केन्द्रीय संस्करण
राजनीति

बामदेव अर्थात् ‘मौन’ कमरेड !

person explore access_timeमाघ २०, २०७५ chat_bubble_outline0
बबिता शर्मा

रातोपाटी

काठमाडौँ– झन्डै दुई हप्ता चलेर गत पुस १३ गते सकिएको नेकपाको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य बामदेव गौतमको चासो निकै थियो । उनले आफ्नो असन्तुष्टि मौखिक र लिखित रूपमा राख्दै आएका थिए । तर पछिल्लो एक महिना गौतम गुमनाम अनि मौन छन् । भेटघाट पनि पातलो बनाएका छन् । 

आखिर गौतम किन मौन छन् ? के उनी मौन बसेर शक्तिसञ्चय गर्दैछन् ? मौन बसेका गौतमले अहिले पार्टीका को–को नेतासँग संवाद गरिरहेका छन् ? र के गौतम अब चुनाव नलड्ने मनस्थितिमा पुगेका हुन् ? अहिले नेकपाभित्र धेरै नेता–कार्यकर्ताबीच उठ्ने प्रश्न हुन् यी । यी प्रश्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि सुनिन्छन् र नेकपाका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पनि । 

नेकपाभित्र उठेका प्रश्नको जवाफ जान्न हामीले गौतमको विगत, उनका पछिल्ला अभिव्यक्ति र भेटघाट तथा उनी नजिक रहेका नेकपाका केही नेतासँगको कुराकानीलाई जोडेर केही तथ्यहरू निकाल्ने कोशिस गरेका छौँ । यसरी हेर्दा गौतम मौन बस्नुका केही कारण भेटिए ।

तथ्य १– 
चुनावको चर्चा, पार्टीभित्र असहयोग र बदनाम

तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम पराजित भए । त्यसपछि नेता गौतमले आफ्नो पराजयको प्रमुख कारण ‘अन्तर्घात’ ठाने । यो कुरा उनले सार्वजनिक रूपमै पनि भने । अनि तत्कालीन एमालेले छानविन समिति पनि बनायो । तर उक्त समितिको विस्तृत प्रतिवेदन बाहिर आएन । 

त्यसपछि नेता गौतमले आफ्नो रणनीति बदले । अन्य ठाउँबाट चुनाव लडेर अन्तर्घात गर्ने नेता–कार्यकर्तालाई जितेरै जवाफ दिन चाहन्थे । र, लगत्तै तयारी पनि थाले । 

डोल्पाका सांसद धनबहादुर बुढालाई राज्यमन्त्री बनाए । यसमा शर्त थियो– चुनाव क्षेत्र खाली गर्ने । यो विषय नेकपामा प्रवेश गर्नासाथ ठूलो हल्लखल्ली भयो । नेकपामा एकाएक तरङ्ग नै ल्याइदियो । पार्टीभित्र र बाहिर गौतमको आलोचना धेरै भयो । अन्तिम समयमा आएर नेता गौतमलाई सांसद बुढाले नै धोका दिए । गौतमको आलोचना र आफ्नो पक्षमा प्रधानमन्त्री केपी ओली रहेपछि बुढा आफ्नो निर्वाचन क्षेत्र खाली गर्नबाट पछाडि हटे । जसले गर्दा नेता गौतमको डोल्पाबाट चुनाव लड्ने चाहनामा ‘ब्रेक’ लाग्यो । 

त्यसबाहेक नेता गौतमको चुनाव लड्ने चर्चा अन्य जिल्लामा पनि हुन थाल्यो ।  ललितपुर–१, नवलपुर, पूर्वी रुकुम, प्युठान, धनकुटा–१ र बाँके–३ बाट उपनिर्वाचन लड्ने चर्चा चल्यो । ती क्षेत्रमा पनि सांसदहरूले राजीनामा दिन मानेन् । त्यतिबेलासम्म पनि गौतम थाकेका थिएनन् । 

त्यसपछि अर्को वैकल्पिक क्षेत्र काठमाडौँ ७ को चर्चा चल्यो । 

नेता गौतमले काठमाडौँ ७ बाट चुनाव लड्ने सोच बनाएका थिएनन् । तर काठमाडाँै ७ का सांसद रामवीर मानन्धर राजीनामा दिन आफू तयार भएको भन्दै नेता गौतम कहाँ पुगे । सांसद मानन्धरले राजीनामा दिने प्रस्ताव गरे पनि नेता गौतमलाई पार्टीबाट निर्णय गराउनुपर्ने अवस्था थियो । तर नेता गौतम काठमाडौँ–७ बाट उपनिर्वाचन लड्ने चर्चाले त्यसबेला पार्टीभित्रै र बाहिरबाट तीव्र आलोचना भयो । 

सांसद रामवीर मानन्धर राजीनामा दिन तयार भए पनि पार्टीभित्रैबाट नेता गौतमको चाहनामा ब्रेक लगाउने खेल सुरु भयो । त्यसपछि नेता गौतमको उपनिर्वाचन लड्ने च्याप्टर ‘क्लोज’ भयो । 

गौतमको उम्मेदवारीलाई लिएर नेकपाभित्र बढ्दो अन्तरविरोध र पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको ‘नकारात्मक’ भूमिकापछि नेता गौतमको चुनाव लड्ने चाहनामा ‘ब्रेक’ लागेको थियो । गौतममाथि भारतीय चाहनामा चुनाव लड्न थालेको आरोपसमेत लाग्यो । त्यसपछि चुनाव लड्ने मनस्थितिबाट गौतम एक कदम पछाडि हटे । पछिल्लो समय प्रधानमन्त्री ओली, सचिवालय सदस्य इश्वर पोखरेल लगाएतका केहि नेताहरुबाट आफुँलाई बदनाम गराउने खेल भएको ठहर नेता गौतमले गरेका छन् । उनको मौनतामा एउटा यो फ्याक्टरले काम गरेको बुझिन्छ ।

तथ्य २–
स्थायी कमिटीमा पेश गरेको प्रस्ताव अलपत्र

मङ्सिर २९ देखि पुस १३ गतेसम्म चलेको नेकपाको स्थायी कमिटी बैठकमा पनि नेता गौतम एकाएक चर्चामा आए । त्यतिबेला नेता गौतमले अध्यक्षद्वय ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनलाई ‘काउन्टर’ दिँदै आफ्नो लिखित फरक मत बैठकमा प्रस्तुत गरे । अध्यक्षद्वय ओली र प्रचण्डको संयुक्त प्रतिवेदन अपूरो भएको भन्दै नेता गौतमले भिन्दै प्रतिवेदन अगाडि सारेका थिए । 

बैठक अवधिभर अधिकांश नेताहरूले उनको प्रतिवेदनमाथि सकारात्म र नकारात्मक दुवै टिप्पणी गरेका थिए । केही नेताले त नेता गौतमको प्रतिवेदन अध्यक्ष ओलीप्रतिको कुण्ठा भएको समेत टिप्पणी गरे । तर बैठकमा बोल्ने अधिकांश नेताले प्रतिवेदनमा भएका सकारात्मक कुरालाई अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समावेश गर्न आग्रह गरेका थिए । बैठकको अन्तिम दिन अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सच्याउने सर्तसहित पारित भयो । तर, नेता गौतमले उठाएका कुरा अध्यक्षद्वयको प्रतिवेदनमा समावेश हुने नहुने निश्चित छैन । किनभने बैठक सकिएको महिना दिन बित्दा पनि प्रतिवेदनले अझैसम्म अन्तिम रूप पाएको छैन । अर्थात प्रतिवेदनमाथि अझै पनि केही न केही लफडा नै छ । 

तथ्य ३–
ओली र प्रचण्डसँग असन्तुष्टि

आफू उपनिर्वाचन लड्ने प्रस्तावमा नकारात्मक भूमिका खेलेको भन्दै प्रधानमन्त्री ओलीसँग रुष्ट छन्, नेता गौतम । पछिल्लो समय काठमाडौँ–७ बाट उपनिर्वाचन लड्ने प्रसङ्गपछि नेता गौतम र प्रधानमन्त्री ओलीबीच बोलचालसमेत नहुने गरेको उनी निकट नेताहरूले बताएका छन् । त्यसैको परिणाम नेता गौतमले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचनासहित छुट्टै प्रतिवेदन पेश गरिएको टिप्पणी पनि हुने गरेको छ । त्यस्तै अर्का अध्यक्ष प्रचण्डसँग पनि पछिल्लो समय उनको सामान्य संवाद छ । पहिलाजस्ते नियमित संवाद छैन । अर्थात गौतम ओली र प्रचण्डसँग जानीजानी टाढा बसेका छन् । 

तथ्य ४–
भिन्दै गुटको तयारी र शक्ति सञ्चय

नेता गौतमले एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा नेकपामा आफूले छुट्टै गुट बनाउने घोषणासमेत गरेका थिए । उनले नेकपामा आफ्नो विचारसँग सहमत हुनेहरूलाई आफूले नेतृत्व प्रदान गर्ने बताएका थिए । नेकपामा आफूले गुट बनाएको खण्डमा सबैभन्दा शक्तिशाली हुने दाबीसमेत उनले गरेका छन् । नेकपामा गुट नबनाउँदा कमजोर भएको समेत उनले बताएका छन् । अहिले गौतमले आफ्नो गुट निर्माण थाले भन्ने ठोस अवस्था त छैन । तर आवश्यकताअनुसार गुट बनाउन सकिने सङ्केत दिएका छन् । त्यसकारण उनी अहिले मौन बसे पनि भविष्यका लागि शक्ति सञ्चय गरिरहेको अनुमान गर्न सकिन्छ । 

तथ्य ५–
विकास मोडल अलपत्र

पार्टी एकता संयोजन समितिले ०७४ माघ ७ मा ‘सुशासन तथा विकास प्राथमिकताका सम्बन्ध’मा सुझाव दिन भन्दै गौतमको संयोजकत्वमा एउटा कार्यदल बनायो । उनले ओली प्रधानमन्त्री बनेको तीन दिनपछि ०७४ फागुन ६ मा प्रतिवेदन बुझाए । ६१ पृष्ठको प्रतिवेदनमा उनले विकास मोडलको तस्बिर उतारे । तर प्रधानमन्त्री ओलीले त्यसलाई डस्बिनमा हालेको गौतमको बुझाइ छ ।  सरकारले प्रतिवेदनलाई प्राथमिकता नदिएको गौतमको निष्कर्ष छ ।

त्यसबाहेक ०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट घोषणापत्र मस्यौदा समितिका संयोजक गौतम नै थिए । तर सरकारले पार्टीको घोषणापत्रभन्दा बाहिरबाट नीति तथा कार्यक्रम बनाएको भन्दै गौतमले असन्तुष्टि जनाए । यसमा पनि ओलीबाट धोका भएको गौतमको ठम्याइ छ । 

पार्टी एकताका लागि आफूले पहल गरे पनि अन्तिम समयमा धेरै कुरा थाहै नदिई एकता गरिएको गौतमले बताउने गरेका छन् । 

गौतम एक ‘खतरनाक’ राजनीतिक खेलाडी
गौतम अहिले मौन छन् तर उपयुक्त समयमा कठोर निर्णय लिएर पार्टीभित्रको खेल उल्ट्याउने गरेको उनको इतिहास छ । त्यो सँगै अप्ठेरो परेका बेला चुनौतीपूर्ण कामको जिम्मेवारी दिने र प्रयोगपछि नेता गौतमलाई किनारामा धकेलिएका इतिहास पनि नभएका होइनन् । 

उदाहरणका लागि ०७२ असोजमा ओली, ०६८ माघमा झलनाथ खनाल र ०६६ जेठमा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन गौतमको महत्त्वपूर्ण भूमिका रह्यो । तर प्रधानमन्त्री भएपछि तीनै जनासँग गौतमको सम्बन्ध राम्रो भने रहेन । गौतमले आफूलाई सधैँ धोका हुने गरेको गुनासोसमेत गर्दै आएका छन् । 

०७० को संविधानसभाको दोस्रो चुनावमा नेता खनाल जितको जस लिन चाहन्थे । यसका आधारमा उनी संसदीय दलको नेता बन्न चाहे । माधव नेपालको पनि खनाललाई नै समर्थन थियो । तर, केपी ओली पनि संसदीय दलको नेता बन्न चाहेका थिए । ओलीले गौतमलाई आफुँलाई सहयोग गर्न प्रस्ताव गरे । त्यसकै आधारमा गौतमले अध्यक्ष र संसदीय दलको नेता एउटै व्यक्ति हुनुपर्छ भन्ने कहाँ छ ? केपी ओलीले पनि मौका पाउनुपर्छ । भन्ने अडान राखे । उनको यही अडानले ओली संसदीय दलको नेता बने । त्यसबेला संसदीय दलमा गौतमका पक्षमा झन्डै १५ जना सांसद थिए । 

त्यतिवेला ओलीले गौतमलाई विभिन्न आश्वासन दिएका थिए । नवौँ महाधिवेशनमा गौतमले ओलीलाई सहयोग गर्ने, ओली पार्टी अध्यक्ष भएपछि गौतमलाई संसदीय दलको नेता बनाउने सहमति भएको बताउने गरिएको छ । यसबाहेक ओली प्रधानमन्त्री भएपछि केही समयका लागि भए पनि गौतमलाई अध्यक्षको जिम्मेवारी दिने उनीहरूबीच सहमति भएको कुरा नेता गौतमले आफुँ निकट नेताहरुलाई बताएका थिए । तर, सहमतिअनुसार ओलीले पद नछाडेको गौतमको गुनासो रहँदै आएको छ । 

रुक्माङ्गद कटवाल प्रकरणमा प्रचण्डको राजीनामापछि काँग्रेस–एमालेबीच सहकार्य भयो । काँग्रेस एमालेलाई प्रधानमन्त्री दिएर सरकारमा सहभागी हुन तयार भयो । त्यतिवेला पार्टी अध्यक्ष खनाल थिए । तर केन्द्रीय समिति बैठकमा गौतमले नेपाल प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव राखेका थिए । र, यही प्रस्ताव पास भयो । अनि नेपाल प्रधानमन्त्री भए । नेपाल प्रधानमन्त्री भएपछि गौतम–नेपाल सम्बन्ध विग्रियो र नेपाल नेतृत्वको सरकार ढल्यो । ०६८ जेठमा नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिए । 

यति मात्र पनि होइन, खनाललाई प्रधानमन्त्री बनाउन पनि गौतमले भूमिका खेले । नेपालको कार्यशैलीबाट असन्तुष्ट गौतम पछि खनालकै पक्षमा उभिए । पछि खनाल–गौतमबीचको सम्बन्ध पनि राम्रो भएन । 

अब के होला गौतमको रणनीति ?  
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डको पछिल्लो सम्बन्ध साथै विगतको भूमिका हेर्ने हो भने गौतम आवश्यकताअनुसार कदम चाल्ने खेलाडी हुन् । उनले एउटा टर्निङ पोइन्ट पुगेर नेकपाको शक्ति सन्तुलन र नेताहरूको भूमिका बदल्ने हैसियत राख्छन् भन्ने अनुमान गर्न सकिन्छ । पछिल्लो पटक ओलीबाट ठूलो धोका पाएको र आफूलाई किनारा लगाउन खोजेको बुझाइ रहेका गौतमले त्यस्तो कदम कहिले चाल्ने हुन्, अहिल्यै भन्न सकिन्न । तर, ओलीसँग भेटघाटै बन्द गरे पनि प्रचण्ड, भलनाथ, माधव र नारायणकाजीसँग आवश्यकताअनुसार संवादमा रहेका गौतमले कहाँ पुगेर कसकसको खेल विगार्ने हुन् ? अब नेकपाभित्र यसको ठूलो अर्थ रहने छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ