केन्द्रीय संस्करण
बालसंसार

बालबालिकाहरुलाई पुनः वाक्कदिक्क हुन दिऊँ

person explore access_timeमाघ २८, २०७५ chat_bubble_outline0

न्यू योर्क टाइम्स/पामेला पल

“म बोर (वाक्कदिक्क) भएँ ।” पदावली सुन्दा सानो लाग्छ तर यो सानो वाक्याशंले अभिभावकहरुको मनमा एक्कै पटक भय, क्रोध र पछुतोको भावना उत्पन्न गराउन सक्छ ।

वरिपरि कोही बच्चा बोर महसुस गरिरहेको छ भने, त्यसको दोष तिनको अभिभावकमाथि पर्छ । तिनले हसाउँन, खेलाउन अथवा केही कुरामा व्यस्त राख्न नसक्दा तिन बच्चालाई बोर महसूस भयो भन्ने अर्थ लाग्छ ।

तत्कालै व्यस्त राख्न सकिने यति धेरै कुराहरु हुँदाँहुदै पनि कोही कसरी बोर हुन सक्छ ? आजकल बोर भयो भन्दा यो प्रश्न बच्चा र वयस्क दुवै माथि गरिन्छ !

तर विरक्तिको भावना हठात पन्छाउनु पर्ने कुरा भन्दा पनि अनुभव गर्नुपर्ने कुरा हो । तर त्यो डरलाग्दो र कठोर भएकाले निर्दयी भिक्टोरियन कालिन ब्रिटेनमा दिइने कुनै सजायँ जसरी होइन ।

हुर्कंदै गर्दा अधिकांश वयस्कहरुले विरक्ति भावना झुर मानिसको लागि हो भन्ने सिक्छन् । तर यथार्थ भने त्यसको उल्टो छ, विरक्ति भावना हामीहरु सबैका लागि उपयोगी र फाइदाजनक चीज हो । 

यो कुरा नानीबाबुहरुले सानैमा ठम्याउन सकेनन् भने पछि उनीहरुले हण्डर खानेछन् ।

स्कुल नीरस हुन्छ, यो हामी सबैले स्वीकार्नुपर्छ । शिक्षकको काम रमाइलो गराउनुको साथ साथै शिक्षा दिनु होइन । आखिर जीवन भन्नु अन्तहीन रमाइलोको श्रृङ्खला होइन नि !

सन् २०१२ मा आएको मरिया सेम्पलको उपन्यास ‘ह्वेर यू गो, बरनाडेट’मा एक आमा उनकी छोरीलाई भन्छिन् ,“ठीक हो, तिमी बोर छौ । यही समय म तिमीलाई जीवनको एक सानो रहस्य बताउँछु । तिमीलाई अहिले बोर लागेको छ ? त्यसो भए सुन, भविष्य झन् विरक्त लाग्दो हुन्छ । जीवनलाई रोचक बनाउने क्षमता तिम्रै हातमा छ भन्ने तिमीले जति चाँडै सिक्छौं, तिमीलाई त्यति नै फाइदा हुन्छ ।”

विगतमा मासिनहरुले जीवनको ठूलो हिस्सा विरक्त लाग्दो हुन्छ भन्ने स्वीकारेका थिए । २१ औं शताब्दी अघिका संस्मरणहरु विरक्त लाग्दा कुराले भरिएका छन् । सम्पन्न वर्गका सदस्यहरु आफ्ना वैठक कोठाहरुमा आराम नगर्दा लामो पैदल यात्रामा निस्कन्थे, रुखहरुमा नजर लगाउँथे । अर्को पटक उनीहरु मोटर यात्रा निस्कन्थे र अझ धेरै वृक्षहरुमा नजर लगाउँथे ।

काम गर्नुपर्ने वर्गहरुलाई भने धेरै कठिन थियो । कृषि र औद्योगिक कार्यहरु दिमाग शून्य बनाउने खालका हुन्थे । थोरै मात्रै मानिसहरु पारिश्रमिकले आफ्नो जीवनलाई धान्ने विश्वास गर्थे ।

बालबालिकाहरु सानैदेखि त्यस्तो खालको भविष्यको आशा गर्थे । उनीहरु सानै उमेरदेखि त्यो विचारमा अभ्यस्त परिसक्थे । तिनका दिनहरु पुस्तक ¥याक र रुखका हाँगा र साँझमा स्वादहीन टिभी कार्यक्रममै सकिन्थ्यो ।

केही दशक अघिसम्म पनि बालबालिकाहरुमाथि आजजस्तो अभिभावकको २४ सैं घण्टा निगरानी हुँदैन थियो । ती दिनहरु अब त हराए । ती दिन वयस्कहरु विरक्तिको निश्चित मात्रालाई ठीकै ठान्थे । बालबालिकाहरुले पनि तिनका रिक्त एजण्डालाई स्वीकार्न थालेका थिए ।

जीक्यू म्यागजिनलाई दिएको एक अन्तरवार्तामा लिन–म्यानुअल मिराण्डले उनको उत्प्रेरणा विकास गर्ने श्रेय बाल्यकालका एक्लै बिताएका मध्यान्हहरुलाई दिएका छन् । “किनकि सिर्जनालाई प्रोत्साहन गर्न खाली पन्ना र रित्तो शयन–कक्षभन्दा उपयुक्त केही हुँदैन”, उनले भनेका छन् ।

आजकल त बालबालिकाहरु कुनै न कुनै काममा व्यस्त छैनन् भने अभिभावकहरु आफ्नो कर्तव्यबाट च्युत भएको रुपमा हेरिन्छ । न्यूयोर्क टाइम्समा धेरै पढिएको मध्ये एक आलेख ‘द रिलेन्टलेरसनेस अफ मोर्डन प्यारेन्टीङ ( आधुनिक बाल पालन–पोषणको कठोरता) मा क्लेयर केन मिलरले हालसालैको एक अध्ययनलाई उद्धृत गरेकी छिन् । त्यसमा वर्ग, आय अथवा नश्ल जे भए पनि आजका अभिभावकहरुले “विद्यालयपछि बोर हुने बालबालिकाहरुलाई ‘एक्ट्राकरिकुलर’ क्रियाकलापहरुमा भर्ना गरिनुपर्छ भन्ने विश्वास गर्छन् । उनीहरु आवश्यक परे अभिभावकले आफ्नो काम छाडेर बालबालिकालाई समय दिनुपर्ने सोच्छन् ।

आजको अभिभावकहरुको मन्त्र हो, बालबालिकाहरुको प्रत्येक खाली समयको अधिकतम सदुपयोग गरेर तिनलाई एक लक्ष्यतर्फ डो¥याइनुपर्छ ।

आज अत्यधिक अभिभावकत्वमा नरहँदा बच्चाहरुलाई उपकरण थमाइन्छ, अर्थात् उनीहरुको आफ्नै डिजिटल उपकरणहरुसँग । कारमा लामो यात्राको तयारी गरिरहेका अभिभावकहरु जटिल स्थलयुद्धको योजना बनाइरहेका सैनिक अधिकृतजस्ता देखिन्छन् ।

आईप्याडमा कुन चलचित्र राख्ने ? के हामीले कुनै नयाँ परिवार–मैत्री पोडकाष्ट (इन्टरनेटमा किन्न र डाउनलोड गर्न सकिने संगीतको सिरिज) सुरु गर्नुपर्छ ? बच्चाहरुलाई सिटमा ननिदाउन्जेल भिडियो गेम खेल्न दिनु यो उपयुक्त समय हो ?

७० का दशकका अभिभावकहरुले त्यो समयका बच्चाहरु बोर हँुदा के गर्थे ? केही पनि गर्दैन थिए !

उनीहरु तिनलाई गाडीको धुँवा सुँघ्दै कुद्न दिन्थे । भाईबहिनीहरुसँग जिस्काउँदा पनि केही भन्दैनथे । र पहिरिन नमिल्ने टुटेका सिटबेल्टसँग खेल्न दिन्थे ।

ती दिनहरुमा तपाईले बोर भएको गुनासो गर्नुहुन्थ्यो भने अभिभावकको जवाफ अक्सर तपाईलाई या त “बाहिरतिर जाउ” अथवा त्योभन्दा झनै खराब “जाउ गएर आफ्नो कोठा सफा गर ।” भन्ने जवाफ पाउनुहुन्थ्यो । के यिनमा मज्जा आउथ्यो ? अहँ । तर के यी उपयोगी थिए ? हो ।

किनकि तपाई बोर हुँदा पनि घटना भइरहेका हुन्छन् । मैले पाएका सबैभन्दा बोर हुने केही कामहरु, सबै भन्दा सिर्जनशील पनि थिए । कलेजको समयपछि आयात गर्ने कारखानामा काम गर्दा मैले बिक्री खातामा कुरुप पेरुभियन स्वीटरको फोटो टालेर बस्थें ।

स्वीटरहरु भद्दा नीरतामा धुमिल नहुदाँसम्म टासिरहँदाँ मेरो हातमा गमको पत्र जमिसकेको हुन्थ्यो । कुनै कारणले सबै कुराहरु खुँदो जस्तो गनाउथ्यो । त्यस्तोमा मेरो दिमागलाई विशाल कल्पनाको लोकको शयर गर्ने बाहेक अरु विकल्प बाँकी रहँदैन थियो ।

जब तपाई बोर हुनुहुन्छ, तब कथा आरम्भ हुन्छ । सुपरमार्केटमा सामानहरु जाँचिरहँदा, मैले मानिसहरुको खरिदबारेमा कथ्य निर्माण गर्थें ः कुन चाहिँ अत्यावश्यक सामाग्री हुन्छन् र कुन चाहिँ सामान देखेपछि आफूलाई रोक्न नसकेर किनिन्छ ? मेरो पाँच कक्षाका पूर्व शिक्षकले उनको साप्ताहिक ‘नटर बटर’ खरिदलाई मैले अवलोकन गर्दा कस्तो महसुस गर्छिन् ?

जब तपाईं विरक्तिको संवेदनाहीन बनाउने असरलाई स्वीकार्नु हुन्छ, तपाईं आफूलाई आविष्कारको मार्गमा पाउनु हुनेछ । एकलासको अवस्थामा पनि, भिन्नता प्रकट हुन थाल्छ । ती रुखहरुबीच, ती स्वीटरहरुबीच ।

त्यसैले त नुहाइरहँदा यति धेरै उपयोगी विचारहरु आउँछ । त्यो समय तपाईं अत्यन्त साधारण काम गरिरहनु भएको हुन्छ तर त्यसबाट उम्कन सक्नुहुन्न । त्यस्तो बेला तपाईंले आफ्नो दिमागलाई बहकिन दिनुबाहेक विकल्प रहन्न । बहकिएको कल्पना पछ्याउँदा थुप्रै विचारहरु उत्पन्न हुनेगर्छ । 

निश्चित रुपमा, विरक्ति आफैमा महत्त्वपूर्ण हुँदैन ः त्यसबेला के गरिन्छ, त्यो महत्त्वपूर्ण हो । जब तपाईं असह्य बिन्दूमा पुग्नुहुन्छ विरक्तिले तपाईलाई रचनात्मक रुपमा जवाफ फर्काउन सिकाउँछ । यसले तपाईंको लागि केही आविष्कार गर्छ ।  

तर व्यर्थ लाग्ने ‘बोरडम’को नियमित परिणाम नभोगेसम्म यो कसरी हुन्छ, हामीले कहिले पनि सिक्दैनौं ।

तपाई ‘द ग्यासलिक्रम्ब टिनीज’को पुस्तकको एक चित्रकथा ‘एन इज फर नेभिल हु डाइड अफ इनु’मा जस्तो अनिश्चितकालसम्म असह्य विरक्तिबाट ग्रसित हुनुस् भनेको होइन । मुख्य कुरा तपाईंले त्यसलाई काबूमा राख्न सिक्नुपर्छ । यो धेरै तरिकामा गर्न सकिन्छ ।

आफूभित्र फर्किएर चिन्तन–मनन गर्न सक्नुहुन्छ । कुनै पुस्तक लिएर पढ्न थाल्न सक्नुहुन्छ । तपाईं श्रेष्ठकर रोजगारीको कल्पनामा त्यो समय खर्चन सक्नुहुन्छ । विरक्तिले कल्पनाको उडान गराउँछ र अन्ततः तपाई स्व–अनुशासन र साधन–सम्पन्न अवस्थामा पु¥याउँछ ।

विरक्ति भावलाई सम्हाल्ने दक्षताको सम्बन्ध एकाग्रता र आत्म–नियन्त्रणसँग हुने यसैले गर्दा हो । अध्ययनहरुले एकाग्र हुन नसक्ने गडबडी भएका मानिसहरु विरक्तिबाट ग्रसित हुन सक्ने खतरा बढी हुने देखाएका छन् । 

यही कारणले हरक्षण उत्साहप्रवर्दक गतिविधिले भरिएको आजको विश्वमा पहिलो नजरमा मनमोहक लाग्ने कुरा अब कमै त्यस्तो लाग्छ र कुनै समय केही रोचक लाग्ने कुरा एकदमै नीरस लाग्छन् ।

बच्चाहरुलाई सानैमा बोर हुन दिनु अझ विशेष महत्त्वपूर्ण छ । यसलाई ठूलाहरुले पन्छाइदिनुपर्ने अथवा निर्मुल गरिदिनुपर्ने “एक समस्या” सम्झिइनुहुन्न । बरु त्यसलाई बच्चाहरु आफैले सामना गर्नुपर्ने कुराको रुपमा लिइनुपर्छ ।

हामीहरुले बालबालिकाहरुलाई त्यसरी तालिम दिन रोकिसकेका छौं । अधिकांश उपयोगी सूचनाहरु सुस्त, फिका र निश्चित रुपले दुई आयामिक हुन्छन् । यस्ता सामग्री आत्मसात गर्न सिकाउनुको सट्टा विद्यालयहरु बालबालिकाहरुले आस गर्ने रमाइलो कुरा समावेश गराइरहेका छन् ।

शिक्षकहरु धेरैभन्दा धेरै समय दृश्यात्मक र “अन्तरकृयात्मक शिक्षण” (यसलाई पढ्दा ःडिजिटल स्कृन, खेल भनेर सम्झनुस्) मार्फत् विद्यार्थीहरुलाई उल्झाइराख्ने तयारीमा बिताउँछन् । विद्यार्थीको एकाग्र अवधि छोटो भएकाले यसो गरिएको तर्क गरिन्छ ।

तर्क अनुसार बच्चाहरु लामा लेक्चरहरु सुन्न सक्दैनन् । त्यसैले सिकाइलाई सजिलै लिन सक्ने बनाउने जिम्मा हाम्रो हो ।

मनोरञ्जनमा जोड दिनुभन्दा बालबालिकाहरुलाई विरक्ति सहन सिकाउँदा यथार्थपरक भविष्यको तयारीको लागि सहयोग पुग्छ । यसले भविष्यको जीवन र रोजगारीलाई लिएर बालबालिकाहरुमा झुटो अपेक्षा विकास हुँदैन ।

हाम्रा बच्चाहरुले भविष्यमा आफूलाई मनपर्ने जागिरनै गरिरहँदा पनि उनीहरुलाई कुनै शुक्रबार अनुत्तरित इमेलको जवाफ लेखेर बिताउनुपर्ने हुन सक्छ अथवा खातापत्र जाँचेरै बिताउनु पर्न सक्छ । अथवा तिनले इन्टरनेटजडित विशाल गोदामघरमा रोबर्टहरुलाई सघाउनुपर्ने हुन सक्छ ।

कस्तो विरक्त लाग्दो सुनिएको भनेर निष्कर्ष निकाल्नुभयो होला । यो त जागिरजस्तै सुनिन्छ र यो त जीवनजस्तै सुनिन्छ लाग्यो होला । सम्भवत हामीहरु पुनः यसमा अभ्यस्त हुुनुपर्छ र यसलाई हाम्रो फाइदाको लागि प्रयोग गर्नुपर्छ । सम्भवत निरन्तर चुनौतीपूर्ण बन्दै गएको संसारमा हामीहरु केही कम उत्साहबीच पनि काम चलाउन सक्छौं ।

(न्यूयोर्क टाइम्समा प्रकाशित आलेखको अनुवाद)

स्रोतः https://www.nytimes.com/2019/02/02/opinion/sunday/children-bored.html

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ