शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुलुकभरका स्रोत व्यक्ति माध्यमिक तहको शिक्षकमा समायोजन हुने

बिहीबार, ०२ फागुन २०७५, १३ : ३९
बिहीबार, ०२ फागुन २०७५

काठमाडौंँ– सरकारले मुलुकभरका स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरेको  छ । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयमा रहने गरि स्रोत व्यक्तिको रुपमा काजमा ल्याईएका सबै माध्यमिक तहका शिक्षकहरुलाई काज फिर्ता गरि पुन शिक्षकमा नै समायोजन गर्ने तयारी गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यसबारे राष्ट्रियसभाको विहिबारको बैठकमा जानकारी गराएका हुन् । उनले मुलुकभरका १ हजार ५३ जना मध्येबाट ७५ जना शुद्ध स्रोतव्यक्ति बाहेकलाई काज फिर्ता गरि माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरिएको जानकारी दिए । 

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा गईसकेकाले सरकारले स्रोत व्यक्तिहरुको काज फिर्ता गरि शुद्ध  स्रोत व्यक्ति ७५ जनालाई अस्थायी शिक्षक सरह सुविधा उपलब्ध गराउने गरि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको मन्त्री पोखरेलले बताए । काज फिर्ता बाहेक अस्थायी शिक्षकको रुपमा रहने स्रोत व्यक्तिलाई स्थानीय सरकारले आवश्यकता अनुसार निर्णय गर्न सक्ने गरि प्रस्ताव तयार पारिएको छ । 

आफ्नो मन्त्रालयसँग सम्बन्धित रहेर राष्ट्रिय सभा सदस्यहरुले बैठकमा उठाएको जिज्ञासाको जवाफ दिदै मन्त्री  पोखरेलले राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनलाई प्रक्रियागत ढंगले सार्वजनिक गरिने पनि स्पष्ट पारेका थिए ।  बैठकमा प्रमुख प्रतिपक्षी दलका राष्ट्रियसभा सदस्यहरुले राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्यसबारे सदनमा छलफल चलाउन माग गरेका थिए ।

मन्त्री पोखरेलले राष्ट्रिय शिक्षा नीति सम्बधी राष्ट्रिय शिक्षा आयोगले बुझाएको प्रतिवेदनलाई सरकारको तर्फबाट स्वीकृत गरि कार्यान्वय गर्न मन्त्रालयमा प्राप्त भएपछि मात्रै सार्वजनिक गरिने बताए । उनले प्राविधिक शिक्षा व्यवसायीक तालिमका लागि विद्यमान ऐन र नीति अनुसकार कार्यक्रम विकास गरि कार्यान्वयन भईरहेको जानकारी दिए ।

सोही अनुसार मुलुकभर ४५ वटा प्राविधिक तथा वहुप्राविधिक शिक्षालय, ५ वटा साझेदारीका शिक्षालय र ४ सय ८१ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम संचालनमा रहेको मन्त्री पोखरेलले जानकारी दिए । 

४ सय ५७ वटा स्थानीय तहमा प्राविधिक शिक्षालयहरु पुर्याईएको र यही बर्ष १ सय ५० वटा थप्ने कार्यक्रम अनुरुप विद्यालय छनौटको काम भईरहेको भन्दै उनले यसै बर्ष प्राविधिक शिक्षालयलाई ६ सय बढी पुर्याईने दाबी गरे ।

‘आगामी बर्षमा भने सबै स्थानिय तह ७ सय ५३ वटै प्राविधिक शिक्षालय बनान्छ’ उनको विश्वास छ ।  प्राविधिक शिक्षालयमा पठाउने जनशक्तिको कमि भएकाले विश्वविद्यालयको साझेदारीमा जनशक्ति उत्पादन गर्ने कार्यक्रम भईरहेको भन्दै उनले प्रतिवेदनका आधारमा राष्ट्रिय शिक्षा नीति बनाउने प्रक्रिया अघि बढीरहेको जानकारी दिए ।

मन्त्री पोखरेललाई राष्ट्रियसभा सदस्यहरु राधेश्याम अधिकारी, राम लखन चमार, राम नारायण विडारी, वृषेशचन्द्र लाल, प्रकाश पन्तले प्रश्न गरेका थिए । बैठकले राष्ट्रियसभा नियमावली २०७५ संशोधन मस्यौदा समितिको समय थप गरेको छ ।

नियमावली संशोधनका लागि पुस १३ गते मसंशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले पुस २९ गतेबाट काम सुरु गरेको थियो ।  बैठकले आजका मितिबाट लागु हुने गरि १५ दिन थप गर्ने प्रस्तावलाई सर्वसम्मति पारित गरेको हो ।  राष्टियसभाको अर्को बैठक फागुन ३ गते शुक्रबार अपरान्ह ३ बजे बोलाईएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप