शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितुवाको आक्रमणबाट ज्यान गुमाएकाका आफन्तलाई राहत

सोमबार, २८ माघ २०७५, २० : २७
सोमबार, २८ माघ २०७५

दमौली । चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको भानु नगरपालिकाको दुई बालबालिकाको आफन्तलाई आज राहत वितरण गरिएको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–४ जाखाने निवासी ४ वर्षीया रञ्जिता लम्साल र भानु नगरपालिका–२ ढलेवरका १० वर्षीय अमृत गुरुङको परिवारलाई जनही रु दश÷दश लाख राहत वितरण गरिएको हो । 

लम्सालको २०७५ साल कात्तिक २९ गते र गुरुङको मङ्सिर १५ गते चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । भानु नगरपालिका–२ ढलेवरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मृतक लम्सालका आमा सरस्वती बसेल र गुरुङका दिदी अञ्जना गुरुङलाई उक्त राहत रकम प्रदान गरेका छन् । 

२०७५ साल कात्तिक ७ गते भालुको आक्रमणबाट घाइते भएका भानु नगरपालिका–११ खाल्टेका भीमबहादुर तामाङलाई समेत सोही अवसरमा उपचार खर्चबापतको रु ५६ हजार ८६१ राहत प्रदान गरिएको छ । 

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ । 

सोही निर्देशिकाबमोजिम मृतकका परिवारलाई रु १० लाख उपलब्ध गराइएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । 

राहत वितरण कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व निकै जटिल समस्या रहेको हुँदा द्वन्द्वबाट मानव पनि जोगिने र वन्यजन्तु पनि जोगिने गरी काम गर्नुपर्ने बताए । 

कार्यक्रममा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालयका निर्देशक प्रकाश लम्सालले वन्यजन्तुबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताए । प्रजिअ भरतकुमार शर्माले मानवकै व्यवहारका कारण वन्यजन्तुले आक्रमण गर्ने गरेकाले त्यस्ता कार्य नगर्न सुझाव दिए । 

फरार प्रतिवादी पक्राउ 

जिल्ला प्रहरी कार्यालय तनहुँले ज्यान मार्ने उद्योगअन्तर्गत फरार रहेको प्रतिवादीलाई दुई वर्षपछि आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–६ छविसेका ३२ वर्षीय दाह्री भन्ने सुरज थापा रहेका छन् । 

२०७४ फागुन ९ गते म्याग्दे गाउँपालिका–६ स्थित पीपलटारमा सञ्जीव राई समेतका व्यक्तिलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा थापा फरार रहेका थिए । 

उक्त घटनामा लक्ष्मी राईसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मिलन पौडेलसमेत भएको घटनामा थापालाई कावासोती नगरपालिका–३ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप