बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी भूमिबाट नेपालीहरु भन्छन्, ‘सरकार ! गरिब जनतालाई कहिलेसम्म चुसिरहने ?

बुधबार, २३ माघ २०७५, १८ : ३९
बुधबार, २३ माघ २०७५

सरकारले भन्सारमा गरेको कडाइप्रति गत सोमबार सरकारले विदेशबाट नेपाल फर्केका नेपालीहरूबाट जफत गरिएको २ करोडभन्दा बढी मूल्य बरबारको सामानहरूको लिलामीको सूचना निकाल्यो ।

सरकारले विदेशबाट नेपाल फर्कंदा अधिकतम ५० ग्रामसम्मको गहना लगाएर वा लिएर जान पाइने, बढीमा एक लिटर वा एक बोटल रक्सी लान सकिने, एक/एक थान ल्यापटप, कम्पुटर वा ट्याबलेट, घडी क्यामेरा, भिडियो क्यामेरा, सेलुलर, मोबाइल फोन लैजान पाइने झिटीगुन्टा आदेश जारी गरेको थियो ।

झिटीगुन्टा आदेश अनुसार तोकिएको भन्दा धेरै सामान ल्याएकोले  जफत गरिएको प्रतिक्रिया दिएको छ । सरकारले भन्सारमा गरेको कडाइप्रति विदेशमा बस्ने नेपालीहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । उनीहरूले भन्सारमा भएको कडाइ व्यवहारिक नभएको भन्दै झिटिगुन्टा आदेश सच्याउनुपर्ने माग समेत गरेका छन् ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा गरिएको कडाइबारे संयुक्त अरब (इमिरेट्स) युएईका नेपालीहरू के भन्छन् ? प्रस्तुत छ, रातोपाटी युएई संवादाता विनोद श्रेष्ठले सराेकारवाला गरेकाे कुराकानी :–  

गोपाल कँडेल
एनआरएन, मध्यपूर्व उपसंयोजक

एकजना नेपाली नागरिक जो स्वदेश छोडेर विदेसी भूमिमा काम गर्छ, अनि केही आर्थिक जोहो गर्छ । बचत रकमबाट आफ्नो घरायसी वा व्यक्तिगत जीवनको लागि काम लाग्ने सामान कानुनतः खरिद गरी आफ्नो देश जाँदा विमानस्थलबाट नै जफत गरिनु राम्रो हैन ।

हरेक देशको नागरिकलाई आफ्नो सुविधाको लागि प्रयोग गर्ने सामान लैजाँदा यसरी जफत हुने नियम कहिँकतै देखिएको छैन । यसर्थ यस्तो विषयमा आवश्यक  अध्ययन नै नगरी मेहनतबाट उपार्जन गरेको सामानमा एक हदबन्दी लगाइएको हो भन्ने सबैको बुझाई छ । सरकारले लागू गरेको नियमको खारेज हुनुपर्छ ।

मेघराज सापकोटा 
सचिव (पत्रकार महासंघ युएई शाखा)

म आफैँ पनि विदेशमा २ वटा मोबाइल चलाउँछु । नेपाल जानुपर्यो भने के गर्ने ? बुबाले ‘मोबाइल पठाइदे न छोरा’ भन्नुभएको छ । के गर्ने ? आम मजदुर जनताका यस्ता व्यवहारिक कठिनाइलाई सरकारले ध्यानै दिएन ।

काँचो सुन लैजान प्रतिबन्ध लगाएको छ । १०÷२० ग्राम सुन लगेर बुढीआमा र श्रीमतीले भने बमोजिमको गहना बनाएर लगाउने सपना पनि सरकारले तुहाइदियो । इमान्दार जनताहरु सरकारको यस्ता पाल्सी नियमको मारमा परेका छन् । 

तस्करहरुले त अहिले पनि औंठी बनाएर लगिरहेकै छन् । आजकल त धेरैजनाले काँचो सुनलाई बेरुवा औँठी बनाएर लैजान थाले । हामी जस्ता इमान्दार प्रवासीलाई जबर्जस्ती तस्कर बन्न प्रेरित गर्ने नियम किन बनाउने ?

विलासिता वस्तुहरुमा भन्सार लगाउनु राम्रो हो । तर नयाँको त कुरै छोडौं, मैले प्रयोग गर्दै गरेको एउटा वासिङ मेसिन नेपाल लैजानुपर्यो भने ४० प्रतिशत कर तिर्नुपर्ने नियम बनाइदियो । मदिरा सेवन गर्नु ठीक हैन । तर पनि आजकल सबैले गर्छन् । सबैभन्दा बढी राजनीतिज्ञ र कर्मचारीले गर्छन् । 

विदेशमा नेपालमाभन्दा कता हो कता सस्तो छ । विदेशमा काम गर्नेहरुले २/४ बोतल ह्विस्की लगेको पनि सरकारले देखि सहेन । तस्करी पो रोक्नुपर्यो त, घरायसी प्रयोगको लागि किन रोक्ने ? किन दुःख दिने ?

चित्र केसी
पूर्वसभापती (जनसम्पर्क समिति) 

रेमिट्यान्सले देश थामेको छ । अझैँ भएन भनेर विदेशबाट किनेर लगेको सामान मोबाइल, घडि, रक्सी जस्ता सामान बरामद गरेर लिलाम बिक्री गर्ने सरकार ? ४ अर्ब वाइडबडी जहाज काण्ड, ३३ किलो सुनकाण्ड, बुढीगण्डकी, एनसेल घोटाला काण्डमा अर्बौं रूपैयाँ भ्रष्टाचार हुँदा एक शब्द बोल्नु छैन ।

कार्बाही त परै जाओस्, विदेशमा बस्ने नेपालीको सेवासुविधा र सुरक्षाको बिषयमा कहिल्यै पनि चासो र ध्यान दिएको छैन । अवस्था कति जटिल र संवेदनशील छ, बुझ्ने प्रयास सरकारले गर्नुपर्छ ।

युवालाई रेमिट्यान्सको नाममा विदेश बेचेको छ, स्वदेश फर्काउने कुनै योजना र कार्यक्रम छैन । सरकारले नागरिकलाई सहज रूपमा सेवा सुविधा उपलब्ध गराउने हो । दुःख दिने र ठग्ने होइन ? सरकारको यो काम जनविरोधी हो ।

पासाङ रेन्जी शेर्पा 
अध्यक्ष (आदीवासी जनजाती महासंघ, युएई)

नियम/कानुन भन्दा माथि कोहि हुँदैन । विदेशबाट आउने सबै नेपाली नागरिकहरुले सरकारले तोकेको झिटीगुन्टाको नियमअनुसार सामान मात्र ल्याउने हो भने समस्या नै आउँदैन । यहाँ झिटीगुन्टाको बहानामा यात्रुहरुलाई भरिया बनाएर सरसमान पैठारी गर्ने साना तस्करहरुको समेत कमी नभएको हुनाले राज्यको मुख्य आयको श्रोत मध्ये एक भन्सारमा कडाइ गरिनु आवश्यक छ । 

अर्बौं घोटाला गर्नेहरु फन्दामा नपर्ने, किलोका किलो सुन सजिलै छिर्ने । तर सामान्य यात्रुको एक बोत्तल अतिरिक्त रक्सी नछिर्ने बेथिती जनसाधारणलाई चित्त नबुझेको कुरा हो ।

उत्तम अधिकारी 
संयोजक (अन्तर्राष्ट्रिय नेपाली समाज, युएई)

सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरेको सामानहरु लिलामीमा राख्यो भन्दा एउटा विदेशीएको नेपालीको नाताले दुःख लाग्यो । हामी नेपाली  हौं र नेपालको  प्रचलित कानुनले बर्जित गरेको कुनै कार्य गर्नुलाई उचित ठान्दिन र गर्दिन । 

तर विदेशमा बस्ने नेपाली दाजुभाई÷दिदीबहिनी घर जाँदा आफन्तलाई उपहार स्वरूप लागेको एउटा मोबाइल, घडी, रेडियो, टिभीलगायत अन्य सामान र मदिराजन्य पदार्थ बरामद गर्नु लज्जास्पद छ । 

त्यसलाई बरामद नगरी निश्चित मात्राभन्दा बढी लागेमा राजश्व तिरेर लैजान पाउनुपर्ने व्यवस्था गर्नुको सट्टा जफत गर्ने जुन शैली अपनाउनु राम्रो हैन । 

विदेशीएका नेपालीको खुन पसिनाबाट आर्जित रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको बेला सरकारले प्रवासी नेपालीलाई अनेक बहानामा लुट्न खोज्नु गलत  हो र यस्तो गलत कार्यको म प्रवासीको नाताले घोर आपत्ति गर्दछु । 

यथाशीघ्र सरकारले त्यस्ता तोकिएकोभन्दा माथि परिणाम जफत हैन, राजश्व तिरेर लैजान पाउने व्यवस्था गरोस र जफत गर्ने जुन निर्णय हो फिर्ता लियोस् भन्ने माग गर्दछु ।

बलराम बस्नेत 
सेक्युरिटी सर्भिस युएई

दुःख लाग्यो सरकार । विदेश जाँदा बोकेको २ बट्टा अचार र फर्कंदा ल्याएको १ बोटल रक्सी समातेर लिलामी गर्दा ती ५० लाख विदेशिएका युवायुवतीले पठाएको रेमिट्यान्सले सरकार र देशको अर्थतन्त्र चलेको सर्वविदितै छ ।

लिलामी नै गर्ने हो भने त्यो ३३ किलो सुनको गर, समात्ने नै हो भने वाइडबडीमा ४ अर्बको भ्रष्टाचार गर्नेलाई गर । आयल निगममा १८ करोड खाने, एनसेलमा ६३ अर्ब अनि बुढिगण्डकीको ९ अर्ब खानेलाई समात्ने हिम्मत छ ? हैन भने गरिब जनताले विदेशमा रगत र पसिना कमाएर घर फर्कंदा एयरपोर्टबाट रुँदै निस्कुनु पर्ने किन त ? विदेश जाँदा मेनपावरले लुट्ने, मेडिकलले लुट्ने, दलालले लुट्ने, इन्स्योरेन्सले लुट्ने, अनि श्रमले लुट्ने, हेल्लो सरकार...गरिब जनतालाई सधैँ लुटिरहने र चुसिरहने ?

बिष्णु ढकाल
शिक्षक, युएई

विमानस्थलमा भन्सार कडाइ गर्नु आफैँमा सुखद पक्ष हो । तर, दुःख पसिना गरेर कमाएर घर फकिँदा उपहार स्वरुप लगिएको सामान विमानस्थलमा जफत गरेको भन्दा निकै दुःख चाहिँ लागेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप