शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशमा सबैभन्दा बढी उजुरी स्थानीय तहका, कर्मचारी र जनप्रतिनिधि दुवै फन्दामा !

मङ्गलबार, २२ माघ २०७५, १० : ०९
मङ्गलबार, २२ माघ २०७५

अपरेसन नम्बर–१ 

गत पुस १२ गते बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष उत्तम चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अवैध रकम लिँदै गरेको अवस्था नियन्त्रणमा लियो । उनले क्रसर उद्योगीलाई दर्ताको सहमति दिने नाममा २ लाख ५० हजार रुपैयाँ घुस मागेका थिए । त्यसपछि उद्यागीको सूचनाका आधारमा अख्तियारको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको शाखा अधिकृत कृष्ण पौडेलले बताए । 

अपरेसन नम्बर–२

पुस १३ गते  रुपन्देही शुद्धोधन गाउँपालिकामा कार्यरत इन्जिनियर कपिल अर्याल र सबइन्जिनियर लक्ष्मण ढुङ्गाना पुरानो भवनको नक्सा पास गर्न लिएको ८० हजार घुस रकमसहित अख्तियारको नियन्त्रणमा परे । 

अपरेसन नम्बर– ३

पुस ८ गते बुटवल उपमहानगरपालिका वडानम्बर १३ का वडासचिव भरत काउछा बसाइँसराइको प्रमाणपत्र मिलाइदिन्छु भन्दै ५ हजार घुस लिँदै गर्दा पक्राउ परे । 

माथिका तीन घटनाबाटै थाहा हुन्छ ५ नम्बर प्रदेशमा स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरुमाथि अख्तियारको आँखा परेको छ । उजुरी पनि जनप्रतिनिधि र कर्मचारीसँग जोडिएर धेरै पर्ने गरेका छन् ।

स्थानीय तहमा सेवाग्राहीले सामान्य काममा पनि घुस दिनुपर्ने अवस्था छ । सिफारिस, प्रमाणपत्र जस्ता अति सामान्य काममा पनि घुस दिनुपरेपछि सर्वसाधरणले अरू काम कसरी गराउलान् ? प्रश्न गम्भीर र सोचनीय छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका अनुसार भ्रष्टचारको सबैभन्दा ठूलो अखडा स्थानीय तह बनेको छ । यस्तै पाँच नम्बर प्रदेशमै रहेको अख्तियारको अर्को सम्पर्क कार्यालय नेपालगञ्ज पनि भ्रष्टाचारको अखडा स्थानीय तह नै बनेको निष्कर्षमा पुगेको छ । 

रुपन्देहीमा स्थानीय तहसँग सम्बन्धित मात्रै १ सय ११ वटा उजुरी परेका छन् । जसमा ४५ वटा निवेदनको मात्रै फैसला भएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए । 
स्थानीय तहमा लामो समयपछि जनप्रतिनिधिहरु निर्वाचित भएको र केही कानुनी समस्याले पनि भ्रष्टचार मौलाएको भ्रष्टचारविरुद्ध क्रियाशील संस्था पारदर्शी सरोकार समूह रुपन्देहीका अध्यक्ष महेन्द्र पाण्डे बताउँछन् ।

‘एकातिर कानुन, विधि र प्रक्रियामै अलमल छ, अर्कोतर्फ जनताको अपेक्षा धेरै हुँदा यसले पनि भ्रष्टाचार बढाएको छ’, पाण्डेको भनाइ छ । 

नियमनकारी निकायले पनि साना विषयमा मात्रै ध्यान केन्द्रित गरेकाले भ्रष्टाचार न्यूनीकरणमा समस्या आएको उनले बताए । अधिवक्तासमेत रहेका उनले भने, ‘नीतिगत रुपमा भ्रष्टचार अन्त्य कसरी गर्ने भन्ने विषयमा पनि काम हुनुपर्छ । साना घटनामा मात्रै अख्तियार केन्द्रित भएर हुँदैन ।’ प्रदेश ५ को तथ्याङ्कअनुसार सबैभन्दा धेरै उजुरी स्थानीय तहसँग सम्बन्धित छन् । 

कुन मन्त्रालयमा कति उजुरी ?

बुटवल कार्यालयमा ३ सय ८ वटा उजुरी स्थानीय तहका छन् । स्थानीय तहहरु सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्दछन्, जसमा हाल ३२५ उजुरी परेका छन् । जसमध्ये १२० फछ्र्योट भएका छन् भने २०५ वटा बाँकी रहेको अख्तियारको तथ्याङ्कले देखाएको छ । 

यो प्रदेशमा सबैभन्दा कम उजुरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका छन्, जसमा एउटा मात्र उजुरी परेको छ । यो कार्यालयमा पाँच नम्बर प्रदेश र चार नम्बर प्रदेश गरी १० वटा जिल्ला बुटवलबाट हर्ने गरेको छ । उजुरीको आधारमा मान्ने हो भने दोस्रोमा शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालय रहेको सूचना अधिकारी  भुसालको भनाइ छ । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ७४ वटा उजुरी  परेका छन्, जसमा ३३ वटा फछ्र्योट भएका छन् भने ४१ वटा बाँकी छन् । 

अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयले बाँके ,बर्दिया, र दाङ जिल्ला हेर्छ भने बुटवलले पाँचनम्बर प्रदेशका अरु जिल्ला हेर्छ । 

नेपालगञ्ज शाखा अधिकृत कृष्ण पौडेलले कार्यालयमा ५० प्रतिशत उजुरी स्थानीय तहका भएको बताए । उनका अनुसार पदको दुरुपयोग गरेको, भवन निमार्णमा भ्रष्टाचार गरेको, समान खरिद गर्दा भ्रष्टाचार गरेको लगायतका छन् । 

तर प्रदेश सरकार भने प्रदेशका १ सय ९ वटा स्थानीय तह सुशासनयुक्त बनाउन प्रतिबद्ध रहेको बताउँदै आएको छ । प्रदेश सरकारका मुख्य सचिव डा. तीर्थराज ढकालले सरकारले स्थानीय तहसँग जोडिएका भ्रष्टचार र अनियमितताका विषयमा उजुरी लिने गरेको बताए । उनले आएका केहीँ उजुरीमाथि कारवाही थालिएको पनि बताए । 

‘सुशासनयुक्त स्थानीय तह बनाउन कार्यविधिको मस्यौदा तयार भइरहेको छ’, उनको भनाइ छ । 

भ्रष्टाचारले जनतामा निराशा

बुटवलस्थित अख्तियार कार्यालयले पछिल्लो ६ महिनामा ६ वटा स्ट्रिङ अप्रेसन गरेको छ । उक्त अप्रेसनमा साउनमा ३ र पुसमा २ वटा घटनामा सरकारी कर्मचारीहरु रङ्गेहात पक्राउ परे । गत साउन २८ गते यातायात व्यवस्था कार्यालय लुम्बिनीको सवारी दर्तामा कार्यरत सवारी जाँच पास प्राविधिक मेकानिकल इन्जिनियर सरोजकुमार शाह २० हजार घुस लिँदालिँदै पक्राउ परेका थिए । उनले कम्पनी संशोधन गर्न सेवाग्राहीसँग २० हजार घुस मागेका थिए । उनीविरुद्ध अख्तियारले भदौ ८ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

यसैगरी साउन १२ गते भवन तथा सहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख ७२ हजार ५ सय रुपैयाँ घुससहित पक्राउ परे । इन्जिनियर ठाकुरले विभिन्न ठेक्काको भुक्तानी मिलाइदिने भन्दै घुस मागेका थिए । उनी सिद्धार्थनगर नगरपालिका बर्मेली टोलबाट १२ लाख पचास हजार नगद र २४ लाख रुपैयाँको बैङ्क भौचरसहित पक्राउ परेका थिए । 

अख्तियारले ठाकुरलाई असोज २१ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । यस्तै साउन १२ गते नै तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मीका सबइन्जिनियर प्रकाश झा नगद १ लाखसहित पक्राउ परे । ठेक्काको बिल मिलाउन उनले १ लाख घुस मागेका थिए । झाविरुद्ध भदौ ४ गते विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियारको बुटवल कार्यालयले ६ वटा मुद्दा विशेष अदालतमा दायर गरेर कारवाही प्रक्रिया अगाडि बढाएको छ । ५ वटामा स्ट्रिङ अप्रेसन गरेको हो भने एउटा फाइनलबाट कारवाही अघि बढेको सूचना अधिकारी भुसालले जानकारी दिए । 

यस्तै जोगडा माविमा विज्ञानका सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै सोही विद्यालयका प्राचार्यविरुद्ध कारवाही अघिबढाएको अख्तियारले जनाएको छ । अख्तियारमा फोन, फ्याक्स, इमेल, हटलाइन १०७ तथा पत्रपत्रिकाका आधारमा उजुरी लिने गरिएको छ । शिक्षा, सहकारी, वन, कृषि, पशुपक्षी, खानेपानी जस्ता क्षेत्रका उजुरी अख्तियार कार्यालय बुटवलमा परेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप