हाँसीखुसी रहने व्यक्ति सधैँ फिट हुनुपर्छ । समस्या जहाँ उब्जन्छ म त्यहीँ मिलाउँछु । 

म समस्या बोकेर कहिल्यै हिँड्दिनँ । अर्काे कुरो सामाजिक काममा हरहमेसा लागेको हुन्छु । सामाजिक काम गर्दा कहिले कता कहिले कता हिँड्नुपर्छ । यो नै मेरो फिटनेस हो । अर्काे कुरो सधैँ सकारात्म सोच राख्ने मानिसलाई फिटनेसको जरुरत पर्दैन ।

मेरो अध्ययन
साहित्यमा रुचि भएकाले अध्यायन गर्न मनपर्छ । धेरै नाटकहरू पढ्छु । त्यसको अलवा उपन्यास पनि पढ्ने गरेको छु ।
पहिले पहिले नेपाली जासुसी उपन्यासहरू धेरै पढ्थेँ । अहिले नाटक र कथा अध्ययनमा रुचि बढेको छ । 
 
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । देशको हिमाली, पहाडीदेखि तराई भूभागसम्म पुगेको छु । विदेश पनि नघुमेको हैन । भारतको हैदरवाद त भर्खर पुगेर फर्किए ।

एसियाका सबैभन्दा ठूलो फिल्मसिटी कामोदी फिल्मसिटीसमेत घुमेर आएको छु । अमेरिका, बेलायत, पाकिस्तानलगायत देश पनि घुमेको छु । 

अमेरिकामा पुगेको समय हलिउडको सबैभन्दा ठूलो फिल्म स्टुडियो युनिभर्सल फिल्म स्टुडियो समेत हेर्ने मौका पाएँ । 

त्यो हेर्दा नेपालमा पनि यस्तै फिल्म सिटी बनाउन पाए हुन्थ्यो भन्ने कुराको सोच आयो । धेरैसँग छलफल गरेँ । चलचित्र विकास बोर्डको प्रयासले दोलखा जिल्लामा फिल्मसिटी निर्माण अगाडि बढेको छ ।

फिल्मसिटीको अहिले डीपीआरको काम भइरहेको छ । नपुगेको जिल्ला भनेको भोजपुर हो । जाने रहर छ ।

मेरो फुर्सद
फुर्सद त्यति धेरै हुँदैन । म सामाजिक काममा व्यस्त रहने भएकाले कहिले कता, कहिले हिँडिरहनु पर्छ । 

अहिले म ज्येष्ठ नागरिकहरूको संस्था ज्येष्ठ नागरिक सङ्घको अध्यक्ष पनि हुँ । यसको काममा पनि बिजी छु । फुर्सद भयो भने साथीहरूसँग बसेर रमाइलो गर्न मनपर्छ ।

मेरो खेलकुद
खेलकुदतिर अहिले इन्ट्रेस्ट छैन । पहिले कबडी, डन्डिबियो खुब खेल्थेँ । अहिले खेलप्रति त्यति लगाव छैन । 

एक पटक कलाकार समूहको फुटबल टुर्नामेन्ट भएको थियो । म पनि खेल्न मैदानमा उत्रिएको थिएँ । तर दस मिनेट खेल्दा पनि बल छुन सकिन । कुदेको कुदै भएँ । फुटबल गेम हेर्न भने धेरै रुचि छ ।

मेरो मोबाइल
मोबाइलामा खासै रुचि छैन । पहिले नोकियाको सानो मोबाइल बोक्थे । त्यसपछि साथीले विदेशबाट आइफोन पठाइदिनुभयो । त्यो बोके । 

आइफोनको चलाउँदाको बेग्लै कथा छ । एक कार्यक्रममा मोबाइलबाट केही फोटो खिचेको थिएँ । कार्यक्रममा एक म्याडमले फाटो मलाई पनि दिनु भन्नुभयो ।

मैले फोटो ट्रान्सफर गर्न आउँदैन तपाईं नै हाल्नुस् भनेर मोबाइल दिएको थिएँ । उहाँले के–के चलाउनुभयो भयो । फोन नै लक भएछ । 

त्यो लक खोल्न सकिनँ । त्यसपछि अहिले ओपो चलाइरहेको छु । मोबाइलामा फेसबुक, अनलाइन र युट्युबका भिडियो हेर्ने काम हुन्छ ।  

मेरो टीभी
घरमा सामसुङको ठूलो फ्ल्याट टीभी छ । त्यस अगाडि सोनीको टीभी थियो । त्यो डेट एक्स्पायर भयो भनेर नयाँ ल्याइएको हो ।

टेलिभिजन धेरै हेर्छु । टीभीमा धेरै हेर्ने भनेको भारतीय टीभीका क्राइम समाचारहरू हुन् । त्यसको अलवा नेपाली टेलिसिरियल, समाचार हेर्छु ।

मेरो चलचित्र
नेपाली फिल्म प्रायः हेर्ने गरेको छु । पछिल्लो समय हेरेको फिल्म ‘प्रसाद’ हो । हलमै गएर फिल्म हेर्न मनपर्छ । 

कहिले त फिल्मको प्रिमिएरमा समेत बोलउँछन् । बोलाएको समय जान भ्याइन भनेदेखि टिकट काटेर हेर्ने गरेको छु । 

कलाकारले फिल्म हेर्ने भए फोन गर्नुस् भन्छन् । जाबो २, ३ सय पर्ने टिकटका लागि ३, ४ पटक फोन गर्नुपर्छ । के फोन गर्नु जस्तो लाग्छ ।
 
मेरो रोग
भगवानको कृपाले ठूलो रोग अहिलेसम्म केही छैन । प्रेसर र अलिअलि सुगर छ । प्रेसर भएको करिब १५ वर्ष भयो होला ।
सुगर भने हालसालै देखिएको हो । दुवै रोगको लागि नियमित औषधि सेवन गरिरहेको छु । 

मेरो भाषाशैली
राष्ट्रिय भाषा नै बोल्न मनपर्छ । म नेवार हुँ, त्यो पनि दोलखाको । दोलखाको नेवारी भाषा अन्य स्थानको भन्दा धेरै फरक छ । 

सबैलाई सम्मान गरेर बोल्ने बानी मेरो सानैदेखिको हो । अरूले पनि त्यसरी नै बोलेको मनपर्छ । 

मेरो मापसे
मापसे नियमित जस्तै गर्छु । घरमा भन्दा पनि बाहिर साथीभाइसँग हो । ठाउँ एउटै हुँदैन । कहिले कता कहिले कता । 
मापसे गरेको बेला गाडी रेस्टुरेन्टमै छोड्छु । मापसेका लागि यही ब्रान्ड भन्ने छैन । थरिथरि खाइन्छ । 

मेरो सङ्गीत
गीत सङ्गीतमा धेरै रुचि छ । पुराना गीतहरू नियमित सुन्ने गरेको छु । अहिले आएका त्यति मनपर्दैन । नारायण गोपाललगायत पुराना गायक गायिकाको गीत नै राम्रो लाग्छ ।

अहिले गीतमा आवाज भन्ने चलन आएको छ । मेरो विचारमा त्यो आवज हैन । गीतमा शब्द, सङ्गीत र स्वर हुन्छ ।

बाघ कराएको मात्र आवाज भनिन्छ । गीतमा स्वर हुन्छ । मैले धेरै ठाउँमा यो भनेको छु । सुधार पनि गरेका छन् ।

मेरो भूल
जीवनमा जानी नजानी कहिले कहिले भूल भएका होलान् । जानेर अहिलेसम्म भूल गरेको छैन । सानोमा पनि धेरै भूल गरियो होला । तर अहिले याद छैन । 
 
मेरो सौन्दर्य
राम्रोतिर त आकषर्ण नहुने कुरै भएन । आफ्नो सौन्दर्यतिर भने खासै ध्यान दिन्न । आफू चिटिक्क भएर हिँड्न मनपर्छ ।

राम्रो हुने भन्दैमा कहिल्यै पनि मैले क्रिम पाउडर धसिनँ । कपालमा तेल भने सधैँ लगाएर हिँड्थे र हिँड्छु । 

मेरो प्रेम
मेरो प्रेम विवाह हो । २०३५ मा प्रेम विवाह गरेको हो । पहिलो प्रेममै विवाह गरे भनौँ न । दुई वर्षको प्रेमपछि विवाह भएको हो ।

हाम्रो कलाकारिता क्षेत्रमा प्रेम नभई र कलाकारिता नबुझ्नेसँग विवाह भयो भने टिक्दैन । धेरैको कलाकारको विवाह यसकारण पनि टिकेको छैन ।

एउटा चलेको भनाइ नै छ नि ‘कलाकार र पत्रकारलाई हत्तपत्त छोरी दिँदैनन् । यी दुवै पेसामा रहेका व्याक्तिको काम र दामको ठेगान नहुने भएकाले यसो भनेका हुन् । त्यसैले प्रेम बस्यो भने विवाह गरिहाल्न अरूलाई पनि सम्झाएँ ।  

मेरो सपना 
दोलाखा फिल्मसिटी बनाउने बिज मैले नै रोपेको हो । दोलखामा अन्तर्राष्ट्रिय स्तरको फिल्मसिटी भएको हेर्ने सपना छ । यसको संयोजक पनि मै हुँ ।

दोलखा मेरो गृहजिल्ला पनि हो । फिल्मसिटी बन्यो भने मेरो जिल्ला समृद्धि हुन्छ, जिल्लाका मानिसले काम पाउँछन् । त्यो ठाउँ विश्वभर चिनिन्छ । मेरो स्वर्थ यति मात्र हो ।    

मेरो मृत्यु
मृत्यु धु्रव सत्य कुरो हो । यो निश्चित छ । मृत्यु नजिक आएको आभास नहोस् भन्ने मेरो धारणा छ । सरप्राइज हुने गरी मृत्यु आयोस्, यही छ चाहना ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ