शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचन अनिश्चित : त्रिवि दोषी कि विद्यार्थी सङ्गठन ?

बिहीबार, २४ माघ २०७५, १० : ३६
बिहीबार, २४ माघ २०७५

काठमाडौँ– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव पूर्वनिर्धाति तालिकाअनुसार नहुने लगभग निश्चित भएको छ । 

त्रिभुवन विश्वविद्यालयले आफ्नो क्यालेन्डरमै फागुन १४ गते स्ववियु चुनावको मिति तय गर्ने गरेको छ । तर त्रिवि र विद्यार्थी सङ्गठनका अहिलेसम्मका गतिविधिले सो समयमा स्ववियु चुनाव नहुने निश्चित भएको छ । 

दुई ठूला दलनिकट विद्यार्थी सङ्गठनभित्रको आन्तरिक किचलोले पूर्वनिर्धारित समयमा सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन चुनाव हुन नसक्ने भएको हो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनको एकतामा ढिलाइ हुनु र काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घ पनि विवादमा गाँजिएकाले फागुन १४ मा हुने भनिएको स्ववियु निर्वाचन अनिश्चित बनेको हो ।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १३ गते काँग्रेस सभापति शेरबहादुर देउवा, उपकुलपति पदाधिकारी र विद्यार्थी सङ्गठनका नेताहरूलाई बालुवाटार बोलाएर तोकिएकै समयमा स्ववियु चुनावका लागि वातावरण तयार गरेर अघि बढ्नुपर्ने बताएका थिए । 

तर बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले परिस्थिति प्रतिकूल रहेको भन्दै अहिले चुनाव गर्न नसकिने जवाफ दिएका थिए । त्यसयता सत्तापक्ष र प्रतिपक्षका विद्यार्थी सङ्गठनहरू आरोप प्रत्यारोप गरिरहेका छन् ।

विद्यार्थी सङ्गठन र त्रिविबीच पनि आरोप प्रत्यारोप

विश्वविद्यालयले चुनावी तालिका सार्वजनिक गर्न नसक्नुको कारण विद्यार्थी सङ्गठनबीचको असहमतिलाई देखाएको छ । यता तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुका महासचिव ऐन महरले रातोपाटीसँग त्रिविका कारण निर्धारित समयमा स्ववियु निर्वाचन हुन नसक्ने स्थिति सिर्जना देखिएको बताए । 

उनले भने ‘निर्वाचन गर्ने त्रिविले हो । त्रिविमा स्ववियु निर्वाचनबारे नियम र विधि बनेको छ । त्यो विधि कार्यान्वयन गर्ने काम त्रिविको हो । त्रिविले स्ववियु निवार्चनका लागि कसैलाई सोधिराख्ने छलफल गर्नुपर्ने आवश्यकता नै थिएन । त्यसले बढी गिजोलेर स्ववियु निर्वाचन विथोल्ने काम गर्यो ।’ 

स्ववियुको विधिमा नै प्रत्येक दुई वर्षमा निवार्चन हुनुपर्ने उल्लेख गरिएको भन्दै महासचिव महरले त्रिविले समयमा कार्यतालिका प्रकाशन नगर्दा पूर्वनिर्धारित समयमा चुनाव हुने अवस्था टरेको बताए । उनले त्रिवि नेविसङ्घको इसारामा चलेको आरोपसमेत लगाए । 

त्रिविकी रेक्टर सुधा त्रिपाठी पहिले पनि वार्ता र सहमतिका आधारमा मात्रै निर्वाचन हुने गरेको बताउँछिन् । उनले प्रधानमन्त्रीदेखि सबै विद्यार्थी सङ्गठनबीच वार्ता र छलफल गरेर नै निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने गरेको भन्दै अहिल्यै निर्वाचन विथोलियो भन्न नमिल्ने तर्क बताइन् । ‘विद्यार्थी सङ्गठनसँगको छलफलबिनै चुनाव गर्नुपर्ने भन्ने कुरा हावादारी हो’, उनले रातोपाटीसँगको कुराकानीमा भनिन् । 

‘फागुन १४ गतेलाई स्ववियु निर्वाचन गर्ने भनेर पहिलेदेखि नै तोकिएको हो । त्यो क्रममा एउटा कमिटी बन्नुपर्छ । त्यो कमिटी उपकुलपति (भीसी)ले बनाउनु भएको छैन हामीले योजना बनाइराखेका छौँ । कोसँग भेट्ने कसरी अगाडि बढ्ने भनेर भीसीज्यूले कमिटी प्रक्रिया अघि बढ्दैन । त्यसअघि केही गर्ने सक्ने अवस्था पनि छैन’, रेक्टर त्रिपाठीको भनाइ छ । भीसीले रेक्टर त्रिपाठीको नेतृत्वमा कमिटी बनाउनु पर्नेहुन्छ, जसमा उनीलगायत त्रिविका विभिन्न पदाधिकारी रहने व्यवस्था छ । 

उनले स्ववियु चुनाव हुनेमा आफू विश्वस्त रहेको भन्दै आफूहरूले पूर्णरूपमा लागिपरेको बताइन् । ‘फागुन १४ को साटो केही दिन पर सर्नसक्छ । तर चुनाव हुन्छ । यो फागुनमा हुन नसके अर्को वर्ष मात्र गर्नुपर्ने हुन्छ । त्यसैले फागुनको दुई, तीन दिन बाँकी छँदै निर्वाचन गराउनुपर्छ, जसका लागि म प्रत्यनशील पनि छु । फागुन पछि त म नेतृत्व लिन पनि सक्दिन’ उनले भनिन् । 

नेविसङ्घका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचन समयमा हुन नसक्ने स्थिति आउनुमा भीसीले नभई रेक्टर रहेको बताउँछन् । भीसी तीर्थ खनियाँ काँग्रेस निकट हुन भने रेक्टर त्रिपाठी नेकपा निकट मानिन्छन् । 

विद्यार्थी सङ्गठनबीचको आरोप प्रत्यारोप
स्ववियु निर्वाचन तोकिएकै समयमा नहुने अवस्था आएपछि विद्यार्थी सङ्गठन आरोप प्रत्यारोपमा लागेका छन् । उनीहरू एकअर्कालाई चुनावबाट भाग्न खोजको आरोप लगाइरहेका छन् । 

अनेरास्ववियुका महासचिव महरले नेविसङ्घले आफ्नो सङ्गठनभित्रको विवादलाई स्ववियुसँग जोडर गरेको आरोप लगाए । उनले आफूहरू जुनसुकैबेला पनि निवार्चनमा जान तयार रहेको दाबी गरे । उनले भने, ‘नेविसङ्घ आन्तरिक विवादमा रुमल्लिएको छ । उसको अध्यक्ष को भन्ने पनि अहिले अन्योल छ । चुनाव सार्न उपकुलपतिमार्फत उसले त्यो कुरा पनि पुर्याएको छ । त्यो षड्यन्त्रलाई हामी सफल हुन दिँदैनौँ । चुनावबाट भागेर कहाँ जाने । हामीले लोकतान्त्रिक मूल्य मान्यतालाई नकार्न मिल्छ र ?’ 

यता नेविसङ्घका अध्यक्ष महरले निर्वाचनभन्दा बाहिर ठाउँ नरहेका बताए । उनले  सत्तारुढ दलका विद्यार्थी सङ्गठनहरूबीच गुटबन्दी रहेकाले हार्ने डरले चुनावबाट भाग्न खोजेको बताए । ‘एउटै सङ्गठनमा पनि तीन, चारवटा समूह छन् । दुई सङ्गठन मिलाउन सकेको अवस्था छैन । उनीहरूभित्र द्वन्द्व भएकाले कसलाई, कसले टिकट दिने भन्ने मारामार छ’, अध्यक्ष महरको भनाइ छ ।  

सरकार अलोकप्रिय बन्दै जाँदा  विद्यार्थीहरू पनि यसबाट निरपेक्ष नहुने भन्दै उनले चुनावमा हार्ने भय पालेर भाग्न खोजेको आरोप लगाए । ‘यत्रो चरम आतङ्क, महँगी, भ्रष्टाचार र माफियातन्त्रले जरो गाडेको छ । सकार मातियार बनेको छ । यसबाट विद्यार्थी पनि निरपेक्ष हुन सक्दैनन् । उच्च तहको शिक्षा अध्यायन गरिरहेका विद्यार्थीलाई सरकारको सबै गतिधिवि थाहा छ । त्यो कुरा विद्यार्थी नेताले पनि बुझेका छन् । उनीहरूमा सकारको अलोकप्रियताका कारण चुनाव हारिन्छ भन्ने भय छ,’ अध्यक्ष महरको आरोप छ । 

विद्यार्थी नेताको कुरा सुन्दा चुनावको महोल बढाउने कसरी भन्नेभन्दा आरोप प्रत्यारोपमा लागेर अरूलाई दोष दिँदै आफू उम्कने प्रयासमा लागेको प्रष्ट हुन्छ । 

स्ववियु चुनावको इतिहास र निर्वाचन प्रणाली 
स्ववियु निवार्चन हुन थालेको लगभग ५६ वर्ष भइसकेको छ । २०१६ मा त्रिभुवन विश्वविद्यालय स्थापना भएसँगै त्रिवि विद्यार्थी युनियनको चुनाव हुन थालेको हो । ०१८–१९ मा त्रिवि विद्यार्थी युनियनको सभापतिमा तीर्थनाथ गोगोल सर्वसम्मत भएका थिए । ०१९–२० मा नवराज सुवेदी सभापतिमा चुनिएका थिए । तर, स्वतन्त्र विद्यार्थी युनियनको पहिलो चुनाव भने २० भदौ ०२० मा भएको थियो ।

उक्त चुनावबाट प्रगतिशील समूहका जनार्दनप्रसाद आचार्य विजयी भएका थिए । त्यतिबेला सबै पार्टी निकट विद्यार्थी नेताहरू अखिल नेपाल विद्यार्थी फेडेरेसनमा थिए । यही निर्वाचनपछि नै विद्यार्थी युनियनको नाम फेरेर स्वतन्त्र विद्यार्थी युनियन राखिएको थियो । पछि पार्टीगत रूपमा विद्यार्थी सङ्गठनहरू बनेपछि स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्न थाले । 

जसमा जनवादी शिक्षालाई अङ्गीकार गर्ने कम्युनिस्ट विद्यार्थी सङ्गठन अखिल नेपाल विद्यार्थी सम्मेलन १ जेठ ०२२ मा स्थापना भयो । यो सङ्गठन नै ०२५ मा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका रूपमा स्थापना भयो । उता जनवादी शिक्षा नमान्ने काँग्रेस निकट नेपाल विद्यार्थी सङ्गठन ६ वैशाख ०२७ मा स्थापना भयो । ०२९–३० सम्म विद्यार्थी युनियनको चुनाव हरेक दुई वर्ष भयो । पञ्चायत व्यवस्थाले स्ववियुमाथि नै प्रतिबन्ध लगाएपछि एकै पटक २० भदौ ०३६ मा अर्को चुनाव भएको थियो । त्यसपछि ०३८, ०४०, ०४१, ०४३, ०४५, ०४९, ०५१, ०५३, ०५५, ०५७, ०६०, ०६२, ०६५ र ०७३ मा स्ववियु निर्वाचन भए । 
अहिले त्रिविका ६० आङ्गिकसहित १ हजार ८३ क्याम्पस छन् । त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ । 

स्ववियुको उत्पादन
स्ववियुमा उदाएका धेरै नेताले माउ पार्टीका साथै राष्ट्रिय राजनीतिमा स्थापित भइरहेका छन् । यसमा काँग्रेसबाट शेरबहादुर देउवा, विजयकुमार गच्छदार, वीरबहादुर बलायर, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा, धनराज गुरुङ, एनपी साउद, चन्द्र भण्डारी, गोविन्द भट्टराई स्ववियुका उत्पादन हुन् ।  यस्तै, नेकपाका शंकर पोखरेल, रवीन्द्र अधिकारी, पशुपति चौलागाईं, खगराज अधिकारी, जगन्नाथ खतिवडा, योगेश भट्टराई, यज्ञ सुनुवार, राजेन्द्र राई, विशाल भट्टराई, हितमान शाक्य, तुलबहादुर गुरुङ, ठाकुर गैरे, टंक कार्की र हिमाल शर्मा पनि स्ववियुबाट हुर्कंदै राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका छन् । देउवा काँग्रेस सभापतिका साथै ४ पटक देशको प्रधानमन्त्रीसमेत भइसके भने स्ववियुबाट उदाएका अधिकांश नेताहरू पार्टी र राष्ट्रिय राजनीतिको प्रमुख भूमिकामा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप