शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भगवानको भेटी व्यक्तिको घरमा पुर्याउन सयौं सुरक्षाकर्मी परिचालन

सोमबार, २८ माघ २०७५, १८ : २३
सोमबार, २८ माघ २०७५

-संजय मिश्रा

रौतहट । भगवानको भेटी व्यक्तिको घरमा पुर्याउन सयौं सुरक्षाकर्मी परिचालन गरेको सुुन्दा अपत्यारिलो लाग्न सक्छ तर यो यथार्थ घटना हो ।

रौतहट जिल्लाको धार्मिकस्थल शिवनगर महादेव स्थानमा भक्तजनले चढाएको भेटी महन्थको घरमा पुर्याउन सयौं सुरक्षकर्मी परिचालन गरिएको हो । 

आइतबार श्रीपञ्चमीको अवसरमा भक्तजनहरुले महादेव स्थानमा चढाएको भेटी स्थानीय प्रशासनको निर्देशनमा महन्थ कृष्णदेव गिरीको घरमा पुर्याइएको छ । 

महादेव स्थानमा चढाइएको भेटी सार्वजनिक गर्नुपर्ने प्रदेश सांसद कुुन्दन कुुश्वाहाको नेतृत्वमा स्थानीयले पछ्छिलो एक वर्षदेखि माग गर्दै आएका छन् । 

भेटी सार्वजनिक हुनुुपर्ने माग गर्दै प्रदेश सांसद कुश्वाहाको नेतृत्वमा पटक–पटक आन्दोल हुनुका साथै आवश्यक पहलको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र समेत बुुझाएको थियो । 

भेटी सार्वजनिक गर्न पटक–पटक संवादको बाबजुद स्थानीय प्रशासनले ठोस निर्णय गर्न नसकेपछि कुुश्वाहा नेतृत्वको टोली आइतबार साँझ मन्दिर परिसर जान लागेका थिए ।

प्रदेश सांसद कुुश्वाहासँगै रहेका दर्जनौंलाई इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले बीच बाटोमा नै रोकेको थियो ।

प्रहरीले रोकेपछि सोही स्थानमा सम्बोधन गर्दै सांसद कुुश्वाहाले हजारौं जनताले चढाएको भेटी सार्वजनिक सम्पती हो, कुनै व्यक्तिको होइन त्यसैले यसलाई राज्यकोषसम्म पुरयाउनुुपर्ने माग गरे ।

सामान्य व्यवसाय गर्न राज्यबाट विभिन्न अनुुमती लिनुुपर्ने र हजारौं जनताले चढाएको करोडौंको भेटी व्यक्तिको घरमा पुर्याउन स्थानीय प्रशासनले खेलेको भूमिका खेदजनक रहेको सांसह कुश्वाहाले रातोपाटीसँगको कुराकानीमा बताए ।

जनताको करबाट तलब खाने सिडिओले राज्यको लागि नभई व्यक्तिको लागि सयौं प्रहरी परिचालन गर्न लगाएर आफ्नो दायित्व भूलिरहेको उनले आरोप समेत लगाए ।  

उनले शिवनगर महादेव स्थानमा चढाइएको भेटी सार्वजनिक गर्न स्थानीय प्रशासनले आनाकानी गरेमा ठुूलो आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

भगवानको नाउँमा चढाइएको भेटी सार्वजनिक गर्नुपर्ने माग र तिर्थालुुको सेवाका लागि आइतबार शिवनगर महादेव मन्दिर छेउमा कुश्वाहा नेतृत्वको टोलीले २४ घन्टे शिविर सञ्चालन समेत गरेको थियो ।

मेलामा आएका सयौं तिर्थालुु भक्तजनको लागि मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क खानेपानी सेवा र अन्य सेवा समेत उपलब्ध थियो ।

शिवनगर मेलामा आइतबार इतिहासमै सबैभन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको थियो । 

रौतहट जिल्लाका सिडिओ लोकनाथ पौडेलले सुरक्षाकर्मी परिचालनको संख्या प्रचारप्रसारको बिषय नभएको बताउँदै जनताको सुरक्षाको लागि आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

शिवनगर महादेव स्थानलाई सार्वजनिक गर्न सरकारले छुट्टै निर्णय गनुुपर्न अथवा अदालतबाट निर्देशन भएमात्र त्यो व्यवस्था हुने सिडिओ पौडेलको भनाई थियो । 

२०२१ सालको नापीमा विश्वनाथ महादेवको नाममा रहेको हालको शिवनगर स्थान २०२३ सालमा वर्तमान महन्थ कृष्णदेव गिरीले आफनो नाममा दर्ता गराएको कटहरिया नगरपालिकाका मेयर शियाराम कुश्वाहाले बताए ।

हरेक आइतबार, साउनको हरेक सोमबार, बर्षको श्रीपञ्चमी, महाशिवरात्री, चैतको रामनवमी, वैशाख र भदौको त्रियादशी तिथिका दिन शिवनगर महादेव स्थानमा ठूलो मेला लाग्ने गर्दछ ।

सो मेला भर्न रौतहट, सर्लाही, बारा, पर्सालगायत छिमेकी राष्ट्र भारतका विभिन्न प्रान्तबाट हजारौंको संख्यामा भक्तजनहरु आउने गर्दछन् ।

भक्तजनहरुले चढाएको करोडौंको भेटी एक्लो व्यक्ति महन्थले बर्षौंदेखि रजाईं गर्दै आएको मेयर कुश्वाहाले जानकारी दिए । 

उक्त भेटी सार्वजनिक गरी राज्यकोषमा जानुुपर्ने माग स्थानीय सचेत नागरिकले आवाज उठाउँदै आएपनि राज्यले चासो नलिएको नगर प्रमुख कुश्वाहाले गुनासो समेत गरेका छन् ।

भेटी सार्वजनिक गर्न र मन्दिर सञ्चालन तथा व्यवस्थित गर्न शिवनगर महादेव स्थानलाई देशको ठूलो धार्मिक पर्यटनस्थलको रुपमा विकास गराउन अधिकारीक समिति गठनका लागि सम्बन्धित निकायमा पत्राचार समेत गरिएको स्थानिय समाजशेवी रामाशंकर भेडीहरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप