शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा र फोरमको एकीकरण : किन लाग्यो ‘ब्रेक’ ?

सोमबार, २८ माघ २०७५, ११ : ५२
सोमबार, २८ माघ २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको एकीकरणमा अन्योलता देखिएको छ ।

दुवै पार्टीले एकीकरणका लागि ‘तयार रहेको’ बताए पनि औपचारिक वार्ता भने अझै शुरु हुनसकेको छैन । बरु वार्ताका लागि एक अर्कालाई दोष देखाउँदै उनीहरु पन्छिने गरेका छन् ।

वार्ताका लागि आफूले समिति पनि गठन गरिसके पनि राजपा नेपाल नै तयार नरहेको दावी फोरम नेपालले गरिरहेको छ । त्यस्तै, राजपा नेपालले फोरम नेपाल वार्ता समिति गठन गरेपनि आफूलाई औपचारिक जानकारी नआएको दाबी गरिरहेको छ ।

यही आरोप प्रत्यारोपको बीचमा राजपा–फोरम एकीकरण रुमलिएको छ । फोरम नेपालले वार्ता समिति गठन गरेपछि साना तीनवटा दलसँग एकता गरिसकेको छ । तर राजपा नेपालसँग हालसम्म कुनै वार्ता भएको छैन ।

फोरम नेपालका महासचिव एवम् वार्ता समितिका सदस्य रामसहाय यादवले राजपा नेपालसँग औपचारिक कुराकानी नभएपनि अनौपचारिक छलफल भइरहेको बताए । ‘राजपा नेपालका नेताहरुसँग अनौपचारिक कुराकानी गर्र्दा वहाँहरुले पार्टीभित्र थप छलफल गरेर वार्ताका लागि खबर गर्ने बताउनुभएको थियो,’ महासचिव यादवले रातोपाटीसँग भने, ‘राजपा र फोरम नेपालबीच कुनै पनि बेला वार्ता हुन सक्छ ।’

तर, राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादव भन्छन्, ‘फोरम नेपालले वार्ता समिति गठन गरेको कुरा हाम्रो पार्टीलाई कुनै आधिकारिक जानकारी आएको छैन । आधिकारीक जानकारी आए वार्ताका लागि तयार छौँ ।’ फोरम र राजपा नेपालबीच एकीकरण हुनुपर्छ भनेर सबैभन्दा बढी जोड गर्ने व्यक्ति आफू रहेको बताउँदै उनले भने, ‘फोरम नेपालले वार्ता समिति बनाएर मात्र हुँदैन । वार्ताका लागि वतावरण बनाउने काम पनि गर्नुपर्छ ।’

‘हाम्रो वार्ता समिति गठन भएको छ । दुई दलको बीचमा एकीकरणका लागि छलफल गर्न चाहन्छौँ भनेर वार्ता समिति आउनुपर्छ । किनभने फोरम नेपालले नै वार्ता समिति गठन गरेर अगुवाई गरेको हो । त्यसैले सो दलले नै अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘राजपा नेपाल एकीकरणको विरोधी होइन । एकीकरणको शुरुवात गरेकै राजपा नेपालले नै हो । मधेशका विभिन्न छवटा दलसँग एकीकरण गरिसकेको छ । फोरम नेपालसँग पनि एकीकरण हुन्छ तर त्यसका लागि उपयुक्त वातावरण बन्नुपर्छ ।’

वार्ताका लागि के बन्दैछ बाधक ?

औपचारिक वार्ता नभएपनि नेताहरुको बीचमा अनौपचरिक छलफल हुँदा आ–आफ्नो शर्तहरु दुवै पार्टीले अघि सारिसकेका छन् । फोरम नेपालले एकीकरण १–६ को आधारमा होइन, १–१ को आधारमा हुनुपर्ने शर्त अघि सारेको छ ।

अर्थात् फोरम नेपालले महाधिवेशन नहुँदासम्म नेकपाको जस्तो एक–एकजना अध्यक्ष रहेर संयुक्त कार्यसमिति बनाउनुपर्ने फोरमको भनाई छ ।

राजपा नेपालमा भने छ जनाको एउटा अध्यक्षमण्डल रहेको छ । राजपा नेपालले महाधिवेशनसम्मका लागि १–६ कै आधारमा जाँदा राम्रो हुने भनेको स्रोतको भनाई छ । त्यही विषयका कारण कुरा अगाडि बढ्न सकेको हो ।

अर्कोतिर राजपा नेपालले पनि एउटा शर्त अघि सारेको छ – औपचारिक वार्ता शुरु हुनुभन्दा पहिले फोरम नेपाल सरकारबाट बाहिरिनुपर्छ । सरकारबाट बाहिरिएपछि बराबरको हैसियतमा वार्ता हुने राजपा नेपालको तर्क छ ।

तर, फोरम नेपाल तत्काल सरकार छाड्ने पक्षमा देखिएको छैन । ‘राजपा नेपालसँग एकीकरण गर्नका लागि सरकार छाड्न सकिन्छ तर भोलि गएर एकीकरण भएन भने के गर्ने ?’ भन्ने आशंका फोरम नेपालमा रहेको छ ।

राजपा बन्न अघि पहिला पनि तमलोपा र सद्भावना पार्टीसँग एकीकरणका लागि फोरमले प्रयास नगरेको होइन तर अन्तिम समयमा सफल हुन सकेन ।

‘अहिले पनि राजपा नेपालसँग वार्ता थालनी गरेपछि एकीकरण हुन्छ भन्ने के ग्यारेण्टी छ ?,’ फोरम नेपालका एक नेताले भने, ‘सरकार कुनै ठूलो कुरा होइन, यदि राजपा नेपाल इमान्दारीपूर्वक एकता गर्न चाहन्छ भने हामी सरकार छाड्न सक्छौँ । तर एकीकरण हुने ग्यारेण्टी हुनुपर्छ । नत्र यता सरकार पनि छाड्ने उता एकीकरण पनि नहुने भयो भने दीर्घकालिन रुपमा पार्टीलाई राम्रो हुँदैन ।’

एकीकरणका बारेमा राजपा नेपालमा पनि एकमत छैन । छ जना अध्यक्ष छन्, उनीहरुको छ खालको कुरा गर्छन् । यो कुरा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि औपचारिक कार्यक्रमहरु भन्दै आएका छन् । फोरम नेपालसँग एकीकरण गर्न राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो र राजकिशोर यादव सकारात्मक छैनन् ।

राजकिशोर यादवले फोरम नेपाल विभाजन गरेर आएको हुनाले त्यहाँ फर्किन वा उपेन्द्र यादवको नेतृत्वमा काम गर्न गाह्रो हुने विश्लेषण भइरहेको छ । त्यही कारणले सकभर फोरम नेपालसँग एकीकरण नहोस् भन्ने उनको जोड रहेको राजपा नेपालकै नेताहरु बताउँछन् । उनले फोरम नेपाल सरकारमा रहेसम्म एकीकरणका लागि कुनै पनि वार्ता नहुने बताइसकेका छन् ।

अर्कोतिर राजपा नेपालमा राजेन्द्र महतो अध्यक्ष बन्ने दाउमा छन् । फोरम नेपालसँग एकीकरण भए त्यसमा ब्रेक लाग्ने बुझेर नै सकभर फोरम नेपालसँग एकीकरण नहोस् भन्ने उनको भित्री स्वार्थ रहेको छ । किनभने राजपा नेपाल र फोरम नेपालबीच एकीकरण भयो भने एकीकृत पार्टीको नेतृत्व फोरमको हातमा जान सक्ने सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप