बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाताको भरमा आन्द्रा र रक्त क्यान्सरका बिरामी

सोमबार, २८ माघ २०७५, २० : २१
सोमबार, २८ माघ २०७५

– नारायण अधिकारी 

चितवन । एउटा सामाजिक संस्थाले देशका ६३१ जना बिरामीको जीवन बचाइरहेको छ । धेरैलाई त्रास दिलाउने क्यान्सर रोगबाट ग्रसित बिरामीलाई निकै महङ्गो औषधि निःशुल्क दिएर ‘म्याक्स फाउण्डेसन’ नामक बिदेशी संस्थाले उनीहरुको जीवन बचाइरहेको हो । 

सन् २००४ बाट सो संस्थाले यहाँको क्यान्सर अस्पतालसँग सहकार्य गरेर औषधि वितरण गरिरहेको छ । सन् २०१८ मा मात्रै रु एक अर्ब ३६ करोड ४७ लाख ५० हजार ५९८ बराबरको औषधि निःशुल्क उपलब्ध गराएको हो । रक्त क्यान्सर र आन्द्रको क्यान्सर भएका एक हजार २२ जनालाई सो औषधि खुवाइसकिएको छ । उनीहरुमध्ये हाल सम्पर्कमा रहेका ६३१ जनाले अहिले औषधि खाइरहेका छन् । 

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार ती बिरामीलाई इमाटिलिब, निलोटिनिब र डासाटिनिब नामक औषधि दुई÷दुई महीनामा निःशुल्क दिइँदै आएको छ । आचार्यका अनुसार शुरुको दिनदेखि नियमित औषधि खाइरहेका पाँच जनाले अहिले पनि नियमित औषधि खाइरहेका छन् । 

निकै महङ्गो औषधि हुने भएकाले आफैँले खरीद गरेर खाने अवस्था अधिकांशको छैन । एक जनाले एक महिनाका लागि यो औषधि खान रु सात लाख खर्च हुने गर्दछ । सोही औषधि निःशुल्क पाएर क्रियाशील जीवन बिताइ रहनुभएका उपसचिव विष्णुप्रसाद पौडेल सामाजिक संस्थाले आफ्नो जीवन बचाइरहेको बताउँछन् । 

भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर निवासी पौडेल डिभिजन वन कार्यालय चितवनको प्रमुख हुनुहन्छ । नियमित काममा लागिरहनुहुने पौडेल विगत १६ वर्षदेखि सोही औषधि सेवन गरिरहेका छन् । 

शुरुमा उनी उपचारका लागि भारतको मुम्बइमा रहेको टाटा अस्पतालसम्म पुगे । त्यहाँको उपचारपछि नेपाल फर्केर उनले म्याक्स फाउण्डेसनले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि अहिलेसम्म पनि खाइरहेका छन् । 

सो औषधि नियमित खानुपर्ने हुन्छ । एक महिनाका लागि औषधि किन्दा करीब रु सातदेखि १० लाखसम्म खर्च हुने उनले बताए । आफूले यो औषधि सन् २००२ बाट खान शुरु गरेको बताउँदै पौडेलले जीवनमा हरेस नखाने र आत्मविश्वास बढाउने हो भने बाँच्न सकिने बताए । 

झापाका २९ वर्षीय दीपक कार्कीलाई पनि रक्त क्यान्सर देखिएको छ । आजभन्दा करीब १२ वर्षअघि उहाँमा यो रोग देखाप¥यो । उहाँले पनि नियमित औषधि सेवन गरेर नै रोगको निराकरण गर्दै आएका छन् । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज आयोजना गरेको रक्त क्यान्सर तथा आन्द्रको क्यान्सरका बिरामीबीचको मिलन कार्यक्रममा सहभागी हुन आउनुभएका कार्की अहिले आफूले अन्यले सरह काम गर्नसक्ने अवस्थामा पुगेको बताए । 

आफूलाई अहिले गाउँ समाजले हेर्ने दृष्टिकोणमा पनि केही परिवर्तन भएको उनको भनाइ छ । दैनिक चार चक्की औषधि सेवन गर्ने गरेको बताउँदै उनले शुरुआती समयमा औषधिले केही समस्या देखाए पनि अहिले त्यस्तो केही नभएको बताए । निःशुल्क औषधिकै कारण आफू बाँचिरहेको उनको भनाइ छ । 

क्यान्सर रोग लाग्नेबित्तिकै आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उनले सामान्य ज्वरो आउने र रोकिने प्रक्रिया जारी रहेमा अस्पतालमा आएर उपचार गर्नसमेत सबैलाई आग्रह गरे । 

धरानका भरत ताम्राकार आफ्नी श्रीमतीले १७ वर्षदेखि औषधि खाँदै आएको बताउँदै अहिले समस्या नरहेको बताउँछन् । उनले भने, ‘औषधि पनि खाइराखेका छौँ र नियमित परीक्षणमा पनि आइराखेका छौँ । खै त्यस्तो समस्या आएको छैन ।’ औषधिले रोगसँग लड्ने क्षमतामा वृद्धि गरेको उनको भनाइ छ । 

औषधि नियमित खाने र दुई महिनामा एकपटक परीक्षणका लागि अस्पताल आउने गरेको उनले बताए । शुरुआती समयमा नै रोग देखिएमा निकोसमेत हुने उनको भनाइ थियो । 

भरतपुर महानगरपालिका वडा नं २७ दिव्यनगरकी १२ वर्षीया निस्मा महतोले आफूलाई रोग लागेको छ भन्ने जस्तो नलाग्ने बताइन् । आफूलाई १० वर्षको उमेरमा रक्तक्यान्सर देखिएको भए पनि औषधि खाँदै आएको उनले बताइन् । 

उनले भनिन्, ‘नियमित परीक्षण र औषधि लिन आउने क्रममा मात्र आफूलाई क्यान्सर भएको हो भन्ने लाग्छ ।’ सबैले निःशुल्क औषधि पाएकै कारण जीवन जिउन पाएको बताएका छन् । क्यान्सर अस्पताललाई म्याक्स फाउण्डेशन मुम्बइले यो औषधि निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । 

सो अवसरमा फाउण्डेसनको दक्षिण एशिया प्रमुख विजी बेङ्कटेसले क्यान्सरसँग लडिरहेका बिरामीलाई एक्लो महसुस नगर्न र आफूहरु पनि साथमा रहेको बताए । 

कार्यक्रममा म्याक्स फाउण्डेसन नेपाल प्रतिनिधि स्वेता अग्रवाल, अस्पतालका कार्यकारी निर्देशक आचार्य, डा जया श्रेष्ठ लगायतले बोलेका थिए । यहाँको क्यान्सर अस्पतालमा नेपाल र भारतका विभिन्न क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप