मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय प्राणी उद्यान निर्माण : कछुवा गतिमा काम, पाँच वर्षमा पनि बनेन डीपीआर

बुधबार, २३ माघ २०७५, १५ : ५३
बुधबार, २३ माघ २०७५

भक्तपुर । नेपालमा धेरै राष्ट्रिय महत्वका विकास निर्माणका कार्य समयमै सकिँदैनन् । 

कतिपय काममा सरकारी निकायबीच समन्वयको अभाव हुन्छ । प्रभावित स्थानीयस्तरका बासिन्दाले विरोध गर्दा घोषित समयमा नै सडक, जलविद्युत, उद्योग स्थापना हुन सक्दैनन् । 

तर भक्तपुरमा भने प्राविधिक रूपमा र स्थानीय स्तरमा खासै समस्या नभएपनि सरकारी निकायमा नै फाइला रोकिदिँदा राष्ट्रिय प्राणी उद्यानको काम अगाडि बढ्न सकिरहेको छैन । 

भक्तपुरको सूर्यविनायक नगरपालिकामा राष्ट्रिय प्राणी उद्यान बन्ने भनिएको करिब ४ वर्ष पूरा हुन लागिसकेको छ । 

२०७१ माघ १० गते स्वर्गीय सुशील कोइराला प्रधामन्त्री, महेश आचार्य वनमन्त्री र भक्तपुरका वर्तमान सांसद महेश बस्नेत उद्योगमन्त्री भएको समयमा मन्त्रिपरिषद्बाट उक्त निर्णय पारित भएको थियो । 

वर्तमान प्रधानमन्त्री केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते प्राणी उद्यानको शिलान्यास गरेका थिए । २ वर्षभित्रमा वन्यजन्तु तथा पशुपन्छी राखेर सञ्चालन गर्ने भनेको पनि २ वर्ष नै भयो । 

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना स्वीकृत नगर्दा यस वर्ष उद्यानको कुनै पनि काम हुन सकेको छैन ।

भक्तपुरको तत्कालीन कटुन्जे, गुण्डु र सिपाडोल गाविस हाल सूर्यविनायक नगरपालिका वडा नम्बर ६, ७ र ८ को भू–भाग यो उद्यानको सीमाभित्र पर्छ । 

उक्त क्षेत्रभित्र ७ वटा सामुदायिक वनको २ सय ४५ हेक्टर क्षेत्रफल ओगट्छ । 

प्राणी उद्यानको काम कछुवा गतिमा भएको स्वयम् सांसद बस्नेतको भनाइ छ । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मैले सक्दो प्रयास गरिरहेको छु तर वनबाट पास भएर अर्थ मन्त्रालया गएर कुरा रोकिएको छ ।’

मुलुककै गौरव यो आयोजना समयमा निर्माण सम्पन्न गरेर पूर्ण रूपमा सञ्चालन गर्न सके बाह्य तथा आन्तरिक पर्यटक आकर्षणको केन्द्र हुने उनले बताए । 

स्थानीय सरकारको भनाइ यस्तो छ
सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले स्थानीय तहले प्राणी उद्यान निर्माणका लागि सक्दो सहयोग गरिरहेको बताए । नगरपालिकाले राष्ट्रिय प्राणी उद्यानसँग समन्वय गर्ने जिम्मेवारीसमेत उनलाई दिएको छ । 

वि.सं. २०३५ सालमा पहिरो जाँदा तत्कालीन गाउँ पञ्चायतले चार घर परिवारलाई प्रतिपरिवार १० आनाका दरले जमिन दिन सिफारिस गरेको भएपनि उक्त कार्य प्रशासनिक रूपमा नभएकाले ७ नम्बर वडाको मन्थली भन्ने स्थानमा सीमाङ्कनमा केही समस्या भएको सापकोटाको भनाइ छ । हाल उक्त स्थानमा २८ घरपरिवार बस्दै आएका छन् । नगरपालिकाले त्यो समस्या समाधान गर्नेसमेत सापकोटाले बताए  ।

अर्कातर्फ केही स्थानको पानीको मुहान र केही जातिको कुलपूजा गर्ने स्थानसमेत प्राणी उद्यान  घोषणा गरिएको क्षेत्रभित्र पर्ने छ । त्यसलाई समेत सबैजनाको राय र सल्लाह लिएर एउटा निष्कर्षमा पुग्ने वडाध्यक्ष सापकोटाले बताए । पटक–पटक सरकार परिवर्तन र स्थिर सरकार नहुँदा समयमा काम हुन नसकेको उनको भनाइ छ । 

गुरुयोजना पास भएको मितिले पाँच वर्ष उद्यान सञ्चालन हुन्छ : निर्देशक रुपाखेती
राष्ट्रिय प्राणी उद्यानका निर्देशक नारायण रूपाखेतीले गुरुयोजना पास भएको मितिले पाँच वर्षभित्रमा उद्यान पूर्ण रूपमा सञ्चालनमा आउने दाबी गरेका छन् । 

केही कुराले गर्दा समय ढिला भए पनि गरुयोजना पासको एक वर्षमा डीपीआर बनाउने र त्यसको पहिलो चरण तीन वर्षमा ५६ प्रतिशत र दोस्रो चरणमा ४४ प्रतिशत काम हुने उनले बताए । 

निमार्ण गर्न लागिएको प्राणी उद्यान केन्द्रको लागत भने करिब ७ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रले अहिले १६ किलोमिटरको सीमाङ्कनमध्ये १३ किलोमिटर सीमांकन गरिसकेको छ, जसमा तारजाली प्रयोग गरेर बार्ने काम र दुई ठाउँमा पानीको स्रोतका लागि डिपबोरिङ गरिएको रूपाखेतीले जानकारी दिए । प्राणी उद्यानको सचिवालय भवनसमेत आगामी वैशाखभित्र तयार हुनेछ । 

गुरुयोजना स्वीकृत भए ५ वर्षभित्र निमार्ण सम्पन्न गर्ने लक्ष्य लिएको प्राणी उद्यान केन्द्रले १५ वर्षभित्र सबैलागत उठाइसक्ने लक्ष्य राखेको छ । प्रत्यक्ष रूपमा २ सय जना मानिसले रोजगारी पाउने छन् । स्थानीय स्तरमा होमस्टेसमेत सुरु गर्ने तयारी भइरेको छ । 

उद्यानभित्र उपचार केन्द्रदेखि सभाहलसम्म 
गुरुयोजना अनुसार प्राणी उद्यानमा जीवजन्तुको कृत्रिम बासस्थान निर्माण हुनेछ, जसमा लोपउन्मुख प्रजाति एवम् वन्य जन्तुको सरक्षण र प्रजनन् केन्द्रको स्थापन गरिनेछ । घाइते, बिरामी र टुहुरा वन्यजन्तुको हेरचाहका साथै उपचार गर्नका लागि पशु अस्पतालसमेत निर्माण गर्ने लक्ष्य रहेको छ । साथै पर्यटकका लागि सुरक्षित तरिकाले अवलोकन गराउने व्यवस्था गर्ने जनाएको छ । जैविक पर्यटन र जीवजन्तुको खुल्ला चिडियाघर हुने यस उद्यानमा करिब एक हजार मानिस अटाउने सभाहलसमेत बनाउने लक्ष्य लिएको छ । 

यस आर्थिक वर्षमा केन्द्रका लागि छुट्याएको बजेटले केन्द्रको भवन निर्माणको काम मात्रै अगाडि बढेको छ । यस वर्ष केन्द्रले मन्त्रालयमा तीनवटा हात्ती ल्याउन प्रस्ताव गरेपनि माउते तथा कर्माचारीको दरबन्दी कटौती गर्दा हात्ती ल्याउन नसकिएको केन्द्रले जनाएको छ । यस्तै राष्ट्रिय प्राणी उद्यान केन्द्रको भक्तपुरस्थित कार्यालय ३५ जना कर्माचारीको दरबन्दी रहेको छ । तर कार्यालयमा दरबन्दीअनुसारका कार्माचारी नहुँदा र भएका कर्माचरीलाई दोहोरो जिम्मेवारी दिँदा प्राणी उद्यानको काममा ढिलाइ भएको केन्द्रले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप