शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

news
बिहीबार, २४ माघ २०७५, १५ : ३४
बिहीबार, २४ माघ २०७५

डोल्पा– हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ ।  हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । 

‘यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन आउन विद्यार्थीको सङ्ख्या अत्यधिक घटेको छ,’ जनप्रभा मावि लिकुका शिक्षक दीपक पराजुलीले भने । ‘बिहानैदेखि हिमपात हुन थालेपछि विद्यालय चौरमा बाक्लो हिँउ जमेको छ, चिसोका कारण कोठाबाट बाहिर निक्लन पनि मुस्किल परेकाले आजको तयारी कक्षासमेत प्रभावित हुने पक्का भएको छ ।’ 

जिल्लाका जनप्रभा मावि लिकु, त्रिपुराकोट मावि मद्यु, आदर्श मावि जुफाल, सरस्वती मावि दुनै लगायतका आधा दर्जन विद्यालयमा एसइई तयारी कक्षा सञ्चालन भइरहेको छ । हिमपातका कारण बढेको चिसोले कोठामै बसेर पढन सकिने भए पनि हात बाहिर झिकेर लेख्न गाह्रो हुने जनप्रभा माविमा एसइई तयारी कक्षा लिइरहेकी छात्रा सरीता देवकोटाले बताए । कोठा बाहिरै बाक्लो हिउँ जमेकाले शौचालय जानसमेत समस्या हुने गरेको छ भने खाना पकाउन भान्सामा जानसमेत गाह्रो भएको उनको भनाइ छ । 

यसअघि तेस्रो पटकसम्म परेको हिँउ बिलाउन नपाउँदै पुनः हिमपात शुरु भएपछि डोल्पालीको जनजीवन थप कष्टकर बनेको छ भने पशुवस्तुलाई घाँसपात गर्नसमेत समस्या भएको छ । 

विमानस्थल बन्द 

बिहानदेखि शुरु भएको हिमपातका कारण जुफाल विमानस्थलमा बाक्लो हिँउ जमेको छ । जहाज अवतरण गर्ने हवाई मार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल आज अवरुद्ध भएको हो ।  हिमपातका कारण नेपालगञ्जदेखि हुने कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार शर्माले बताए । 

जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । बिहानदेखि शुरु भएको हिमपात बेलुकीसम्म जारी रहे दुई–तीन दिनसम्म जुफाल विमानस्थल अवरुद्ध हुने सम्भावना रहेको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ । 

यसैगरी कर्णालीका जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा समेत बिहानैदेखि हिमपात शुरु भएपछि त्यहाँका विमानस्थलहरुसमेत अवरुद्ध भएका छन् भने जनजीवन कष्टकर बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप