मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन विवाह, दुई अफेयर, कम उमेरमा नै भएको थियो यी नायकको मृत्यु

बुधबार, ०१ फागुन २०७५, ०८ : ४३
बुधबार, ०१ फागुन २०७५

विनोद मेहरा बलिउडका उत्कृष्ट अभिनेतामध्येका एक थिए । हुन त उनले आफूलाई मेनस्ट्रिम एक्टरको रुपमा स्थापित गर्न सफल भएनन् तर उनले आफ्नो अभिनयको दममा फिल्म इन्डष्ट्रिमा एक विशेष स्थान पक्कै बनाएका छन् । उनले कहिले पनि सानो भूमिका निभाउन अस्विकार गरेनन् । आफ्नो अभिनयमार्फत् उनले निकै साधारण भूमिकालाई पनि दमदार बनाएका थिए । विनोद मेहराको जन्म १३ फेब्रुअरी सन् १९४५ मा अमृतसरमा भएको थियो ।

सन् १९५८ मा उनले फिल्म रागिनीबाट आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए । फिल्ममा उनले किशोर कुमारको युवावस्थाको भूमिका निभाएका थिए । लाल पत्थर, अमर प्रेम, अनुराग, कुँवारा बाप र अर्जुन पंडितजस्ता फिल्ममा उनले शानदार अभिनय गरेका थिए । फिल्मबाहेक उनी आफ्नो प्रेम जीवनका कारण पनि चर्चामा रहे । उनको जन्मदिनको अवसरमा विनोद मेहराको व्यक्तिगत जीवन र सम्बन्धबारे जानकारी लिऔं ।

रिपोर्टका अनुसार सबैभन्दा पहिले विनोद मेहराको नाम रिटा फिल्मकी नायिका मिना बोक्रासँग रह्यो । दुबैबीच प्रेम बस्यो र ७० को दशकमा विवाह गरे । विवाहको केही समयपछि नै विनोद मेहरालाई पहिलो हृदयघात भयो । विनोद त ठिक भए तर दुबैको सम्बन्ध भने बिग्रन थाल्यो ।

त्यसपछि विनोद मेहराको जीवनमा बिन्दिया गोस्वामीको प्रवेश भयो । उनीहरु लिभ इनमा बस्न थाले । मेहरा विवाहित थिए त्यसकारण बिन्दियासँग विवाह गर्न सक्दैनथे । यस्तै, अर्कोतर्फ उनकी जेठी श्रीमती मिनाको परिवारले विनोदलाई बिन्दियासँग टाढा बस्न दबाब दिइरहेका थिए । केही समयसम्म उनीहरुले लुकिछिपी आफ्नो सम्बन्ध अघि बढाए तर उनीहरुको सम्बन्ध पनि बिस्तारै बिग्रन थाल्यो । दुबैले गोप्य रुपमा विवाह गरेको पनि बताइन्छ । तर ८० को दशकको सुरुवाती अवस्थामा विनोदको चर्चा कम हुनथाल्यो । यसैबीच बिन्दिया जेपी दत्तासँग नजिकिन थालिन् । यसै कारण यी दुईको सम्बन्धको अन्त्य भयो ।

रिपोर्टलाई मान्ने हो भने बिन्दियासँग अलग्गिएपछि विनोद मेहराको जीवनमा रेखा आइन् । दुबैको अनस्क्रिन केमेस्ट्रिको पनि निकै चर्चा भएको थियो । दुबै एक अर्कासँग समय बिताउन थाले । विनोदको नीजि जीवन त्यति व्यवस्थित थिएन भने रेखा पनि अभिताभ बच्चनसँग अलग्गिएपछि एक्ली भएकी थिइन् । दुबैले गोप्य ढङ्गले विवाह गरेको खबर पनि छ्याप्छ्यापी आउन थाले । तर विनोदकी आमालाई उनीहरुको सम्बन्ध स्विकार्य थिएन । रेखालाई विनोदकी आमाले दुर्व्यवहारसमेत गरेको समेत खबर आयो । त्यसैले उनीहरुको सम्बन्ध पनि टुटेको बताइन्छ ।

अन्त्यमा विनोद मेहराको जीवनमा किरन नामकी महिला आइन् । आफ्नो बाँकी जीवन उनले किरनसँग नै बिताए । सन् १९९० मा विनोद मेहरालाई हृदयघात भयो । उनी यसपटक बच्न सकेनन् । सन् १९९० मा अक्टोबर ३० मा ४५ वर्षको उमेरमा उनको निधन भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप