केन्द्रीय संस्करण

मलाई रहाना मात्र चाहिएको थियो

person explore access_timeफागुन २, २०७५ chat_bubble_outline0

खुट्टामा चप्पल थिएन । पुरानो, मैलो समिज सुरुवाल (कुर्ता पाइजामा), एउटा खुट्टामा घुँडासम्म समेटिएको थियो भने अर्को पैतालासम्मै थियो ।

जिङ्ग्रिङ्ग परेको कपाल पछाडि समेटेर बाँधिएको थियो । हातमा एउटा प्लास्टिकको खाली बोरा लिएर मेरो आँगन पस्न लाग्दा उसको नजर ममाथि पर्यो । दुवैको नजर जुधेपछि हातमा रहेको बोराले उनले आफ्नो छाती छोपेर लजालु नजर झुकाएर आँगनभित्र पसिन् ।

सानो कदकी पातली, गोरी ती केटीलाई मैले यसअघि कहिल्यै देखेको थिइनँ । उनी किन लजाइन् मलाई थाह छैन तर जसरी मलाई देखेर लजाउँदै आँगन पसिन्, त्यसले ममा उनीप्रति जान्ने कौतुहलता जाग्यो र उनलाई पछ्याउन मन लाग्यो ।

मेरै आँगन थियो तर मलाई पस्न आँट आएन ।

घरबाहिरको कम्पाउन्डमा नरिवलको रुखमुनि बसेर म बुबासँगै गफिँदै थिएँ । त्यो केटीको प्रवेशले मेरो क्रमभङ्ग भएको थियो ।

बुबासँग के कुरा गरिरहेको थिएँ, याद पनि रहेन । ती केटीको बारेमा सोच्न थालेपछि कतिखेर बुबा त्यहाँबाट उठेर आफ्नो काममा लाग्नुभयो, त्यो पनि याद रहेन ।

एकछिनपछि आफ्नो टाउकोमा धानको बोरा बोकेर उनी निस्किन् । टाउकोमा रहेको बोरा एक हातले समातेकी थिइन्, जसले उनको काँखमा समिज (कुर्ता) च्यातिएको प्रष्टै देखियो ।

समिज च्यातिएको छ भने कुरा सायद उनलाई थाह थिएन, नत्र त्यसलाई पनि लुकाउने प्रयत्न गर्थिन् ।

उनले मलाई पुनः एकचोटि हेरिन् र आफ्नो अनुहार अर्कोतिर पारेर फटाफट बाहिरिइन् ।

उनी काम्पाउन्डबाट बाहिरिए पनि मेरो नजर उसलाई परसम्म पछ्याइरह्यो ।

मनमा खुल्दुली भयो ।

को हुन् उनी ?

किन आएकी थिइन् मेरो आँगनमा ?

के लिएर गइन् उनी ?

यस्ता अनेक प्रश्न मेरो मनमा खेल्न थाल्यो ।

पातलो शरीर । लामो नाक । चिटिक्क परेको अनुहार । ठूलो ठूलो आँखा । गाजल लागेको ती लामा लामा परेली । सोझी र सरल ।

उनको शरीरमा केही बनावटी थिएन । तैपनि धपक्क बेलेकी थिइन् ।

आज मेरो मनमा यस्तो कुरा किन खेल्न थाल्यो ? किन पहिलो नजरमा उनको बारेमा सोच्न बाध्य पार्यो ।

त्यसबारे जान्ने इच्छा जाग्यो ।

तर कसरी ?

बगैँचामा टहल्दै गरेको बुवालाई सोध्ने आँट आएन ।

अहिले नै आँगनमा गएर आमालाई सोधौँ भने आमाले के सोच्नु हुन्छ होला ?

तर, उनको बारेमा जानकारी नलिई मेरो मन पनि शान्त हुने पक्षमा थिएन

म आँगन गएँ ।

मेरो खुट्टा काम्दै थियो । बोली लरबराउला लरबराउला जस्तो भएको थियो ।

आमा कल (पानी तान्ने पम्प) मा भाँडा माझ्दै हुनुहुन्थ्यो । म छेउमा गए । सोधौँ कि नसोधौँ भयो ।

त्यतिकैमा आमाले भन्नुभयो, ‘छोरो केही खाने हो ?’

‘नाई... हँ...’ दुईटै कुरा एकै साथ भन्दिएँ ।

के गर्ने हो भन न, यो के अकमकाएको । खानु छ भने खाऊ नत्र म खेततिर जान्छु, खेतमा जनले काम गरिरहेका छन् ।

त्यो दिन आमाको आगाडि कुनै अपराधी जस्तो आफूलाई महसुस गरिरहेको थिए । तर उनको बारेमा जान्ने स्रोत आमाभन्दा अरू कोही थिएन ।

‘आमा तपाईं खेततिर जानुस्, म आफै निकालेर खाइहाल्छु’ यो कुरा सुनेपछि आमा आश्चर्य भावले हेर्नुभयो ।

आमाले खान नदिएसम्म नखाने मान्छे म, आज त्यस्तो भनेपछि जुनसुकैको आमालाई त्यस्तो लाग्न सक्छ ।

आमा ! अघि आएकी केटीले बोरामा के लगिन् ? मैले घुमाउरो पारामा सोधेँ ।

आमाले भनिन्, ‘बोइन (खेतमा काम गर्नेलाई दिइने पारिश्रमिक धान) लिन आइकी थिइन् ।’

केको बोइन हो आमा ? मैले अनावश्यक प्रश्न गरेँ ।

अस्ती डोमरा बाला खेतमा धान रोपेको थियो नि, त्यसैको बोइन (पारिश्रमिक) बाँकी थियो । त्यही लगेको हो ।

डोमरा बाला खेत त मलाई थाह छ । तर त्यसमा ककसले धान रोपेको थियो, मलाई थिएन । अब आमालाई योभन्दा बढी सोध्नु उचित लागेन ।

म सरासर आँगनबाट बाहिर निस्केँ आमाले खाना खान बोलाइरहनुभएको थियो । म नसुनेझैँ गरी निस्केँ ।

बाहिर बुवा कुर्सीमा बसेर केही पढ्दै हुनुहुन्थ्यो ।

बुबा हाम्रो डोमरा बाला खेत कसले रोपेको हो ?

किन चाहियो तँलाई ? मेरो बुबा अलि खरो स्वभावको हुनुहुन्थ्यो ।

केही होइन त्यतिकै, भन्दै म दलानभित्र पसेँ ।

बुबाले भन्नुभयो, त्यही ओलियाहरूले हो, अरू कसले रोप्छन् र हाम्रो खेत ?

मेरा लागि त्यति काफी थियो ।

मैले ओलियाको घर पनि देखेको छु । उनको घरमा एक दुई पटक गएको पनि छु तर त्यो केटीलाई कहिल्यै देखेको थिइनँ ।

अनायसै मेरो मुटुको धड्कन बढ्यो तर किन हो, मलाई थाह थिएन । पहिला पनि केटीहरू नहेरेको होइन । स्कुल पढ्दा त्यत्रा केटीहरू छन्, उनीहरूलाई देखेर कहिल्यै मेरो धड्कन यसरी बढेको छैन ।

भोलि पल्ट स्कुल जानुपर्ने थियो, त्यो पनि छिमेकी देश भारत । बुबाले मलाई भारतमा पढ्न पठाउनुभएको थियो । तर उता नगएर खेततिर लागेँ । आज कता रोपाइँ भइरहेको छ भन्ने थाह थिएन तर खोज्दै गएँ । आमा बुबालाई सोध्ने कुरा पनि भएन ।

म जमिनदारको छोरा । यो खेतीपाती, गाईवस्तुसँग कुनै मतलब हुँदैनथ्यो । सबै काम नोकरचाकरले नै गर्थे । म अनुमान लगाएर कदमवाला खेत गएँ । त्यहाँ रोपाइँ भइसकेको रहेछ । चमराबाला खेतमा गए । त्यहाँ ओलियाका परिवारका सदस्यहरू धान रोपिरहेका थिए ।

ओलियाले भन्नुभयो, छोटका मालिक (सानो मालिक) के भयो ? किन आउनुभयो ? घरमा केही भयो कि ?

म कहिल्यै खेतसँग मतलब नराख्ने मान्छे । अचानक त्यहाँ गएपछि ओलिया मात्र होइन, खेताला सबै आश्चर्यमा परे ।

त्यतिकै घुमघाम गर्दै आएको, कस्तो भइरहेको छ रोपाइँ, कति दिन लाग्छ रोप्न जस्ता कुरा ओलियासँग राखेँ । उनले पनि अज्ञाकारी बच्चा जस्तै मेरा सबै प्रश्नको जवाफ दिइन् ।

तर तेरो छोरी खै सोध्ने आँट आएन ।

त्यहाँबाट घर फर्किन लाग्दा बाटोमा त्यही केटीसँग भेट भयो, जसका लागि अचेल मेरो धड्कन तेज भएको छ ।

 

यस पटक खानेकुराको एउटा पोको उनको टाउकोमा थियो । हातमा पानीको बाल्टिन । मैले सहजै अनुमान लगाएँ, उनी आफ्ना आमाबुबालाई खाना लिएर खेतमा गएकी हुन् ।

उनले मलाई सायद परैबाट चिनिसकेकी थिइन् । नजिक आइपुग्दा मतिर हेर्दै नहेरी अगाडि गइन् ।

त्यही रूप, त्यही सरलता, त्यही तेज तर हिजोभन्दा अलि फरक ।

उनी फटाफट खेतीतिर लागिन्, मैले फर्केर हेर्ने आँट पनि गरिनन् । म खेतबाट बेकार आए जस्तो लाग्यो । एकछिन् बसेको भए मेरो के जान्थ्यो भन्ने सोचेर आफ्नो टाउको आफै पिटेँ ।

अब खेत जाऊँ भने के बाहानाले जाऊँ ।

म भारी मन लिएर घर फर्कें ।

बोइन (पारिश्रमिक) लिन आउँछे भनेर उनको प्रतीक्षामा घरमै बसेँ । साँझ पर्यो तर उनी आइनन् ।

अर्को दिन पनि पक्कै आउँछिन् भनेर कुरेर बसेँ तर  आइनन् ।

अर्को दिन उनकी आमा आएर बोइन (पारश्रमिक) लगिन् ।

मेरो मनमा छटपटी भयो । के गरौँ । ठूलो जमिनदारको छोरा । घर खेतमा काम गर्नेको घरमा त्यतिकै जान पनि सुहाएन । यदि गएँ भने ओलियाले मलाई के भन्ला ? के गरौँ के नगरौँ भनेर छटपटी भयो ।

घरमा काम गर्ने नोकरले खेतमा काम गर्ने जन (खेताला) का लागि जलखै (नास्ता) लिएर जाने तयारी गर्दै थियो ।

मैले सोधेँ, बुधरन कता जान लागेको भनेर सोधेँ । उसले भन्यो, ‘मालिक जलखै (नस्ता) लिएर खेत जाँदैछु ।’

मैले भने, ‘पख म पनि जान्छु ।’

खेतमा त्यही केटीसँग भेट हुन्छ कि भन्ने आशले बुधरनसँगै गएँ ।

उनी आफ्ना आमाबुबासँग धान रोपिरहेकी थिइन् । घुँडासम्म सुरुवाल सुर्केर हिलोमा धान रोपिरहेकी उनले मलाई देख्ने वित्तिकै आलीमा रहेको सल लिएर आफ्नो घाँटीदेखि पिठ्युँसम्मका भाग हुुँदै छातीसम्म सललाई लपेटिन् । शरीर तथा अनुहारमा लागेको हिलोका छिटाले कुनै आर्टिस्टले फ्रेममा सजाउनका लागि बनाएको आर्टझैँ लाग्थ्यो ।

उनले लजाउँदै मलाई एक नजर हेरिन् र छुपुछुपु धान रोप्न थालिन् ।

धान रोपिरहँदा बेला बेला छक्याएर मलाई हेर्ने गर्थिन् ।

म पनि उनका आमाबुबाको नजरबाट लुकेर एक टक लगाएर हेरिरहन्थेँ ।

बुधरनले उनीहरूलाई खाजा खान बोलाए ।

सबै जना खेतबाट बाहिर निस्के । छेउमा रहेको नहरमा हातखुट्टा धोएर रूखको छहारीमुनि बसे । तर मेरो नजरले उनलाई नै पछाइरह्यो ।

योबीचमा ओलियाले मलाई के–के सोधे,  बुधरनले के–के भने, मलाई थाह नै छैन । उनीहरूको कुरामा हँ.. हँ... मात्रै भनिरहेको मलाई सम्झना छ ।

सबैलाई बुधरनले रोटी र तरकारी दियो । ती केटीले पनि हातमा रोटी लिइन् ।

तर मलाई अचम्म लाग्यो । बुधरनले उनीहरूलाई रोटी दिँदा जिउमा नछुने गरी हातमा थमाइदिन्थ्यो । पछि थाह भयो । उनीहरू मुसलमान भएका कारण जिउ, बाँकी रहेका रोटी र पानी नछोइयोस् भनी सचेतता अपनाइएको रहेछ ।

रोटी लिएर रूखको पल्लो छेउमा मैले नदेखिने गरी  ती केटी बसिन् ।

रोटी खाएर पानी पिएर मात्रै त्यहाँबाट निस्किन् । ओलियाले रोटी खानु हुन्छ भनेर मलाई एकचोटि सोध्यो । मैले खाएर आएको भनेर छोटो जवाफ दिएँ ।

तर मलाई के थाहा थिएन उनीहरुले हामीलाई त्यतिकै भन्छन् भन्ने । हामी उपल्लो जातिले उनीहरूसँगै बसेर खाना खाँदैनौँ भन्ने उनीहरुलाई थाहा छ ।

मैले खाइदिएको भए उनीहरुका लागि ठूलो शानको कुरा हुन्थ्यो । ठूलो मानको अनुभव गर्थे ।

खाजा खाइसकेपछि बुधरनले पोके पन्तेरो बाँध्यो । हिँड्न लाग्दा मालिक जानुहुन्छ कि यहीँ बस्नुहुुन्छ भनेर मलाई बुधरन सोध्यो ।

मैले अनयसैमा जान्छु भन्दिएँ ।

तर मलाई जाने इच्छा थिएन । त्यही आलीमा बसेर ती केटीलाई हेरिरहँु जस्तो लागिरहेको थियो । तर मैले बुधरनलाई जान्छु भनिदिएको कारण बाध्य भएर निस्किनुपरेको थियो ।

त्यतिबेला म १६, १७ वर्षको थिएँ । तर ठूला घरको कान्छो छोरा भएकाले अलि बढी माया ममताको छत्रछायाँ ममाथि थियो ।

मलाई पढ्नबाहेक केही गर्ने छुट थिएन । कतै गयो कि सोधपुछ सुरु हुन्थ्यो ।

तर, मलाई अब पढाइ लेखाइमा मन लागिरहेको थिएन । जतिखेर मलाई त्यही केटीको सम्झना आइरहन्थ्यो । म स्कुल नगएको १५ दिनभन्दा बढी भइक्यो । आमाबुबा दिनरात स्कुल कहिले जाने हो भनेर भन्नुहुन्थ्यो । स्कुल जाने भनेर सधँै दाल चामल मिलाएर राख्नुहुन्थ्यो तर म कुनै नकुनै बहाना बनाउँथेँ ।

म अब त्यसरी पटक पटक खेततिर जाने थालेँ । त्यो केटीसँग केहिले भेट हुन्थ्यो कहिले हुँदैनथ्यो । १५ दिनदेखि हाम्रो भेटघाट नियमित हुन थालेको तर दोहोरो कुराकानी भइरहेका थिएन ।

एक दिन मलहा बाला खेतमा रोपाइँ भइरहेको थियो । म घरमा कसैलाई नभनी सरासर उतै गएँ ।

त्यहाँ ती केटी पनि आफ्ना आमाबुबासँग धान रोपाइँ गरिरहेकी थिइन् । एउटा सानो जामुनको बोट थियो । त्यहीँमुनि बसेँ ।

ओलियाले सोध्यो, मालिक आज पनि स्कुल जानु भएन ।

मैले गइएन भनेँ ।

म त्यहाँ रुखमुनि बसेपछि त्यो केटीलाई साह्रै नै अप्ठ्यारो अनुभव भएको थियो । उनीहरूको पछाडि भागमा बसेको थिए । निहुरिएर धान रोपिरहेका कारणले पछाडिको भाग माथि उठेको हुन्छ । छुपुछुपु धान रोप्दा पछाडिको सम्पूर्ण भाग हल्लिरहेको थियो । त्यसले गर्दा उनलाई धान रोप्न अप्ठ्यारो भइरहेको थियो । उनी रोप्दै र घरी घरी लाज मान्दै उभिन्थिन् ।

मैले ओलियालाई भने, ओलिया अङ्कल तपाईंहरूसँग म पनि धान रोपौँ ?

होइन, मालिकले यो के भन्नुभएको ? मालिकले पनि धान रोप्ने हो र ? मालिकले धान रोप्न लाग्नु भयो भने हाम्रो के हालत हुन्छ । हाम्रो गुजारा कहाँबाट चल्छ ।

पर्दैन पर्दैन, तपाईं त्यही छहारीमा बसिरहनुस्, एकै सासमा ओलियाले भने ।

तैपनि म खेतमा पसेँ ।

ओलियकी श्रीमती जोडले हाँसिन् । हाँस्नुको कारण थियो । यसरी हिलोमा पसेको जीवनको पहिलो अनुभव थियो । म खेतमा अप्ठ्यारो मानीमानी हिँडिरहेको हुनाले उनी हाँसेकी थिइन् ।

ती केटी खितिती त हाँसिनन् तर लजालु मुस्कान दिँदा उनको दाँत मोतीझैँ टल्क्यो । मैले धानको बीउ हातमा लिएर ओलियाको छेउमा गएर रोप्ने प्रयास गरेँ ।

त्यतिकैमा ओलियाले भने, ए रहाना छोटका (सानो) मालिकलाई धान रोप्न सिकाइदे त ।

बल्ल थाह पाएँ ती केटीको नाम रहाना रहेछ ।

ओलियाले भनेको कुरामा रहानाले केही प्रतिक्रिया जनाइनन्, मात्र मतिर हेरिन् र मुस्कुराइन् ।

म उनको छेउमा गएँ ।

हिलो पानीमा पनि मेरो जिउ तातेको थियो । रहानाको छेउमा मैले एउटा छुट्टै महकको अनुभूति गरेँ ।

रहानाले बीउ समात्न सिकाउँदै भनिन्, ‘यसरी समात्नु र यसरी रोप्नु ।’ दुई तीनपटक त्यसरी भनिन् तर मेरो ध्यान सिक्नेभन्दा पनि रहानातिर थियो ।

गरिब घरकी छोरी, दिनरि काम गरेपछि मात्र  बेलुका खाना खान पाउने अवस्थाकी । अभावको जीवन विताइरहेकी रहानाको सुन्दरताको बखान नगर्दा नै बेस हुन्छ । बखानमा केही छुट्यो भने आफ्नै चित्त दुख्ने डर ।

त्यो दिन पनि रहानासँग कुरा भएन ।

भोलिपल्ट फेरि खेतमा गएँ तर रहाना त्यहाँ थिइनन् ।

ओलियालाई मैले सोध्ने कुरा पनि भएन । खेतमा खाना लिएर आउने हो कि त्यहीँ बसेँ तर रहाना आइनन् । म निरास भए । बोइन लिन आउँछे कि घरमा कुरेर बसेँ । रहाना आइनन् ।

एक मनले रहानाको घरै जाउँ भन्ने लाग्यो । तर उनको घर जान कुनै बहाना चाहिएको थियो, पाइरहेको थिएन । तीन चार दिन लगातार खेत र घरमा रहानाको प्रतीक्षा गरेँ तर भेट भएन ।

मेरो छटपटी बढ्यो । खेत गएको थिएनँ । रहानासँग भेट भएन । म निराश भएर फर्किन लाग्दा ‘मालिक घर जान लाग्नुभएको हो ? भन्नै ओलियाले सोधे ।

मैले हो भनेँ ।

ए त्यसो भए मेरो घरमा तपाईं आफ्नो नोकरबाट समाध (खबर) पठाइदिनुहोला, आज रहानालाई खाना लिएर आउनुपर्दैन ।

मेरो खुशीको सीमा थिएन । खेतबाट मेरो घरको दूरी हिँडेर २० मिनेटको थियो । तर म पाँच मिनेटमा पुगेँ ।

म आफ्नो घर नगई सिधै रहानाको घरमा पुगेँ ।

रहाना खाना पकाइरहेकी थिइन् । कपाल खुल्लै थियो । त्यही मैलो समिज सुरुवाल (कुर्ता पैजामा) लगाएकी रहानामा अभावको चित्र प्रष्ट देखिन्थ्यो । पातपतिङ्गरबाट खाना पकाउँदा आँगनभरी धुवाँ नै धुवाँ थियो र चुल्होबाट निस्केको मसिना खरानीहरू आकाशमा उडिरहेका थिए । गरिबी कस्तो हुन्छ, रहानाको घरबाट परिभाषा पाउन सकिन्छ ।

रहानाले मलाई देख्नेवित्तिकै आफूलाई सम्हालिन् । हत्त न पत्त सल लिएर आफ्नो जिउ ढाकिन् । नदेखिनुपर्ने अङ्गहरू कतैबाट देखिएको छ कि भनी पटक पटक तानतुन पार्दै छोप्ने प्रयास गरिरहेकी थिइन् ।

‘मालिक आज किन यतातिर ?’

यसरी यस्तो मधुरो स्वर मेरो कानमा परेपछि मन आनन्द भयो र तेज चलेको धड्कन आफै शान्त हुँदै गयो ।

तिम्रो बुबाले पठाउनुभएको मलाई यहाँ, गर्वका साथ भनेँ ।

मेरो बुबा ! आश्चर्य हुँदै रहानाले सोधिन् ।

अँ, तिम्रो बुबाले आज खान लिएर तिमी खेत नजानु भनेर मलाई पठाउनुभएको ।

ए...! बाहेक अरू केही जवाफ उनले दिइनन् ।

एकछिन त दुवैजना चुप बस्यौँ ।

माटो र खारपातले बनेको कच्ची घर । टाटा (माटो र झारपातले बनाएको पर्खाल) ठाउँ ठाउँमा टुटेको । दुईटा कोठा मात्र भएको घर । रहानाको अवस्था यस्तो छ भनेर मैले सोच्नै सकिरहेको थिइनँ ।

‘रहाना तिमी पढ्दिनौ ?’ मैले कुरा शुरु गरेँ ।

उनले नाइँ भनेर टाउको मात्र हल्लाइन् । चुल्होमा पात पतिङ्गर हाल्दै घुँडामा टाउको राखेर बसेकी रहानले एक पटक पनि मतिर हेरिनन् । सायद लाजले होला ।

पढ्नुपथ्र्यो नि त, मैले रहानलाई भनेँ । अनि उनले भनिन्, ‘हामीलाई खान पुग्दैन, सानो जातका मान्छे, कसरी कहाँ पढ्न जानु । मियनियाँ (मुसलमान महिलालाई तराई मधेसमा भन्ने शब्द) भनेर कति हेप्छन् यहाँका गुअरवा (यादव) हरू ।

बाटैमा घर भएको कारण आउने जानेले देख्लान् कि भन्ने डर पनि मनमा थियो । तर रहानालाई छाडेर जाने मन पनि थिएन ।

मियनियाँहरू भनेर गुवार (यादव)हरूले हेप्छन् भन्दा मलाई साह्रै नमीठो लाग्यो । किनभने म पनि यादव जातकै हुँ । समाजको सोचप्रति घृणा नै जाग्यो तर म केही गर्न सक्न अवस्था थिएन ।

बोइन लिन आउने हो कि होइन, मैले अनायसै सोधी हालेँ ।

अनि उनले भनिन्, ‘हेरौँ आमाले के भन्नुहुन्छ ।’ आउनु न बोइन लिन भनेर म नचाहँदा नचाहँदै त्यहाँबाट निस्केँ ।

रहाना त्यो दिन बोइन लिन आइन् । अरू दिनको तुलनामा रहाना अलि फरक थिइन् तर झन लजालु र सरल, सौम्य र ताजगी । रहानाको पछिपछि म पनि आँगनतिर जाउँ जस्तो भयो तर आमाले के भन्नुहोला भन्ने लाग्यो ।

रहाना बोइन लिएर फर्किन् । धड्कन फेरि तेज भयो । भेट्नका लागि छटपटी भयो । रहानासँग एकान्तमा भेट्न मन लाग्यो । रहानालाई भनौँ भने के भन्लिन् । गाली गलिन् कि भन्ने लाग्यो ।

अब त रोपाइँ पनि समाप्त हुन लागेको छ । त्यसपछि हाम्रो भेट सम्भव नै हुँदैन भन्ने सोचेर छटपटी बढ्यो । यसरी नै कहिले घरमा त कहिले खेतमा रहानासँग भेट निरन्तर भइरह्यो । तर रहानासँग मन कुरा भन्न अझै सकेको थिइनँ ।

एक दिन आफ्नो घरको कम्पाउन्डमा त्यतिकै  बसिरहेको थिएँ । रहाना मेरै घरको अगाडिबाट बाख्रा लिएर खेततिर जाँदै थिइन् । काँखमा ढकिया (टोकरी) पनि थियो । त्यसबाट उनी घाँस काट्न खेततिर जाँदैछिन् भन्ने प्रष्ट थियो । म पनि पछिपछि गए ।

गाउँ घर कटेपछि म रहानाको छेउमा गएँ ।

भनेँ, ‘रहान म पनि घाँस काट्न जान्छु तिमीसँग ।’

अनि, उनले भनिन्, ‘धत मालिकले पनि यस्तो कुरा गर्ने हो त ? तपाईं कसरी घाँस काट्नु हुन्छ । तपाईं जस्तो मान्छेले घाँस काट्ने हो र ? सहर गएर पढ्ने पो हो त ।’

मतिर हेर्दै नहेरी फटाफट भनिन् ।

रहानाले एक हातले बाख्राको डोरी समातेकी थिइन् भने अर्को हातले ढाडमा राखेको ढकिया । उनी विस्तारै मसँग खुल्दै गइन् । मलाई उनले निकै सम्मानित नजरले हेर्थिन् । मालिक मात्र भन्थिन् । म उनलाई पटक पटक भन्थेँ ‘मलाई मालिक नभन न । मालिकभन्दा मलाई राम्रो लाग्दैन ।’

अनि उनी भन्थिन्, ‘मालिकलाई मालिक नभन्ने हो भने के भन्ने हो ? हाम्रा लागि त तपाईंहरू मालिक नै हो नि त ।’

म त्यसको जवाफ दिने क्षमता राख्दिनथेँ ।

 

‘रहाना मसँग बिहे गर्ने हो ?’ अचानक मैले सोधेँ । मैले कसरी सोधेँ मलाई थाह थिएन । तर धेरै ठूलो कुरा सोधेँ जस्तो लाग्यो । हाम्रो लागि आकाश जमिन जस्तै फरक कुरा थियो ।

 

रहानाले भनिन्, ‘मालिकले यो के भन्नुभएको हो, यो तपाईंले । ठूलो मालिकले थाह पाउनुभयो भने मार्छन् हामीलाई । त्यसैले यस्ता कुरा नगर्नुस् अबदेखि मसँग ।’

‘हैन, रहाना म तिमीसँग दुई महिनादेखि प्रेम गरिरहेको छु तर भन्न सकिरहेको थिइन । म त तिमीबिना बाँच्नसक्छु जस्तो लाग्दैन । जतिखेर पनि तिमीसँगै रहुँ, तिमीलाई नै हेरिरहँु जस्तो लाग्छ । एक दिन तिमीलाई नदेख्दा मेरो मन कस्तो छटपटिन्छ । तिमीलाई के थाहा ।’ फटाफट सबै कुरा भनिदिएँ ।

‘होइन, यो हुनसक्दैन । यस्तो कुरा नगर्नुस् मसँग नत्र म आफ्नो बबवालाई भन्दिन्छु । गुअरवाहरू यस्तै हुन्छन् । यसरी नै केटीहरूलाई फँसाउँछन् ।’ उनले यी कुरा भन्दा मेरो मन चसक्क भयो ।

‘होइन, रहाना तिमी त्यस्तो नसोच, सबै गुवार (यादव)हरू त्यस्तै हुँदैनन् । कुनै सज्जन पनि हुन्छन् । म तिमीसँग बिहे गर्न चाहन्छु । तिमी एकचोटि हुन्छ भनेर त हेर ।’, मैले भने ।

‘मलाई धेरै नै डर लागेको छ । तपाईंको बुबा धेरै नै रिसाहा हुनुहुन्छ । कस्तो गाली गर्नुहुन्छ हामीलाई । केही काम बिग्रियो भने मारौँला जस्तो गाली गर्नुहुन्छ । फेरि मेरो बुबाले थाह पाउनुभयो भने झन नराम्रो हुन्छ । त्यसैले मेरो बारेमा सोच्दै नसोच्नुस् ।’ उनले बडो निर्दियी ढङ्गले भनिन् ।

मैले भने, ‘रहाना मेरो बुबाको चिन्ता छाड । म तिम्रो बुबासँग आफै कुरा गर्छु । तर तिमीले मलाई छाड्नका लागि नभन प्लिज ।’

त्यसपछि हामी लुकीछिपी पटक पटक भेट्न थाल्यौँ । कहिले खेतबारीतिर भेट्थ्यौँ भने कहिल्यै आपगाछीको बगैँचामा, कहिले नदी किनारमा । रातिराति खेततिर गएर हामी एकान्तमा भेट्थ्यौँ र हामी आफ्ना सपना बुन्थ्यौँ ।

म रहानाको घरमा पनि आउजाउ गर्थें । कहिलेकाहीँ राति अबेरसम्म हामी सँगै हुन्थ्यौँ । रहानासँग प्रेम भएपछि मैले पढाइ पनि छाडेँ ।

त्यसका लागि बुबा धेरै गाली गर्नुहुन्थ्यो । मेरो पढाइ लेखाइ छुट्दै गयो ।

विस्तारै विस्तारै हाम्रो प्रेमको चर्चा एक कान दुई कान मैदान हुन थाल्यो । गाउँघरमा चर्चा हुन थाल्यो ।

अनि एक दिन रहानाले भनिन्, ‘हामी यसरी लुकीलुकी कति दिनसम्म बस्ने ? गाउँघरमा हाम्रो कुरा काट्न थालेको छ । भोलिपर्सि केही भइदियो भने त म कसैको मुख देखाउने अवस्थामा रहदिनँ । मेरो आमा बुबालाई झन् तनाव हुन्छ ।’

होइन, त्यस्तो केही हुँदैन । म आफ्नो बुबासँग कुरा गर्छु । तिमी चिन्ता नगर, जसरी पनि म तिमीलाई अपनाउँछु भनेर रहानाको चित्त बुझाएँ ।

मैले ठूलै आँट गरेर आफ्नो बुबालाई यो कुरा भनेँ । हतपत बुबासँग मेरो कुरा हुँदैनथ्यो । जे भन्नुपथ्र्यो, गर्नुपथ्र्यो आमालाई भन्थेँ । आमाबाट गर्न लगाउँथे तर प्रेमको अगाडि कसैका केही चल्दैन ।

बुबा मेरो कुरा सुनेर आगो हुनुभयो । गाली गर्दै कुट्ला जस्तै गर्नुभयो । उहाँले भन्नुभयो, यो जन्ममा त हुनै सक्दैन । तिमीले कसरी यस्तो कुरा सोच्यौँ । तिमीले परिवार, समाज, खनदानको मान सम्मान पनि राख्न जानेनौँ ?’

मैले डराई डराई भने, बुबा अरू कुरा मलाई थाह छैन । म बिहे गर्छु भने रहानासँग मात्र गर्छु, अरूसँग गर्दिनँ । म रहानाबिना बाँच्न सक्दिनँ, त्यसैले बुबा प्लिज ।’

बिहे त हुँदै हुँदैन । रखैल (जमिनदारहरू मोजमस्तीका लागि राख्ने महिला) राख्छौ भने राख । म पोखरीको डिलमा दुई कठ्ठा जमिन दिन्छु । त्यहाँ घर बनाइदिन्छु । त्यहीँ राख र कहिलेकाहीँ आफै मौजमस्ती गर । तर बिहे आफ्नै जातमा गर्नुपर्छ ।,’ बुवाले भन्नुभयो । बुबाको यस्तो कुरा सुनेपछि छाँगाबाट खसेझैँ भयो ।

जसलाई म ज्यानभन्दा बढी प्रेम गर्छु, जोसँग म बिहे गर्ने तयार भएको छु । त्यसलाई रखैल राख्न कसरी सक्छु ? यो कदापि हुन सक्दैन ।

यस्तै जवाफ मैले आफ्नो बुबालाई सुनाएँ । बुबाले पनि म जस्तै जिद्दी गर्नुु भयो । तिम्रो र रहानाका बिहे कुनै पनि हालत हुँदैन । बिहे गर्नुभन्दा पहिलो मेरो लासबाट गुज्रिनुपर्छ, कड्किएर बुबाले भन्नुभयो ।

मेरो दाइले एउटा लठी लिएर कुट्न नै आउनुभयो । हट्नुस् बुबा, मार्दिन्छु सालेलाई । परिवारको इज्जत सबै बर्बाद गर्यो यसले । दाइ पनि कड्किनुभयो ।

म रुन थालेँ । केही जवाफ नदिई सरासर घरबाट निस्केँ । रुँदै आँखाको आँसु पुछ्दै रहानाको घर पुगेँ । रहानाको घरमा कोही थिएनन् । म गाउँको पल्लो छेउ हुँदै, खेततिर गए । पूरै खोजे कतै भेटिन मेरी रहाना । वर्षाको मौसम थियो, झरी परिरहेको थियो । मेरो जिउ निथ्रुक्क भिजिसकेको थियो तर ज्यान पुरै तातो थियो ।

मलाई लाग्थ्यो, मसँगै आकाश पनि रोइरहेको छ, मेरी रहानाका लागि । दिनभरि ओल्लो खेतदेखि पल्लो खेतसम्म खोजे । उनलाई जहाँ जहाँ हाम्रो भेट हुन्थ्यो सबै ठाउँमा खोजेँे । मेरो आँसु रोकिएको थिएन । भिजेको गाम्छाले आँसु पुछ्दै साँझसम्म उनलाई खोजिरहेँ । कतै भेट्टाइन । मुटु फुट्ला जस्तो भयो । के गरौँ, के नगरौँ भयो । म एक्लै भक्कानिएँ ।

मलाई जस्तै उनका आमाबुबाले पनि रहानालाई गाली गरे कि, समाजले पो उनलाई केही भन्यो कि भनेर मुटु चसक्क भयो ।

झमक्क रात परिसकेपछि म घर फर्कें । दलानमा चौकी (खाट) थियो । त्यसमा पल्टेँ । आँखामा निद्रा थिएन तर थाकिसकेका थिए । रहाना बोइन (पारिश्रमिक) लिन आउँछे कि जस्तो लागेको थियो तर राति के आउँथिन् । मन बुझाएँ ।

दलानमा सुतेको देखेर बुबा र दाइले गाली गर्न थाल्नुभयो । तर आमाले उहाँहरूमाथि रिसाउनुभयो ।

मलाई भोक छैन, आमाले निकै जिद्दी गरेर आँगनमा लानुभयो । आमाले पनि मलाई सम्झाउने प्रयास गर्नुभयो तर बुबा र दाइ जस्तो होइन ।

आमा तपाईं जेसुकै भन्नुस्, म रहानाविना बाँच्न सक्दिनँ । मलाई रहाना चाहिन्छ, मेरो कुरा सुनेर आमा पनि रुन थाल्नुभयो ।

‘छोरा त्यस्तो नभन न । तिम्रो बुबाले तिमी दुवैलाई मार्छन तर बिहे हुन दिँदैनन् ।’  आमाले विस्तारै डराउँदै भन्नुभयो ।

आफ्नै जातको भए केही गर्न सकिन्थ्यो तर मुसलमान जातका भएका कारणले म पनि केही गर्न सक्दिनँ भन्दैन इन्कार गर्नुभयो । तर आमा त्यति कट्टर हुनुहुन्न थियो ।

कहाँ होलिन मेरी रहाना भनेर  रातभरि निन्द्रा लागेन ।

बिहानै झिसमिसै उठेर म रहानाको घरतिर लागेँ । रहानाको आमा गाईगोठ गर्दै थिइन् । उनले मलाई देख्ने वित्तिकै मालिक बिहान बिहानै किन आउनुभयो । घरमा कसैलाई केही भयो कि भन्नुभयो ।

‘होइन, म रहानालाई भेट्न आएको ।’, मेरो मुखबाट अनायसै निस्कियो । यो कुरा सुनेर रहानाको आमा पनि चिन्तित हुनुभयो । मालिक यस्तो भन्नुहुँदैन, हामी गरिबको घरतिर तपाईंहरू जस्तोले हेर्नु पनि हुँदैन । प्रेम गर्नु धेरै टाढाको कुरा हो । सोच्नु पनि हुँदैन । यस्तो कुरा, मलाई सम्झाउने प्रयास गर्दै उहाँले भन्नुभयो ।

यतिकैमा दुईजना नोकरसहित मेरो दाइ मलाई खोज्दै रहानाको घरमा आइपुगे । उनीहरूले मेरो दुईटै हात बाँधेर एउटा अपराधी जस्तो गरी रहानाको घरबाट घिसार्दै घरसम्म ल्याए । म रहाना रहाना चिच्याइरहेँ ।

सात दिनसम्म घरमा बाँधेर राखियो । मलाई खोलिदिन आमाले निकै रोई कराई गर्नुभयो तर बुबाले कसैको कुरा सुन्नुभएन ।

जबसम्म रहानालाई विर्सिंदैन तबसम्म यसको खानापिन बन्द भन्नुभयो । मसँगै मेरी आमा पनि खान पिन बन्द गर्नुभयो ।

मेरो छोराले खाँदैन भने म कसरी खान सक्छु, भन्नुभयो ।

मेरी आमा पनि मसँगै सात दिनसम्म भोकै बस्नुभयो । आमाले लुकाएर खुवाउनु हुन्छ कि भनेर बुबाले एकजना नोकरलाई मेरा पहरा गर्न लगाउनुभएको थियो ।

सात दिनसम्म रहानाबाहेक म अरू केही बोलिनँ । बाध्य भएर बुवाले खोलिदिनुभयो । ल जा साले, जहाँ जानु छ तर आजदेखि त मेरो छोरा होइनस् । सम्पत्तिबाट एक कौडी पनि दिन्न । मेरा एउटा छोरा मात्र छ । तँ मेरा लागि आजबाट मरिस्, भन्दै मलाई अजाद गर्नुभयो । यतिबेला मलाई कुनै सम्पत्तिको लोभ थिएन, न थियो बुबाको लोभ, न आमाको, न भाइको । बस मलाई रहाना मात्र चाहिएको थियो ।

म एउटा पिँजराबाट मुक्त भएको चराजस्तै फुर्र उडेँ  । एकैचोटी रहानाको घरमा पसेँ ।

रहानाको बुवालाई भने अङ्कल रहानासँग म आजै बिहे गर्न चाहन्छु ।

रहानाको बुबाले पनि मान्नुभएन ।

हाम्रो समुदायमा अरू समुदाय जस्तो बिहे गर्न त्यति सजिलो छैन । हाम्रै जात अँगाल्नु पर्छ । मुसलमान बन्नुपर्छ अनि मात्र बिहे हुन्छ, ओलिया अङ्कलले यति भनेपछि मैले भने, ‘के के गर्नुपर्छ भन्नुस्, म सबै गर्न तयार छु तर मलाई मेरी रहाना चाहिन्छ ।’

धुलो धुवाँले भरिएको भन्साघरमा खाना पकाउँदै रहाना पनि सुँक्कसुँक्क रोइरहेकी थिइन् । मैले चाल पाएँ । त्यहाँ गएँ ।

रहाना किन, किन रोएकी तिमीलाई के भयो ? तिम्रा लागि म आफ्ना सबै घरबार, आमा बुबा, भाइबहिनी त्यागेर आएको छु । म तिमीविना बाँच्न सक्दिनँ । तिमी र म अब सँगै बस्नुपर्छ । उनको आँखाको आँसु पुछिदिँदै भनँे ।

म पनि मालिकविना बाँच्न सक्दिनँ तर हाम्रो समाजले स्वीकार गर्दैन । टोलका मान्छेले नानाथरी कुरा काटिरहेका छन् । म बाँच्छु कि बाँच्दिनँ थाह छैन । बाटो हिँड्न मुस्किल भइसक्यो । रुँदै मेरी रहानाले समाजको बयान गरिन् ।

होइन, अब तिमी मेरो लागि बाँच्नुपर्छ । म तिम्रो लागि बाँच्छु । सँगै मरौँला सँगै जिउँला, मैले सम्झाउँदै भने ।

मुस्लिम समुदायको धर्म स्वीकार गरेँ । मस्जिदमा गएर नवाज (प्रार्थना) पढेँ । अर्थात् रहानाका लागि म मुसलमान भएँ । मुस्लिम रीतिरिवाजअनुसार रहानासँग मेरो बिहे भयो । मेरो खुशीको सीमा थिएन । संसार नै जितेको अनुभूति भयो ।

दुःखसुखका साथ जीवन अगाडि बढ्न थाल्यो तर प्रेमले मात्र पेट नभरिँदो रहेछ । सयौँ बिघा जमिन भएका जमिनदारका छोरा म रहानासँगै अरूको खेतमा काम गर्न जान थालेँ । ओलियाले पनि मेरो बुबाको खेतमा काम गर्न छाड्नुभयो । पेट पाल्नका लागि म पनि रहानासँग अरूको खेत घरमा काम गर्न थालेँ ।

अरूको खेतमा काम गरेर कमाएको अन्न खाँदा छुुट्टै आनन्द आइरहेको थियो, सायद रहानाको साथ पाएर होला । हामी निकै खुशी थियौँ । प्रेमी प्रेमीका जस्तै एकान्तमा बस्छौँ र जीवनका तितामिठा अनुभव सटासाट गर्छौं तर समाजले अझै हाम्रो कुरा काट्न छाडेको छैन ।

छोराको जन्म भयो । त्यसको खुशीमा रहाना र म सानो महोत्सव गर्यौं । छोरालाई काखमा लिएर हामी रमाउन थाल्यौँ । खेतबारीमा जाँदा पनि छोरालाई साथमा लिएर नै जान्थ्यौँ । हामी दुईले हुर्कंदै गरेको छोरालाई कुनै बेला आँखाबाट ओझेल हुन दिएनौँ । अर्को छोरीको जन्म भयो । हाम्रो खुशी दुईगुना भयो ।

खर्च बढ्दै गयो । अभाव थपिँदै गयो । अर्काको खेतमा काम गरेर अब परिवारको पेट पाल्न गाह्रो भइरहेको थियो । उता, सयौँ बिघाको मालिक मेरा दाइका छोराछोरी मोजमस्ती गर्न थाले । मेरा छोराछोरी एकदानाका लागि अर्काका मुख ताक्न थाले । छोराले पनि विस्तारै हाम्रो प्रेमको बारेमा थाह पायो ।

अंश माग्नका लागि मेरो बुवाको घरमा पुग्यो । मेरो दाइले मेरो छोरालाई निकै कुटपिट गरे ।

म पनि झगडा गर्न गएँ तर उनीहरूको अगाडि मेरो केही चलेन । दाइसँग मेरो द्वन्द्व बढ्दै गयो । यता घरमा अभाव थपिँदै गयो ।

दुईजना छोराछोरी हुँदै चार पुग्यो । परिवार ठूलो भयो । खर्चको अभाव हुन थाल्यो । त्यसपछि मैले बुबासँग अंश मागे ।

मलाई खान पुगिरहेको छैन । केही थोरै भए पनि पेट पाल्नका लागि खेत दिनुस् भनेँ । यो कुराभन्दा बुबा गाली गरेर पठाउनुभयो । दाइले पनि कुटौँला जस्तो गर्नुभयो ।

मैले अदालतमा मुद्दा हालेँ । सय विघा जमिनमध्ये मेरो बुवाले अदालतमा पाँच बिघा जमिन मात्र भएको स्वीकार गर्नुभयो । अदालतले त्यस जमिनबाट मलाई सावा बिघा जमिन मात्र दिन लगायो । बुबाले यस्तो जमिन दिनुभयो कि त्यसमा केही उब्जेन । जमिन कुनै कामै लागेन । मरुभूमि र बगरका खेत दिनुभयो ।

जमिन मात्रै होइन, रहाना र मेरो जीवन पनि बगर र मरुभूमि जस्तै भयो । रहाना विस्तारै बिरामी हुन थालिन् । चारजना छोरा छोरीलाई पाल्न रहाना कयौं दिन भौकै बस्थिन् । तैपनि कहिल्यै गुनासो गरिनन् । रहानाको खुट्टा सुनिन थाल्यो । पेट पनि सुनिन थाल्यो । जिउमा खटिरा घाउ निस्किन थाले । डाक्टर देखाउँदा केही होइन भन्यो । रहाना जहिले पनि आफ्नो पीडा लुकाउँथिन् । जतिखेर पनि मेरै चिन्ता लिएर बस्थिन् उनी ।

उनी भन्थिन्, मेरै कारणले तपाईंको यो हालत भएको हो, अल्लाह (भगवान) ले मलाई माफ गर्नेछैनन् ।

म सम्झउँथे ‘होइन रहाना, हेर्नु होला हाम्रो प्रेम अमर हुनेछ । हामी मरेपछि हाम्रो प्रेमको कथा बन्छ । मान्छेले सम्मानपूर्वक हाम्रो नाम लिन्छ । लैला मजनु, हिर रान्झाभन्दा कम तागतवर हाम्रो प्रेम हुनेछैन ।

थाला परिसकेकी रहानालाई आफ्नो काँखमा लिएर यस्तै यस्तै कुरा गर्दै थिएँ, मेरो आँखाबाट आँसु झर्दै थियो । रुँदा रुँदै रहानाको त आँखा नै सुकी सकेको थियो । उनका आँखामा आँसु होइन दुःख र पीडा मात्र थियो । उनले खाली मलाई टक लगाएर हेरिरहिन् । मैले वितेका प्रेमका ती पलहरू सुनाउँदै थिए, घर र समाजले हाम्रो प्रेमको बदला कसरी लियो भन्ने कथा सुनाउँदै थिएँ । कतिखेर उनी सादाका लागि मलाई छाडेर गइन्, मैले चालै पाइन् ।

मेरो संसार नै समाप्त भयो । आँखाको अगाडि अँध्यारो छायो । आँखाबाट आँसु तप तप झर्न थाल्यो । म लाटो भएँ । रहानालाई हेर्दै टोलाइरहे....... ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...