बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विषयगत प्रश्नोत्तर (लोकसेवा टिप्स)

बुधबार, २३ माघ २०७५, १२ : ३६
बुधबार, २३ माघ २०७५

१. नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका कस्तो रहेको छ ? उल्लेख गर्नुहोस् ।
आर्थिक विकास अर्थतन्त्रको समग्र विकास हो । आर्थिक वृद्धि दर उच्च, दिगो, फराकिलो, समावेशी तथा न्यायिक भएमा आर्थिक विकास हुन्छ । नेपालको संविधानको धारा ५१(घ)(१) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति छ । विकास सहायता नीति, २०७१ ले निजी क्षेत्रलाई विकासको एक प्रमुख साझेदार स्वीकार गरेको अवस्था छ । चालू योजनामा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रष्ट गरिएको छ र पनि नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका सन्तोषजनक भएको पाइँदैन । 
अस्थिर राजनीति, अस्थिर सरकार, अस्थिर नीति, लगानीको प्रतिकूल वातावरण, सरकार र लगानीकर्ताबीच अविश्वास, कानुनी जटिलता, ऊर्जा सङ्कट आदि कारणले नेपालमा निजी क्षेत्र फस्टाउन सकेन, जसले गर्दा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रभावकारी हुन सकेन । समग्रमा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका निम्नानुसार रह्यो ः 
–    बस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व वृद्धि  हुन सकेन ।
–    रोजगारी सृजना गर्ने कार्य प्रभावकारी भएन । 
–    निजी क्षेत्रबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण तयार हुन सकेन ।
–    मूल्य वृद्धि  नियन्त्रण गर्ने कार्य कमजोर भयो ।
–    निर्यात वृद्धि  हुन सकेन, आयात बढेर व्यापार घाटा उच्च रह्यो ।
–    मुलुकमा नयाँ नयाँ प्रविधि भिœयाउन सकिएको छैन ।
–    विदेशी मुद्रा आर्जन गर्ने कार्य प्रभावकारी भएको छैन ।
उपरोक्त अवस्था देखिए पनि शिक्षा, स्वास्थ्य, संचार, पर्यटनजस्ता क्षेत्रमा निजी क्षेत्रको भूमिका प्रभावकारी भएको पाइन्छ । मुलुकमा राजनीतिक स्थायित्व कायम गरी नीतिगत स्थिरता मार्फत लगानीको वातावरण तयार गरेर नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका थप बढाउनु पर्ने देखिन्छ । 
२. बसाइँसराइ भनेको के हो ? नेपालमा बसाइँसराइ हुने प्रमुख दुई कारणहरू छोटकरीमा वर्णन गर्नुहोस । 
मानिस आपूm बसेको गाउँ, ठाउँ वा देश छोडेर अर्को गाउँ, ठाउँ वा देशमा सर्ने कार्यलाई बसाइँसराइ भनिन्छ । बसाइँसराइ एक प्रकारको स्थानान्तरण हो । मानिस सामान्यतयाः सुविधाका लागि बसाइँ सर्दछन् । बसाइँसराइ एक निरन्तर प्रक्रिया भएकाले यसलाई रोक्न सकिँदैन तर व्यवस्थित गर्न सकिन्छ । यसलाई व्यवस्थित गर्न उद्गम र गन्तव्य दुबै स्थानमा विकासका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
नेपालमा बसाइँसराइ हुने प्रमुख दुई कारण :
नेपालमा बसाइँसराइ हुने प्रमुख दुई कारण आकर्षण पक्ष र विकर्षण पक्ष नै हुन् । आन्तरिक बसाइँसराइ र अन्तर्राष्ट्रिय बसाइँसराइ दुबैमा यी कारण जिम्मेवार छन् । जसलाई निम्नानुसार वर्णन गर्न सकिन्छ 


क. आन्तरिक बसाइँसराइका कारण
१. हिमाल÷पहाड प्रति विकर्षण । गरिबी, बेरोजगारी, कम उत्पादन, शिक्षा, स्वास्थ्यको कमी ।
२.    तराईप्रति आकर्षण । खेतीयोग्य जमिन, इष्टमित्र, रोजगारी, यातायात, शिक्षा, स्वास्थ्यको सुविधा ।
ख. अन्तर्राष्ट्रिय बसाइँसराइका कारण
१.    प्रवासका कारण
-   नेपालप्रति विकर्षण गरिबी, बेरोजगारी ।
-   विदेशप्रति आकर्षण उच्च तलब, रोजगारी, सुविधा ।
२.    आप्रवासका कारण
-   नेपालप्रति आकर्षण । शान्त, खुला सीमाना, दक्ष जनशक्ति÷मजदूरको कमी, सामाजिक एवं धार्मिक सम्बन्ध ।

३. फाइलिङको उद्देश्य के हो ? फाइल राख्ने तरिकाहरू के के हुन् ?
फाइलिङको उद्देश्य 
भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी कागजपत्र फाइलमा सुरक्षित राख्नु फाइलिङको प्रमुख उद्देश्य हो । फाइलिङका अरू उद्देश्य निम्न छन ः 
–    आवश्यक परेको समयमा प्रमाणको रूपमा कागजात जुटाउनु ।
–    कार्यहरूलाई दोहोरिन नदिनु ।
–    एक अर्कामा तुलना गर्न सहयोग गर्नु ।
–    कार्यालयमा सूचना एवं प्रतिवेदन सजिलै उपलब्ध गराउनु ।
–    अनुगमन र मूल्याङ्कनको कार्यमा सहयोग गर्नु ।
फाइल राख्ने तरिकाहरू 
कागजातहरू सुरक्षित हुने गरी फाइलमा मिलाएर राख्ने कार्य फाइलिङ हो । फाइलिङ बिभिन्न तरिकाले राख्न सकिन्छ । तार फाइलिङ, बाकस फाइलिङ, धरातलीय फाइलिङ, ठाडो फाइलिङ आदि तरिकाले पनि कागजपत्र फाइलमा सुरक्षित राख्न सकिन्छ । सामान्यतयाः फाइल निम्न तरिका अबलम्बन गरी राखिन्छ ः
१. वर्णानुक्रमफाइलिङ
यसमा फाइलको नाम नेपाली वर्णमाला क, ख, ग वा अङ्ग्रेजी ब् द्य ऋ को क्रममा राखिन्छ । जस्तै ः कृषि सामाग्री कम्पनी लि. ‘क’ बाट, खाद्य संस्थान ‘ख’ बाट । 
२. सङ्ख्यात्मक फाइलिङ
यसमा फाइलमा १,२,३ सङ्ख्या लेखेर कागजपत्र मिलाएर राखिन्छ । सङ्केत कार्ड सोही अनुसार तयार गर्नुपर्दछ । 
३. विषयगत फाइलिङ
यसमा कागजपत्रको विषयअनुसार फाइल बनाएर राखिन्छ । जस्तै ः कम्प्युटर सम्बन्धी कागजपत्र कम्प्यूटर नामको फाइल खडा गरेर राखिन्छ । 
४. भौगोलिक फाइलिङ
यसमा भौगोलिक क्षेत्रअनुसार फाइल खडा गरिन्छ । अञ्चल, जिल्ला, नगरपालिकाआदिको नाम लेखेर फाइल तयार गरिन्छ । 
४. नेपालमा जैविक विविधता संरक्षणका उपायहरूबारे चर्चा गर्नुहोस् ।     
जीवित प्राणी एवं वनस्पतिहरूको बासस्थान र तिनको वङ्शाणुगत गुणको जगेर्ना गर्नु जैविक विविधता संरक्षण हो । हिमाल, पहाड र तराईमा विभक्त नेपालको प्रत्येक प्रदेशमा जैविक विविधतामा पनि भिन्नता छ । यिनको संरक्षण गर्नु आवश्यक छ । यसका लागि निम्न उपायहरू अवलम्वन गर्नुपर्दछ ः 
–    नेपालको प्रत्येक भौगोलिक क्षेत्रमा अवस्थित जैविक विविधताको अध्ययन गरी प्रत्येक जीवजन्तुहरूको स्थिति, बासस्थान, अवस्थावारे जानकारी लिई सोहीअनुसार संरक्षणका कार्यक्रम तर्जुमा गरी लागु गर्ने ।
–    जैविक विविधताको संरक्षणमा स्थानीय सङ्घसंस्था, समुदायको सक्रिय सहभागिता बढाउने ।
–    जैविक विविधताको महìवबारे जनचेतना वृद्धि  गर्ने ।
–    वनजङ्गल जोगाउने, हरियाली बढाउने ।
–    वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने ।
–    वनसम्पदाको प्रयोगमा कटौती गर्ने ।
–    वन्यजन्तुको सङ्रक्षण गर्ने ।
–    रासायनिक मल एवं कीटनाशक औषधिको प्रयोग कम गर्दै जाने ।
–    जैविक विविधताको संरक्षण गर्न कानुन तर्जुमा गरी कार्यान्वयन गर्ने ।
–    धार्मिक एवं सांस्कृतिक परम्पराको उपयोग गरेर पनि जैविक विविधताको संरक्षण गर्ने, जस्तैः वर, पिपल, तुलसी, वेल, रुद्राक्ष आदिको जगेर्ना गर्ने । 
५. सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीका दायित्व के के हुन् ? उल्लेख गर्नुहोस् । 
सरकारले उपलब्ध गराएको सार्वजनिक सेवा ग्रहण गर्ने नागरिक सेवाग्राही हुन् । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीका दायित्व धेरै हुन्छन् । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
-   राष्ट्रप्रति निष्ठावान हुने ।
-   देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने ।
-   संविधान र कानुनको पालना गर्ने, जानकारी राख्ने, कानुनी शासनको सम्मान गर्ने ।
-   राज्यले चाहेका बखत अनिवार्य सेवा गर्ने ।
-   सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने, गराउने ।
-   आफ्नो अधिकार र दायित्वप्रति सदा सचेत रहने ।
-   अन्य सेवाग्राहीको अधिकारको सम्मान गर्ने ।
-   कानुन बमोजिम आफूले तिर्नुपर्ने कर तिर्ने ।
-   सेवा प्रदायकलाई अनुचित प्रभावमा पार्न नहुने ।
-   सेवा प्रवाहमा पृष्ठपोषण लिने दिने ।
६. सरकारी बजेटका उद्देश्यहरू उल्लेख गर्नुहोस् ।
सरकारको आय र व्ययको अनुमानित विवरण सरकारी बजेट हो । यो सरकारको नीति तथा कार्यक्रम हो । सरकारी आय र व्ययको व्यवस्थापन गरी सामाजिक जनकल्याणका लागि साधनको वितरण गर्नु सरकारी बजेटको सर्वोपरी उद्देश्य हो । यसका अरू उद्देश्य निम्न छन् ः
–    सरकारको कार्य एवं जिम्मेवारी तोक्नु ।
–    रोजगारीका अवसर सृजना गर्नु ।
–    आर्थिक वृद्धि गर्नु, आर्थिक स्थिरता कायम गर्नु ।
–    सामाजिक न्याय कायम गर्न सहयोग गर्नु ।
–    साधन स्रोतको अधिकतम परिचालन गर्नु ।
–    आवधिक योजना कार्यान्वयन गर्नमा सहयोग गर्नु ।
७. जलवायु परिवर्तनको असर कम गर्न चाल्नु पर्ने उपायहरू के के हुन् ? लेख्नुहोस् । 
जलवायु परिवर्तन कार्बनडाइअक्साइड लगायतका हरित गृह ग्यास उत्सर्जनबाट हुन्छ । त्यसैले उद्योग, कलकारखाना, यातायात तथा मानवीय क्रियाकलापहरूबाट हुने यस्ता ग्यास उत्सर्जनलाई न्यून गर्नु पर्दछ । जलवायु परिवर्तनको असर कम गर्न अरू निम्न उपायहरू चाल्नु पर्दछ :
    गरिबी र अन्य कारणबाट हुने वन विनासलाई रोक्ने ।
    मानवीय क्रियाकलाप र विकास प्रक्रियालाई वातावरणमैत्री बनाउने ।
    वातावरणीय प्रभाव मूल्याङ्कनलाई संस्थागत गर्ने ।
    प्रदूषण मापदण्ड निर्धारण गरी कार्यान्वयन गर्ने ।
    वातावरण संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिहरूको कार्यान्वयन गर्ने ।
    हरित अर्थतन्त्रको अवधारणा अवलम्बन गर्ने ।
    न्यून कार्बन उत्सर्जन विकास रणनीति तर्जुमा गरी कार्यान्वयन गर्ने ।
    वातावरण संरक्षण सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने ।
    फोहोर मैलाको उचित व्यवस्थापन गर्ने ।
    व्यवस्थित शहरीकरण तथा उचित बसोबासको व्यवस्था गर्ने ।
    वातावरणीय अनुगमन, निरीक्षण र प्रतिवेदन कार्यलाई प्रभावकारी बनाई वातावरणीय सुशासन कायम गर्ने, यस कार्यका लागि वातावरण विभागलाई थप क्रियाशील बनाउने ।

गाेरखापत्रबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप