शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बस र टेम्पो एकापसमा ठोक्किँदा १ जनाको मृत्यु

बुधबार, ०१ फागुन २०७५, १५ : ०६
बुधबार, ०१ फागुन २०७५

लहान– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा आज बिहान स्कूल बस र टेम्पो एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पो एकापसमा ठोक्किँदा टेम्पुमा सवार मिर्चैया नगरपालिका–२ निवासी २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए । सोही दुर्घटनामा परी गम्भीर घाइते एकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए । 

जङ्गली हात्तीको आतङ्क 

सिरहाको उत्तरी क्षेत्रमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि स्थानीय जाग्राम बस्न बाध्य भएका छन् । चुरे जङ्गलसँग जोडिएको सिरहाको गोलबजार नगरपालिका–३ जमदह, मुसहर्निया र गोलागाउँमा केही दिनदेखि जङ्गली हात्तीले घर, शौचालय भत्काउनुका साथै गहुँबारी, टमाटरलगायतका खेती नष्ट पार्न थालेपछि स्थानीयवासी हात्ती धपाउन जाग्राम बस्न बाध्य भएका हुन् । 

रातिको समयमा जङ्गलबाट हात्ती आउने र घर भत्काएर धनजनको क्षति पुर्याउने गरेकाले स्थानीय समूह बनाएर जाग्राम बस्ने गरेको गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिए । 

जङ्गलबाट गाउँ पसेका हात्तीको समूहले स्थानीय लक्ष्मण राईको थाङ्ग्रामा राखिएको करिब सात क्विन्टल मकै खाएको वडाध्यक्ष मोक्तानले जानकारी दिए । यस्तै मुसहर्निया गाउँका प्रकाश मल्लिकको शौचालय भत्काउनुका साथै भान्सा घरमा राखिएको करिब ३० केजी चामल खाएको हात्तीले चिनीमाया तामाङको भान्सा घर भत्काएको स्थानीयवासीले बताएका छन् । 

हात्तीले जमदह गाउँका गोपाल बुढाथोकीको भान्साघर पनि भत्काएको छ । बुढाथोकीले भन, ‘छोराछोरीसहित सुतिरहेका बेला आएको हात्तीको समूहले भान्सा भत्काउन थालेपछि आफूहरु सुतेको घरको खाटमुनि लुकेर ज्यान जोगायौँ ।’ 

यस्तै स्थानीयवासी रमेश साह र कृष्णदेव साहको करीब १० कठ्ठा क्षेत्रफलमा लगाइएको गहुँबाली नष्ट पार्नुको साथै दुई कट्ठामा गरिएको गोलभेँडा खेतीसमेत नष्ट गरेको छ । करिब दुई महिनाअघि पनि जङ्गली हात्तीको समूहले जमदहका तीन जनाको घर भत्काइ दिनुका साथै घरमा राखेको धान चामलसमेत खाएको वडाध्यक्ष मोक्तानले बताए । 

त्यस्तै धनगढीमाई नगरपालिका–१३ मा पर्ने उत्तरी गाउँमा पछिल्लो तीन दिनदेखि जङ्गली हात्तीको कारणले स्थानीय बासिन्दा आतङ्कित भएका छन् । हात्तीले भुल्किया जोगी डाँडाका राजेन्द्र लामा र सुवे यादवको घर भत्काउनुका साथै भकारीमा राखिएको धान चामल खाएको वडाध्यक्ष सूर्यमान तामाङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप