बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परवीन बबीदेखि महेश आनन्दसम्मः अत्यधिक सफल सेलिब्रिटी जसको मृत्यु रहस्य नै रह्यो

बिहीबार, ०२ फागुन २०७५, १० : ४०
बिहीबार, ०२ फागुन २०७५

वन्दना /बीबीसी

२५ वर्षअघि सन् १९९३ अप्रिल ५ तारिखमा अभिनत्री दिव्या भारती आफ्नो घरको पाँचौं तल्लाबाट खसेको भन्ने खबर प्रकाशित भएको थियो ।

आजसम्म उनको मृत्यु कसरी भयो त्यो रहस्य खुल्न सकेको छैन । त्यतिबेला हरेक पत्रिकामा चर्चा थियो कि मुम्बईमा दिव्या भारतीलाई कूपर अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भयो ।

मुम्बईसँग अपरिचित हुँदा पनि कूपर अस्पतालको नाम दिमागमा कतै बसेको थियो ।

केही दिन अघि खबर आएको थियो कि हिन्दी फिल्ममा भिलेनको भूमिका निभाउने ५७ वर्षका अभिनेता महेश आनन्दको शव उनको घरमा भेटिएको थियो जुन डि–कम्पोज अवस्थामा थियो ।

घरमा जब पुलिस पुगे तब टिभी खोलिएको थियो र खानाको प्लेट साइडमा राखिएको थियो ।

उनको केही दिन अघि नै मृत्यु भइसकेको थियो । पोष्टमार्टमा लागि शवलाई त्यही ‘कूपर’ अस्पताल पुर्याइयो जहाँ दिव्या भारतीलाई लगिएको थियो ।

 हिन्दी फिल्ममा चर्चा र ग्ल्यामरबीच एउटा लामो फेहरिस्त छ जहाँ थुप्रै कलाकारको या त गोप्य रुपमा मृत्यु भयो या त उनीहरु एक्लोपन, अत्यधिक गरिबी वा रहस्यमयी स्थितीमा रहे – जस्तै जिया खान, प्रत्युशा बेनर्जी, परवीन बबी, गुरु दत्त, नलिनी जयवन्त, अचला सचदेव ।

महेश आनन्दकै कुरा गर्ने हो भने ८० को दशक र ९० मा पनि लगभग हरेक फिल्ममा महेश भिलेनको वा भिलेनको दाहिने हातको रुपमा प्रस्तुत हुन्थे ।

भनिन्छ, फिल्ममा भिलेन र हिरोको अगाडि उभिएका गुण्डा जति दमदार छन्, हिरोको हिरोगिरीमा त्यति नै निखार आउँछ । र महेश आनन्दले यो काम निकै राम्रोसँग गरे ।

अमिताभ बच्चनसँग उनले अकेला, इन्द्रजीत, शाहंशाह, गंगा जमुना सरस्वतीसमेत लगभग सात फिल्ममा अभिनय गरे । ६ फिट २ इन्च अग्ला, राम्रो जिउडाल र मोडलजस्तो देखिने महेश आनन्दको राम्रै पहिचान थियो ।

तर सन् २००० पछि उनले लगभग फिल्ममा अफर पाउन छोडे र मानिसहरुको नजरबाट उनी गायब भए । नयाँ पीढीलाई सायदै उनीबारे थाहा होला ।

अचम्मका संयोग छ । करिब १८ वर्षपछि महेश आनन्द यो जनवरीमा फिल्ममा फिर्ता भएका थिए – गोबिन्दा र पहलाज निहलानीको गत महिना रिलिज भएको फिल्म रंगीला राजामा उनी सानो भूमिकामा देखिए ।

यो एउटा अचम्मको अनुभव हो । जसलाई मानिसहरुले जिउँदै बिर्सिए त्यही व्यक्ति मृत्युपछि गुगल सर्चमा ट्रेन्ड हुन थाल्छन् र मानिसहरु उनीहरुबारे थप कुरा जान्न खोज्छन् ।

परबीन बाबीः

पछाडि फर्केर हेर्ने हो भने सन् २००५ मा मृत्युपछि परवीन बाबीबारे जान्ने मानिहरुको जिज्ञासा पनि कम भएको छैन ।

उनी आफ्नो बिन्दास इमेज र ग्ल्यामरका लागि चर्चित थिइन् । उनले थुप्रै पैसा कमाईन् नाम पनि चल्यो । उनका थुप्रैसँग सम्बन्ध जोडियो र तोडियो पनि ।

त्यसपछि स्किजोफ्रिनियाले उनको जीवनलाई यस्तो अँध्यारोमा धकेल्यो कि जहाबाट एक दिन उनको मृत्युको खबर आयो ।

जब थुप्रै दिनसम्म घर बाहिरबाट पत्रिका र दुधको प्याकेट कसैले पनि भित्र लगेनन् तब पुलिसले ढोका फोडेर शव निकाल्यो । महेश आनन्दको शव जसरी निकालियो लगभग त्यसरी नै ।

गुरु दत्तः

आफ्नो अभिनय र निर्देशन दुबैका लागि गुरु दत्तको निकै चर्चा र इज्जत थियो । तर निजी जीवनमा श्रीमती गीता दत्तासँग उनको सम्बन्ध लगभग ताडिइसकेको थियो जसका कारण उनीहरुबीच धेरैजसो झगडा भइरहन्थ्यो । उनी आफ्ना सन्तान र श्रीमतीसँग नभई एक्लै बस्दथे ।

सन् १९६४ को अक्टोबर ९ मा यस्तै एक झगडा पछि उनका साथी अबरार अलवी भेट्न जाँदा गुरु दत्त रक्सी पिइरहेका थिए ।

 यी दुईले अबेर राती खाना खाए र अबरार आफ्नो घर गए । अर्को दिन अबरार अल्वी पुग्दा उनले गुरु दत्तको मेचमा एउटा गिलास राखिएको देखे जसमा गुलाबी रंगको तरल पदार्थ बाँकी भएको देखे । र उता गुरु दत्तको भने मृत्यु भइसकेको पाए ।

त्यो आत्महत्या थियो वा ओभरडोज, यो बहस अहिले पनि जारी छ तर त्यस दिन एक चम्किलो तारा सधैंका लागि निभ्यो ।

मनमोहन देसाइः

अमिताभ बच्चनलाई अमर अकबर एन्थनी, कुली, मर्द, नसिबजस्ता फिल्म दिएर सुपरस्टार बनाउने निर्देशक मनमोहन देसाईको मृत्युको राज पनि कहिले पनि स्पष्ट हुन सकेन ।

सन् १९९४ मा जब उनको मृत्यु भयो तब उनी डाढ दुख्ने समस्याबाट ग्रसित थिए । बलिउडका बादशाह भनिने मनमोहन देसाईको फिल्म चल्न बन्द भइसकेका थिए ।

यस्तोमा बालकोनीबाट खसेर भएको उनको मृत्यु सधैं प्रश्नको घेरमा रह्यो ।

भगवान दादाः

आफ्नो जमानाका चर्चित डान्सिङ र एक्सन स्टार रहेका भगवान दादा पनि आफ्नो अन्तिम अवस्थामा इन्डष्ट्रिबाट टाढा थिए र एक्लो भएका थिए । अमिताभ बच्चनदेखि गोबिन्दासम्म उनको डान्सको छाप देख्न पाइन्छ । ४० र ५० को दशकमा भगवान दादासँग बंगला, थुप्रै गाडी, अत्यधिक पैसा थियो । उनी सबैभन्दा धनी नायकमध्येका एक थिए ।

सन् १९५१ मा राज कपुरको आवारा र भगवान दादाको अलबेला एकैदिन रिलिज भयो र दुबै सुपरहिट भए ।

सन् २००२ मा उनको मृत्युका बेला उनलाई फिल्मी दुनियाँले बिर्सिसकेको थियो ।

यदि नयाँ पीढीले उनलाई चिन्न समस्या भइरहेको छ भने सलमान खान र भाग्यश्रीको गीत ‘हाँ मेने प्यार किया प्यार किया’ रिवाइन्ड गरेर हेर्ने हो भने सलमानको पछाडि रातो पगडीमा नाच्ने व्यक्ति भगवान दादा नै हुन् ।

नलिनी जयवन्तः

नलिनी जयवन्तको कहानी पनि यस्तै छ । देव आनन्ददेखि दिलिप कुमार उनका हिरो हुने गर्दथे र उनको कामको प्रशंसक थिए । उनी काजोल र नूतनको खानदानसँग सम्बन्ध राख्थिन् ।

८४ वर्षको उमेरमा उनी नितान्त एक्ली भएकी थिइन् । उनको मृत्यु पनि एक रहस्य नै थियो ।

उनको मृत्युमा टाइम्स अफ इन्डियाको हेडलाइले सबै कुरा बताउँछ –

‘नलिनी जयवन्त डाइज अ लोनली डेथ’

प्रत्युशा बनर्जीः

हालैको वर्षका कुरा गर्ने हो भने टिभीमा एक अभिनेत्री निकै छाइन् – नाम थियो प्रत्युशा बनर्जी र टिभी सिरियल थियो बालिका बधू ।

अभिनेत्री जिया खानको कहानी पनि यस्तै थियो । २५ वर्षको उमेरमा जिया खान मृत पाइन् । ‘निशब्द’ जस्तो आफ्नो पहिलो फिल्ममा नै अमिताभ बच्चनसँग काम गर्ने जिया आफ्नो सपनाका खातिर लण्डनबाट भारत फर्किइन् ।

लण्डनमा अंग्रेजी साहित्य, सेक्सपियर र अभिनयबारे पढाई गरिन् । उनी ओपरा गायक थिइन् र पियानो पनि बजाउँथिन् । साल्सा, ज्याज, कत्थक, ब्याले, रेगी र बेडी डान्सका शैली जान्दथिन् । यस्ती युवतीको २५ वर्षको कलिलै उमेरमा जीवन अन्त्य भयो ।

यस्तै गरी, सिल्क स्मिथाले पनि सन् १९९६ मा आत्महत्या गरेकी थिइन् । जसलाई संसारभरी सेक्स साइरनको नामले बोलाइन्थ्यो उनी वास्तविक जीवनमा एक्लोपन, पैसाको कमी र फिल्मको विफलतासँग जुधिरहेकी थिइन् ।

सोनाली बेन्द्रे जहाँ क्यान्सरसँग लडिरहेकी छिन् र उनकै फिल्म ‘दिल हि दिल मे’ का हिरो कुनाल सिंह रहस्यमय स्थितीमा मृत पाइए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप